कथा : ‘वेश्या’सँग आधा घण्टा

~मनीषा अवस्थी~

‘हरेक दिनहरू अप्रत्यक्ष पाठशाला रहेछन्, आखिर भोक लागेको अनुभूति पेटभरी खाएर सुतेकालाई थाहा नहुँदो रहेछ ।’

अठार वर्षकी युवतीको यो जवाफले म अवाक् भएँ । रत्नपार्कको पश्चिमपट्टिको कुनामा भेटिएकी ती युवतीले एक दिन सुनाएकी थिइन् यो कथन । ‘लता’ नामकी ती युवतीले आफू सोह्र वर्षकी हुँदादेखि नै त्यही रत्नपार्कको पश्चिमी कुनालाई आफ्नो दैनिकी थेग्ने स्थान बनाएकी रहिछन् ।

काठमाडौं रिङ्गरोडभित्रको अति अस्तव्यस्त तेइस नम्बर रुटमा स–साना माइक्रो अधिकांश समय यात्रुको ठेलमठेलमै चल्छन् । त्यही ठेलमठेल माइक्रोमा ठमेल छेउको सोह्रखुट्टे चोकबाट एक यात्रु बनी म पनि कोचिएँ । सोमबारको दिन थियो । अपराह्नको तीन बजेको हुँदो हो । ट्राफिक जामले दश मिनेटको बाटो सोह्रखुट्टेबाट जमल पुग्दा पौने चार बजिसकेको थियो ।

जमलमा झरेर गोजीबाट मोबाइल निकाल्दै सोचें, ‘हिँड्दै आएको भए ठीक हुन्थ्यो ।’

पश्चिमेली साथीलाई कुर्न तोकिएको स्थान थियो रत्नपार्क । म सरासर रत्नपार्कको पश्चिमी कुनामा पुगें, जहाँ अपराह्नमा ठेलमठेल मानिस हुन्छन् । फुटपाथ व्यवसायी पनि खचाखच भरिन्छन् । पाकेटमारको बिगबिगी हुने बेला पनि त्यही । अनि ग्राहक खोज्दै टहलिने युवतीको लस्कर भेटिने परिवेश पनि त्यही ।

भीडमा म पनि मिसिएँ । एक जादुगर सुनाउँदै थिए, ‘हेर्नुस् हजुर मैले हातमै यो सर्प हिडाइदिन सक्छु ।’

उनको कुरा गज्जब लाग्यो, गोलो घेराभित्र कालो वर्णको मानिस कराइरहेको थियो, उसलाई करिब पचास जनाले घेरेका थिए । हिँड्दाहिँड्दै हेर्ने त कति कति ! ती पचासभित्र म पनि मिसिएँ । ती जादुगर कुनै फिल्मको हिरोजस्तै घेरिएका थिए । मानौं, एक छिनमा सबैको हातमा अटोग्राफ कोर्नेवाला थिए ।

हुन पनि त्यतिखेर हिरो नै थिए उनी । त्यसै त पक्कै पचासले उनलाई घेरेका छैनन् । उनले आफ्नो जादु शुरु गरे सानो कालो रङको सर्प उनको हत्केला देखि जिब्रो निकाल्दै टाउकोसम्म पुग्यो । मानिसहरूले उनले बिछ्याएको रुमालमा धमाधम पैसा फाल्न थाले ।

चटक चलिरहेकै थियो । महानगरले खटाएको एक मोटे प्रहरी आयो र रिसाएर भन्यो ‘कति भन्नु तिमीलाई…. यो पैदलेहरूको ठाउँ हो, तिम्रो सर्प देखाउने मञ्च हैन ।’ जादुगर असिनपसिन भएर सर्प र पैसा झोलामा राखी पूर्वतिर लाग्दा प्रहरीलाई केही संकेत ग¥यो र भन्यो, ‘म पुलमा हुन्छु ।’

ऊ सरासर गयो, शायद पुलमै पुगेर रोकियो होला । मैले अनुमान गरें, महानगर प्रहरी र त्यहाँ अधिकांश पेशेवरबीच त्यस्तै कानुन मिच्ने पैसाको खेल चल्थ्यो र आज पनि त्यही दोहोरियो । तर अर्को नयाँ कुरा, ती प्रहरीले पैदल यात्रीलाई पैदले भन्दा रहेछन् जादुगरले पैसा कमाउने काइदा र नगरप्रहरीको पैदले शब्दले त्यो हल्लैहल्लामा पनि मलाई एकछिन शून्य बनायो ।

दिमाग शून्य थियो । गोजीमा फोन थर्थरायो ।

साथी आइपुगेको भन्दै फोन उठाएर सरासर भनें, ‘म रत्नपार्कको पश्चिमी कुनामा छु, यहाँ काँक्रा र पानी बेचिरहेका महिलाहरू छन् ।’

उताको उत्तर सुन्दा एक छिन लजाएँ, ‘कलङ्कीको जाममा परें, एक घण्टा लाग्छ जस्तो छ, त्यतै कुर्नू ।’

एक घण्टा के गरी बिताउने ? फोन नराख्दै आफैंलाई मनमनै प्रश्न सोधें । एकैछिनमा आफैले आफैलाई उत्तर दिँदै भनें, ‘यतै अर्को जादुगर आउला नि.. नभए पार्कभित्र पसुँला ।’

सोच्दासोच्दै म थाहै नपाइ सडकपारी जाने अन्डरग्राउण्ड बाटोको छेउमै पुगिसकेछु । जुन बाटोको छेउमा केही युवती लस्करै उभिएका थिए, कोही छाता ओढेर, कोही मास्क लगाएर । त्यति लामो समय बिताउनु परेको रत्नपार्कमा मैले आफूले केही खोजेको र त्यसको नजिक पुगेको अनुभूति गरें एक्कासी । केही दिन अगाडि मात्रै त्यही बाटो हिँड्दा सडकछेउ र रत्नपार्कको पर्खालछेउ उभिएकी ती युवतीहरूलाई एक युवक साथीले अर्को साथीको कानमा गएर ‘माल’ भनेको सुनेकी थिएँ ।

त्यो दिन उसको कुरा नसुनेझैं गरे पनि मेरो मनमा ती ‘माल’ पहिचानकी युवतीहरूबारे जान्न मन लागिरहेको थियो । त्यो भीडभाड, अनि ती युवतीहरूको चञ्चलता मेरा लागि अद्भुत भइरहेको थियो, बाटो छेउ र पर्खाल छेउ लस्करै उभिएका ती युवतीहरूसँग कुरा गर्ने चाहना उत्कट थियो ।
उनीहरूको नजिकै एक्कासी पुगेपछि झनै उत्सुकता थपियो । फेरि सम्झें, ‘उनीहरू त कसैले जिस्काउन गए हुलै आएर कुट्छन् रे, प्रहरीले पनि केही गर्दैन रे अनि त्यहाँ वरिपरि धेरैबेर नयाँ युवती देखे भने जे पनि गर्न सक्छन् रे ।’

एक्कासी डरको बाढी नै आयो ।

त्यतिबेलै त्यस्तै अठार वर्षकी देखिने युवती कालो बुट्टावाला छाता ओढेर सरासर मेरो छेउ आई ।

मेरो मुटु डरले काँप्यो । साथीहरूले भने झैं कुट्ने पो हो कि ? म सशंकित भएँ । आफ्नो बचाउबारे सोच्न थालिहालें ।

तर उसले पनि म डराएको थाहा पाइछ क्यारे ! सोधी, ‘दिदी कसैलाई कुर्नुभएको ?’

मैले हड्बडाउँदै जवाफ दिएँ, ‘हो, एक जना साथीलाई’

म अचम्मित भएँ, ग्राहकको व्यग्र प्रतीक्षामा बसेकी ती युवती एकाएक मसँग आएर गफ गर्न थालिन् ।

मेरो मुखबाट एक्कासी प्रश्न निस्क्यो, मैले रोक्नै सकिन । अन्जान झैं प्रश्न तेस्र्याएँ, ‘तपाई कसलाई कुर्नुभएको ?’ जोडले हाँसी र भनी, ‘म ‘वेश्या’ मेरा ग्राहकको भाषामा ‘माल’ बेच्दै मालामाल हुन यहाँ कुरेकी ।’

म अचम्मित भएँ । सडक छेउमा एक्कासी आएर आफ्नो अवैध पेशा मलाई बताइरहेकी छे एक वेश्या ।
मैले सोधें, ‘मलाई चिन्नुहुन्छ ?’

‘पार्कभित्र जाने ?’ उसले प्रतिप्रश्न गरी ।

टाउकोले ईशारा गरे हुन्छको भावमा । हामी सरासर रत्नपार्कको मूल गेट पुग्यौं । मसँग पत्रकारको कार्ड थियो बिनाअवरोध पसें । उसले गार्डसँग के के हो भनी र म पसेको एकछिनमा भित्र पसी ।

सरासर पार्कभित्र पश्चिमपट्टि सार्वजनिक शौचालय छेउको मैदानमा हामी बस्यौं ।

एकछिनको मौनता चिर्दै उसैले भनी, ‘हिजो राति दुई जना धान्नुप¥यो, बेस्सरी थाकिएछ, उभिनै सकिन ।’

‘मलाई चिन्नुभाछ ?’ मेरो प्रश्न दोहोर्याएँ ।
उसले हाँस्दै भनी, ‘तपाई पत्रकार है ?’

‘हो, तर कसरी थाहा पाउनुभो ?’

‘अस्ति एउटा कार्यक्रममा चिनेको….’

उसको सरल जवाफ….. म अवाक् भए ।

एकछिनमा सोधें, ‘आफ्नो बारेमा भन्नुस् ।’

‘किन, लेख्ने हो ?’

मुस्कुराउँदै भनें, ‘मैले लेखेर केही फाइदा हुन्छ ?’

ती युवतीका गम्भीर कुराले मनमा हजारौं प्रश्न उब्जाइरहेको थियो ।

उसले भनी, ‘मैले तपाईलाई चिन्छु, मेरो बारेमा लेख्दा केही आपत्ति छैन तर मेरो नाम र फोटो राख्न पाउनुहुन्न, यो पेशा म छिट्टै छोड्दैछु ।’

‘किन ?’

‘मैले पढ्नका लागि गरेको हो, सोह्र वर्षमै सुरु गर्या… दुई वर्ष भयो, अब मलाई पुग्यो ।’

वेश्या… कति इमान्दार आफ्नो जीवनप्रति ? आफैले आफैलाई प्रश्न गरें र भनें, ‘तिम्रो नाम के हो ?’

जोडले हाँसी र भनी ‘एकछिन अगाडिसम्म तपाई, अहिले नै तिमी ?, मेरा ग्राहकजस्तै ।’

मलाई आत्मग्लानि भयो । उसका ग्राहकसँगै तुलना मलाई पनि गरिछ । मन छिया छिया भयो, आफै सम्हालिएँ, ‘सरी’

ऊ एकाएक भावुक बनी र भनी, ‘हरेक दिनहरू अप्रत्यक्ष पाठशाला रहेछन्, आखिर भोक लागेको अनुभूति पेटभरी खाएर सुतेकालाई थाहा हुँदो रहेनछ ।’

एकछिन रोकिएर सुरु गरी ‘………मेरो नाम लता हो, घर पुर्वी नेपाल धरान, अहिले बागबजारमा बस्छु, एक्लै, म परार घरबाट काठमाडौं आएँ । कक्षा ११ मा पत्रकारिता पढेर राम्रो पत्रकार बन्ने सपना बोकेर ।’

म निकै भावुक बने, आफैले पालेका कलिला सपना थलिन के बेर लाग्दो रहेछ र, अझै कतिका यस्तै सपना त डढेर खरानी पनि बन्लान् ।

मैले सोधें, ‘त्यसपछि ?’

‘मेरो बुबा हुनुहुन्न, म दुई वर्षकी हुँदा बित्नुभएको, आमाले मैले एसएलसी दिएको वर्ष परार एक मधिसेसँग बिहे गर्नुभयो मेरै अनुमतिमा ।’ आमालाई दुख दिन चाहिन, हुन त आमाले धरानको सबै सम्पत्ति मेरै नाममा पास गरिदिनुभएको छ, त्यो सब आमाकै जिम्मा छोडेर म आफै पढ्छु भनेर काठमाडौं आएँ ।’

‘अनि ?’

‘काठमाडौं ल्याएर कलेज भर्ना त आमाले नै गरिदिनुभयो, कोठाको बन्दोबस्त पनि उहाँले नै गरेर जानुभयो, केही पैसा पनि छाडेर जानुभएको । पछि आमाले पैसा पठाउन सक्नुभएन रे, एकदिन रुनुभएको थियो फोनमै, त्यसपछि कहिलेकाँही कुरा त हुन्छ फोनमा, मैले जागिर गरेर पढिरहेको छु, भन्छु’ ‘कोठाका दराज, पलङहरूले पैसा फलाएनन् …………….अनि काठमाडौंले मलाई के माया गथ्र्यो र, दयासम्म त गरेन.. बाध्य भएर कलेजकै यही पेशामा आएका साथीहरूसँग पैसा जुटाउने मेलोमा तब त पस्नुपर्यो ………, ऊ अनौंठो हाँसो हाँसी, पिडा, खुशी र सामिप्यताको अनुभूति एकैचोटी आएको हुनुपर्छ, मैले अनुमान गरें । ‘तर दिदी थाहा छ ? यहाँ पैसा त कति कति…….. आकाशमै भेटिन्छ, मैले डेढ वर्षमै बीस लाख कमाए नि !, अब परीक्षा पनि आउँदैछ, यो पेशासधैंका लागि छोडेर पढ्छु ।’

म अवाक् भएँ, कत्रो उद्देश्य यी सानी कोपिलाको…म सुनिरहें ।

उ फेरि हाँसी र भनी, ‘दिदी म पत्रकारै बन्छु नि ! मैले राम्रा लेख लेख्न सक्छु, लेखेको पनि छु, अनि यी पेशेवर वेश्याको बारेमा लेख्ने योजना पनि छ ।’

यी वाक्यभित्र उसको सपना फेरि फुलेको महसुस भयो मलाई, उसको कलिलो अनुहार फेरी धपक्कै खुल्यो, उसका गाजलु एक जोडी परेली आकर्षक, चञ्चल देखिए ।

त्यतिबेलै मेरो फोन फेरी थर्रथरायो, मेरो प्रतिक्षाकै साथीको थियो । उठाएँ र आफू पश्चिमी कुनामै आउने बताएँ ।

लताले म जाने थाहा पाएपछि नगइदिए हुन्थ्योको भावमा भनी, ‘जानुहुन्छ ?’

मैले भनें, ‘बहिनी मेरो फोन आयो जानैपर्छ, फेरि भेटौंला नि है’

हुन्छको भावमा टाउको हल्लाउँदै भनी, ‘अब म यता भेटिन्न, आरआर कलेज तिर हुनसक्छु, तर मलाई भूपूवेश्या भनेर मात्रै चिन्नू है ।’

सानै उमेरकी आजैदेखि स्वघोषित भूपू वेश्याबारे के लेख्ने होला ?

यही प्रश्न आफैंलाई गर्दै पार्कबाहिर निस्किँदा ‘लता’ मलाई हेरेर हात हल्लाइरहेकी थिई ।

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *