लघुकथा : पुनर्स्थापनाको माग

~समीर पाख्रिन~

शिवधुनी गाविस आन्दोलनका कारण तनावग्रस्त थियो । आन्दोलनकारीहरूले गाविस भवन, स्वास्थ्य चौकी, हुलाक कार्यालय, इलाका प्रहरी कार्यालय, कृषि शाखा सबै आगजनी गरी ध्वस्त पारिदिएका थिए । करिब पन्ध्र दिनसम्म चलेको हिंसात्मक आन्दोलन सरकारसित ६ बुँदे सम्झौता भएपछि फिर्ता भएको थियो । आन्दोलन फिर्तापछि वरपरका अवस्था सामान्य बन्दै गए पनि गाविस शिवधुनीको अवस्था भने सुध्रन सकेको थिएन । आगजनीका कारण गाविस भवन ध्वस्त भएपछि जन्मदर्ता, विवाहदर्ता, नागरिकता सिफारिस, वृद्धभत्ता वितरण जस्ता कार्यहरू अवरुद्ध भएका थिए । यस्तै, स्वास्थ्य चौकी भवन आगजनीका कारण काम नलाग्ने भएदेखि नियमित खोप सेवा, डट्स सेवा, प्राथमिक उपचार जस्ता सबै सेवाहरू ठप्प थिए ।

इलाका प्रहरी कार्यालय विस्थापित भएको मौका छोपी तस्करहरूले दिनदहाडै काँचा रूखहरू ढालेर गोलिया सीमावर्ती शहरतिर लग्ने गरेका थिए भने नजिकैको खोलाबाट दिनदिनै चालीस/पचास ट्याक्टर गिटी, बालुवा चोरी निकासी हुन थालेको थियो । यीबाहेक गाउँमा चोरी, लुटपाटका घटनाहरू बढ्दै गइरहेका थिए । जड्याहाँहरूले दिउँसै मदिरासेवन गरेर गाउँमा होहल्ला मच्चाउन थालेका थिए । यस्तै, जुवाडेहरूबीचको दिनदिनैको झगडाले गाउँ आतङ्कित बनेको थियो । गाउँमा भद्रभलाद्मीका छोरीबुहारीहरू स्वतन्त्ररूपमा हिंड्डुल गर्न नसक्ने भन्दै पलायन हुने तरखरमा देखिन्थे । सामान्य वादविवादमा पनि गाउँलेहरूबीच ठूलो झगडा हुने गरेको थियो ।

शिवधुनी गाविसका बुज्रुकहरू पनि आन्दोलनपछिका दिनमा गाउँको अवस्था बिग्रँदै गएको, शान्ति सुरक्षा खल्बलिएको, वातावरण अराजक बन्दै गएकोमा चिन्तित देखिन्थे । भद्रभलाद्मीहरू गाउँबाट पलायन हुने मनस्थितिमा देखिन्थे । गाविस शिवधुनीको अवस्थालाई नजिकैबाट नियालिरहेको एउटा गैरसरकारी संस्थाका युवाहरूलाई गाविसको उक्त अवस्थाले चिन्तामा पारेको थियो । उनीहरू शिवधुनी गाविसलाई पूर्ववत् अवस्थामा कसरी फर्काउन सकिन्छ भनी सघन छलफलमा जुटेका थिए । नभन्दै उनीहरूले गाउँलेहरूको व्यापक सहभागिता रहने गरी एउटा अन्तत्र्रिmया कार्यक्रमको आयोजन गरेका थिए । कार्यक्रममा गाविसका बुद्धिजीवी, स्थानीय नेता, व्यवसायीलगायतको उल्लेखनीय उपस्थित थियो । छलफलका क्रममा उपस्थित जनसमुदायबाट गाविस भवन, स्वास्थ्य चौकीजस्ता भौतिक संरचना नष्ट भएपछि सास्ती खेप्नुपरेको, सामान्य उपचारका लागि पनि सीमापारिको बजार पुग्नुपरेको बताएका थिए । यीबाहेक शिशुहरूले पाउनुपर्ने नियमित खोप सेवालगायत क्षयरोगीहरूले नियमितरूपमा लिंदै आएका औषधि छुटेको बताएका थिए भने व्यवसायीहरूले चोरी, लुटपाट, कालोबजारी बढेको, बदमाश र जड्याहाँहरूका कारण शिवधुनी गाविसमा बस्न सक्ने अवस्था नरहेको भन्दै आक्रोश पोखेका थिए । उपस्थित सर्वसाधारणले विस्थापित गाविस भवन, स्वास्थ्य चौकी, इप्रका तुरुन्त पुनस्र्थापना हुनुपर्ने कुरामा जोडदार आवाज उठाएका थिए । लामो छलफलपछि भेलाले विभिन्न दलका नेता, बुद्धिजीवी, सामाजिक कार्यकर्ताको सहभागिता रहने गरी एउटा शान्ति तथा भौतिक संरचना पुनस्र्थापना समिति गठन गरेको थियो । र, उक्त समितिले विस्थापित सबै भौतिक संरचनाहरू पुनस्र्थापना गर्नेबारे छलफल गर्न नौ सदस्यीय प्रतिनिधिमण्डल दोस्रो दिन नै जिल्ला सदरमुकाम पठाएको थियो ।

– वीरगंज, पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *