कविता : अतिथिहरु

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
दूरदेशका आए अतिथि
भारत–सागरका यी दूत !
लच्की आए, मुस्की आए,
चिरपरिचित झैं, किरणप्रसूत !
पथ जानेका मेरा घरको
नील अचलका चुली वार !
आए, आए !
मेरा स्वदेशी नीलिभ वनतिर
जल कोमल छन्, चुहिन तयार !

ख.
ज्येष्ठ मासको ज्वलन निभाउन,
ताप सियालन आए ती
क्लान्त मेरो एकान्त मिटाउन,
समय बियालन आए ती
चढ्छन् हात्ती, चढ्छन् घोडा
सहृद् सुकोमल बहु–आकार !
पुष्प–पीडा दिलका बुझ्छन् !
पङ्ख फिंजार्दा,
हृद्रस झार्दा,
वाष्प–रुपिणी करुणाका यी,
पानी–भार !

ग.
के, के ल्यायौ ? सलिल–सँगी हो !
कोमल, कोमल ऊन सरि !
रत्ननिधिले सम्झन्छन् के
स्थल–दरिद्री पापीहरुकन,
शुष्कहरुकन, माया गरी ?
अध्यात्म–जगत्का प्रखर खडेरी,
वर्षी, मेट !
मानवताका शुष्क जराहरु
मर्नै आँटे यस उपवनमा,
घुस्दै भेट !
शुष्क र निर्धन जगत् धनी गर,
पन्ना किन्ने मोती फाल !
सधूली नभ यो रुग्ण छ, नग्न छ,
धोऊ, पखाल !
साँझ–बुना पोशाक उज्यालो,
सुन्दर शैली,
यसमा हाल !
ज्वलित जगत्का ए उद्धारक !
वरुणदेवका करुण छाया !
समवेदना ए थलसँग जलका !
मानवताझैं कवि हृन्नभमा
छाउँदा हलुका !
ऋतु–क्रम स्मृति ए अतट विपुलका !
युग–चक्रका झैं ए झिल्का !
कोही परम करुण छ उतातिर !
क्या माया !
ए जलट हो ! फैली, फैली,
छाया डाल !
दायाँ बायाँ !

घ.
अतिथिहरु हो पाद पवित्र
कविदृग–जलले धुन देओ !
कोमलका ए आत्माहरु हो !
कल्पनाका हात नरमले
नरम पखेटा छुन देओ !
अरुका दुःखका पग्ली मिट्ने !
दर्शन पाएँ, रुन देओ !
कसरी अस्थि पवि परिणत छन्
सङ्घर्षहरुमा भनिदेओ !
कसरी पुनरुद्दीपित भू हुन्
गाई, ताली गनिदेओ !
महापुरुषका नाटक गर, झर !
प्रेरक भावका जुनि लेओ !

ङ.
दृश्यपटमा कलिलो रङ्गले
छोई आयौ बादल हो !
करुणा जन्मी तिम्रा सँगमा !
वसुन्धराले घायल हो !
शहीदहरुका हृदय तिमी होऊ,
बलिदानका ए पागल हो !
स्वर्गका हे श्रृङ्गारहरु हो !
दिवसप्रभाका गाजल हो !

च.
आज मुजूर भो मन बहुरङ्गी !
त्यसमा वाणी मुदित चढिन् !
रोमहर्ष भै, प्रकृति तिम्रो
सन्देश गीतिका निम्ति अडिन् !
बोल, बोल, ए मेरा अतिथि !
पुनरुद्दीपन राग ! झर !
मर–मिटको जल–सङ्गीत मनोहर
कवि–आत्माको तृप्ति गाराई
छर न, छर !
अविश्लेष्य, अनिर्वचनीय, अनुपम,
आनाकधरा, व्यापक, महान्,
महामधुर एक सङ्गीत जगत्को,
जो हो अविरल, निश्छल, अविकल,
विकास–उज्यालो बलिदान !

छ.
अतिथि तिमीहरु घर घर गर्दै
जल बन्दिन्छौ पग्ली प्राण !
शून्य गगनमा सब कुर्वान !
बर्षिरहन्छौ, बर्षिरहन्छौ,
मानव दिलमा तर हे निरन्तर !
बर्षिरहन्छौ अनजान !

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *