कविता : बिचरा बाख्री !

~शारदा रमण नेपाल~

नाचि रहेको छ जङ्गलबीच चउरमा
एक निरीह पाठो
जसलाई अहङ्कारजस्तै भयङ्कर ब्वाँसोले
कुनै पनि क्षण कुनै पनि बहानामा झ्याप पार्नसक्छ !

नजिकै छ आमा उघ्राएर बसेकी छ
आफ्ना दुई अाँखा प्रिय पाठोमाथि खन्याएर बसेकी छ
आमाप्रति अगाध आस्थावान् छ पाठो
विश्वासवान् छ, सुरक्षाको भरपर्दो आधार ठान्छ
यसैबीच जङ्गलबाट लमक लमक आइहरेको छ ब्वाँसो
सतर्क बाख्री जर्याक जुरूक उठ्छे
पाठोलाई लाग्छ मेरो लागि आमा उठेकी छ
आमालाई देखेपछि डराउँछ ब्वासो लुसुक्क भाग्छ !

डराउँदैन ब्वासो, सिधै पाठो भएपतिर लाग्छ
आमाकै अगाडि हाक्का हाक्कि गर्धन तान्छ
अनि एक्कासि होस जान्छ पाठाको र क्याँ गर्छ
बचाऊ बचाऊ धन्दै कातर आँखाले आमातिर हेर्छ
ट्वाद्यआल्ती हेर्छ, दुइटै आँखाले हेर्छ
आमा पनि त्यसरी नै हेर्छे ।
आफ्नो कलिलो पाठोलाई सुरक्षा दिन सक्दिन आमा !
हेर्दै, केवल हेर्दै आफ्नो प्रिय पाठोमाथिको आक्रमण !
विचरा बाख्री ।

काठमाडौं

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.