कविता : समय

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

अचानक,
मेरो पोस्टबक्समा
यस्तो पत्र आयो
पत्रमा लेखिएको थियो
प्यारी साथी,
सायद, तिमीले बुझ्छयौ होला मेरो पिडा!
उमेरले हामी धेरै फरक छौं …
तिमी भर्खरकी छौ,
म बुढी भै सकें…
मलाई थाहा छ –
तिमी मलाई बुझ्छयौ,
मेरो कुरा सुन्छ्यौ
मित्रता उमेरमा होइन, बुझाईमा हुञ्छ भन्ने लाग्छ!

आज भोलि, म छटपटीमा छु,
बेचयनीमा छु
तिमीलाई थाहा छ –
मेरो घर, जुन म बस्दै आएको छु
अब त्यो घर छोरा -बुहारीले बिक्रि गर्ने रे
म कसरी बिर्सु यो घर ?
जुन मेरो श्रीमान र म मिलेर बनाएका थियौं
घरको झ्याल -झ्यालमा झुण्डिएका पर्दाहरु
मेरा यी हातहरुले
महिनौ लगाएर खुटेका थिए
कोठामा सजाएका फर्निचरहरु
हरेक दिन धुलो टक्टकाउदै मेरा यी औंलाहरुले सुम्सुमाएका थिए
अनि त्यो फराकिलो झ्यालबाट आधा पर्दा उघार्दै
बाटोतिर हेर्ने गरेका ती दृश्यहरु,
गर्मीका दिनहरुमा
रुखका पातहरु हावासंग लुकामारी गर्दै बज्ने आवाजहरु,
हिउँदका दिनहरुमा
हाँगा हाँगामा फुलेका हिउँका फूलहरु,
जब म सम्झन्छु ती दिनका मिठा संघर्षहरु
म त्यसै त्यसै रोमान्चित हुन्छु
तर,
समय कति पर गै सकेछ
आँखा रसाएर आउछ ,
मन कुडिएर आउछ,
यो बुढेसकालमा यही घरमा
सुख संग बसौंला,
नाती नातिनीहरुसंग खेलौला,
छोरा -बुहारीहरुको न्यानो माया पाउँला भन्ने सोचेको थिए,
तर ती सबै सपनाहरु धुँवा भै उडेर गए

उनीहरु भन्छन –
अब यो घरमा
म एक्लै बस्न हुन्न रे
म बुढो भएँ रे,
मैले आँखा देख्दिन रे,
अब मलाई नर्सिङ्गहोममा राखने रे,
म संग बस्ने उनीहरुलाई समय छैन रे

उनीहरु बारम्बार मलाई सम्झाउछन
मेरो मिठो संघर्ष
लिलाम गर्न खोज्छन ,
तिमी नै भन, म कसरी सम्झुं ?
म कसरी हेरुँ ?
मेरो श्रीमानको मायाको चिनो बिक्रि भएको !
उनीहरुले किन बुझ्दैनन् मेरो चाहना ,
मेरो अन्तिम श्वास यही घरमा छोड्ने !

तिमी अर्कै देशको मान्छे
भूगोल हाम्रो विभाजित छ ,
तर तिम्रो र मेरो ईश्वर एउटै छ!
के तिमी मेरो लागि प्रार्थना गरिदिन सक्छ्यौ ??

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *