कविता : जङ्गे पिलर

~लता कार्की~

मेरो आमाको छातीमा रोपिएका
सुन्दर फुलहरु कुल्चिदै
एक हुल बन्दुकहरु
क्रुरताले उदण्ड मच्चाउँदै
आँगन मै आईपुग्यो
र,विभत्स मृत्यू सरप्राईज दीएर गयो।।

यति बेला म,ठिङ्ग उभिएकोछु
मेरो आमाको छातीको सिमानामा
लतपतिएर टाटो बसेको रगतले
खितिखिती….गिज्जाउँदै छ
आऊ रङ्हरुको होईन खुनहरुको
होली खेलौ,
जहाँ नुन भन्दा खुन सस्तो भएको छ
म स्तब्ध छु…..
मौनता लम्पसार परेर मै माथि
अट्टहाँसले गिज्जाई रहेछ
मडारी रहेकोछ कालो बादलका थुम्काहरू
खिलखिलाउँदैछन फिक्का बसन्त बोकेर
राता गुँरासहरु
कुटिल मुस्कान छरेर,खितखिताउँदै छन्
अराजक,सामन्ति बन्दुकका नालहरु
अपराजिता भोग्दैछन्
बेवारीसे सिमानाका र्निदोष बचेराहरु।।

बर्षौदेखि तिखा नङ्ग्राहरु गाडेर
कोपरी रहेछ मेरो राष्ट्रियता
नङ्गाई रहेछ स्वभिमान
च्यातेर मेरी आमाको लाज
लुटिरहेछ अस्तित्व
अनि एकतमासले मुखदर्शक बनेर
टुलुटुलु हेरिरहेछ लाचार जङ्गे पिलर।।

यो समय मेरो प्रिय चन्द्र,सुर्य
अस्ताएको छ,
झण्डाको छेउ किनार हुँदै पोखिएको
राष्ट्रियताको निलो रङ्गहरु
यतिबेला पिडाले निलै भएका छन
किन की,मेरो देशको विक्षिप्त आँगनमा
रगतको होली खेलिदैछ
जङ्गे पिलरको छाति माथि
र्निदोषहरु ढल्दैछन्
निमोठिदैछ सपनाहरु
बिथोलिँदैछ भविष्यहरु।।

समय छदै यदि रोकिएन भने
समय रहदै यदि गरिएन भने
हरेकदिन एउटा मृत्यू
खामबन्दि बनेर आउनेछ
र तेर्सिनेछ अराजक बन्दुकको नालहरु
भुटिनेछन् सिमानाका कुरुवाहरु
अनि हरेकदिन हुनेछ रगतको उत्सब
खेलिने छ होली ,रङ्गको होईन खुनको।।

न त्यो सिमाना हिन्दुको हो
न त्यो सिमाना बौद्धिष्टको हो
न त्यो सिमाना क्रिष्टनको हो
न त्यो सिमाना मुसलमानको हो
त्यो जङ्गे पिलर सिङ्गो नेपालीको हो
र नेपाली नै सिङ्गो पहिचान हो।।।

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *