कविता : खाली दिमाग

~मनोज बोगटी~Manoj Bogati_1

त्यही पुरानो आँखा टोड्कामा हालेर उसले हेर्योव
देख्यो त्यही झन्डा हल्लिरहेको छ पाखामा
झन्डामा हल्लिरहेको छ त्यही च्यातिएको लुङ्गी
लुङ्गीमा सुकेको रगतको टाटो
हल्लिरहेछ
समय।

झन्डा हल्लिनु भनेको चिहानमाथि बिसाउने बुद्धले हाई काड्नु हो
उसले हाई काड्नु आधाबाटोमा विराट शुन्यता चर्को घाममुनि पल्टिनु हो
तर होइन छोडेको घर, स्वास्नी र छोेरा सम्झिनु।
झन्डा हल्लिनु भनेको गान्धीले चश्मा पुछ्नु हो
हेर्नु हो पितालाई छोडेर गएको सासको पुच्छर
र स्वास्नीको नाङ्गो शरिर
नाङ्गो शरिरबाट कसरी गोजाउन सकिन्छ महात्मलाई एउटा अर्को चलाकी गर्नु हो
र कात्नु हो धागो नछोपिने नाङ्गो छोप्न।

गान्धीले आफै कातेको धागोले छोपिदिएको देशको लाज
ह्वाङ्गै छ। ह्वाङ्गै छ देशको स्तन
ह्वाङ्गै छ देशको योनी

ह्वाङ्गै छ समाजको दह्रो लिङ्ग पनि।

लुङ्गी र झन्डा
रगत भर्सेस देश
अन्ततः हल्लिनु हो दुवैको महानिर्वाण।

झन्डा हल्लिनु भनेको हावा त चल्नु हो तर पात उड़ाउन नसक्नु हो
अथवा आगो लगाए पनि नउम्लिनु हो भात
अथवा झरी परे पनि नबग्नु हो नदीमा पानी
अथवा चाबी लगाएपछि रोकिनु हो समय।
पुच्छर हल्लिरहेको छ समयको वा झन्डा हल्लिरहेको छ। निरन्तर

जब उसले टोड्काबाट पुरानो आँखा खोल्यो
देख्यो, लुङ्गीबाट बगेको रगतमा उसले नुहाइरहेको छ
आहाल समय खेलिरहेको छ माछाजस्तो चारो खाने खेल।

दृश्यहीनताजस्तो दर्शन गाउँगाउँ घुमिरहेको बेला
आँखा लगाए पनि न लगाए पनि देखिने दृश्य त आफ्नै अनुहार हुँदोरहेछ।

अनुहार भनेको हुरिले भत्काइराखेको पुरानो घर अथवा
पैह्रोले सोह्रेको टाडाको बस्ती
अथवा महिनाको अन्तिम तारिक।

हज्जारौं आँखा भएका अन्धाहरूले जब ‘अन्धा’ शब्दमा नै आपत्ति जनाइरहेका हुन्छन्
त्यही बेला गान्धीजीले गान्धी चौकमा माला थाप्छन्
बुद्ध अडेसिन्छ रुखको फेदमा र कनाउँछ केश र हेर्छ बाटो कि
कताबाट आइरहेको छ सुजाताले जिउमा छर्किएको अत्तरको बासना।

दिमाग खाली हुँदा बुद्ध र गान्धीले कसरी सम्हाले होलान
मैले उनीहरूलाई सम्झँदा उनीहरूले कसलाई सम्झिन्छ होलान्।

मलाई लाग्छ केही त चलिरहेको छ मेरो दिमागमा कुनैै कीराजस्तो
यसले बच्चा काड्दैछ। पखेटा उचाल्दैछ।

मैले आँखा खोल्यो कि
फुत्त निस्किएर भाग्छ विचार र नदीमा हामफाल्छ
फुत्त निस्किएर बत्तिन्छ चेतना र मरुभूमिमा पुरिन्छ
फुत्त निस्किएर हान्निन्छ कविता र किताबमा चेप्टिन्छ।

कस्तो खाली हुन्छ दिमाग
ए कवि राजा पुनियानी यस्तो तपाईलाई पनि हुन्छ?

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *