लघुकथा : ईको

~रुमानी राई~rumani-rai

अझै पनि ऊ निर्धक्क भन्ने गर्छ कि,”मेरो साहित्य लेखन नि:शूल्क समाज सेवा हो ।” हुन पनि हो,आजसम्म उसले जे जति लेखिरहेको छ-मात्र लेखिरहेको छ निर्वाध । दुईचार साहित्यिक संघसंस्थामा आवध्द छ । अर्थात दाम नभए पनि नाम छ ।

“साहित्यकार ज्यू तपाईंको लेखनलाई मान्नै पर्छ ।”

“मेरो लेखनलाई मनपराई दिनु भएकोमा धन्यबाद ।” ऊ गौरव गर्दै आफ्नो तारिफकर्तालाई भारी भाव-विभोरता प्रदान गर्छ-ता कि ऊ एक साहित्यकार नै हो ।

उसको एक समकालीन साहित्यिक सहयात्री पनि छ जो साहित्यमा पनि मूल्य हुनु पर्छ भन्छ । उसले भने जस्तो मूल्य अझै पाउन त सकेको छैन-लेखन दमदार छ । तर सिमित घेराभित्र उसको साहित्य र व्यक्तित्व सिमान्तकृत छ । ऊ कुनै मेडियामा आउन पनि चाहंदैन । बिना मूल्यको अफवाह उसलाई विलकुल स्वीकार छैन ।

आज उसको समकालीन सहयात्रीले एउटा सानो विजिनेस सुरु गरेको छ- मूल्य खोज्दै । ऊ भने उही नि:शूल्क समाज सेवाम समर्पित छ । सहयात्रीको विजिनेस मारामार चलेको छ । उसले चाहेको र खोजेको मूल्य केहि मात्रामा हाँसिल पनि गरिरहेको छ ।
“तपाईंको विजिनेस त राम्रो चल्दोरहेछ नि!” ग्राहकको भीड पातलिए पछी उसको मुखबाट अनायासै तारिफ फुत्कियो ।

“ठिकठिकै छ,”सहयात्रीले मुस्कुराउंदै भन्यो,”के गर्नु,बाँच्ने आधार त चाहियो !” अन्तत: ऊ दिमागभरी बाँच्ने आधारको “ईको” बोकेर हिंड्यो ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *