कथा : गोत्र

~सदिप कुमार लम्साल~

धेरै दिन पछि अनलाइन आउने मुड चल्यो । दिउँसो कामको ब्यस्तता अनि साझ साथी भाइ सङ्गको जमघट्ले गर्दा अनलाइन , फेसबुक तिर ध्यान नगएको पनि हप्ता दिन हुन लागेछ। मलाइ काम र साथि हरु सङ्गको जम्घट भन्दा अरु खास्सै केही कुराको चासो लाग्दैन आजकाल ।

झोला बाट ल्यापटप निकाले , चार्जमा लगाएर अन गरे , सिधै गुगल क्रोम मा गएर फेसबुक खोले, हप्ता दिन अपडेट नगरेकोले होला नोटिफिकेसन टन्नै थिए । फोटो मा लाइक गरेको, कमेन्ट , आफु समाबेश भएका कुनै ग्रुप को पोस्ट यस्तै यस्तै थुप्रै ।

नोटिफिकेसन चेक गरेपछि पालो मेसेज तिर को आयो बिस्तारै माउस क्रसर लाई इन्बक्स तिर पेले , म खासै कुनै पुरुष मित्र को भन्दा नि कुनै स्त्रीको मेसेज छ कि भनेर हेर्न रुचाउछु , सधै आफै घुर्सी घुर्सी बोलाउने मलाइ कस्ले पो बोलाओस बरु दुईचार जना आफ्नै साथिहरुको मेसेज आको रैछ।

” साला बोल्दैन खुब हिरो भाछ।”  रबिको म्यासेज रहेछ यस्तो । मायाले गाली गरेको ।

” अरब तिर गएसी पैसा कमायो होला बोलाउदा नि भाउ खोज्छ ।”  गाउँकै मिल्ने जिग्री बिरेको म्यासेज थियो यस्तो । सायद डाहा गर्दै थियो ।

” स्त्रीलम्पट न परो केटि सङ्ग मात्र बोल्छ होलानी , हाम्रो के को बाल ” कलेजको साथी सुनिल ले त लास्टै दनक दिएर लेखेको रहेछ ।

आदि इत्यादी यस्तै दुई चारजना दोस्त का मेसेज देखेसी भाउन्न हुँदै तिन्लाइ रिपाइ नदिइ मेसेज बन्द गरे ।

फ्रेण्ड रिक्वेस्ट ट्यागमा एउटा रेक्वेस्ट आएर बसेको रैछ महिनौ भाथ्यो कसैको रिक्वेस्ट नआको ।

आँखा चिमिक्क पारेर खुसी हुँदै क्लिक गरे ,नाम देख्ना साथ तीन बित्ता उफ्रे ।

रिना रुपाखेती नाम बाट रिक्वेस्ट आको रैछ । एकछिन किन यति खुसी हुँदै छु भन्ने पनि लाग्यो , बच्चै देखिका साथिले हाइ हेल्लो, सन्चो बिसन्चो सोध्दा तिनलाइ बाल नदिने म को हो को हो केटिले रेक्वेस्ट पठाउद यति धेरै खुसी किन भन्ने प्रश्न पनि उठ्यो ।

कतै फेक पो हो कि भनेर ङिच्च पनि परे , केही समय पहिले यस्तै केटिको नामको फेक आइडीसङ्ग घण्टौ जिन्दगी, माया पिरतिका कुरा गरिन्थ्यो लास्टा एक्दुइ जना सङ्गै काम गर्ने साथी सँगपनि त्यही खाले कुरो हुन्छ रे भन्ने थाहा पाएसी त्यस्लाइ ब्लक ठोकेको याद आयो ।

मनले यस्तै सोच्दै थियो अनि हत्त्पत प्रोफाइल चेक गरे केटिको प्रोफाइल मा भएको डिटेल र फोटो हेर्दा साच्चै केटिकै आइडी होइछ भन्ने भो फेरि ढोका थुनेर तिन फन्का नाचे ।

ल्याप्टप मा गएर च्याप्प रिक्वेस्ट एस्सेप्ट गरे ।अन्लाइन नै रहिछे ।

कुराको सुरुवात सङ्गै सिधै  “हेल्लो डियर ” ठोक्दिउ कि भन्ने झोक चल्यो फेरि सोचे उतै बाट रिक्वेस्ट पहिला आको हो किन भाउ दिने भन्ने लाग्यो ।

आफुलाइ अलि जानकारीपुर्ण देखाउन एकदुई जनाको राजनिती सम्बन्धी लेख दुरुस्तै कपि पेस्ट गरेर स्टाटस ठोकिदिए ।

दस मिनेट भो केही मेसेज आएन , हेरेको सात मिनेट अगाडि अफलाइन भाको देखायो , मुटुमा दस केजिको फलाम राखे झै भो ,ल्याप्टप बन्द गरेर खाट मुन्तिर फाल्दिए र सुते ।

छुट्टिको दिन भएर होला नौ बजे सम्म उठ्नै मन लाएन , मन नलाइ नलाइ उठे । उठ्ने बित्तिकै त्यही मोरिको याद आयो जुरुक्क उठेर ल्याप्टप खोलेर सिधै फेस्बुक तिर गए प्रायजसो पहिले नोटिफिकेसन चेक गर्ने म सिधै मेसेज तिर आँखा गाडे । टुप्लुक्क एउटा मेसेज आएर बसेको रैछ ।हतार हतार क्लिक गरे ।

मेसेज देख्ना साथ उतानो परेर खुसिले बेस्सरी हात खुट्टा झट्कारे , मेसेज यस्तो थियो ू के छ हिरो , के हो हामी सङ्ग त बोल्न नि गार्हो रु ू साथमा एउटा आँखा झिम्काएको इमो पनि ।

कुनै लड्की को मुख बाट हिरो नसुनेको धेरै भाथ्यो ,गद गद हुँदै जुरुक्क उठेर ऐना हेरे कपाल जिङ्ग्रीङ्ग भाको रैछ हात्ले मिलाए । ल्यापटप छेउ गएर रिपलाइ दिए ।

“अलि चिन्नै गार्हो भो निझ । “

मैले लेखेको म्यासेज गै नपुग्दै उसले हेरि सायद । कति हतार हो उसलाई । माया मान्दी रैछे मोरिले भन्ने लाग्यो ।

तुरुन्तै उता बाट रिपलाइ आयो ” नचिनेनी के भो र अब बिस्तारै चिनौला नि , डु यु फ्रेण्डसीप विथ मि ?”

जिन्दगिमा पहिलो पटक आफू केटा मान्छे भएर जन्मेकोमा गर्व लाग्यो
रिप्लाइ ठोके ” अफकोर्स , व्हाइ नट यार ।”

त्यस्पछी सुरु भो कुराकानी परिचय , असलि घर हेटौडा भएको र काठमाण्डौमा दाइ सङ्ग बसेर बिबिए पड्दै गरेको उस्ले सुनाइ ।
मैले नि बताए काठमाण्डौ १० बर्ष बसेको केही गर्न नसकेसी अरब तिर आको कहानी ।।
दिन प्रतीदिन कुराकानी हुँदै गयो , अजकाल ड्युटी सक्ने बित्तिकै रुममा आउछु घण्टौ उ सङ्ग कुरा नगरे सम्म निन्दा लाउन्न ।

एकदिन नजानिदो पाराले आफू एक्लो छोरो भएको कारण नेपाल आउने बित्तिकै बिहे गर्नु पर्ने कुरा उस्लाइ जनाए , उस्ले खास्सै चासो नदिएको देख्दा मन कट्क्क भो । मुखमा खुर्सानी परेर शरीरबाट पसिना आ जस्तै गर्मी भो । ज्वरो नै आयो दुई मिनेट । फिल्टर बाट एक गिलास पानी निकालेर पिए । पानी पनि रक्सी जस्तो तितो लाग्यो । बाहिर प्याच्च थुके ।

साच्चै भन्नू पर्दा म र रिना एकर्कालाई नदेखे नभेटे पनि एक्दम नजिक भैरहेका थियौ । यतिसम्म कि घर बाट उ बाहिर निस्किदा , म तर्कारी लिन जादा , तराकारी के किन्ने सम्म पनि एकअर्कालाइ सोधेर गर्ने गर्थेउ ।।

एकदिन आटै गरेर उस्लाइ बिहेको प्रस्ताव गरे उस्ले दाइ सङ्ग सल्लाह गरेर भोलि निर्णय दिन्छु भनी ।खुसी हुँदै भोलिको व्यग्र प्रतीक्षामा रहे ।

भोलि पल्ट ड्युटी बाट आएर युनिफर्मनै नखोली हतार हतार फेस्बूक खोले , मेसेज आएको संकेत देख्ना साथ मुटु ढुकढुक भो , हत्पत क्लिक गरे।

मेसेज देख्ना साथ मुटु लाई करौतिले रेटे जस्तो भो, भन्न रिङ्गटा चल्यो , पिसाप आउला आउला जस्तो भो ।
एक्छिन टोलाइरहे फेरि मेसेज तिर आँखा लगाए देखिरहे “हामी त एउटै गोत्रका रैछौ , दाइले भन्नू भाको एउटै गोत्र सङ्ग बिहे गर्दा छुट्टिनु पर्च रे । आइ एम सरि ।।”

त्यो दिन देखि फेसबुक खोल्या छैन । घरी घरी यसो सोच्छु यो जातभात गोत्र गोत्री नभैदिए कति प्रेमजोडि आफ्नो प्रेममा सफल हुनथे होलान ।

राइपुर, ३ तनहुँ 

(स्रोत : इन्द्रेणी अन्लाईन डट कम)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *