कथा : समाचार भएको एउटा कथा

~सन्तोष चिमरिया~santosh-chimoriya

झोला बोकेर उड्नु अघि उसले एउटा चिटिक्क परेको सानो घर बनाएर बाउआमालाई सार्यो । रिन त उसले गएको ३ महिनामै ब्याज सहित तिरिसकेकै थियो त्यसमाथी आमालाई अलिकति” पकेट मनि” पठाईदियो । आमा खर्च त गर्दिन थिईन तर पुरानो मखमली थैलिमा पाँच हजार दाम बोक्न पाए बिछ्ट्टै खुशी हुन्थिन भन्ने उसलाई थाहा थियो ।

गएको छैटौं महिनामा सर सापटी गरेरै भएपनि बैनीको बिहाको लागि नब्बे हजार दाम एकमुष्ट पठायो । असारमा खेती खर्च भनेर दस हजार पठायो । असोज सम्ममा सापटी तिरिसकेर पनि दशैलाई पन्द्र हजार खर्च पठायो । मंसिरमा साथी छुट्टी जाँदा नयाँ ज्वाँईलाई सामसुङ मोबाइल, बालाई घडी, आमालाई होल्यान्डको लुङी पठाईदियो ।

अनि साथमा आफू आउँदा घरमा दुईवटा ब्लान्केट र एल्सिडी टिभी ल्याउने समाचार पनि पठायो । नभन्दै उसको पनि जाने दिन आयो र भने भन्दा पनि ३ तोला सुन थप गरि उ बिहा गर्ने दाउले दशै कटाएर मंसिरमा घर पुग्यो । मंसिरको दोश्रो हप्ता एउटी चिटिक्क परेकी नब दुलही नयाँ घरमा भित्र्याएपछि भने उ ब्युँझियो …………….. ब्युँझिदा उ खेतको बिचमा माटाले बनाएको पुरानै घरमा ब्युँझियो । साठी कटेकी आमा उसैगरी मल थिएन । सत्तरी कटेका बाउ उसै गरि हलो जोत्तै थिए। गरिबीको अपहरणमा परेर रहर र चंचलता गुमाएकी किशोरी बैनी उसरी नै निरस आँखा लगाएर झोल हाल्नलाई आलु ताछ्दै थिई ।

पासपोर्ट बनाएर दलालका हातमा दिएका दिन देखि उसको कामै सपना देख्नु र नभएको आम्दानीको हिसाब गरेर “बजेट बिनियोजन” गर्नु भएको छ । घरखेतको काममा फिटिक्कै जाँगर चल्न छोडेको छ । आलस्य भएको ज्यान घरी घरी दिउसै निदाउछ र सपना देखि हाल्छ ।

दुई बर्ष भयो पासपोर्ट जिम्मा लगाएको । साउदी,कतार , दुबई ,बहराईन,मलेसिया कुनै देश पेस्न बाकी छैन । स्काफ फोल्डर, पेन्टर, कुक, वेटर, इलेक्ट्रीसियन, सेक्युरिटी, क्लिनर कुनै काम छैन जान्न भनेको तर भिषा लाग्दैन । आमाको भएको एउटा तिल्लौरो जाकटी राखेर दस हजारमा बनाएको पासपोर्टको म्याद गुज्रना लागिसक्यो , पैसाको ब्याज बढेर पन्द्र हजार भयो तर भिसा लागेको छैन । दलाल जहिले सोधेपनी अबको एक महिना भित्र भन्न छोड्दैन !!

नभन्दै उन्तिसौ महिनापछि त्यो एक महिना आयो । नौसय रिगेंट बेसिक, खान बस्न सहित ओभरटाईम गरेर चौध सय ग्यारेन्टी भयो । खर्च डेडलाख लाग्ने भयो । चालीस हजार कमाई हुँदा छेलोखेलो खाएर र जोहोरबारु घुमेर पनि सावाँ र ब्याज सहित पाँच महिनाको कमाई !

बाउआमाको हातको टीका लगाएर उ बाटो लाग्यो । बाटो लागिरहदा सधै सपना शून्य उसका बाउआमाका आँखामा धिपिक्क धिपिक्क सपनाहरू बलिरहेका थिए । तिनै सपनाहरूमा आफ्ना सपनाहरु मिसाएर एउटा ठुलो सपनाको बोझ बोकेर उ काठमाडौ ओर्लियो । त्यहाँबाट उ प्लेनमा बसेर हेर्दाहेर्दै काठमाडौ खाल्डोलाई धेरै तल छोडेर भयानक उचाई लिएर उड्न थाल्यो ।

कुनै मेहनती किसानले बादलको खेती गरेजस्तो देखिने आकाशको बाटो हुँदै सेताम्मे बादलहरुसंग बिच बिचमा लुकामारी खेल्दै आँखा झिमिक्क सम्म नगरी उ मलेसिया अवतरण भयो । एयरर्पोर्टमा तिन दिन सम्म पानी र पाउरोटी खाएर कटाएपछि बल्ल उसलाई लिन कम्पनीको मान्छे आएको थियो ।

 अनि क्वालालम्पुरका चिल्ला र फराकिला सडक हुँदै आकर्षक शहरको बिचैबिच गुडीरहदा उसले तिन दिनको भोक थकान र निरासा सबै भुल्यो । शहरकै कुनै एउटा रेस्टुरेन्टमा कुखुराका तारेका साँप्रा, पाउरोटी र चिसो कोला खाएपछि त झन उसलाई मज्जाले निन्द्रा लागेर आयो । उ फुस्स निदाउनु अघिसम्म क्वालालम्पुरका विशाल र अग्ला घरहरू उसका मधुरा हुँदै गरेका आँखाबाट सट्ट सट्ट कटिरहेका थिए ।

निकैबेरको मिठो निन्द्रा पछि ब्युँझदा उ घना जंगलको बिचमा काठले बेराबारा गरेको कुनै दुर्गम र बिचित्रको ठाउँमा आईपुग्यो । ठाउँ बिल्कुलै दन्त्यकथामा बर्णन गरिएको एकादेशको कुनै गाउँ जस्तो थियो । मानिस र भाषा पनि एकादेश कै थिए । एक समूह चिम्सा आँखा, छोटो कद र लिखुरे जिउ ज्यानका छ्न ।

अर्को समूह भयंकर काला , बल्ढ्याङग्रे र राता आँखा गरेका अग्ला र मोटाघाटा भिमसेन जस्ता छ्न । उसले सुनेको थियो भियतनामी र तमिलहरु यस्ता हुन्छन् भनेर । सुनेका कुरामा देखेका कुरा दाँजेर हेर्दा उसलाई यी तिनै भियतनामी र तमिल हुन भन्ने कुरामा शंका रहेन । छालाको रंग र आँखाको आयतनमा भएको अलि अलि समानताले गर्दा उ भियतनामीहरुको कोठामा पर्न गयो । बाहिर पट्टिको छेउको भान्सा उनिहरुको साझा भान्सा भयो ।

भोलिपल्ट बिहानै उसलाई सुई लगाईयो । बिषालु सर्प ,बिच्छी आदिले टोके पनि अब उ नमर्ने भयो । पहेँलो र चम्किलो ड्रेस दिईयो ताकी उ जंगलको बिचमा परबाट प्रष्टसंग देखियोस र सुस्ताउन, अल्छी गर्न , घर सम्झेर रुन र टोलाउन नपाओस । यति गरिसके पछि बिहान लाल चियासंग निस्तो भातको नास्ता लिएर उसले त्यो दिनभरी नै चिन्ह लगाईदिएका रुखहरु काट्दै हिड्यो । दिउँसो एकैछिनलाई जंगली सागको झोलसंग मुछेर भात खाने समय बाहेक साँझ झमक्क नभइन्जेल उसलाई त्यसै गराईयो । उसले त्यसै गर्यो ।

साँझ तमिलले थापेको सानो दोकानबाट दालचामल, आलुप्याज, र नुनतेल किन्यो उसले । तलब आएपछि तिर्न मिल्ने चलन रहेछ । जानी नजानी जिबनमा पहिलोपटक आफै भान्से भयो। भात गिलो भएछ , दाल काचो अनि सब्जी डडेछ । आधा खाएर उ निरस मन, थकित ज्यान र भोकै पेटले गर्मी नै भएपनि सिरक ओडेर सुत्न खोज्यो ।

तर आँखा चिम्म गरिसक्दा सिंगो गाउँ उसको आँखा अगाडी झल्झल्ती नाच्न थाल्यो । आमाबाबु , बैनी, साथिभाई, छेउको खोलो, चौतारीका बरपिपल,गाउँको छुम्मे कुकुर, यहाँ सम्मकी खरबारी डडाउदा जलेको रुखको ठुटो सम्म उसको स्मृति भन्दा बाहिर परेन । ती सबै सम्झेर उ सिरक भित्र आधारात सम्म रोयो र कुनबेला निदायो उसलाई पत्तै भएन

भोलिपल्ट देखि उसको काम र दैनिकी मिलको फित्ता झै एकनासले त्यसरी नै घुमीरहयो । केही दिनपछि गाँउघरको न्यास्रो अलि कम भयो तर थकान निरासा र एक्लोपना भने कम हुन सकेन ।

बल्ल बल्ल एकजुग बिते जसरी महिना बित्यो र हातमा लेबी कटाएर सातसय रिंगेट पर्यो । तिनसय रासनको तिर्यो र सय रिंगेटको रिचार्ज गरेर घरमा लामो कुराकानी गर्यो । सबैभन्दा धेरै आमा र बैनिसंग बोल्यो । नराम्रो केही भनेन सबै ठिकै छ पैसा अर्को महिना पठाईदिन्छु भन्यो । गाउँका अरु एकादुई साथीहरूलाई पनि फोन गर्यो ।

पैसा थोरै बाकी रहेपछि एकादुईलाई मिसकल हान्यो । तलब थापेको दिन छुट्टीको चलन रहेछ दिनभरी नै आरामले बितायो । तर छुट्टिको दिन उसलाई गाउँघरको सम्झनाले अरु दिन भन्दा झन धेरै सतायो ।

साँझतिर भियतनामीहरुले कताबाट हो एउटा मरनच्यासे खुईले कुकुर ल्याएर काटेर रमाइलो गर्न थाले । कुकुरको काचो खुन मासु र लादिले सारा ब्राह्मण दुर्गन्धमय भयो । त्यो देखेर उ हत्तपत्त भागेर कोठा भित्र गयो र सिरक ओडेर गुटुमुटु भएर सुत्न खोज्यो तर सकेन । काटी सकेपछि कोठै नजिक भान्सामा कुकुर पाक्न लाग्यो ।

पाक्दै गरेको कुकुरको मासु झन थामी नसक्नु गरि उसको नाकैमा ह्वास्स गनायो । त्यो रात बडो कष्टले कट्यो उसको । पानी सम्म खान दिग्मिग लाग्यो उसलाई ।

भोलिपल्ट बिहान सबै उठे तर उ उठेन । रिनको पहाड र सपनाहरूको चाँङको बिचमा महिनाभरीको त्यत्रो मेहनतको कमाई तिनसय रिंगेट कठोर यतार्थ थियो । सपना र यथार्थ बिचको छिचोली नसक्नुको दुरी देखेर अत्यास मानिरहेका झै लाग्ने उसका आँखा तमिल सुपरभाइजर उठाउन जादा खुल्लै थिए ।

दाईने हात द्ब्रे छाती माथी थियो । मुडो लडेजस्तो निस्प्राण लडेको उ आफ्ना सपना र दाइत्वको बोझबाट मुक्त भए झै देखिन्थ्यो । सबैले पालैपालो चिहाएर हेरेपछि सबै नै उ मरिसकेको साझा निस्कर्षमा पुगेका थिए ।

त्यसको केही दिनपछि मलेसियामा एक नेपालीको मृत्यु शिर्षकमा उ समाचारको बिषय भएर आयो अनि सामाजिक संजालहरुमा दर्जनौ पटक उ समाचारको रुपमा बाडियो । पढियो ।अनि उसले कमेन्टमा RIP भन्ने तीन अक्षरको अग्रेजी श्रद्धाञ्जली प्रसस्त मात्रामा पायो र सधैंका लागि उसको कथा सकियो ।

(स्रोत : Kantipath.com)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *