कविता : बाटो

~भेषराज रिजाल~

यो बाटो
कुल्चिएर
थिचिएर
दोबाटो चौबाटोमा बाँडिएर
कहीँ भीरमा ठोक्किएर
कहीँ खहरे खोल्साहरुमा लछारिएर
वर्षौँदेखि पछारिइरहेछ
यो बाटो हिँड्नेहरु
कहाँदेखि कहाँसम्म पुगे
यहीँ सदनदेखि सडकसम्मका
नाराहरु घन्किए
तर प्रत्येकचोटी यो बाटो
मात्र कुल्चिने बहाना बन्यो
जो जो यहाँ आए पनि
क्षणिक बटुवा मात्र ठहरिए
धुलै धुलो भएर
हिलै हिलो भएर
भत्किएर
बिग्रिएर
भासिएर
तह तह मरिरहेछ यो बाटो

यही बाटोलाई
वर्षौँदेखि नियालिरहेछु
टाढा टाढा त जान सक्दिन
अमेरिका युरोप अष्ट्रेलिया
झन् हेर्नै सक्दिन
बरु हेरिरहेछु नियालिरहेछु
मेचीदेखि महाकालीसम्म
जति कुल्चे पनि
जति थिचे पनि
एउटा अमर मृत्यु मरिरहेछ यो
मरे पनि मेटिन जान्दैन
कुल्चिएर पनि सगरमाथा चढिरहेछ
खिइएर कहिल्यै पातलिन मान्दैन
आँधी हुरी वर्षात् त के
भूकम्प र चट्याङ् वर्षे पनि
सधैँ अडिग भएर रहने
बाटोको अस्तित्वलाई देखेर
मनमनै सोचिरहेछु–
म पनि हुनपाएहुन्थ्यो
सबै हिँड्ने यस्तै यस्तै
एउटा अमर बाटो … ।

रचना समय र स्थान :  २०५८/०८/२३, म्याग्दी
प्रकाशित :  देश सधैँ रुने छैन,  कविता सङ्ग्रह, २०५९

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *