कथा : वृद्धाश्रम पुगेकी मेरी हजुरआमा

~ललिता तामाङ~

बिहान ढिलो उठ्ने बानी कहिले नसुध्रिने भयो । यसै त जाडो महिना सुध्रिने त कुरै भएन अनि अफिस जाँदा जहिले हतारो ।

लौन यही बेला फोन बज्यो फेरि । ओ हो मोबाइल डाटा त अफ गर्नै पो बिर्सेंछु । नचिनेको नामबाट मेसेन्जरमा कल आयो ।

“हेलो ! हेलो दिदी नमस्ते ।”

“नमस्ते को बोल्नुभयो होला, मैले त चिनिनँ नि ।”

“हो दिदी, तपाईंले मलाई चिन्नु हुन्न । तपाईंले झण्डै एक वर्ष अगाडि एउटा खाम भेट्टाउनुभएको थियो । अनि त्यो लेख छापिदिनुभएको थियो नि । म उही बोलेको । तर त्यो लेख मैले २ महिना अगाडि मात्र पढ्न पाएँ । त्यस बेलादेखि तपाईंलाई मैले धन्यवाद दिनको लागि धेरै खोजी गरेँ फेसबुकमा खोज्दाखोज्दा बल्ल भेट्टाएँ ।”

“हो र ? बैनी मलाई अहिले एकदम हतार छ, मलाई आफ्नो नम्बर मेसेज गर्दिनुस्, म अफिस पुगेर तपाईंलाई कलगरुँला ल ।”

“हुन्छ दिदी, कल चाहिँ गर्नुस् ल । तपाईंसँग अरु कुरा पनि गर्नुछ ।”

“हुन्छ बैनी हुन्छ, म अफिस पुग्नेबित्तिकै कल गरिहाल्छु ।”

अफिस पुगेर एकैछिनमा मेसेन्जर खोलेर हेरेँ । मोबाइलनम्बर पठाइसकेको रहेछ ।

कल गरेँ । २ घण्टीमै फोन उठ्यो ।

“हेलो बैनी म ।”

“हजुर दिदी । तपाईंलाई धेरै धन्यवाद । मैले त्यो लेख छापुँ कि नछापुँ भनेर धेरै दिन बोकेरे हिँडे तर त्यो छापिनुरहेछ र तपाईंको हातप¥यो ।”

“धन्यवाद दिनु पर्दैन बैनी । बरु मैले माफी पो माग्नुपर्ने हो कि तपाईंको पर्मिसनविना नै छापिदिएकोमा ।”

“हैन दिदी, तपाईंले छापिदिनुभएकोमा म खुशी छु । अनि धन्यवाद पनि । सुन्नुन दिदी, मैले फेरि अर्को पनि लेख्दैछु अनि छाप्नको लागि तपाईंको सहयोग चाहिएको छ ।”

“ए, भइहाल्छ नि बैनी, तर तपाईंले आफैं आफ्नो नामबाट छाप्दा पनि त हुन्छ नि ।”

“नाई दिदी, यो मेरो वास्तविक कथा हो त्यसैले मलाई आफ्नो नामबाट छाप्नु मन छैन ।”

“ल ठिकै छ बैनी, त्यसो भए भरे मेरो अफिस छुटेपछि भेटौँ न त ।”

भेट्ने स्थान निश्चित ग¥यौं ।

“ओहो दिदी तपाईं त फोटोमा जस्तो ठ्याक्कै त्यस्तै हुनुहुँदो रहेछ । बाटोमा भेटेको भए पनि चिन्न सकिने रहेछ ।”

“हो र मेरो फोटो मजस्तै रहेछ ? हाहा…” एकैछिन हाँसो चल्यो ।

“हो नि दिदी तपाईंको नामसँग मिल्ने थुप्रैको प्रोफाइल हेरेँ । तपाईंको एउटा प्रोफाइल पिक्चर र लेखमा भएको फोटो एउटै रहेछ, बल्ल यकिन भयो तपाईं नै हो भनेर अनिकल गरेको ।”

चिया खाँदै गर्दा उनले आफ्नो लेखबारे सुनाइन् । अनि एउटा खाममतिर तेस्र्याइन् र भनिन् छापिदिनुस् ल दिदी ।

आश्रमकी नयाँ आमा

आज त ढिलो गरिस् त । गेट खोल्दै आमाले सोध्नुभयो । अँ मात्र भन्दै भित्र पसेँ । खाना खाँदै गर्दा आमाले फेरि सोध्नुभयो । किन ढिलो गरेको आज ?

ए एकजना आमालाई सन्चो भएनछ अनि डाक्टर बोलाएर जचाउँदा ढिलो भयो भनेँ । साँच्ची आज त तपाईं पनि त जानुभएको थियो रे त, आशा दिदीले भन्दै हुनुहुन्थ्यो फेरि एकैछिन पनि नबसी फर्किहाल्नु भएछ । किन नि ?

त्यहाँ अर्की नयाँ आमा पनि आउनुभएको रहेछ नि हगि । कति दिनुभयो उहाँ आउनुभएको ? आमाले मेरो जवा फदिनुको सट्टा आश्रममा आउनुभएको नयाँ आमाबारे पो सोध्नुभयो ।

अँ दुई हप्ता जति भयो । मैले जवाफ दिएँ । अनिकिन र कसरी आइपुग्नुभएको रहेछ त ? फेरि सोध्नुभयो ।

योभन्दा अगाडि आमाले कहिल्यै पनि त्यसरी आश्रमको आमाहरुबारे चासो लिनु हुन्नथियो ।

अचम्म लाग्यो, आमालाई सोधेँ किन आमा यसरी सोध्नुभएको ?

हैन यत्तिकै सोधेको नि । किन सोध्नुहुन्न र ?

हैन अरु बेला कहिल्यै पनि त्यसरी कसैको बारेमा नसोध्नेले आज त्यसरी चासो राख्दा अचम्म लाग्यो नि त । आमाले केही जवाफ नदिई मलाई एक टकले मायालाग्दो पाराले हेरिरहनुभयो ।

खानाखाइवरी आफूले खाएको थाल मात्र धोएँ र कोठामा छिरेँ । जाडो बढेकाले ओछ्र्यानभित्र छिरेर हातमा रिमोट समातिहालेँ । एकै छिन पनि भान्छाको काम सकिवरी आमा ‘सुत्न लागिस् ?’ भन्दै मेरो कोठामा आउनुभयो । अरुबेला सीधै आफ्नो कोठा छिर्ने आमा आज मेरो कोठातिर आउनु हुँदा झनै अचम्म लाग्यो ।

छैन, टिभी हेर्दै । आमा भने केही भन्न खोजेको तर भन्न नसकेको जस्तो भान देखिन्थ्यो ।

के भयो आमालाई आज ? केही कुरा भन्न खोज्नभएको हो ? आश्रमको नयाँ आमाबारे पनि सोधेको सोध्यै गर्नुभयो, फेरि आश्रममा पनि एकैछिन नबसी जान्छु नि नभनी फर्किहाल्नुभएछ । किन ?

भन्नु न के भयो ?

आमा अन्कनाएर अड्किए जस्तो गर्नुभयो । ममाभने झन् कौतुहल बढ्न थाल्यो ।

भन्नु न आमा के भयो ? के भन्नखोज्नुभएको ?

हेर छोरी तँ मनकी राम्रो छेस्, सकेसम्मअरुको भलो गर्न चाहन्छेस्, आफूले भ्याएसम्मले सेवा पनि गर्छेस्, तँभित्र रहेको सेवा भाव भनेको नै मेरो जीवनको उपलब्धि र सम्पत्ति हो । तर रिसाउने बानी चाहिँ कम गर है ।

आमाले यति भन्न नपाउँदै झनक्क भइसकेकी थिएँ । हैन के भन्नुभएको ? मैले के गरेँ ? फेरि के घुमाएर कुरा गर्दै हुनुहुन्छ ? सीधै भन्नु न के भन्नखोज्नुभएको ? अलि झर्केर नै भनेँ ।

सुन् न । त्यो नयाँ आउनुभएको आमा छ नि ? उहाँ त तेरो हजुरआमा हो नि ।

म अवाक् के बोलुँ र के भनुँ भएँ । मैले सपनामा पनि नचिताएको कुरा सुनेर ।

त्यही भएर आज म उहाँलाई देख्ने वित्तिकै फर्किहालेको । उहाँलाई नराम्रो लाग्ला कि भनेर उहाँको सामु पनि परिनँ । आमा बोलि नै रहनुभएको थियो । हेर उहाँलाई केही नराम्रो व्यवहार नगर् है ।

म भने एक तमासले सुनि मात्र रहेँ । कहिले भोलि होला र आश्रम पुगुँझैँ भयो ।

बुवा वितेपछि बुवाको सन्तानले आमालाई गरेको व्यवहार र घरबाट निक्लिन बाध्य बनाएको भन्ने कुराले मेरो मनमा नराम्रो छाप पारेको थियो । मैले बुझ्ने उमेर भएदेखि नै म बुवाको सन्तान विशेषगरी हजुरआमाप्रति रुष्ट थिएँ । एक दुई पटक त आफ्नो अधिकार र सम्पत्ति माग्न जाने सोच पनि आएको थियो । सम्पत्ति नै नपाए पनि हजुरआमालाई चाहिँ तथानामको गाली गर्न र रिस र आक्रोश पोख्ने धोको थियो तर पूरा हुन नपाएर गुम्सिएर रहेको थियो । आमा जहिले पनि भनिरहनुहुन्थ्यो हेर छोरी हाम्रो भाग्यमा नै सम्पत्ति लेखेको छैन रहेछ । यदि भएको भए तेरो बुवा वित्नु नै हुन्थेन । अनि हामीले यसरी दुःखमा बाँच्नु पर्ने पनि थिएन । त्यसैले जे छ त्यसैमा सन्तुष्टि हुन सिक । आमाको यही वचनलाई मनन गरेर हिँडे पनि मनभरी भने मेरी आमाकी निर्दयी सासू (मेरी हजुरआमा) प्रतिको रिसको तुषभने कहिले मरेको थिएन । कुनै न कुनै दिन भेटेँ भने मनभरीको गाली गर्ने इच्छा जिउँदै थियो ।

आश्रममा आउनुभएको नयाँआमालाई सम्झिएँ तर मनले भने मान्नै खोजेन कि मेरो दिमागमा भएको हजुरआमा र आश्रमकी नयाँआमा एउटै हुन् भनेर । मेरो मन र दिमागमा भएको चित्र र नयाँ आमामा विल्कुलै मेल खाएन । मेरो दिमागमा भएको हजुरआमाका ेचित्र उमेरदार, बलियी, रिसउठ्दी, तिखो बोल्ने निर्दयी र मानवता नभएकी थिइन् जसले म जन्मिने वित्तिकै ‘छोरी पो’ भनेर नाक खुम्च्याएकी थिइन् र बुवा वित्ने वित्तिकै ५ महिनाकी अबोध मलाई बाउ टोकुवा भनेर नामदिइन अनि ममताकी खानी मेरी आमालाई लोग्ने टोकुवाभन्दै ७, ८ महिनाको छोरी (म) लाई च्यापेर रुँदै घरबाट निक्लिन बाध्य बनाइन् ।

तर मेरी आश्रमकी नयाँआमा त बूढी भइसकेकी, दुब्ली, मायालाग्दी छिन् । जसमा रिस राग, लोभ, मोह केही छैन । उनलाई चाहना छ त केवल मीठो बोली र मुस्कानको । कुनै दिन ढिलो पुगेँभने किन ढिलो गरेकी, अनि अलि अबेरसम्म बसेँ भने पनि जाऊ नानी घर जाऊ, अँध्यारो हुन्छ भन्छिन् । म कसरी पत्याउँ मेरो दिमागमा, मेरो मनमा भएकी पापी हजुरआमा र मेरी प्यारी मायालाग्दी नयाँ आमा एउटै हो भनेर । मकसरी मानुँ ?

मनभरी अनेक कुरा खेलिरह्यो । कहिले भोलि होला र आश्रम पुगिहालुँ अनि नयाँ आमासँग बसेर कसरी आश्रमसम्म आइपुग्नुभयो भनेर बेलिविस्तारमा सुनुँ । अथवा सुनाइदिउँ कि म त्यही तपाईंले त्याग्नुभएकी नातिनी हुँ जसलाई तपाईंले वास्ता गर्नुभएन । कस्तो अवस्थामा छ भनेर खोजी गर्नुभएन, लत्याउनु भयो आदि । सोच्दासोच्दै कतिबेला निदाएछु थाहै पाइनँ ।

आज त बिहानै आइछ्यौ त ! उहाँलाई देख्ने वित्तिकै हिजो रातभरि मनमा खेलेको कुराहरु सबै विलिनभए । वर्षौंदेखि मनमा गुम्सिएर रहेको रिसहरु कता हराए हराए । उहाँको काखमा टाउको राखेर ग्वाँ, ग्वाँती रोउँझैँ लाग्यो तर गाह्रो गरीकन भए पनि आफूलाई सम्हालेँ । उहाँलाई हेरेँ । अबोध बालिकाझैं आशालाग्दो अनुहार पारेर मलाई हेर्दै थिइन् ।

हजुरआमा ! मुखबाट फुस्स फुस्किहाल्यो । सधैँ आमा भनेर बोलाउने गरेको आज हजुरआमा भनेर बोलाउँदा अचम्ममान्दै हजुर भन्नुभयो ।

मनमनै सोचेँ । हजुरआमा तिमी यहाँसम्म कसरी आइग्यौ ? म चासो राखेर तिम्रो घाउ कोट्याउन चाहन्न । तिमीले पनि जीवनमा कैयौँ दुुःख भोग्यौ होला, झेल्यौ होला । तिमीले मेरी आमालाई जेजस्तो अन्याय गर्यौ त्यसलाई तिमीले गरेको भूल सम्झेर विर्सिदिन्छु । अब उप्रान्त तिमीमा जति उमेर बाँकी छ, म तिम्रो सेवा गर्नेछु र तिम्रो लाग्ने खर्च म स्वयंले बेहोर्नेछु ।

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *