छन्द कविता : शरद्

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शिखरिणी

हटे कालामैला अति मुदित वातावरण छ
सुके वर्षा मानौँ – गगनतिर बन्ध्याकरण छ
उडे टाढाटाढा, ध्वनि मलिन पारे जलदले
उघार्दै छे घुम्टो झलमल उज्याली शरदले ।।

उठे सेता खास्टा तलतल बढाई नगहरू
खुले चोखा बन्दै क्षितिज, नद, सारा जगहरू
खुला ज्योत्स्ना छर्दै प्रकटित हुँदै छिन् प्रिय शशी
“मही”मा हाँस्दै छन् कुसुम रसका अत्तर घसी ।।

निशामा हावाले जलकण दिए शीतल छरी
उषाका पत्तामा तपतप खसे शीत-लहरी
बन्यो छाता सेतो क्षितिज कुहिराको ढकनले
बने सेतासेता तृण पनि तुषारे वसनले ।।

न जाडो या गर्मी न त अधिक धूलो र कसर
न आँधी या बाढी ध्वनित छ न कालो जलधर
कडा ज्वाला हट्दै दिनकर गए शान्त रसमा
किरा, पन्छी, मान्छे जिनिस पनि छैनन् सकसमा ।।

गड्यौला खेल्दै छन् पथ र घरका आँगनभरि
मितेरी खोज्दैछन् लहर कमिला गन्थन गरी
कुनाकाप्चा लुक्दै उडुस उपियाँका गफ चले
चल्यो चर्चा- “टोक्ने अनि रगत चुस्ने दिन ढले” !!

झुले बालीनाली कृषक र भकारी-तिर झुकी
हटे धाबा,धम्की त्वरित खहरेका जल सुकी
हराए वर्षाका प्रलयसरिका गर्जनहरू
उदाए दानामा श्रम-लगनका सिर्जनहरू ।।

दसैं, द्यौसी, भैलो, छठसित मिलायो शरदले
सयौँ नौला आशा, रसरङ दिलायो शरदले
फुली आऊ नाच्दै मनपटल खोली प्रियतमा
उनून् माला हाम्रा युगल मन अल्पी शरदमा ।।

– नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *