लघुकथा : कथित समाजसेवी

~मीरा प्रसाईं~

‘बहिनी ! मैले धेरै दिनदेखि यहाँ देखेको छु तिमीलाई । कहाँ हो घर ? यस्तो चिसो ठाउँमा यति बिहानै किन बसेकी ?  धेरै बेरसम्म जवाफ केही नआएपछि रमिलाले भनिन्, ‘हेर, नारी शरीरका भोकाहरू जताततै छन् । तिमी कुनै पनि बेला सिकार बन्न सक्छ्यौ ।  दिदी सम्झेर केही त भन ! ’

त्यो केटीका आँखामा आँशु टिल्पिलाए । ‘काम गर्न बसेको घरमा मालिकले गिद्धे दृष्टि लगाउन थालेपछि म त्यहाँबाट भागेर जाने ठाउँ कतै थिएन अनि…।’

‘मैले तिमीलाई केही सहयोग गर्न सक्छु कि म प्रयास गर्छु है, कुनै पनि बेला म तिमीलाई याहा भेट्न आउन सक्छु यहाँबाट अन्त नजाउ है ।’

केटीले टाउको हल्लाउँदै भनी, ‘हस् दिदी ।’ रमिलालाई त्यो केटीको अवस्थाले बिचलित बनायो । धेरै सामाजिक संस्थामा प्रयास गरे पनि कतैबाट सकारात्मक जवाफ आएको थिएन ।

केही दिनपछि त्यो केटी गराजको छेउमा रगतपच्छे भएर लडेको देखिन रमिलाले । बगिरहेको रगत रोकिएको थिएन बलात्कार भएको अनुमान गरेर अस्पताल लगिन् । उपचारपछि होस आयो तर त्यो केटीले रमिलालाई चिन्न सकिनँ ।
रमिला आफैं फूपूकोमा बसेर पढ्दै थिइन् । उनले घरमा लान सक्ने आधार थिएन।

रमिलाले डा. लाई सबै कुरा उपचारको क्रममा बताएकी थिइन् । चिन्तिन भएकी रमिलाको मनोभाव बुझेर डाक्टरले भने, ‘एम्नेजिया असहाय घर। छ थापाथलीमा त्यहाँ कल गर त्यो संस्थाले स्मरण शक्ति गुमाएका असहायहरूलाई सहारा दिन्छ अनि थेरापी र व्यावहारिक पद्धतिद्वारा स्मरण शक्ति फिर्ता लयाउने कोसिस पनि गर्छ ।’

रमिलाले फोन गरिन्।

‘हेल्लो ! प्रभा दुलालसँग कुरा गर्न सकिन्छ होला ? ’

‘हजुर म प्रभा नै बोल्दै छु। भन्नुस् ।’

‘म रमिला। एक जना बहिनी छन् १४/ १५ वर्ष जतिकी । बलात्कारको सिकार भएर स्मरण शक्ति गुमाएकी छिन् मैले सामान्य उपचार गराएँ। उनको जाने ठाउँ कहीँ रहेन छ। तपाईंको संस्थाले एम्नेजिया भएकालाई सहारा दिन्छ भन्ने सुनेकी थिएँ । त्यसैले तपाईंलाई फोन गरेकी।’
हजुर बहिनी राम्रो गर्नुभयो तपाईंले । हुन्छ नि कुन अस्पतालमा हुनुहुन्छ हामी आउँछौ उनलाई लिन।’

‘टिचिङ अस्पतालमा छौं ।’

दुई घन्टापछि प्रभा अस्पताल पुगिन् ।

संस्थाको स्लोगन भट्याउँदै नमस्कार गरिन्, ‘सेवा नै धर्म हो, हाम्रो सस्था स्वार्थरहित नाफारहित संस्था हो।’

‘नमस्कार म प्रभा दुलाल। खै बहिनीलाई भेटौ न त।’

डाक्टरले भने, ‘उनलाई एम्नेजिया भएको छ। पुरानो कुरा केही सम्झन सक्दिनन् तर उपचार र यस्तै घटना कहीँकतै देखिन् भने त्यसकै आधारमा स्मरण शक्ति फर्कन सक्छ।’

‘ए ! हाम्रो संस्थामा गएपछि ठिक हुन्छिन्।’

प्रभाले रमिलालाई सोधिन्, ‘पत्रकारहरूलाई बोलाउनु भयो त बहिनी ? ‘

आश्चर्यचकित भएका डा.र रमिला दुबैले एकै स्वरमा भने, ‘पत्रकारहरू!किन चाहियो निरु मिडिया बोलाउनुस् अनि मात्र लान मिल्छ ! ‘

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *