कविता : टेलिभिजन

~विमल निभा~Bimal Niva

एक थान आयातित बाकस
जसभित्र बन्द छ
इलेक्ट्रोनिक सपनाहरुको
अन्तहीन सिलसिला
रिमोट कन्ट्रोलको बटम थिच्नोस्
तुरुन्तै हाजिर
सेक्सी एल्बमकी पपस्टार मेडोना
अथवा इजरायलको फाइटर विमानचालक
अथवा जापानी सुमोको बृहदाकार च्याम्पियन
अथवा अस्ट्रेलियाको अद्भूत कङ्गारु
अथवा रुसी सर्कसको विशिष्ट विदूषक
अथवा हाम्रै प्रधानमन्त्रीज्यू
छिमेकी भारतीय सिनेमाको गीत–सङ्गीतले
गुञ्जायमान हुन थाल्छ
मेरो कोठाको सङ्क्षिप्त आयतन
अब प्रस्तुत छ
च्यानल टूको राष्ट्रिय कार्यक्रममा
प्रजातान्त्रिक समाजवादको रङ्गीन सिरियल
प्रायोजक मल्टिनेसनल साहूकारहरु
शहरको तापक्रम छ
४९ डिग्री सेल्सियस
अन्तर्राष्ट्रिय न्युजरिलमा देखापर्छ
नियमित रुपमा
मिस्टर क्लिन्टनको क्लिनसेभ्ड अनुहार
जो भरखरै फर्केका छन्
अफ्रिकी देशहरुको भ्रमणबाट
ताजा लासहरु गणना गरेर
जिउँदाहरुलाई डलरको देशबाट सन्देश
गरीब देशका बासिन्दाहरु
कोकाकोला खाऊ
बर्मिङ्घम प्यालेस कस्तो देखिन्छ
युरोपियनहरु डिनरमा के–के खान्छन्
यो हो रेसिङ कारको नयाँ जर्मन मोडल
बोरिस येल्तसिनको स्वास्थ्यमा सुधार
कस्तो योजना छ वल्र्ड ब्याङ्कको गभर्नरको
क्रिश्चियन डेमोक्रेट पार्टीको चुनावी घोषणापत्र
आभिजात्य गोरा महिलाहरु किन कुकुर पाल्छन्
फुर्सदमा के गर्छन् भ्याटिकन सिटीका पोप जोन पल
सबै केही क्षणमा थाहा हुन्छ
पश्चिमा संचार व्यवस्थाले
हाम्रो ज्ञान वृद्धि गरेको छ
टेलिभिजनको दिशातर्फ स्थिर छ
आज सारा संसारको दृष्टि
मेरो देश पनि उतैतिर टोलाइरहेछ एकनासले
खुसी मनाउनोस् नेपाली दाजुभाइहरु
स्क्रिनमा मुस्कुराउँदै छे
१९९३ की विश्वसुन्दरी
कम्मर २२ र छाती ३६ इन्च

(२०५०)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *