नियात्रा : ब्रुनाईका सात दिन

~अविनाश श्रेष्ठ~

हामी मलेसियाको राजधानी क्वालालम्पुरबाट सिङ्गापुर हुँदै ब्रुनाई जाने भएका थियौँ । स्थानीय समय अनुसार राती ११ बजे क्वालालम्पुरको सेन्ट्रल रेल्वे स्टेसनबाट ट्रेन छुट्ने रहेछ । म र मुरारी सुटकेस अनि ब्यागमा छिटोछिटो सामान राख्दै थियौँ । चन्द्र ढकाल हामी दुवैलाई सघाउँदै हुनुहुन्थ्यो । नारायण मैनालीजीले चिनजान गराउनुभएको चिनियाँ व्यापारी बूढो लिउ कङ् हामीलाई स्टेसन पुर्‍याउन समयमै गाडी लिएर आइपुग्नुभयो । बाहिर मुसलधारे पानी दर्किरहेको थियो । तर, हामीलाई यात्रामा निस्कनु नै थियो । मलेसियामा हामीलाई आफ्नो अपार्टमेन्टमा १३/१३ दिनसम्म राखेर न्यानो आतिथ्य प्रदान गर्ने सहृदयी मित्र चन्द्र ढकालसँग बिदाबारी हुँदा मन भारी भइरहेको थियो । त्यस्तो बिग्रेको मौसम र अन्धमुस्टि वषर्ातको प्रवाह नगरी केही दिनअघि मात्र चिनजान भएका भाइहरू उपेन्द्र कार्की र सुजन बर्तौला हामीलाई स्टेसनसम्म पुर्‍याउन लिउ कङ्कै गाडीमा हिँड्नुभयो । हामीलाई ट्रेनमा चढाएर लिउ कङ्सँगै उपेन्द्र र सुजन फर्केको लगभग १ घन्टा १५ मिनेटपछि बल्ल क्वालालम्पुर सेन्ट्रलबाट रातको अँध्यारो र बषर्ात्को कोलाहललाई चिर्दै ट्रेन गुड्न थालेको थियो । क्वालालम्पुर सेन्ट्रललाई पछाडि-पछाडि छाडेर लामो न लामो सिटी बजाउँदै ट्रेन अगाडि कुद्दै गर्दा रातको सहर अर्धनिद्रामा मस्तसँग झकाइरहेको थियो । मैले मनमनै सौहार्दपूर्ण सहर क्वालालम्पुर र यसका सहृदय बासिन्दालाई नमस्कार गरेँ र बिदा मागेँ ।

०००

बिहान स्थानीय समयअनुसार साढे ५ बजेतिर मलेसियाको दक्षिणतिर पर्ने सीमान्त सहर जोहर बहारुको रेल्वे स्टेसनमा पुगेर ट्रेन रोकियो । सिमानामा पर्ने अन्तिम रेल्वे स्टेसन भएकाले स्टेसनभित्रै माथ्लो तलामा रहेको इमिग्रेसनमा गई मलेसिया छाडेको टाँचा आ-आफ्नो पासपोर्टमा लगाउने काम गर्नुपर्ने रहेछ । लामबद्ध भएर पासपोर्टमा टाँचा लगाइयो । अनि, मलेसियासित विधिवत् बिदाबारी भइयो ।

समुद्रपारपिट्टि सिङ्गापुरको उडल्यान्ड रेल्वे स्टेसन पाँच मिनेटको दूरीमा स्वागत-मुद्रामा खडा थियो । यहाँ पनि इमिग्रेसनको औपचारिकता पूरा गर्न रेल थामियो । यहाँको नियम थाहा नभएकाले कृष्णमुरारी र म आ-आफ्ना लगेज नबोकी पासपोर्टमा प्रवेशाज्ञाको टाँचा लगाउने तरखरमा लाग्यौँ । तर, प्रवेशाज्ञाको टाँचा पासपोर्टमा लागेपछि लगेज लिन र्फकन नमिल्ने रहेछ । यही कारणले गर्दा हामी अलमलमा पर्‍यौँ र उता ट्रेन छुटिहाल्यो । तर, त्यहाँका कस्टम अधिकारीहरूले हामीलाई अत्तालिनुपर्दैन भनी सम्झाए र ट्याक्सी लिएर केही परको अर्को रेल्वे स्टेसनमा गई लगेज लिन सकिने उपाए बताए । एक जना भद्र कस्टम अधिकारी त हामीलाई लिफ्टसम्म पुर्‍याउन पनि आएको देख्दा सिङ्गापुरको सौहार्दको कायल भएँ म ।

रेल्वे स्टेसनबाहिर फेरि लाममै उभिएर ट्याक्सी चढ्यौँ । अनि अर्को स्टेसनमा पुगी, आफ्ना लगेजहरू लिन भ्यायौँ । त्यहाँबाट हामी माउन्ट भेर्नोनस्थित गोर्खा रजिर्भ फोर्सको ब्यारेकतिर लाग्यौँ । भर्खरै थालिएको वसन्तको याम भएकाले रूखैरूखले लटरम्म भरिएको सिङ्गापुरको सौन्दर्य बयानै गर्न नसकिने सीमासम्म निखारिएको थियो । गुडिरहेको ट्याक्सीबाट देखिँदै गरेको बिहानको सिङ्गापुरले एकपल्ट फेरि मेरो मन हरेर लगेको थियो ।

गोर्खा रजिर्भ फोर्सको सिङ्गापुर ब्यारेकका प्रमुख अर्थात् गोर्खा मेजर नारायणप्रसाद गुरुङ र डेपुटी अफिसर भोगेन्द्र गुरुङलाई हामी दोस्रोपटक भेटिरहेका थियौँ । उहाँहरूले हामीलाई फेरि पनि उस्तै उत्साहसाथ स्वागत गर्नुभयो र नुहाउने, खाने अनि एयरपोर्टसम्म जाने व्यवस्था मिलाइदिनुभयो ।

चालक देवबहादुर गुरुङ हामीलाई चाङ्गी विमान बिसौनीसम्म पुर्‍याउन खटाइनुभएको थियो । उहाँ निकै रमाइलो मान्छे हुनुहुँदोरहेछ । ४५ मिनेट दूरीको बाटो काट्दा उहाँले आफू अझैसम्म अविवाहित रहेको, घर धनगढीमा भएको, बिहे गर्न पटक-पटक नेपाल जान खोजेको तर माओवादी द्वन्द्वले गर्दा आफू अन्योलमा परिरहेको इतिवृत्तान्त सुनाइरहनुभयो ।

समुद्रमा माटो पुर्दै फराकिलो बनाउँदै लगिएको सिङ्गापुरको चाङ्गी विमानबिसौनीको टर्मिनल नं २ बाट हामीले प्रवेश गर्‍यौँ । चाङ्गी विमानबिसौनी निकै फराकिलो र ठूलो मात्र नभई सुन्दर साथै सुव्यवस्थित रहेको पायौँ । स्थानीय समयअनुसार दिउँसो सवा १२ मा ब्रुनाई एयरको जहाजले भुइँ छाड्यो । हामीले उडिरहेको जहाजभित्रैबाट अत्यन्त सुन्दर सिङ्गापुरलाई आँखामा अटाउन्जेल हेर्‍यौँ र बिदा लियौँ ।

सिङ्गापुर छोडेको २ घन्टा ५ मिनेट बित्दा नबित्दै ब्रुनाई दारुस्सलामको राजधानी बन्दर शेरी बेगावान्को अन्तर्राष्ट्रिय विमानबिसौनीमा हाम्रो जहाज कुनै ठूलो विशालकाय पौराणिक पक्षी ओर्लेझैँ ओर्लंदै जान्छ र धावनमार्गमा कुद्दै टर्मिनल भवनअगाडि रोकिन्छ ।

“ब्रुनाईको यो अन्तर्राष्ट्रिय भनिएको विमान बिसौनी अनुमान गरेभन्दा सानो रहेछ,” टर्मिनल भवनभित्र भिसा जाँचपछि सामानको प्रतीक्षा भइरहँदा भाइ कृष्णमुरारी ढुंगेलले भन्नुभयो । मलाई पनि लाग्यो यो विमानस्थल हाम्रो विराटनगर, पोखराकै आकार/आयतनको हुनुपर्छ र भनेँ, “भाइ ! विमानस्थलको साइजले देशको समृद्धि र सुन्दरतालाई नाप्न/जोख्न मिल्दैन । मलाई त लाग्दैछ, हामी धरतीको सानो स्वर्गजस्तो भूखण्डमा आइपुगेका छौँ ।”

स्थानीय समय दिनको २ बजेर ३५ मिनेट हुँदै थियो । हामी बाहिर निस्कँदा त्यहाँको मौसम साह्रै सफा र मन लोभ्याउने किसिमको थियो । यहाँ पनि हामीलाई लिन ‘गोर्खा रजिर्भ युनिट’का चालक श्रीबहादुर सुनुवार, गाइड चन्द्रबहादुर मल्ल र एक जना मले चिनियाँ, बीके वाङ् आउनुभएको रहेछ ।

गोर्खा रजिर्भ युनिटले हाम्रो बस्ने बन्दोबस्त जंगलै-जंगलले घेरिएको, रूखैरूखहरूमाझ बसाइएको आफ्नै क्याम्पभित्रकै एउट छुट्टै ब्यारेक घरमा गरेको रहेछ । मलाई भने कवि द्वारकिा श्रेष्ठ दाइको चितवन जंगल लजको सम्झना भइरह्यो यी ससाना अत्यन्त उच्च ढंगले व्यवस्थित ब्यारेक घरहरू देख्दा । चारैतिर चराहरूको समवेत् स्वर, रूखहरूको मन्द-मन्द नृत्य, बिचित्रको सुगन्धमा भिजेको बतास । यस ठाउँले पहिलो जम्काभेटमै मलाई मोहनी लगाएर आफ्नो मान्छे बनाइसकेको थियो । “यहाँ यस भू-स्वर्गमा हामी केही दिन बस्न पाउने छौँ,” सम्झँदा मन घरघिरि विभोर बनिरहन्थ्यो ।

त्यहाँ पुगेको एक घन्टाभित्रै ब्रुनाई गोर्खा रजिर्भ युनिटका प्रमुख, गोर्खा मेजर जेबी गुरुङ डिपुटी कमान्डेन्ट एसजे शेरचन, हेड क्लर्क भाक्सु निवासी मेजर श्याम थापा र अन्य थुप्रै सैनिक सेवाका मित्रहरूसित भेटघाट तथा परचिय आदान-प्रदान भयो । भेटिएका सबै अनुशासनको कुनै ठूलो मेसिनबाट तयार भएर निस्किएका जस्ता एकनास भलाद्मीपन, मीठो बोली, भद्र प्रस्तुति, सहज अकृत्रिम मिलनसारतिा अनि उच्च सैनिक सतर्कता । मलाई लागिरह्यो, म किस्सा-कहानीको कुनै अनौठो दुनियामा आइपुगेको त छैन कतै ! कुनै सक्षम लेखकको शक्तिशाली कल्पनाको दुनियाँमा !

०००

म ब्यूँझँदा नेपाली समय घडीले रातीको सवा ३ दर्शाइरहेको थियो तर ब्रुनाईको समय बिहानको ५ बजेर ३५ मिनेट गइसकेकाले झलमल्ल बिहान थियो झ्यालबाहिर र थियो विभिन्न जाति/प्रजातिका चराहरूको बोलीले घन्काइरहेको स्वप्नील संगीत । आहा ! कस्तो आह्लादकारी समय, जादुमय भूगोल अनि जीवनमा पहिलोपल्ट ब्यूँझन पाएको जस्तो बिहान ! बिहानको विभोरताको बोध !

बिहानको खाजा-चिया लिईवरी तयार हुँदासम्म ठीक ८ बज्नै लागेको हुन्छ । समयको कत्रो अड्कलेको अनुशासन ! हाम्रा निम्ति खटाइनुभएका गाइड ठाकुरप्रसाद गुरुङजी आफ्नो निजी कार लिएर टुप्लुक्क आइपुग्नु हुन्छ । हामी ठीक समयमै ठाकुरजीको कारमा ब्रुनाईको बेलाइत जिल्लामा पर्ने सानो सहर सेरयिातिर लाग्छौँ ।

ठाकुरजी ४४-४५ वर्षको अनुभवी र परपिक्व व्यक्ति हुनुहुन्छ । बोल्दा सतर्क र सन्तुलित । कार बन्दर शेरी बेगावानबाट बाहिरनिेबित्तिकै आठ लेन सडकको दुवैतिर अटब्बे घना वनक्षेत्र सुरु भइहाल्दो रहेछ । सडक प्रायः परपरसम्म सवारीविहीन र निर्जन । पाँच-दस मिनेटको अन्तरालमा एक्कादुक्का कार वा मिनी ट्रक सडकमा बग्दैबग्दै आउँथे र, उस्तै वेगका साथ छेउबाट गुज्रँदै बेपत्ता हुन्थे । ठाकुरजीले १४०/५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कार कुदाइरहनुभएको हुन्छ तापनि हामीलाई असहज महसुस भइरहेको छैन । कार कुदाउँदै हामीलाई उहाँ स्थान र भूभागको परचिय मात्र दिइरहनु भएको छैन, ब्रुनाईसँग जोडिएको गोर्खालीहरूको विगत इतिहासबारे पनि जानकारी दिँदै जानु हुन्छ ।

हाल ब्रुनाईका २९औँ शासक रहेछन् हिज मेजेस्टी सुल्तान हाजी हस्सनल बोल्खिया । वर्तमान सुल्तानका पिता सुल्तान हाजी ओमार अली सैफुद्दिन (तेस्रो)को पालामा सन् १९६०/६१ तिर इन्डोनेसियन छापामारहरूले ब्रुनाईमाथि आक्रमण गरी कब्जा जमाउन खोज्दा बि्रटिस गोर्खा रेजिमेन्ट्सका गोर्खाली योद्धाहरूले उनीहरूसित वीरतापूर्वक लडेर ब्रुनाईलाई पराधीन हुनबाट जोगाएको इतिहास रहेछ । गोर्खालीहरूको वीरता मात्र होइन, सरलता र विश्वसनीयताको कायल भएको रहेछ यहाँको राजपरविार । त्यसैले उनीहरूको निजी सुरक्षा साथै राज्यको समेत अस्तित्व रक्षाका निम्ति गोर्खा रजिर्भ युनिट नामक सैन्यदस्ता खडा गरी आज पनि बि्रटिस गोर्खा रेजिमेन्ट्सबाट सेवानिवृत्त भइसकेका गोर्खालीहरूलाई यहाँ पुनः भर्ती गरँिदै आएको रहेछ ।

ठाकुरजीबाट ब्रुनाईसित गाँसिएको गोर्खालीगाथा सुन्दै म आठ लेनको राजमार्ग र त्यसका दुवैतर्फ पसारिएको स्वच्छ पर्यावरणको आकलन पनि गर्दै गइरहेको हुन्छु । तेलका निम्ति धनी देशमा दरिएको ब्रुनाई बाटोघाटोको बनोट, सरसफाइ र सुग्घरतामा सिङ्गापुरभन्दा कम रहेनछ भन्ने मलाई लागिरह्यो । तर, राजधानी सहर बन्दर शेरी वेगवानमा सिङ्गापुरमा जस्ता अग्ला-अग्ला गगनचुम्बी अट्टालिकाहरू भने देख्न पाइँदैन । साना-साना स्थानीय सरकारी मापदण्ड अनुसार बनाइएका नयाँ र पुराना भवनहरू तर सबै सुन्दर र एकनासे कलात्मक मूल्यका ।

हामीले लगभग ४०-४५ किलोमिटर सडक पार गरिसकेका थियौँ तर यसबीच पैदलयात्रु कतै देखेनौँ, सबै निजी सवारी साधनमा गुडिरहेका । ठाकुरजीबाट के जान्न पाउँदा आश्चर्य लाग्यो भने यस मुलुकमा सरकारले जनतासँग कुनै किसिमको कर असुल नगर्ने रहेछ । जनताको स्वास्थ्योपचार, तिनका सन्तानको सम्पूर्ण शिक्षादीक्षाको व्ययभार सरकारको जिम्मेवारीभित्र पर्दो रहेछ । यसरी हेर्दा ब्रुनाई एउटा आदर्श लोक-कल्याणकारी राज्य हो भन्न कर लाग्छ ।

अर्को अचम्म ! त्यहाँ राजमार्गको दुवैतिर खरानी रङका बालुवा राशका राश फिँजिएको थियो परपरसम्म । ठाकुरजीबाट थाहा पायौँ, त्यो कलात्मक अनि चाँदीजस्तो टल्कने बालुवाको निर्यात गरेर ब्रुनाईले विदेशी मुद्रा आर्जन गर्दो रहेछ ।

हामी सेरयिा पुग्दा दिउँसोको २ बज्नै लागेको थियो । सेरयिा ससाना कलात्मक घरहरू भएको अत्यन्त व्यवस्थित सुन्दर सहर रहेछ । त्यहाँ हिँड्दा जहाँ हिँडे पनि सपनामा हिँडेजस्तो, दन्त्यकथाको कुनै स्वप्ननगरीमा विचरण गरिरहेजस्तो ।

राती सेरयिाबाट स्थानीय समय अनुसार १० बजेर ३५ मिनेटमा हामी हिँडेका थियौँ । बाटोमा फेरि घनघोर अन्धमुष्टि वषर्ात्ले हामीलाई छोपेको थियो । जंगलै-जंगलमाझबाट गुजि्ररहेको अनजान राजमार्गमा मध्य रातको आँधी-वषर्ात्मा ठाकुरजी उही १४०/५० प्रतिघन्टाको रफ्तारमा कार कुदाइरहनुभएको थियो अत्यन्त संयमित मुद्रामा ।

हाम्री ब्यारेक-घरमा भित्रिँदा मध्यरातले नेटो काटिसकेको थियो ।

०००

कुनै अर्को दिन हामी ठाकुरजीको कारमा ब्रुनाईको तुतोङ् जिल्लामा पर्ने समुद्रतट माटाईसे कानाकान बीचतिर लाग्यौँ । अत्यन्त कम आवादी भएको, अविकसित तर प्राकृतिक रूपमा सौन्दर्यश्रीले भरपिूर्ण ठाउँ रहेछ, तुतोङ् पनि ।

“पहिलो तुतोङ् जिल्ला सुल्तानका विरोधीहरू बस्ने ठाउँका रूपमा कुख्यात भएकाले यहाँ त्यति विकास नभएको हो,” ठाकुरजीले तुतोङ्को अन्तरकथा सुनाउनुभयो ।

गाडी माटाई से कानाकान समुद्रतटमै लगेर रोक्नुभयो ठाकुरजीले । म र कृष्णमुरारी गाडीबाट ओर्लनेबित्तिकै समुद्र तटमा ओच्छिएको सुन रङको स्वच्छ बालुवामा दगुर्न थाल्यौँ र पानीमा घुँडा-घुँडासम्म गाडिउन्ज्यालसम्म समुद्रमा भित्रियौँ ।

माटाई से कानाकान समुद्रतटको सुनका कणाजस्तो बालुवा ओच्छिएको बगरमा समुद्री शंख/सिपीका खोलहरू साथै विभिन्न जलजीवका अवशेष चारैतिर छरिएका थिए । समुद्रको पानीको सीमा थालिने ठाउँभन्दा लगभग हजार-बाह्र सय मिटरमाथि कान्ला र पाखाहरूतिर ताड, नरविल, पामका अग्ला-अग्ला रूखहरू समुद्री हावामा नृत्यरत देखिन्थे । समुद्रतटको शीतल बतास र उर्लिरहेको समुद्री छालको सुमधुर संगीतमा म डुब्दैडुब्दै आफैँमा विलीन हुँदैहुँदै गइरहेको थिएँ । वर्षौंपछि छाडेर आएको असम सम्झिरहेँ । ब्रह्मपुत्रको यस्तै बलौटे बगर र पवित्र बतास सम्झिरहेँ । नयनतारालाई सम्झिरहेँ, कावेरीलाई सम्झिरहेँ । डिम्पी र जरनिालाई सम्झिरहेँ । एउटा पुरानो बंगाली रोमान्टिक गीत मनभित्र थरथराइरहेको थियो प्रख्यात गायक पिन्टु भट्टाचार्यले गाएको ‘तुमी निर्जन उपकुलेर नायिकार मतो…’ (कुनै निर्जन उपकुलकी नायिकाजस्ती तिमी…)

म समुद्रमा हेलिँदै गएँ । आहा ! कति स्वच्छ र कञ्चन जल । मैले दुवै हत्केला जोरेर अञ्जुलि बनाएँ र चञ्चल समुद्रको जल त्यसमा उबाएँ । विशाल प्रशान्त महासागरको एउटा सानु, अत्यन्त नगण्य अंश मेरो अञ्जुलिको घेराभित्र थियो अहिले । महाविराटलाई मैले आफ्नो अञ्जुलिमा उठाएँ अनि आफ्ना सयौँ पुस्ताका पितापुर्खा र पितृहरूलाई सम्झेर त्यही जलको तर्पण दिएँ । घरि-घरि प्रशान्त महासागरलाई अञ्जुलिमा उबाउँथेँ र तर्पण दिँदै फेरि उही समुद्रमा फर्काइदिन्थेँ । मलाई मेरो मन धेरै हलुंगो हुँदै गएझैँ लागिरह्यो । ब्रुनाईको यस समुद्री तटले मलाई आज सयौँ-सय पुस्ताका पितृहरूसित जोडेको थियो । जन्म-जन्मान्तरका रहस्यका गाँठाहरू फुकाउँदै गएको थियो । मानौँ, मैले मोक्ष प्राप्त गरेको थिएँ त्यहाँ त्यस क्षणमा ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४६७)

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *