नियात्रा : कसरी कवि भयौ त ?

~भीष्म उप्रेती~Bhishma Upreti_1

सेमिनार सुरु हुनै लागेको रहेछ। ढोका खोलेर म सुटुक्क भित्र पसेँ र सबैभन्दा पछाडिको लाइनको खाली सिटमा गएर बसेँ। यहाँ गैरमातृभाषामा लेखिएको साहित्यसम्बन्धी आफ्ना अनुभवहरू दुई जना साहित्यकारहरूले सुनाउने कार्यक्रम थियो। ताइवानका अल्पसंख्यकभाषी लेखकको अनुभव ज्यादै रोचक थियो। उनी मछुवारका छोरा रहेछन्। त्यसैले उनको पेसा पनि समुद्रको भित्रसम्म गएर माछा मार्ने रहेछ। पानी नै आफ्नो जीवन भएको बताए उनले। उनले मूलधारको चिनियाँ भाषा हुँदै बहुमत चिनियाँ जनतासम्म आफ्नो अनुभव र भावनालाई पुर्‍याउन निकै कठिनाइ भोग्नुपरेको बताए। उनले पनि लेखेनन् भने उनको हृदयको भाषामा कसले लेख्छ त? उनको प्रश्न थियो। त्यस्तै, बेलायतमा बसिरहेका चिनियाँ लेखकले बेलायतमा चिनियाँ भाषामा साहित्य लेख्दाको पीडा पनि खपिनसक्नुको थियो। ज्यादै मार्मिक। नेपालमै पनि अल्पसंख्यक भाषामा साहित्य लेख्ने लेखकहरूका लेखन, प्रकाशनसम्बन्धी कतिपय पीडा यी दुई लेखकका अनुभवसँग मिल्दाजुल्दा होलान्। सम्भे“।

टोकियोको मुटु सिन्जुकुमा रहेको कियो प्लाजा होटलमा भइरहेको थियो पेनको ७६औँ अन्तर्राष्ट्रिय कन्फ्रेन्स। २६ अक्टुबरदेखि नै सुरु भएर आज चौथो दिनमा आइपुगेको थियो। होटलकै पाँचौँ तलाको बाहिर लबीमा हिँड्दै थिएँ, अस्तिकै दिन चिनजान भएका अमेरिकी लेखक ली गुर्गा भेटिए। भने, “बसौँ, गफ गरौँ एकछिन्।” उनी अमेरकिामा मोडर्न हाइकु प्रेस म्यागाजिनका कार्यकारी सम्पादक हुन्। पेसाले चाहिँ डेन्टिस्ट।

उनले भने, “मैले हिजो श्रीमतीलाई फोन गरेर नेपाली साथीहरूसँग भेट भा’को कुरा भनेँ। उनी ज्यादै खुसी भइन्।”

“तिमी नेपाल आएका छौ?” मैले सोधेँ।

“छैन,” उनले भने।

“त्यसो भए आऊ। म त्यहाँ छु,” मैले भनेँ।

“जापानमा भएको बेलामा बाहेक, होइन?” उनले भने। हामी हाँस्यौँ।

“भोक लाग्यो, लन्च खान जाआँै,” उनले भने। मुरारीजी र रामकुमार दाइ पेनको कुनै अफिसियल बैठकमा हुनुहुन्थ्यो होला, त्यहाँ देखिनुभएको थिएन। त्यसैले खाना खान एक्लै जानुभन्दा लीसँगै जानु उचित ठानेँ। हामी गयौँ तर अझै एक घन्टा बाँकी रहेछ, लन्चको समय हुन।

“के गर्ने?” लीले भने।

“ताङ्कासम्बन्धी गोष्ठी हुँदैछ, सुन्न जाऔँ,” उनले भने।

हाइकु र ताङ्का जापानी कविताका परम्परागत स्वरूपहरू हुन्। यी दुई बान्कीका कवितालेखनको सुरुवात जापानबाटै भएकाले जापानमा साहित्यिक समारोहमा भाग लिन आएका बेला यी दुई विषयका गोष्ठीमा सहभागी हुनु वास्तवमा आवश्यक पनि छ। हामी गोष्ठी भइरहेको सभाकक्षभित्र पसेर पछिल्लो लाइनका खाली कुर्सीमा बस्यौँ।

बोलिरहेका वक्तालाई सुन्दै थिएँ, लीले विस्तारै झोलाबाट हाइकुको दुई टुक्रा निकालेर दिए। पढेँ। लेखिएको थियो ः ‘सोनोग्राममा बगिरहँदा ग्रीष्मको जून।’ यो हाइकु एकै हरफमा लेखिएको थियो।

विस्तारै भनेँ, “राम्रो लाग्यो। तर, हाइकु त तीन हरफको हुन्छ, होइन र?”

“हो। तर, म त नयाँनयाँ प्रयोग गर्न मन पराउँछु। त्यसैले सीधै एकै हरफमा लेखिदिएँ। हाइकुको भावना र मर्म नबिग्रे त भइगो नि, होइन?” उनले भने।

कार्यक्रमलाई बीचैमा छोडेर ठीक पौने १ बजे हामी लन्चका लागि निस्कियौँ। लन्च खुलिसकेको रहेछ। खाना खाँदै गर्दा उनले भने, “मैले तिम्रा कविताहरू पढेँ।”

“कस्तो लाग्यो त भन्छौ?” सोधेँ।

“मन पर्‍यो। तर, एउटा कुरा भन्नुछ तिमीलाई। सुन्छौ?” उनले भने।

“सुन्छु,” मैले भनेँ।

उनले मेरो कवितामा पहाड शीर्षकको कवितासंग्रह निकाले झोलाबाट र त्यहाँको चौथो कविता निकालेर भने, “यस कविताको अन्तिमका दुई हरफ नलेखे हुन्न? पाठकलाई नै बुभन छोडिदेऊ न ! उनीहरू पनि बुभन सक्छन् नि !”

मैले त्यो कवितालाई एकपटक फेरि पढ्ने र विचार गर्ने कुरा भनेँ। पाठकको अधिकारको सुरक्षा गर्नु पनि लेखकको जिम्मेवारी हो भन्ने उनको विचार मलाई मन पर्‍यो तर ठ्याक्कै उनले भनेकै जस्तो गर्नु उचित हो कि होइन भन्नेबारेमा चाहिँ निकै गम्भीर हुनुपर्छ। उनलाई मैले यही आशयले भनेँ।

उनले झोलाबाट हाइकुसम्बन्धी एउटा पुस्तक झिके र मलाई उपहार दिए। त्यसपछि सेमिनारको अर्को सेसनका लागि हाइकुसम्बन्धी प्रवचनको तयारी गर्नुछ भन्दै बाटो लागे।

रामकुमार दाइ र मुरारीजी पनि आइपुग्नुभयो खाना लिएर। एकछिन गफियौँ र त्यसपछि छुट्यौँ।

बाहिर लबीमा एउटी अधबैँशे महिला उभिइरहेकी थिइन्। उनी मुसुक्क मुस्कुराइन्। मैले पनि जवाफमा अभिवादन गरेँ। भनेँ, “म नेपालबाट आएको।”

उनी फ्रान्सेली कवि रहिछिन्। हाइकु भनेपछि परपरै भाग्दी रहिछिन्। “जापानी संस्कार र परविेशको हाइकु हाम्रोमा लगेर हुन्छ कहीँ?” उनी जंगिने पारामा थिइन्।

“त्यही त, जापानको दर्शन र जीवनपद्धति हो हाइकु। कहाँ तिमीहरूको फ्रान्सको जीवन दर्शन ! कसरी मिलाउनू? फेरि यहाँको अक्षरको बनोट र त्यसले बोक्ने अर्थसँग तिमीहरूको अक्षरको संरचना नै मिल्दैन। ५, ७, ५ अक्षरको सूत्रमा कसरी लेख्छौ हाइकु तिमीहरू?” मैले ली गुर्गाले हाइकुको भावना र मर्मलाई मात्र समातेर त्यही शैलीमा लेख्ने गरेको कुरा सम्झँदै आगोमा घिउ थपिदिएँ।

उनको समय र अनुभवले डामेर मुझामुझा पारेको अनुहारमा एकाएक उज्यालो भरयिो। भनिन्, “त्यही त भन्छु नि ! यहाँ भाषण ठोक्नेले के के भन्छ भन्छ। दिक्क लागेर हिँडेको।”

विषय बदलेँ, “म पनि फ्रान्स पुगेको छु तर तीन दिनका लागि मात्र।”

“के हेर्‍यौ होला र तीन दिनमा तिमीले?” उनले भनिन्।

“लुभ्र गएँ, सोक्रकर गएँ, आइफेल टावर चढेँ, सेँ ज लुजे गएँ, सीन नदीमा डुंगा चढेँ। तीन दिन त बितिहाल्यो नि !”

“विचरा ! पेरिस कहाँ त्यति मात्र हो र? फेरि आउनू,” उनले भनिन्।

आज २८ सेप्टेम्बर, ३ बजे कवितागोष्ठी हुने भनिएको थियो। तर, साढे ३ बजेका लागि सारिएको जानकारी गराइन् उनैले। भनिन्, “अब कहाँ जाने होला?”

मैले सम्झनाका लागि मेरा दुइटा कविताका किताब उपहार दिएँ उनलाई। भनिन्, “मैले त मेरो किताब पेन लाइब्रेरीलाई उपहार दिइहालेँ। छैन।”

“म पनि लाइब्रेरीलाई उपहार दिन्छु है त !” भन्दै उनीसँग बिदा भई पेनको सचिवालयतिर लागेँ।

कवितागोष्ठीको समय कुर्दै लबीमा बसिरहेको थिएँ। एउटी चिटिक्क र हिस्सी परेकी युवती आइन् र सँगैको कुर्सीमा बसिन्।

“तिमी जापानी हौ?” मौनतालाई लखेट्तै सोधेँ।

“होइन, मंगोलियाबाट आएकी यही कंग्रेसमा भाग लिन। मेरो नाम जलजया हो,” उनले भनिन्।

हामीले भिजिटिङ् कार्ड साँट्यौँ। भनेँ, “मचाहिँ नेपाल पेनको सदस्य।”

जलजया कविता लेख्तिरहिछिन्।

“मंगोलियामा कविता कत्तिको पढिन्छ? जस्तो कि नेपालमा कविताभन्दा कथा, निबन्ध बढी पढिने विधाहरू हुन्,” मैले सोधेँ।

“मंगोलियामा त कविता लोकप्रिय छ। धेरै पढिन्छ,” उनले भनिन् र एकछिन चूप लागिन्।

हामी दुवै जनालाई एकैसाथ छोएर बसेको यो मौनता पनि आकर्षक लाग्यो मलाई त्यतिबेला। तर, उनी बोलिन्, “हेर न, मलाई त के के कार्यक्रमहरू सुन्ने र धेरैभन्दा धेरै लेखकहरू भेट्ने मन छ। बल्लबल्ल जापान आएको, कति धेरै घुम्ने पनि मन छ। तर, मेरो देशको पेनको अध्यक्ष अंग्रेजी नै बुभदैन। जतिबेला पनि उसैसँग बस्नुपर्छ र उसलाई अर्थ्याइरहनुपर्छ। क्या बोर हुन्छ !”

विचरी ! माया लाग्यो उनको। हेरेँ। मुस्कुराउन खोजिन् तर खुल्न सकिनन्।

उनी पेसाले पत्रकार रहिछिन्। मंगोलियाको फस्ट इन्टरनेट टेलिभिजनकी कर्मचारी। भनिन्, “विदेशी समाचारहरूको अनुवाद गर्छु र कहिलेकाहीँ समाचार वाचन पनि गर्छु।”

“म त बैँकर हुँ,” मैले भनेँ।

“कसरी कवि भयौ त?” सोधिन् अचम्म मानेर।

“कविताको सौन्दर्यले मोहित पार्‍यो र माया बस्यो कवितासँग,” यसपल्ट भने मंगोलियन मुस्कान मेरो घरको बगैँचामा फक्रने गुलाफको सौन्दर्यभन्दा कम थिएन।

“जान्छु है त ! हाम्रो अध्यक्ष मलाई खोज्दै होला।” उनले भनिन् र हतारिंदै दगुरिन् पर लबीमा हिँडिरहेको इलाभेटरतिर।

कवितागोष्ठीको समय भयो। म पनि उठेँ र कार्यक्रम हुने सभाकक्षतिर लागेँ ।

शनिश्चरे, झापा
हालः काठमाडौं

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक ४३८ )

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *