कविता : निलो डायरी

~त्रिभुवनचन्द्र वाग्ले~

मेरो आत्मकथाको निलो डायरी
भयो भो उसमा जिल्दा नलगाऊ
ता कि उसलाई
कृत्रिमता बुट्टेदार जिल्दाभन्दा
सादा एक रङ्गी रहनु गर्व हुनेछ ।
कृत्रिमताः मेरो बैठकको गमला
जसमा जीव छ, चराचर छैन
भो तिम्रो गालामा जिल्दा नलगाउ पाउडरको
जसमा क्रिम त बसाउँछ, हार्दिकता नि ?
नरङ्गाए है उसलाई,
नत्रभने म तिम्रो सामिप्यबाट छुट्टिएर
हाम्रै पहाडकी साइँलीको गाला हेर्न जान्छु
जसमा चुलोचम्को गर्दा
दाग लागेको हुन्छ चन्द्रमामा जस्तो
र हाँस्दा नजानिदो खोपिल्टो पर्छ ।
(दबिन्छ गुणिको दोष गुणका रासमा परी
रश्मीले चन्द्रको दाग दबाएकै छ बेसरी)
लेखनाथ मेरा वाल्मीकि हुन्
ज्ञज्ञद्ध अकीर्ण आँखा
त्रिभुवनचन्द्र वाग्ले ज्ञज्ञछ
कृत्रिमता मेरो गार्डेन हब्बी
उसको साँगुरो चौबन्दीमा
आँखा त अटाउन सक्छन्, आँत नि ?
भयो भो उसलाई पाइपले नछ्याप
नत्रभने म तिम्रो नजरबाट अलग्गिएर
आफ्नै खोरियाको कान्लामा जान्छु
जहाँ वर्षादले लाली पोत्छ ।
कृत्रिमता: तिम्रो छातीका ‘डबल–हर्स’
उसको चुचुल्याई उठानमा
गर्व त आउँछ मदको, वात्सल्य नि ?
भयो भो चुचुल्याउन उसलाई टेको नलगाऊ ब्राको
नत्रभने म तिम्रो आलिङ्गनबाट फुत्केर
आफ्नै आमाको सेप्रिएको स्तन हेर्न जान्छु
जुन सेप्रिएर पनि रसिलो छ मातृ वात्सल्यले
मेरो आत्मकथाको निलो डायरी
भयो भो उसमा जिल्दा नलगाऊ
ता कि उसलाई
कृत्रिम बुट्टेदार जिल्दाभन्दा
सादा एक रङ्गी रहनु गर्व हुनेछ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *