समीक्षा : नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’

~कृष्णप्रसाद कोइराला~

‘साहित्य हो, सभ्यताको प्रतीक । मानव सभ्यताको विस्तृत क्षेत्रबाट एक मुट्ठी माटो लिएर त्यसलाई मात्र सभ्यताको नाम दिनु कूपमण्डूकता हो । आंशिक सत्यता सबैमा विद्यमान छ, पूर्णसत्यता कसैमा पनि छैन । साहित्य जीवनजस्तो व्यापार होइन, त्यसको क्रय पनि छ । आजको सभ्यता लामो इतिहासको सञ्चित फल हो । साहित्य पनि त्यस्तै हिजोको सभ्यतामा आज निर्मित हुँदैछ’ – विश्वेश्वरप्रसाद कोइराला

म सूर्यसँग सम्भोग गर्छु
आऊ मलाई सम्भोग गर !

नेपाली साहित्यको समकालीन पुस्ताकी हट्टाकट्टा, साहसी, निर्भीक, दृढ र सक्रिय नारी स्रष्टा प्रेमा शाहको मार्मिक उद्गार हो, यो । कथाकार प्रेमा शाह अन्तर्मनकी कथाकार हुन् ।

१. कथाकार प्रेमा शाहको जीवनी

कथाकार प्रेमा शाहको जन्म संवत् २००२ असार १६ गते शुक्रबार वीरगन्जको श्रीपुरमा भएको थियो । यिनको चिनाको नाउँ गिरिराजलक्ष्मी शाह हो । जन्मेको चौध दिनमा उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहको ममतामयी न्यानो काखबाट अलग्याएर यिनलाई वीरगन्जबाट काठमाडौंस्थित उनको मावलीघर ल्याइएको थियो । बाल्यकालदेखि गीतसङ्गीत र नृत्यमा उनको रूचि देखिन्छ । उनी धाईआमाको लालनपालन र स्याहारसुसारमा हुर्किएकी थिइन् । वास्तवमा प्रेमा शाहकी धाईआमा नै यिनकी सर्वस्व पनि थिइन् । त्यसै सन्दर्भमा यिनले आफ्नो डायरीमा पनि लेखिन् ‘मैले मेरी आमाको अनुहार देखेको छैन् । मैले मेरी आमाको दुध पनि चुस्न पाइनँ । मेरी बुबू धाईआमा (तुलसीदेवी उपाध्याय कोइराला) नै मेरी आमाको रूपमा मैले पाएँ ।’

१.१ प्रारम्भिक शिक्षादीक्षा

प्रेमा शाहले मावलीघरमा पढ्ने, जान्ने र हुर्कने अनुकूलता प्राप्त गरिन् । उनले मावलीमा नै कखरा पढिन् । यिनलाई पढाउन मामाघरमै अलगअलग विषयका बेग्लाबेग्लै शिक्षक नियमित रूपमा आउने गर्थे । घरमा राम्ररी पढ्नलेख्न जानेपछि यिनलाई पाटन हाईस्कुलको बिहानको कक्षामा एकैचोटि छैटौँ कक्षामा भर्ना गरियो । प्रेमाले एक वर्ष पाटन हाईस्कुलमा पढेपछि त्यस स्कुलको बिहानका सम्पूर्ण कक्षा मदन मेमोरियल स्कुलमा सरे । त्यसपछि उनी पनि मदन मेमोरियल स्कुल जान थालिन् । अनि उनी पाटनको त्रिपद्म स्कुलमा भर्ना भइन् । त्यसपछि यिनलाई पाटन, मङ्गलबजारस्थित आदर्शकन्या निकेतनमा पु¥याइयो । यसरी स्कुले शिक्षा लिने क्रममा विभिन्न ठाउँमा चाहारेर यिनले २०१६ मा एस्. एल्. सी. उत्तीर्ण गरिन् ।

१.२ साहित्यिक यात्रा

प्रेमा शाहले पढ्दै साहित्यसृजना गर्दै गरिन् । नेपाली भाषासाहित्यमा प्रेमा शाह कलिलै उमेरदेखि नै चर्चित भइन् । यी मदन मेमोरियल स्कुलमा पढ्दै गर्दा ‘शारदा’ पत्रिकाका लागि रत्नध्वज जोशीले यिनको एउटा रचना लिएर गएका थिए । वि.सं. २०१६ मा ”शारदा” मा ‘प्रतिक्रिया’ शीर्षकको कथा प्रकाशित गरी नेपाली साहित्याकाशमा उनी सर्वप्रथम झुल्केकी थिइन् । त्यसपछि विभिन्न पत्रपत्रिकामा यिनका लेखरचना, कथा, कविता प्रकाशनमा आइरहे । उनी पाटन कलेजबाट आई. ए. र बी. ए. गरिन्जेलमा नेपालकी चर्चित साहित्यकारका रूपमा प्रतिष्ठित भइसकेकी थिइन् । त्यसबेला यी ‘बिहान’ तथा ‘हिमानी’ पत्रिकाको सम्पादक मण्डलमा थिइन् । त्यसपछि यिनले त्रिभुवन विश्वविद्यालयमा एम. ए. पढ्न थालिन् । त्यहाँ पढ्दा यिनले ‘देउराली’ को सम्पादन पनि गरिन् । त्यस बेलासम्ममा यिनी नेपालभित्र मात्र होइन नेपालबाहिर नेपाली भाषा बोल्नेहरूमाझ समेत साहित्यकारका रूपमा चम्किसकेकी थिइन् ।

१.३ जीवनसङ्घर्ष, अध्ययन र पेसा

प्रेमा शाहको यौवनावस्था र गार्हस्थ्य जीवन भने त्यति राम्रो भएन । साहित्यिक व्यक्तित्व झैं नै यिनको शारीरिक बनोट र रूप पनि वर्णनीय थियो । त्यति मात्र होइन; उनका आफ्ना रचना र विषयचयन पनि पुरुषलाई झुम्म पार्न खालका हुन्थे । साहित्यरचनामा यिनलाई नसा लागिसकेको थियो । यसै बीच २०२८ साल असार १८ गते यिनको पाटनका जे. पी. शाहीसँग यिनको विवाह भयो । बिहेपछि प्रेमा शाह बनारस पढ्न गइन् । उनी बनारसमा पढ्न बस्ता शाहीले उनलाई धूमधाम सहयोग पनि पु¥याएका थिए । त्यसै समयमा प्रेमा शाहले बनारस हिन्दू विश्वविद्यालयबाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरिन् । साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरिन् । तर शाही दम्पती नेपाल फर्केपछि लगत्तै यिनीहरूको पारपाचुके भयो । सामाजिक, पारिवारिक र वैयक्तिक हरेक संघर्षसँग जुधेर यिनले २०२६ सालमा नेपाली विषयमा एम. ए. पास गरिन् । लोग्नेसँग सम्बन्धविच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागिन् त्यहाँबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् र बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान थालिन् । त्यसै बीचमा उनको परिचय आर. एम. कर्माचायर्सँग भयो । शाहको मन उनीसँग टपक्कै टाँसियो । २०३८ मा यिनीहरूले एकअर्कालाई माल्यार्पण गरे । बिहे गरेको एक वर्षपछि जल शाह छोरीका रूपमा जन्मन पुगिन् । यो सानो र सुखी पारिवारिक जीवनमा पनि एक्कासी हुन्डरी आयो । प्रेमा शाह आफ्नी छोरीसहित टाढाटाढा जाने निस्कर्षमा पुगिन् । त्यसपछि उनी काखे नानी बोकेर सर्लाहीतिर लागिन् ।
जीवन धान्ने क्रममा उनले विभिन्न विद्यालयमा मुख्यतया अंग्रेजी र नेपाली एवं कहिलेकाहीँ इतिहास पढाएर दिन काटिन् । यस क्रममा उनी सर्लाही, वीरगञ्ज र नेपालगञ्जमा समेत बसिन् । यसै क्रममा उनले सुरुमा वीरगन्जको ठाकुरराम क्याम्पस र पछि नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि पढाइन् । पेसामा आबद्ध भएको अन्तिम पहरमा उनी वीरगञ्जमा नै रहिन् । त्यहाँ उनले साहित्यिक र सांस्कृतिक सङ्गठन पनि गरिन् । उनैले त्यहाँ ‘नारायणी वाङ्मय प्रतिष्ठान’ खोलिन् र त्यस संस्थाको आफै अध्यक्ष पनि भइन् । अन्त्यमा छोरीलाई लेखाउँदै पढाउँदै प्रेमा शाह पुनः काठमाडौंमा आइन् ।

१.४ साहित्यमा पारिवारिक पृष्ठभूमि

प्रेमा शाहको जीवनमा मावलीको प्रभाव, श्रीमान्हरूको प्रभाव र छोरीको प्रत्यक्ष प्रभाव गाँसिएको पाइन्छ । वास्तवमा यी विद्रोही स्वभावकी हुनाको प्रमुख कारण नै यिनको मावली परिवेश थियो, उनीहरू राणाखलकका दरबारिया थिए, उनीहरूको ऐयासीपूर्ण र विलासी जीवन यिनलाई मन पर्दैनथ्यो । तीप्रति उनका मनमा घृणा थियो । यिनीचाहिँ न्यायवादी थिइन् । यी सबै अनुभूति र परिवेशका कारण प्रेमा शाहले श्लील र अश्लील साहित्यको गोरेटो कोरिन् । यी सबै पूर्वदृश्यहरूका कारण उनका रचनाहरू पनि त्यही परिवेशबाट लेखिए । प्रेमा शाह नेपाली साहित्यमा यौनसाहित्य लेखनमा बढी आकर्षित भइन् ।

२. साहित्यिक योगदान

यिनले पुस्तकाकार रुपमा ‘पहेँलो गुलाफ’ (कथासङ्ग्रह : २०२३) निकालेर नेपाली कथासाहित्यमा यौन आकर्षण प्रस्तुत गरेकी छिन् । ‘पहेँलो गुलाफ’को प्रकाशन नेपाली भाषासाहित्यमा यौनमनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धी थियो ।

‘विषयान्तर (कथासङ्ग्रह : २०२८) पनि उनको दोस्रो यौन कथासङ्ग्रह हो । विषयान्तरमा प्रेमा शाहले सुरुमै लेखिन् ‘त्यसपछि उसले पेट बोकी र लोग्नेलाई राम्रो असर दिई, ‘हाम्रो परिणति ।’ तर लोग्ने केही बोल्दै बोलेन उ मात्रै केही दिनसम्म एकनासले त्यस परिणतिलाई लिएर फलाक्दै रही । अनि भित्रभित्र लाजले खुम्चिँदै गई । लोग्नेले एकचोटि पनि उसको पेटलाई लिएर कुरा गरेन् । उसले लोग्नेको अनुहारमा कुनै भाव परिवर्तन पनि देखिन । खाली ऊ एक्लै पेट हल्लाएर हिँड्न थाली र त्यस्तै पेटको बोझ लिएर बस्न थाली । शायद उसले पेट बोक्नैपथ्र्यो त्यसपछि उसले ‘हाम्रो परिणति’ को बखान गर्न छोडिदिई ।’ ‘ऊ आफैलाई सम्झाउन थाल्छे लोग्ने उसको हक होइन् । उसको त्यो बढेको पेटसित लोग्नेको नाता पनि छैन ।’

प्रेमा शाहले ‘ममी’ नामक उपन्यास पनि लेखिन् जुन यौन आकाशमै नाचेको पाइन्छ । यसका साथै ‘आकाश विभाजित छ’ नामक उपन्यास चाहिँ यिनले अरू चारजना स्रष्टाको सहभागितामा लेखिन् । प्रेमा शाहले साहित्यको सृजना गर्दै जाँदा केही बालउपन्यास र बालकथासङ्ग्रहहरु पनि लेखिन् । उनले उमेर छिप्पिन थालेपछि बालकथा र उपन्यास लेख्न थालेको देखिन्छ । उनका ६ वटा बालकथासङ्ग्रह र ३ वटा बालउपन्यास प्रकाशित छन् । यसबाहेक यिनले बालगीतका दुईवटा सङ्ग्रहहरू पनि प्रकाशनमा ल्याइन् । यिनका प्रकाशित कृतिहरू निम्नानुसार छन् –

२.१ मौलिक कृति

१) पहेँलो गुलाफ (कथा सङ्ग्रह : वि.सं. २०२३)
२) बिषयान्तर (कथा सङ्ग्रह : वि.सं. २०२८)
३) मम्मी (उपन्यास : वि.सं. २०४०)
४) आकाश विभाजित छ (उपन्यास : संयुक्त लेखन : वि.सं. २०३२),
५) ‘रामेको कथा’ (बालउपन्यास : २०४२),
६) ‘आनन्दको आविष्कार (बालउपन्यास : २०४३),
७) ‘मनु र भँगेरा’ (बालउपन्यास : २०४३),
८) ‘जिन्की र जोकर ( बालकथासङ्ग्रह : २०४०),
९) ‘मन्टुकी बज्यैको कथाको पेटारो’ ( बालकथासङ्ग्रह : २०४०),
१०) ‘इन्द्रधनुष’ ( बालकथासङ्ग्रह : २०४२),
११) ‘रङ्गीचङ्गी कथाहरू’ ( बालकथासङ्ग्रह : २०४५),
१२) ‘राम्रो काम’ ( बालकथासङ्ग्रह : २०५१),
१३) ‘रेका केही कथा’ ( बालकथासङ्ग्रह : २०५१)
२.२ सम्पादित, अनूदित र फुटकर कृति
१) उज्यालो (बाल पत्रिका : सम्पादन)
२) विभिन्न पत्र–पत्रिकाहरुमा कथा, कविता, निबन्ध, लेख आदि प्रकाशित,

२.३ मानसम्मान र पुरस्कार

साहित्यको आराधनामा समर्पित भएबापत प्रेमा शाहले मैनाली कथा पुरस्कार र मैना पुरस्कार पाइन् । आई. ए. पढेताका अन्तरकलेज नेपाली भाषासाहित्य सम्मेलनमा यिनी कथामा प्रथम भएकी थिइन् । साथै त्यसै ताका सम्पन्न चित्रकला प्रदर्शनीमा समेत यिनी प्रशंसित भएकी थिइन् ।

प्रेमा शाह लेखनकलामा जसरी सफल भइन् त्यसरी नै यिनी सङ्गठनात्मक शैलीमा पनि सफल मानिन्छिन् । घरव्यवहार र गृहस्थी जीवनमा असफल भए तापनि यिनी छोरी पाउन, हुर्काउन र छोरीलाई प्रसिद्ध तुल्याउन सफल भइन् । त्यतिमात्र होइन यिनी साहित्यको फलैँचामा ढकमक्क फुलेरै बसिरहिन् । प्रेमा शाहलाई अझै प्रेमको भोक लागेको पाइन्छ । यौनको केन्द्रविन्दुमा पुगेर साहित्यसृजना गर्ने स्रष्टामध्ये अहिले पनि प्रेमा शाहको स्थान अग्रपङ्क्तिमा रहेको पाइन्छ । उनी नेपाली साहित्यमा सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा लेख्ने स्रष्टा हुन् । उनी आफ्ना भावना मनोवैज्ञानिक ढङ्गबाट मीठो भाकामा प्रस्तुत गर्छिन् । नेपाली भाषासाहित्यमा उनको लेखनीले आफ्नो बेग्लै आयामा स्थापित तुल्याउन सफल भएको छ ।

२.४ भ्रमण

यिनले नेपालका विभिन्न ठाउँका अतिरिक्त भारत, हङकङ, थाइल्यान्ड, जापान, अमेरिका र कतारको पनि भ्रमण गरेकी छन् ।

२.५ कथागत प्रवृत्ति

कथाकार प्रेमा शाहले मानवजीवनका विभिन्न पक्ष खास गरी मनोजगत्का विविध पक्ष र स्थितिका बारेमा पनि सुन्दर कथाहरू लेखेकी छन् । वी. पी. कोइराला तथा भवानी भिक्षुले स्थापित गरेको मनोवैज्ञानिक धारा त्यसमा पनि फ्रायडवादी धारालाई अझ विस्तारित गर्ने कार्यमा कथाकार प्रेमा शाहको भूमिका उल्लेखनीय रूपमा रहेको छ । नेपाली नारीका मानसिक आरोह–अवरोहलाई प्रभावकारी शैलीद्वारा विचारोत्तेजक रूपमा व्यक्त गर्न उनी सिपालु छन् । शैलीगत विविधता तथा जटिल मनोदशाका साथै अतृप्त कामवासनाको चित्रण प्रेमा शाहका कथाका विशेषता हुन् । यौनलाई स्पष्ट रूपमा अभिव्यक्ति गर्न रुचाउने उनका अधिकतम कथाहरु अतियथार्थवादी बन्न पुगेका देखिन्छन् । लोग्ने र पहेंलो गुलाफ उनका उत्कृष्ट र उल्लेखनीय कथाहरू हुन् । उनको कथाकारितालाई बुँदागत रुपमा यसरी दर्साउन सकिन्छ –

१. मानिसको अचेतन मनमा यौन अतृृप्तिले जन्माएका अनेकौं समस्याहरुलाई कथाको मूल विषयका रुपमा प्रयोग,
२. उत्तराद्र्धका कथामा अस्तित्ववादी र विसङ्गतिवादी चिन्तनको प्रबलता,
३. बाह्य वातावरण तथा पात्रको मनोदशाको चित्रणका लागि प्रकृतिलाई माध्यमका रुपमा प्रयोग,
४. नवनव बिम्ब र प्रतीकहरुको प्रयोग,
५. सरल वाक्य गठन, कलात्मक भाषा, नवीन शैलीको प्रयोग,
६. अतियथार्थवादी कथालेखन
७. नारीवादी लेखन

३. पहेँलो गुलाफकथाको विश्लेषण

मनोवैज्ञानिक यथार्थवादी कथाकार प्रेमा शाहको ‘पहँेलो गुलाफ ’ कथा यसै नामको कथासङ्ग्रह (२०२३) मा सङ्कलित आठवटा कथामध्ये सर्वश्रेष्ठ हो । नरनारीका बीचमा प्रचलित एकआपसको आकर्षणको मूलकारण यौन नै हुने हुँदा यिनीहरु चेतन–अचेतन दुवै समयमा त्यसको खोजीमा संलग्न हुने गर्दछन् भन्ने सन्दर्भलाई समेटी सिर्जना गरिएको कथा हो, यो ।

३.१ संरचना

नेपाली नारीका मानसिक उतारचढाव र असमानतालाई प्रभावकारी शैलीद्वारा विचारोत्तेजक रुपमा व्यक्त गर्न सिपालु कथाकार प्रेमा शाहको यौन अतृप्ति मेटाउने क्रममा पुरुषहरु कतिसम्म जडहृदयी र निष्ठुरी हुन सक्छन भने बिषयवस्तुको उद्घाटन भएको प्रस्तुत पहेलो गुलाफ कथा उत्कृष्ट कथा हो । यस कथामा असार ८ गतेदेखि असार १४ गतेभित्रका ८, ९, १२ र १४ गतेका ४ दिनको दैनिकीलाई जम्मा १८ अनुच्छेदमा प्रस्तुत गरिएको छ । दैनिकी शैलीमा एकालाप/आत्मालाप ढाँचामा संरचना गरिएको यस कथामा ८ गतेको दैनिकीलाई १ अनुच्छेद, ९ गतेको दैनिकीलाई १ अनुच्छेद, १२ गतेको दैनिकीलाई ७ अनुच्छेद र १४ गतेको दैनिकीलाई १० अनुच्छेदमा समेटिएको छ ।

३.१.१ डायरी शैली

कथाकार प्रेमा शाहले डायरी शैलीमा एकालाप र आत्मालापलाई प्रस्तुत पहेँलो गुलाफ कथामा प्रस्तुत गरेकी छन् । यो ‘डायरी’ शब्द अङ्ग्रेजी भाषाको आगन्तुक शब्द हो । दिनं दिनं भवः अर्थात् दिनदिनैको भन्ने अर्थमा दिन शब्दबाट व्युत्पन्न भई दैनिक, दैनन्दिनी र दैनिकी शब्द बनेका छन्, जुन व्यवहारतः नेपालीमा डायरी शब्दको पर्यायका रुपमा प्रयुक्त हुन्छन् । यी सबै शब्दले दिनभरिको, दिनदिनै भएको अथवा जे कुरा दिनभरि भएका छन्, ती सबै भन्ने अर्थदिन्छन्, त्यसैले डायरीका सन्निकट छन् । डायरी शब्दको खास पर्यायवाची शब्द आह्निक हो । तर यो धार्मिक वा नित्यकर्मविशेषमा प्रचलित भएकाले यहाँ सान्दर्भिक बन्दैन । दिनहुँ गरिएकामध्ये उल्लेखनीय वा पछिसम्म स्मृतिपथमा राखिरहन लायक कामकुराको विवरण छोटकरीमा लेखिने कागज वा कागजको ढड्डा, कापी(पुस्तिका) नै डायरी वा दैनिकी हो।

३.१.२ अकथा

पहेँलो गुलाफ कथा परम्परागत संरचनाभन्दा भिन्न छ । यस्तो कथालाई पाश्चात्य साहित्यमा अकथा भनिन्छ । अकथामा कथावस्तुको तर्कसङ्गत रचना हुँदैन, कथाक्रमभित्र अनेकौं श्रृङ्खला नमिलेका घटना प्रस्तुत गरिन्छन् । पात्रको क्रमिक विकास प्रणाली हुँदैन, शैलीगत अनेक प्रयोग हुन्छन्, अनि मूलतः कालक्रमको सुनियोजित संरचना हुँदैन । त्यसैले यो अकथात्मक संरचनामा निबद्ध कथा हो र यस कथाले आधुनिकताको शैलीगत प्रयोग गर्ने क्रममा नेपाली साहित्याकाशमा एउटा नयाँ इँटा थप्ने प्रयास गरेको छ ।

३.१.३ दृष्टिविन्दु

वर्णनात्मक कथनपद्धतिको प्रयोग गरिएको प्रस्तुत पहेँलो गुलाफ कथामा प्रथमपुरुष कथनशैलीमा आन्तरिक दृष्टिविन्दुमा संरचित छ ।

३.१ कथावस्तु

पहेँलो गुलाफ कथाको कथावस्तु अनुसार आठमहिनादेखि टी.वी. भएकाले सिनेटोरियममा बस्नु बाध्य म पात्रको दाहिने फोक्सो विग्री सक्दा पनि उसको श्रीमान नडराई नाघिनाई घण्टौ नजिक बस्ने र यौनोत्तेजनामूलक क्रियाकलापमा संलग्न हुने तथा मुखबाट खसेको रगतको फाल्सासमेत आफनै रेसमी रुमालमा थापेको छ । प्याजी रङ मन पर्ने म पात्रको पतिले उसलाई प्रसन्न तुल्याउन घरको डाइङ्गरुम अगाडी दुबोको चौरभरि प्याजी रङका जमेराहरु उमारेको छ । तीनदिन पतिको बलिष्ट अँगालोमा बाँधिन पुगेकी म पात्र क्षयरोगका कीटाणुद्वारा ग्रस्त आफ्नो शरीरलाई झुसिलकिराबाट आक्रान्त गुलाफसँग तुलना गर्दछे । अन्त्यमा म पात्रले आफ्नो पतिलाई टोकिदिने, नङ गाडेर एकएक चोक्टा मासु झिक्ने र आफ्नो फोक्सोमा रहेका जम्मै किरा त्यसमा भरिदिने, पतिलाई पनि सेता पलङमा बाधेर राख्ने आशय प्रस्तुत गरेकी छ । गुलाफको प्रत्येक पत्रमा एकएकवटा झुसिलकिराका लाभ्रे भए झैँ प्रत्येक नारीको सौन्दर्य रित्याउने पनि एकुनवटा लोग्ने मासिन हुने गरेको बिषयवस्तु समुल्लेख गरी कथावस्तु समाप्त भएको छ ।

३.२ पात्रविधान

यस पहेँलो गुलाफ कथामा म, उहाँ, सानुचा चम्पा, डाक्टर, एकजोडी नर–नारी आदि पात्रका रुपमा प्रयुक्त भएका छन् । यीमध्ये म पात्र मुख्य पात्र र उहाँ पात्र सहायक पात्रका रुपमा देखा परेका छन् भने मनका स्थिति, प्रेरणा र क्रियालाई चेतन मनसँग सम्बद्ध गरेर उसका मानसिक ऊहापोह, भोगाइ र सोचाइको अभिव्यक्ति गरिएको छ । यस कथामा पात्रसंयोजन गर्दा दुई जना मुख्य पात्र ‘म’पात्र र ‘उहाँ’ पात्रको शारीरिक स्वस्थताको स्थिति विपरीत ध्रुवमा रहनु यस कथाको विशिष्ट पक्ष हो । कथानायक शारीरिक रुपले सक्षम र स्वस्थ देखिन्छ तर कथानायिका क्षयरोगले आक्रान्त, जीर्ण, रुग्ण र ग्रस्त अवस्थामा छ । यी दुई विपरीत विन्दुले यहाँ नायक र नायिका बीचको आकर्षण र रतिरागात्मक क्रियाकलापको चरममा विचलन स्थापित भएको छ । यसरी पात्रमा रहेको मनोवैज्ञानिक असन्तुलन र असमानतालाई पात्रगत पृष्ठभूमि बनाई प्रस्तुत कथाको कथातन्तुलाई उनिएको पाइन्छ ।

३.३ परिवेश

प्रस्तुत पहेँलो गुलाफ कथा घटना र परिवेशका आधारमा लेखिएको कथा नभएर मनोवैज्ञानिक यथार्थवाद र अतियथार्थवादमा आधारित कथा भएकाले यसमा आन्तरिक परिवेशको सङ्केत गरेको पाइन्छ, तथापि कथालाई जीवन्त बनाउन सहरिया समाजको सङ्क्षिप्त सङ्केत भने भएको देखिन्छ । म पात्रको उहाँ पात्रसँगको यौन–अनूभूति र संवेदनाका साथै सहरिया सभ्यतामा हुर्केका सम्भ्रान्तहरुमा देखिने एकाकीपन, अस्तित्व र निस्सारताको द्वन्द्व तथा असामजिकताको प्रकटीकरण गर्ने माध्यमका रुपमा मात्र बाह्य परिवेशको प्रस्तुती यस कथामा भएको छ ।

३.४ भाषाशैली

सरल र कवितात्मक भाषाको प्रयोग, डायरी शैली, एकालापमा आधारित सम्बन्ध आदि यस कथाका भाषाशैलीगत बैशिष्टय हुन् । प्रकृतिलाई मानवीकरण गरी मानिसमा उठ्ने चिन्ता, अभाव, वियोग, पीडा, आकर्षण, घृणा आदि विविध भावका माध्यमबाट यस कथामा यौनलाई मानसिक र नैसर्गिक कार्यव्यापार ठानी मानिसका अचेतन मनको दमित यौनेच्छालाई प्रभावकारी रुपमा विश्लेषण गरिएको छ । प्रस्तुत कथाकी नायिका मपात्रले व्यक्त गरेका भावनाले यौनजन्य क्रियाकलापमा असक्षम एउटी नारीको संवेदनालाई उनी सटीक ढंगले प्रस्तुत गरेकी छन् । उनी लेख्छिन् –
‘आखिर क्षयका किरालाई आफ्नो जिउभरि पालेर मृत्युलाई कुरिरहेछु । उहाँलाई के छ र? झन् नाफैनाफा छ, लोग्नेभन्दा पनि उहाँ एउटा चतुर घिउपसले साबित भइसक्नु भएको छ, तै पनि उहाँलाई ममाथि दया उठ्दैन । मसित यो झिनो जिउ र फोक्सोबाहेक के छ र, अझै के लिन आउनुहुन्छ, यहाँ ?’

यस कथामा मूलतः मनोवैज्ञानिक यथार्थवादलाई अङ्गीकार गरिएको छ । यद्यपि यहाँ अतियथार्थवादको प्रयोग पनि भएको छ । अतियथार्थवादीहरु मनमा अन्तर्मनको निर्बन्ध र स्वतन्त्र क्रियाकलापलाई साहित्य, कला र ज्ञानको मूल मुहान मान्दछन् । असाध्य रोगबाट आक्रान्त नायिकाको शारीरिक अवस्थालाई महत्त्व नदिई उसका रुप, लावण्य र यौनिकताप्रति नायक निर्बाध आकर्षित भइरहनु यस कथाको अतियथार्थ पक्ष हो । सपना, तन्द्रा, अवचेतन मन आदिमा सञ्चित इच्छालाई नायकले प्राकृत तथा स्वयंसिर्जित भ्रान्तिका रुपमा प्रयोग गर्नु यस कथाको अभिव्यक्ति शैलीको एउटा महत्त्वपूर्ण पाटो हो ।

३.४ उद्देश्य

प्रस्तुत पहेँलो गुलाफ तार्किक, उच्च नैतिकता, सामाजिक रीतिस्थिति, साहित्यिक कलात्मक परम्परागत नीतिनियमहरु तथा नियत विचार र पूर्वाग्रहद्वारा गरिएको कलात्मक सिर्जनामाथिको नियन्त्रण अर्थात् मानवमनको स्वतन्त्र विचरणमाथिको सबैखाले बन्धनलाई यस कथामा अस्वीकार गरिएको छ। मूलतः यस कथामा नायिकाको अर्द्धचेतन वा अवचेतन मनको खोजमा केन्द्रित विषय कथाको मुख्य उद्देश्य हो ।

३.५ मूलसन्देश

प्रेम भनेको कसैको उत्सर्ग वा सम्पूर्ण भावमा हुँदैन । प्रेमको बनोट र प्रेमको स्वरुप अमूर्त र अव्यक्त हुन्छ । पत्नीहरु जब पतिका लागि कर्तव्याचरण पालना गर्दछन् त्यहाँ प्रेम होइन औपचारिकता मात्र हुन्छ । त्यसैले प्रेम र कर्तव्य भिन्दाभिन्दै विषय हुन् । मानवजीवनमा सधैं रहीरहने स्थायी तत्त्व समेत प्रेम होइन, प्रेम त उमेर, अवस्था, जिज्ञासा र समान आकाङ्क्षाहरुका बीचमा कायम रहने तत्त्व हो । त्यो प्रेम परिवेशबमोजिम कर्तव्याकर्तव्य र नैतिकतातिर परिवर्तित हुँदै जान्छ । यौनजन्य क्रियाकलापले शरीरतत्त्वलाई प्रदान गर्ने चरम आनन्द वा भावनात्मक रुपमा हुनजाने त्याग, दान, समर्पण वा उत्सर्गताबाट आत्मतत्त्वले प्राप्त गर्ने आनन्द आफूमा अपूर्ण र अधुरो रहेको भावाभिव्यक्ति कथाकी नायिका ‘म’पात्रका माध्यमद्वारा कथाकारले यहाँ सन्देशका रुपमा ओकलेकी छन् ।

३.६ शीर्षकीकरण

पहेँलो र गुलाफ यी दुईवटा शब्दको संयोजनद्वारा यस कथाको शीर्षकीकरण गरिएको छ । विशेष्य-विशेषणको ढाँचामा रहेका यी शब्दले प्रतीकात्मक अर्थ बोकेका छन् । पहेँलो गुलाफलाई मित्रताको प्रतीक मानिन्छ । फ्रेन्डसिप डे अर्थात् मित्रता दिवस (अगस्ट महिनाको पहिलो आइतबार) का दिन आफ्ना प्रियतमलाई पहेँलो गुलाफ प्रदान गर्ने चलन छ, पाश्चात्य मुलुकहरुमा । अहिले यो प्रयोग प्रणय दिवस (भ्यालेन्टाइन डे : प्रत्येक वर्षको फेब्रुवरी १४) का दिन पनि गर्दछन् ।
यहाँ पहेँलो विशेषणले अस्वस्थताको सङ्केत गरेको छ भने नारीमनको कोमलकान्त भावलाई गुलाफले समेटेको छ । त्यसैले गुलाफलाई झुसिलकिराले पहेलो बनाए झै नारीलाई अस्वस्थ पार्ने पुरुषहरु हुन् भन्ने बिषयवस्तु यस कथामा प्रस्तुत भएको छ । त्यसैले यसको शीर्षक सार्थक र उपयुक्त छ ।

३.७ निष्कर्ष

एउटा पशु र मानिसले यौनेच्छा भन्ने कुरा प्रकृतिबाट समान रुपमा प्राप्त गरेको हुनाले यौनको आकर्षण प्रकृतिका सबै प्राणीहरु बीच समान रुपमा प्रसारण हुन सक्दछ । यौन इच्छा भनेको मानिसले आर्जन गरेको भौतिक सम्पत्ति होइन र त्यो मानिसको ऐच्छिक नियन्त्रणभित्र सधै दबेर बसिरहने कुरा पनि होइन । नैसर्गिक रुपमा जीवहरुले समान रुपमा प्राप्त गरेको प्रेम मानवभित्र चाहिँ आवरणयुक्त हुने भएकाले त्यसलाई अनेकौं नैतिक बन्धनहरुद्वारा बर्जित तुल्याइएको हुन्छ । त्यस्तै नैतिक बन्धनका कारण मानिसले चेतनाको प्रयोग गर्दै त्यसलाई दमन गर्दै जान्छ । तर त्यो यौनेच्छा उसको हाउभाउ, बोली, आचरण, स्वभाव र क्रियाकलापमार्फत प्रकट हुन्छ । कतिपय कमजोर मानसिकताका व्यक्तिहरुले अवयस्क विपरीतलिङ्गी र पशुसित गर्ने यौनाचरणको घटना पनि यही कोटिमा पर्दछ । यस्ता क्रियाकलापको अध्ययन क्षेत्र कानुन र सामाजिक न्याय मात्र होइन, साँच्चै भन्नु पर्दा यस्तो आचरणको अध्ययनको मूल क्षेत्र व्यक्तिभित्रको मनोगत परिवेश हो । यसरी एकातिर नारी लेखककै शब्दसंयोजनमा नारीमनका भावनाहरु यस कथामा छताछुल्ल भई पोखिएका छन् भने पुरुषहरुले यौनोन्मत्त भई गरेका कार्यलाई चित्त नबुझ्दा नबुझ्दै झिंझो मान्दै आम नारीजगत्ले भोग्नु परेको बाह्य यथार्थलाई पनि यस कथानकले विषय बनाएको छ । समग्रमा यो एउटा नारी मनका सुसुप्त आवाजलाई अभिव्यक्ति प्रदान गर्ने सशक्त कथा हो । २०१६ सालमा ‘शारदा’ पत्रिकामा ‘प्रतिक्रिया’ कथा छापेर सृजनात्मक लेखनमा लागेकी प्रेमा यौनमनोविज्ञानका तन्तु केलाउनमा खप्पिस मानिन्छिन् । ‘अहिले प्रेमको परिभाषा बदलिएको छ, मान्छेमान्छेबीच सम्बन्धको पुल नै छैन अहिले । अब त के नारी, के पुरुष भन्ने भइसक्यो,’ पहेँलो गुलाफलाई क्षयग्रस्त नारीको प्रतीकमा बुनेर कथा लेखेकी प्रेमाले पछिल्लो समयमा बुझेको कुरा पनि यही नै हो ।

४. सन्दर्भग्रन्थ
१. डा. ईश्वर बराल र अन्य – नेपाली साहित्य कोश, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५
२. कान्तिपुर दैनिक, २०६७ कार्तिक ११
३. डा. कुमारबहादुर जोशी – पाश्चात्य साहित्यका प्रमुख वाद, ते.सं., काठमाडौँ : साझाप्रकाशन, २०५४
४. केशवप्रसाद उपाध्याय – साहित्य प्रकाश, दो.सं., काठमाडौँ : साझा प्रकाशन, २०३४
५. गरिमा, समालोचना विशेषाङ्क, काठमाडौँ : साझाप्रकाशन, २०५१,
६. दयाराम श्रेष्ठ ‘सम्भव’ – पच्चीस बर्षका नेपाली कथा, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०३९
७. डा. देवीप्रसाद गौतम – नेपाली कथा, ते.सं., काठमाडौँ : नवीनप्रकाशन, २०५५
८. प्रेमा शाह – पहेँलो गलाफ, दो.सं., काठमाडौँ : रत्न पुस्तक भण्डार, २०६७
९. भोजराज ढुङ्गेल र अन्य, (सम्पादक) – नेपाली कथा र उपन्यास, काठमाडौँ : एम. के. पब्लिसर्स एण्ड डिष्ट्रिव्यूटर्स, २०६३
१०. डा. मुरारिप्रसाद रेग्मी – मनोविश्लेषणात्मक समालोचना (समसामयिक कथा खण्ड) दो.सं., काठमाडौँ : साझाप्रकाशन, २०५३,
११. मोहनराज शर्मा – कथाको विकास प्रक्रिया, काठमाडौँ : साझाप्रकाशन, २०३५
१२. वासुदेव त्रिपाठी – पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा, भाग–२, ते.सं., काठमाडौँ : साझाप्रकाशन, २०४९
१३. विश्वेश्वरप्रसाद कोइराला – साहित्यमा प्रगतिशीलता, प्रगति, २/२ (२०११)
१४. डा. हरिप्रसाद शर्मा – विश्वेश्वरप्रसाद कोइरालाका कथा, काठमाडौँ : साझाप्रकाशन, २०६१
(यो लेख पिण्डेश्वर विद्यापीठ धरानस्थित प्रगतिशील प्राध्यापक सङ्गठन एकाइद्वारा प्रकाशित ‘निष्ठां’ पत्रिका २०६९ बाट साभार गरिएको हो ।)


उपप्रा. कृष्णप्रसाद कोइराला
पिण्डेश्वर विद्यापीठ, धरान–१४, सुनसरी

(स्रोत : साहित्यघर – निहारिका)

This entry was posted in समीक्षा and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *