पौराणिक कथा : मुद्गल ऋषि

~उमाशङ्कर द्विवेदी~

कुरुक्षेत्रमा मुद्गल नाम गरेका एकजना ऋषि बस्दथे । उनी बडो धर्मात्मा र जीतेन्द्रिय थिए । उनी सदैव सत्य बोल्दथे र कसैको पनि निन्दा गर्दैनथे । अतिथिहरूको सेवा गर्ने उनले व्रत लिएका थिए । उनी बडो कर्मनिष्ठ तपस्वी महात्मा थिए । शिलोञ्छवृत्ति (खेतमा खसेको अन्नको बाला टिपेर त्यसको अन्नको सङ्ग्रह गरेर जीविका चलाउने वृत्ति)ले उनको जीविका चल्दथ्यो । पन्ध्र दिनको सङ्ग्रहपछि एक द्रोण (अन्न राख्ने भाँडोविशेष) अन्न जम्मा हुन्थ्यो । त्यसै अन्नले उनी ‘इष्टिकृत’ नामक यज्ञ गर्दथे तथा पन्ध्रौं दिन प्रत्येक औंसी र पूर्णिमाको दिन ‘दश–पौर्णमास’ यज्ञ गर्दथे । यज्ञमा देउता तथा अतिथिहरूलाई दिनमा उब्रेको अन्नले उनी आफ्नो परिवारसहित निर्वाह गर्दथे । उनको परिवारमा पत्नी, छोरा तथा स्वयम् उनी गरी जम्मा तीनजना थिए । तीनैजना पक्षमा केवल एक दिन मात्र एक छाक खान पाउँदथे । उनको प्रभाव यस्तो थियो कि प्रत्येक पर्वको दिन देवराज इन्द्र स्वयम् उपस्थित भएर आफ्नो भाग लिन्थे । यस प्रकारले मुनिवृत्तिले बस्नु र प्रसन्नचित्तले अतिथिहरूलाई अन्न दान दिनु, यही उनको जीवनको व्रत थियो । कसैप्रति कुनै पनि किसिमको द्वेष नगरेर बडो शुद्धभावले उनी दान दिन्थे । त्यसैले एक द्रोण अन्न पन्ध्र दिनभरिमा कहिले पनि सिद्धिदैन्थ्यो, उल्टै बरोबर बढ्दथ्यो । ढोकामा अतिथिलाई देखेर त्यस अन्नको अवश्य पनि वृद्धि हुन्थ्यो । सयकडौं ब्राह्मण र विद्वान त्यस अन्नबाट भोजन पाउँदा पनि कमी भने हुँदैन्थ्यो ।

मुनिको यस व्रतको ख्याति धेरै टाढासम्म फैलिसकेको थियो । एक दिन उनको कीर्तिकथा दुर्वासा ऋषिको कानमा पनि पर्‍यो । उनी ना·ै बहुलाहाभैंm भेष बनाएर खौरिएको कपाल तथा कटुवचन फलाक्दै त्यहाँ आइपुगे । आउँदै भन्न थाले– “विप्रवर तपाईंलाइ थाहा हुनुपर्दछ कि म यहाँ भोजन पाउने इच्छाले आएको छु ।” मुद्गलले भने– “म तपाईंको स्वागत गर्दछुु ।” अनि उनले पाद्य, अघ्र्य, आचमीय आदि पूजन सामग्री अर्पण गरे । तत्पश्चात् उनले भोका अतिथिलाई बडो श्रद्धाले भोजन पस्केर खुवाए । श्रद्धापूर्वक प्राप्त त्यो अन्न बडो सरस थियो, मुनि त भोका छँदै थिए, जम्मै खाइदिए । मुद्गलले उनलाई खाना थप्दै गए, मुनि खाँदै गए । अन्त्यमा उठ्न थालेपछि भुइँमा खसेका तथा थालमा उब्रेका खानाका सिताहरूलाई टिपेर आफ्नो शरीरमा पोती लत्पत्याए र जताबाट आएका थिए उतै फर्किहाले । दोस्रो पर्वमा पनि दुर्वासा ऋषि आइपुगे र त्यसैगरी खानापान गरेर फर्किए । मुद्गल मुनि सपरिवार भोकै बस्नुपर्‍यो । उनले फेरि अन्नको सङ्ग्रह गर्न थाले । स्त्री तथा पुत्रले पनि उनलाई सघाए । भोकले उनको मनमा अलिकति पनि विकार वा खेद भएन । क्रोध, ईष्र्या वा अनादरको भाव पनि उठेन । अर्को पर्वको अवसरमा दुर्वासा ऋषि फेरि प्रकट भए । यस प्रकारले उनी छवटा पर्वसम्म निरन्तर आइरहे तथा भोजन पाइरहे । मुद्गल मुनि सपरिवार भोकभोकै बस्नुपर्‍यो तर मुद्गल मुनिको मनमा कहिले पनि कुनै विकार वा द्वेष उत्पन्न भएन बरु उनको चित्त शान्त तथा निर्मल भइरह्यो ।

यो देखेर दुर्वासा ऋषि अत्यन्त हर्षित भए । उनले मुद्गल मुनिलाई भने– “मुने, यस संसारमा कोही पनि तपाईंजस्तो दाता छैन । भोकले ठूल्ठूला मानिसहरूको धार्मिक विचारलाई हल्लाउन सक्दछ र धैर्यको हरण गर्न सक्दछ । जिब्रो रसना पो हो, यसले सधैं रसको आस्वादन गर्न चाहन्छ । भोजनले प्राणीहरूको प्राणको रक्षा हुन्छ । मन त यति चञ्चल हुन्छ कि यसलाई वशमा राख्न अत्यन्त कठिन हुन्छ । मन र इन्द्रियहरूको एकाग्रतालाई नै तप भनिन्छ । यी जम्मै इन्द्रियहरूलाई वशमा राखेर भोकको कष्ट सहन गर्दै धनलाई शुद्ध ह्दयले दान गर्नु अत्यन्त कठिन काम हो तर तपाईंले यो सबै कुरा सिद्धि गरिसक्नुभएको छ । तपाईंसित भेटेर म अत्यन्त प्रसन्न भएको छु । इन्द्रिय विजय, धैर्य, दान, शम, दम, दया, सत्य र धर्म आदि जम्मै तपाईंमा पूर्णरूपेण विद्यमान छ । तपाईंले आफ्नो शुभकर्मले जम्मै लोकमाथि विजय प्राप्त गरिसक्नुभयो, परम पद पाइसक्नुभयो । देउताहरूले पनि तपाईंको दानको महिमा गाएर त्यसको सर्वत्र घोषणा गर्दैछन् ।”

दुर्वासा ऋषिले यति कुरा गर्दागर्दै देउताहरूका एकजना दूत एउटा विमानको साथ त्यहाँ आइपुग्यो । त्यस विमानमा दिव्य हंस र सारस चरा जोतिएका थिए तथा त्यसबाट दिव्य सुगन्ध फैलिरहेको थियो । त्यो रथ हेर्नमा बडो विचित्र तथा इच्छागामी थियो । देवदूतले महर्षि मुद्गलसित भने– “मुने, यो विमान तपाईंको शुभकर्मले तपाईंलाई प्राप्त भएको छ, तपाईं यसमाथि बस्नुहोस् । तपाईंले सिद्धि प्राप्त गरिसक्नुभएको छ ।” देवदूतको कुरा सुनेर महर्षिले देवदूतसित भने– “देवदूत, सत्पुरुषहरूमा सात पाइला एकसाथ हिंड्दा नै मित्रता भइहाल्दछ । त्यसै मैत्रीलाई सामुन्ने राखेर म तपाईंसित केही प्रश्न सोध्दैछु, उत्तरमा जुन सत्य हितकर कुरा हो त्यो बताउनुहोस् । तपाईंको कुरा सुनेर अनि आफ्नो कर्तव्य निश्चित गर्नेछु । प्रश्न यो छ कि स्वर्गमा के सुख छ र के दु:ख छ ?”

देवदूतले भने– “महर्षि मुद्गल, तपाईंको बुद्धि उत्तम छ । अरूहरूले जसलाई ठूलो कुरा ठान्छन्, त्यस स्वर्गको उत्तम सुख तपाईंको चरणमा छ, तैपनि तपाईं नजाने भनेर यस सम्बन्धमा विचार गर्दै हुनुहुन्छ, सोध्नुहुन्छ भने म यसबारे बताउँदैछु । ल सुन्नुहोस् । स्वर्ग यहाँबाट धेरै टाढा माथिको लोक हो, त्यसलाई ‘स्वर्लाेक’ पनि भनिन्छ । बडो उत्तम मार्गबाट त्यहाँ गइन्छ । त्यहाँका मानिसहरू सधैं विमानमा सवार भएर हिंड्छन् । जसले दान, तप वा महान् यज्ञ गरेको छैन अथवा जो असत्यवादी वा नास्तिक हुन्छ, त्यसको त्यस लोकमा प्रवेश हुन सक्दैन । जुन मानिस धर्मात्मा, जीतेन्द्रिय, शम–दमले सम्पन्न र द्वेषरहित हुन्छन् तथा जसले दान धर्मको पालन गरेको हुन्छ तिनीहरू त्यस लोकमा जान्छन् । यसबाहेक ती शूरवीर पनि जसको वीरता युद्धमा प्रमाणित भइसकेको हुन्छ, स्वर्गका अधिकारी हुन्छन् । त्यहाँ देवता, साध्य, विश्वेदेव, महर्षि याम, धाम, गन्धर्व र अप्सरा जम्मैका भिन्दाभिन्दै अनेक लोकहरू छन्, जुन बडो कान्तिमान्, इच्छानुसार प्राप्त हुन सक्ने भोगहरूबाट सम्पन्न तथा तेजस्वी छ । स्वर्गमा तेत्तीस हजार योजन अग्लो एउटा पर्वत छ, जसको नाम सुमेरूगिरि हो । त्यो पर्वत सुनले बनेको छ । त्यसमाथि देउताहरूको नन्दनवन आदि अनेकौ सुन्दर उद्यान छन्, जुन पुण्यात्माहरूको विहारस्थल हो । त्यहाँ कसैलाई पनि भोकप्यास लाग्दैन, चित्त कहिले पनि खिन्न तथा उदास हुँदैन, गर्मी–जाडोको कष्ट हुँदैन तथा कुनै किसिमको भय पनि हँुदैन । त्यहाँ कुनै पनि यस्तो अशुभ वस्तु देखा पर्दैन, जसलाई हेरेर मनमा घृणा उत्पन्न होस् ।

चारैतिर मनलाई प्रसन्न र उत्फुल पार्ने खालको सुगन्ध फैलिएको हुन्छ, शीतल मन्द हावा चलिरहन्छ । चारैतिर मन र कानलाई प्रिय लाग्ने शब्द सुनिन्छ । त्यहाँ कहिले पनि शोक हुँदै, कतै पनि कसैको विलाप सुनिंदैन, न बुढयौली आउँछ, न त शरीरमा कुनै किसिमको थकान नै लाग्छ । स्वर्गवासीहरूको शरीरमा तैजस तत्त्वको प्रधानता रहन्छ । त्यो शरीर पुण्यकर्मले नै प्राप्त हुन्छ, मातापिताको रजवीर्यले त्यसको उत्पत्ति हुँदैन । उनीहरूको शरीरमा पसिना आउँदैन, दुर्गन्ध आउँदैन तथा मलमूत्र पनि निस्कँदैन । उनीहरूको लुगा कहिले पनि मैलो हुँदैन । त्यहाँको दिव्य कुसुमका मालाहरूले दिव्य सुगन्ध फिजाइरहेका हुन्छन्, कहिले पनि ओइलाउँदैन । तपाईंको सामुन्ने जुन यो विमान छ, यस्ता विमानहरू त्यहाँ प्रत्येकसित हुन्छ । तिनीहरू कसैसित ईष्र्या राख्दैनन्, द्वेष मान्दैनन् । जम्मैजना बडो सुखपूर्वक जीवन व्यतीत गर्दछन् ।

यी देउताहरूको लोकभन्दा पनि माथि अनेकौं दिव्यलोकहरू रहेका छन् । यसमा सबैभन्दा माथि ब्रह्मलोक छ । त्यहाँ आफ्नो शुभकर्महरूद्वारा ऋषिमुनिहरू जान्छन् । त्यही ऋभु नामक देवता पनि रहन्छन्, जो स्वर्गवासी देउताहरूका पनि पूज्य हुन् । देउताहरू पनि उनको आराधना गर्छन् । उनका लोक स्वयंप्रकाश र तेजस्वी छ तथा जम्मै प्रकारका कामनाहरूलाई पूर्ण गर्ने खालका छन् । उनीहरू लोकको ऐश्वर्यको लागि ईष्र्या गर्दैनन् । होम–आहुतिमाथि उनीहरूको जीविका निर्भर रहेको हँुदैन । उनीहरूलाई अमृत पिउने पनि आवश्यकता हुँदैन । उनीहरूका शरीर दिव्य ज्योतिर्मय हुन्छ, उनीहरूको कुनै विशेष आकृति छैन । उनीहरू सुखस्वरूप हुन्, सुखभोगको इच्छा उनीहरूलाई कहिले पनि हुँदैन । उनीहरू देउताहरूका पनि देउता एवं सनातन हुन् । महाप्रलयको बेलामा पनि उनीहरूको नाश हुँदैन, अनि उनीहरूमा जरामरणको आशड्ढा त झन् हुनै सक्दैन । हर्ष–प्रीति, सुख–दु:ख, राग–द्वेष आदिको उनीहरूमा अत्यन्त अभाव रहन्छ । स्वर्गका देउताहरू पनि त्यस स्थितिलाई प्राप्त गर्न खोज्छन् । त्यो परासिद्धिको अवस्था हो, जोकोहीलाई प्राप्त हुन सक्दैन । भोगहरूको इच्छा राख्नेले त्यस सिद्धिलाई पाउनै सक्दैन । यी जुन तेत्तीस कोटी देउताहरू छन्, उनीहरूकै लोकमा मनीषी पुरुष उत्तम नियमहरूको आचरणबाट तथा विधिपूर्वक दिएका दानबाट प्राप्त गर्दछन् । तपाईंले आफ्नो दानको प्रभावले यो सुखमयी सिद्धि प्राप्त गर्नुभएको छ । अब आफ्नो तपस्याको तेजले देदीप्यमान भएर त्यसको उपभोग गर्नुहोस् । हे विप्र, यही स्वर्गको सुख तथा यिनै त्यहाँका विभिन्नथरीका लोक हुन् ।

स्वर्गमा केही लोमहर्षक दु:खहरू पनि हुन्छन् । अब म त्यसबारेमा बयान गर्दैछु, तपाईं धैर्यपूर्वक सुन्नुहोस् । स्वर्गमा आफूले पूर्वमा गरिएका सत्कर्महरूको फल भोग्न सकिन्छ, नयाँ कर्म गरिंदैन । त्यहाँको भोग पूर्वसञ्चित पुण्य खर्च गरेर नै भोग्न सकिन्छ । अनि पूर्वसञ्चित पुण्य सिद्धिएपछि स्वर्गबाट पतन हुन्छ । मेरो विचारमा स्वर्गको यो सबैभन्दा ठूलो दोष हो । सुखद ऐश्वर्यको भोग गरेर त्यसबाट निम्न स्थानमा पतन हुने प्राणीहरूलाई जुन प्रकारको असन्तोष र वेदना हुन्छ, त्यसको वर्णन गर्न अत्यन्त कठिन छ । सर्वप्रथम उनीहरूको गलाको माला ओइलाएर जान्छ । स्वर्गमा आफ्नो पुण्य सिद्धिएको तथा पतन हुने बेलाको यो सूचनास्वरूप चेतावनी हो । यो स्थिति देखेपछि त्यस प्राणीको मनमा भय व्याप्त हुन जान्छ– लौ खसें, अब खसें । उनीहरूमाथि रजोगुणको प्रभाव पर्दछ । खस्ने बेला उनीहरूको चेतना लुप्त हुन्छ । सुद्धि हराउँछ । ब्रह्मलोकसम्म जति पनि लोकहरू छन्, सबै लोकमा यो भय रहिरहन्छ ।”

मुद्गल मुनिले भने– “यो त तपाईंले स्वर्गको महान् गुण र दोषबारे बताउनुभयो । यसबाहेक जुन निर्दोष लोक छ, त्यसबारेमा बताउनुहोस् ।” देवदूतले भने– “ब्रह्मलोकभन्दा पनि माथि विष्णुको परमधाम छ । त्यो शुद्ध सनातन ज्योतिर्मय लोक हो, त्यसलाई परब्रह्मपद पनि भनिन्छ । विषयी पुरुष त त्यहाँ जानै सक्दैनन् । दम्भ, लोभ, क्रोध, मोह र द्रोहबाट युक्त पुरुष पनि त्यहाँ पुग्न सक्दैन । त्यहाँ त अहड्ढारबाट रहित, द्वन्दबाट टाढा खालका, जीतेन्द्रिय तथा ध्यानयोगमा लागिरहने महात्मा पुरुषमात्र जान सक्दछन् । मुद्गल मुनि, तपाईंले सोधेको प्रश्नको जवाफ मैले दिइहालें । अब कृपा गरेर हामी जाऔं, ल, हिंड्नुहोस्, बेर नगरौं ।”

देवदूतको कुरा सुनेर मुद्गल मुनिले त्यसमाथि आफ्नो मनमा विचार गरेर भने– देवदूत, तपाईंलाई मेरो नमस्कार छ । तपाईं प्रसन्नतापूर्वक लाग्नुस् । स्वर्गमा बडो ठूलो दोष रहेछ । मलाई स्वर्ग र त्यहाँको सुखको कुनै चाहना छैन । ओहो, पतनपछि स्वर्गवासीहरूलाई बडो प्रबल दु:ख र पश्चात्ताप हुँदो होला । त्यसै कारणले मलाई स्वर्ग चाहिंदैन । जहाँ गएर शोकबाट पिण्ड छुटोस्, केवल त्यसै स्थानको म अनुसन्धान गर्नेछु ।” यस प्रकार भनेर मुद्गल मुनिले देवदूतलाई बिदा गरिदिए तथा पूर्ववत् शिलोञ्छवृत्तिले जीविका चलाउन थाले । उनी स्वर्गको प्रलोभनमा नफसेर उत्तम गतिले शमको पालना गर्न थाले, उनी स्वर्ग गएनन् ।

समाप्त

(स्रोत : महाभारतबाट सङकलन तथा अनुवाद गरिएको )

This entry was posted in पौराणिक कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *