कथा : मेरो बलात्कार भयो

~विश्वराज अधिकारी~

डियर स्नेहा,

काठमाडौं आएको एक महिनापछि यो इमेल लेख्दैछु । डिसेम्बर महिनाको दोस्रो हप्ता भइसक्यो । केही हप्तापछि नयाँ वर्ष २०१५ शुरू हुन्छ । ओक्लहोमाले त सेतो सिरक ओढ्न शुरू गरिसकेको होला । चिसो निकै बढेको होला ।

काठमाडौं आउनासाथ तिमीलाई इमेल लेख्ने सुरमा थिएँ तर यस्तो डरलाग्दो घटना भयो कि सारा ध्यान र शक्ति त्यै घटनाले तान्यो । मलाई विचलित पनि तुल्यायो । म अमेरिका आउन अझै दुई हप्ता जति लाग्छ । म एक मनोचिकित्सकलाई देखाउँदै छु । अनि त्यो डरलाग्दो घटनाको असरबाट बाहिर आउन मलाई एउटा समूहले परामर्श पनि गरिरहेको छ । म काठमाडौं आएको तेस्रो दिन, मेरै घरमा मेरो बलात्कार भयो । र, यो भन्न म लाज मान्ने पक्षमा छैन किनभने लाज मलाई होइन, मलाई बलात्कार गर्नेलाई लाग्नुपर्ने हो । समाजमा मुख देखाउन लाज उसलाई लाग्नुपर्दछ । अपराध उसले गरेको छ, मैले होइन । त्यस कारण लाज मैले किन मान्ने ?

स्नेहा, तिमीलाई त्यो घटनाबारे विस्तारमा म नोरमेन आएपछि नै भन्छु । यो विषयमा मैले एउटा कार्यपत्र नै प्रस्तुत गर्ने विचार गरेकी छु । मेरो जस्तो स्थिति हुनबाट म अरू दिदीबहिनीहरूलाई पनि जोगाउन चाहन्छु । बलात्कार के कस्तो अवस्थामा भयो, त्यो त्यहाँ आएपछि नै भनूँला । तर यतिमात्र तिमीलाई के भन्छु भने बलात्कार पनि आफ्नै टाढाको नाता पर्ने एक काकाले गरेको हो । मलाई घरमा एक्लो पाएर गरेको हो । रातको समयमा गरेको हो । मैले बलियो प्रतिकार नगरेको भए बलात्कारपछि उसले मेरो हत्या पनि गर्न सक्थ्यो । उसको त्यस्तो सुर देखिएको थियो ।

यो इमेलमा, त्यो अपराधविरुद्ध मैले अहिलेसम्म चालेका कदमहरूबारे भन्छु ।

बलात्कार भएको राति नै मैले जनकपुरमा रहनुभएका मेरा बाआमालाई त्यो घटना बताएँ । बाआमासँग लामो कुराकानी भयो । तर निष्कर्ष के रहयो भने मैले मुख थुन्नुपर्छ । उहाँहरूले कसैलाई पनि न भन्न मलाई दबाब दिनुभयो । यो घटनालाई छोप्नु भन्नुभयो । उहाँहरूको तर्क थियो, यो घटनाबारे खबर बाहिर आएमा हाम्रो ठूलो बेइज्जती हुन्छ । समाजमा मुख देखाएर हिंड्न लाज हुन्छ । पछि मेरो बिहे हुन पनि सम्भव हुँदैन । जे हुनु भइहाल्यो । अब यो अध्यायलाई बन्द गर ।

तर मैले उहाँहरूलाई प्रस्ट गरी भनिदिएँ, तपाईंहरू यो समाजसँग डराउनुहुन्छ भने डराउनुहोस् । अन्याय सहेर अपराधीको मनोबल बढाउन चाहनुहुन्छ भने बढाउनुहोस् । तपाईंहरू मेरो साथ दिनुहुन्न भने नदिनुहोस् । तर म यो लडाइँ लड्छु । एक्लै भएपनि लड्छु । यो मात्र मेरो लडाइँ हो, तपाईंहरूको होइन । फेरि विचार गर्नुपर्ने महत्त्वपूर्ण कुरा के छ भने यो घटनामा मेरो बेइज्जती भएको कहीं कतै देखिंदैन । अहँ, पटक्कै देखिन्न । मैले गल्ती नै गरेको छैन भने मेरो बेइज्जती कसरी भयो ? कसूर एउटाले गर्ने सजाय अर्कोले पाउने संस्कार र सोचमा हामीले परिवर्तन नल्याएसम्म महिलाहरूको शोषणको क्रम रोकिंदैन । समाजले यो बुझ्नुपर्दछ कि दोषी बलात्कार गर्ने हो, बलात्कार हुने होइन । त्यस कारण लाज बलात्कारीलाई लाग्नुपर्दछ । समाजले बलात्कारीको मुखमा थुक्नुपर्दछ । बलात्कारीले समाजमा मुख लुकाएर हिंड्नुपर्दछ । यो समाज पनि कस्तो विचित्रको ? जो पीडित छ, उसैलाई लाज र शरमको भारी बोकाएर बाँच्न कठिन तुल्याइदिन्छ । जो अपराधी हो, उसको इज्जतमा कुनै किसिमको आँच आउँदैन । उल्टो इज्जतदार भएर हिंड्छ ।

अँ, अनि मेरो बिहेको सम्बन्धमा पनि बाआमालाई प्रस्ट पारिदिएँ । मैले भनें जसरी कुनै एक व्यक्ति कुनै एक डरलाग्दो सवारी दुर्घटनामा पर्न सक्छ, त्यसैगरी कुनै एक महिला कुनै बलात्कारीको शिकार हुन सक्छे । अनि, म बलात्कृत भएको थाहा पाएर पनि मसँग बिहे गर्न कुनै केटा सहमत हुन सक्छ । यो संसारमा अनेक किसिमका पुरुषहरू छन् । फराकिलो सोचाइ हुने पुरुषहरूको पनि कमी छैन, यो विशाल संसारमा ।

त्यो रात म डरले केवल थरथर काँपिरहें, रातभरि सुत्न सकिनँ । रातको समय भएकोले अरूकहाँ जाने आँट पनि गर्न सकिनँ । आत्तिएर, रोएर रात काटें ।
बलात्कार भएको भोलिपल्ट बिहान म आफ्नी फुपूकहाँ गएँ । आफूलाई महिला अधिकारवादी भन्ने ती फुपूले पनि यो फाइल बन्द गर्न सल्लाह दिनुभयो । उहाँले पनि तर्साउनुभयो– तिमीजस्तो पढेलेखेको व्यक्तिले, जो उज्ज्वल भविष्य बनाउन हिंडेको छ, यो मुद्दा चर्चामा ल्याए भने भविष्य अन्धकारमा डुब्न सक्छ । तिम्रो बिहे नै नहुन सक्छ । तिमीले सधैंभरि लाज मानेर बस्नुपर्ने हुन्छ । अपमानित भएर बस्नुपर्ने हुन्छ ।

फुपूलाई पनि आमाबालाई भनेका कुराहरू नै मैले दोहोर्‍याएँ । फुपूलाई पनि राम्ररी प्रस्ट पारिदिएँ– फुपू, लाज त्यो बलात्कारीलाई लाग्नुपर्दछ, मलाई होइन । अपराध उसले गरेको छ, मैले होइन । तपाईंहरू जस्तोले पनि यसरी सोच्ने हो ? तपाईंहरूले त उल्टो समाजको सोचमा परिवर्तन ल्याउनुपर्ने हो । होइन र ?

मैले फुपूलाई भनें– तपाईं सहयोग गर्नुस्, नगर्नुस् तपाईंको इच्छा । तर म त अन्यायविरुद्ध लड्छु । यो अन्यायविरुद्ध लडाईं म परित्याग गर्दिनँ । म यो मुद्दा प्रहरीमा लग्दैछु ।

दिउँसो म प्रहरी कार्यालयमा एक्लै गएँ । त्यहाँको प्रमुखलाई कुनै पनि किसिमको लाज नमानेर भने– हिंजो राति मेरो बलात्कार भयो । बलात्कार गर्ने व्यक्तिको तस्वीर त मसँग छैन तर म हुलिया दिन सक्छु । त्यो अपराधीलाई समातेर तपाईंहरूले कडाभन्दा कडा सजाय दिलाउनुपर्‍यो ।

मैले आफू अमेरिकाको एक विश्वविद्यालबाट पिएचडी गरिरहेको र त्यै पिएचडीको थेसिस लेख्न केही तथ्याड्ढ नेपालबाट चाहिएकोले यहाँ आएको पनि बताएँ ।

प्रहरी प्रमुखले के भने, थाहा छ स्नेहा ? तिनले भने– हेर्नुस्, तपाईं निकै पढेलेखेकी हुनुहुँदो रहेछ । त्यो घटनालाई एउटा डरलाग्दो सपना भनेर बिर्सिदिनुस् । ‘माइन्ड’ नगर्नुस्, मैले तपाईंको हितमा यो कुरा गरेको हो, किनभने यो घटना सार्वजनिक हुने बित्तिकै तपाईंको बलात्कार भएको संसारले थाहा पाउँछ । हुन सक्छ पत्रपत्रिकाहरूमा समाचर बनेर आओस् । यस्तो भएमा उल्टो तपाईंको नै बेइज्जत हुन्छ । त्यस कारण यो घटनालाई बिर्सेर आफ्नो पढाइतिर लाग्नुहोस् । अर्को कुरा तपाईंको बलात्कार भएको हो होइन, त्यो थाहा पाउन तपाईंले स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ र त्यो अब सम्भव छैन, किनभने बलात्कार भएको निकै समय भइसकेको छ ।

स्नेहा, मैले ती प्रमुखलाई पनि त्यही भनें– यो बलात्कारको घटना बाहिर आएर मेरो बेइज्जती हुने होइन, बेइज्जती त्यो बलात्कारीको हुन्छ । त्यस कारण पहिले तपाईं आफ्नो सड्ढीर्ण सोचमा परिवर्तन ल्याउनुहोस् र त्यस बलात्कारीलाई समात्नुहोस् ।

ती प्रहरी प्रमुखको सहयोगात्मक व्यवहार नदेखेपछि म उनीभन्दा पनि उच्च प्रहरी अधिकारीकहाँ पुगें । र, ती उच्च प्रहरीलाई सबै कुरा प्रस्ट गरी भनें । बेइज्जती मेरो होइन, त्यस बलात्कार गर्ने व्यक्तिको भएको हो भन्ने कुरा पनि ती उच्च प्रहरी अधिकारीलाई पटकपटक उल्लेख गरें । मेरो निर्भीकता देखेर ती उच्च प्रहरी निकै प्रभावित भए । उनले भने– आफ्नो बलात्कार भएको कुरा प्रस्ट र निर्भीकताका साथ तपाईंले भन्नु नै तपाईंको बलात्कार भएको यथेष्ठ प्रमाण हो । यति गम्भीर घटना हाँसोठट्टाको रूपमा कसैले ल्याउन सक्तैन । यो घटनालाई म गम्भीरतापूर्वक लिन्छु र अनुसन्धान अगाडि बढाउँछु । बेइज्जती तपाईंको होइन, बलात्कारीको भएको हो, हुनुपर्छ भन्ने कुरामा म प्रस्ट भएँ ।

ती उच्च प्रहरी अधिकारीले मेरो बलात्कार भएको तेस्रो दिन त्यो बलात्कारीलाई समातेर खोरमा ज्याके । अहिले कानुनी प्रक्रिया अगाडि बढेको छ । प्रहरीले उसलाई समातेर खोरमा थुनेपछि मेरो पीडा केही कम भएको म महसुस गर्दैछु ।

स्नेहा, लाज बलात्कारको शिकार हुनेलाई होइन, बलात्कार गर्नेलाई लाग्नुपर्छ । यो कुरा हामीले समाजमा बलियो गरी स्थापित गराउनुपर्छ । अनि जुन समाजले लाजको पोको बलात्कार हुनेको टाउकोमा राख्छ, त्यो समाजलाई लाज लाग्नुपर्छ । एउटा अर्को कुरा पनि तिमीलाई भन्न चाहन्छु स्नेहा, त्यो के भने अहिले जसरी केही अधिकारवादी महिलाहरू बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भनी माग गरिरहेका छन्, म त्यो मागको पक्षमा पटक्कै छैन । म त्यो मागको पक्षमा किन छैन भने बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनेमा त्यो कानुन बलात्कृत हुने महिलाहरूको हितमा हुने छैन । मृत्युदण्ड दिने कानुन बनेमा बलात्कार गरेको प्रमाण नष्ट गर्न बलात्कारीहरूले बलात्कृत हुने महिलाको ज्यान लिनेछन् । मृत्युदण्डको कानुनले बलात्कारमा पर्ने महिलाहरूको ज्यान जाने जोखिम झनै बढाउनेछ । त्यस कारण बलात्कारीलाई आजीवन कारावासको सजाय हुनुपर्दछ । त्यस्तो भएमा बलात्कारीले बाँचुन्जेल जेलमा बसेर पश्चात्तापको पीडा भोग्नुपर्नेछ । पश्चात्तापको पीडा सहनुपर्ने छ । जीवनभर पश्चात्तापको पीडामा बाँच्नेको जीवन ज्यादै कष्टकर हुनेछ । बलात्कारीलाई मृत्युदण्ड दिएमा उसको मृत्युसँगै उसको मानसिक पीडा पनि छोटो समयमा नै समाप्त हुनेछ ।

स्नेहा, अर्को खुशीलाग्दो कुरा के छ भने मेरो भेट रञ्जनसँग भयो । त्यो भेटले मेरो यो पीडा कम गर्न केही मात्रामा औषधिको काम गरेको छ । यो रञ्जन त्यही हो, जसले हामी क्याम्पसमा पढ्दा, मास्टर्स गर्दा मलाई निकै मन पराउँथ्यो । मलाई एकोहोरो प्रेम गथ्र्यो । मलाई त्यस बेला रञ्जनले प्रस्ताव पनि राखेको थियो । त्यस बेला मलाई उसले अति नै पछ्याएर दिक्क पारे तापनि ऊ सज्जन भएकोले मैले उसलाई केही पनि त्यस्तो गरेको थिइनँ । अरू केटी भएको भए प्रहरीलाई भनेर रञ्जनजस्तो दिवानालाई कुट्न लगाउँथे । तर रञ्जनलाई आफूले उसलाई त्यस किसिमबाट नहेरेको, आफ्नो पढ्ने विचार भएर विदेश जाने इच्छा रहेको र अहिले बिहे गर्ने मनस्थितिमा नभएको भनेपछि उसले मेरो पछि लाग्न छोडेको थियो । तर सामान्य मित्रता भने उसँग कायम नै थियो । यो कुरा त तिमीलाई पनि राम्ररी थाहा छ, होइन र ?

हिजो रञ्जनसँग न्यूरोडमा भेट भयो । न्यूरोडको एउटा रेस्टुरेन्टमा जान रञ्जनले आग्रह गर्‍यो । त्यो रेस्टुरेन्टमा म र रञ्जनबीच निकै बेर कुराकानी भयो । त्यो कुराकानीको दौरान उसले पुरानो कुरा दोहोर्‍यायो– विवेचना, म एउटा अनुरोध गर्छु, ‘माइन्ड’ नगर ल १ म तिमीसँग अहिले पनि प्रेम गर्छु । र, त्यत्तिकै गर्छु, जति पहिले गर्थें । यदि तिम्रो अरूसँग त्यस्तो… ।

रञ्जनले यस्तो भनेपछि मैले उसलाई सबै कुरा विस्तारमा, केही पनि नलुकाइ भनें । मेरो बलात्कार भएको पनि खुलस्त पारिदिएँ । यति भन्दाभन्दै पनि रञ्जनले के भन्यो थाहा छ स्नेहा ? उसले भन्यो–‘आई स्टील लभ यु, विवेचना । अबाउट द रेप…। आई विल टेक इट एज ए डेडली एक्सिडेन्ट एन्ड विल ट्राइ टु टेक यु आउट फ्रम दैट ट्रमा ।’

यति भनेर उसले मेरो हात समात्यो । मैले पनि कुनै किसिमको विरोध गरिनँ ।
स्नेहा, बाँकी अर्को इमेलमा लेखूँला ।

थैक्यु फर योर टाइम । वार्म रिगाडर््स
–विवेचना

br2063_adhikari@yahoo.com

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *