कविता : अदब

~डा. उत्तम खनाल~

हजार फूलका पत्रहरु
ललाटमा परे पनि
एक दुई पत्र एत्र तत्र
दोबाटोमा झरे पनि ।
शुवाष कहाँ नमिल्ने थ्यो
झमराले फूल छुँदा
अत्तर विच सुन्दरताको
नओईलिने माला हुँदा ।।

घण्टाहरु मन्दिरमा
आफै किन बज्थे होलान्
पूजा पाठ र आरती त
त्यसै किन भज्थे होलान् ।
पैंतालामा झरेको फूल
टिपी शिरमा कस्ले लायो
फोहोर नै होस् मन्दिरको
प्रसाद ठानी जल खायो ।।

दीपक आफै जली जली
दुनियाँलाई हँसाउँछ
रित्तिएर सारा शरिर
खाक भै बसाउँछ ।
तैपनि त रमाउँदैन
आमा मरे दुध खान
लाम्टो तान्दै कहाँ छोड्छ
चुसी दिन्छ ताना तान ।।

झरी परे बादल परे
जीवनको साथ गरे
बाटाहरु हजार हुन्छन्
आफ्नो साँघु आफै तरे ।
दुनियाँ सब मत्लबी हुन्
विना स्वार्थ को पो जियो
मन भित्रको एकान्तमा
भन्देउ कस्ले बास दियो ।।

डा. उत्तम खनाल
ना.न.पा ८, काठमाण्डौ ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *