कथा : जुनु म्याडम

~होतराज पौडेल~

सबैले पर्रर्रर्र… ताली बजाए । जुनु म्याडमको प्रस्ताव सर्वसम्मतले पारित भयो । सिडियो सापले आफ्नो अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन भएको घोषणा गरे । आजको कार्यक्रमको उद्देश्य थियो, बाल तथा महिला हिंसाविरुद्धको अभियानलाई जिल्लास्तरमा सशक्त बनाउने । यो कार्यक्रमको प्रायोजन जुनु म्याडमको गैरसरकारी संस्थाले गरेको थियो । जसमा जिल्लाका सबै सरोकारवालाहरुको उल्लेख्य उपस्थिति भयो ।

यस बैठकको निर्णयअनुसार भोलिदेखि नै तीनवटा टोली गठन गरेर जिल्लाभरि खटाउने र घरेलु हिंसामा परेका बालबालिका तथा महिलालाई उद्धार गर्ने भनिएकोले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला विकास समिति, पत्रकार महासंघ तथा गैरसरकारी संस्थाहरुबाट एक–एक जना प्रतिनिधिसमेत सहभागी हुने गरी तीनवटा टोलीको ढाँचा तयार भयो ।

आजको बैठकमा सहभागीहरुले संस्थाको नियमानुसारको भत्ता बुझे । गैरसरकारी संस्थालाई डलरमा प्राप्त भएको सहयोगबाट आकर्षक भत्ता आउँदो रहेछ । सबै जनाले भत्ताको खाम गह्रुङ्गो गरी उचालेर गोजीभित्र हाले । धन्यवादको पात्र बनिन् जुनु म्याडम । सबैजना आ–आफ्नो गन्तव्यतिर लम्किदै थिए ।

त्यत्तिकैमा एक जना सहभागीले भने, ‘जुनु, आज कता जाने हो त डिनर गर्ने ?’ जुनु म्याडमले छड्के आँखा लगाउँदै भनिन्, ‘आज पनि जाने हो र भन्या ? घरमा समय दिनै पाएको छैन ।’ म्याडमलाई आज पनि डिनरमा जान त मन लागेकै बुझियो तर घरको कुरा जोडेर बचाउ गर्न खोजिन् ।

डिनरका प्रस्तावक थिए अनिल किशोर । उनले ठट्यौली पारामा भनिहाले, ‘घरमा समय नदिएर के भो त डलर दिएकै छौं नि म्याडम ।’ यो अलि व्यङ्ग्यात्मक जवाफ आयो । तैपनि यस्ता रवाफ–जवाफ त जुनु र अनिल किशोरबीच पहिलेदेखि नै चल्दै आएको कुरा हो । दुबै जनाले एक–अर्कालाई हेराहेर गरे र आँखाको इशाराबाट डिनरको चाँजोपाँजो मिलाए ।

सदाझैं अनिल किशोर र जुनु म्याडमको डिनर एक होटेलमा चल्यो राती एघार बजेसम्म । अनि दुबै जनाले लरबराउने ओंठहरु चलाए, ‘गुड नाइट !’

रामप्रसादले सदाझैं आज पनि रातको एघार बजे घरको मुलगेटमा गाडीको हर्न बजेको आवाज सुन्यो । त्यो आवाज उनकै श्रीमतीको गाडीको थियो । गेटको ढोका खोल्दै रामप्रसादले प्रतिक्रिया जनाए, ‘आज पनि त्यही हालतमा हो जुनु ?’

‘हे तिमी जैले पनि कचकच गर्छौ । महिलाहरुलाई जवाफ लाउन हुन्न भन्ने थाहा छैन ? तिमी खुरुखुरु आफ्नो काम गर न । टन्न डलर कमाएर दिएकै छु । आफूले पनि सा“झ बिहान एक–एक गिलास दूध किनेर खाए हुन्छ नि । लोग्नेमान्छे भएर श्रीमतीको चियोचर्चा गरेको राम्रो हुन्न बुझ्यौ ?’ रामप्रसादले श्रीमती जुनुका यस्ता जवाफ पचाइसकेको थियो । ऊ चुपचाप ढोकासोका लगाएर श्रीमतीको पछिपछि कोठाभित्र छि¥यो ।

पलङको कुनाबाट सदाझैं एउटा आवाज दोहोरियो श्रीमतीको, ‘म थकित छु, मलाई नछुनू है आज ।’ यो कुनै नौलो कुरा थिएन रामप्रसादलाई । उसले मौन स्वीकृति जनायो र श्रीमतीपट्टि आफ्नो ढाड फर्काउँदै निद्रादेवीको प्रतीक्षामा मुढाजस्तै लड्यो ।

‘ए कान्छी, मेरो कपडा धोइस् ? अनि त्यो निलो चप्पलमा ब्रस लगाएर धूलो झार त । यो कस्ती केटी रै’छ, यसबेलासम्म केही काम गरेकी छैन । ल हेर मैले हिजो नुहाएर बाथरुममा फालेका कपडा जस्ताको तस्तै छन् । म त यसका जगल्टा नउखेली कहाँ छोड्छु र ! पख न नकचरी ।’

कान्छी, एउटी गरिब परिवारकी टुहुरी केटी !

ऊ सात वर्षकी हुँदा उसकी आमा मरी । बाबुले कान्छी आमा ल्याएपछि उसको बाबुको माया पनि चुँडियो । त्यसै वर्ष जुनु म्याडम कान्छीको पहाडी गाउँमा गएकी थिइन् एउटा गैरसरकारी संस्थाको खोज कार्यको लागि । कान्छीको त्यो दयनीय अवस्था देखेर उनको मन कुँडियो र उनले कान्छीका घरपरिवार, गाउँले–छिमेकीहरुसँग बाचा गरिन्– मायाममता, लालनपालन, शिक्षादीक्षा आदि इत्यादिको ।

जुनु साँच्चैकी जन्म दिने आमाजस्तै बनेकी थिइन् र कान्छीको हात डो¥याउँदै ल्याएकी थिइन्, आफ्नो घरमा सात वर्ष पहिले ।

भान्छाकोठामा भाँडा माझ्दै गरेकी कान्छीले म्याडमको चर्को–चर्को आवाज सुनी । उसको सातो उड्लाजस्तो भयो । माझ्दा–माझ्दैका आधा भाँडा छोडेर मालिक्नी म्याडम भएतिर गई, थरथरी काँपेको खुट्टाहरु चाल्दै ।

‘हजुर मेमसाप !’ नम्र स्वरमा प्रस्तुत भई कान्छी, म्याडमको अगाडि ।

‘तेरा जगल्टा उखेलुँ ? ख्वैं मैले बाथरुममा फालेका कपडा धोएको ?’ म्याडमको हातले कान्छीको टाउकोमा झम्टिन पुग्यो । तप्प–तप्प चुहिएका आँसुका थोपा पछ्याउँदै कान्छी लसक्क लस्की बाथरुमतिर ।

बिहानको ब्रेकफाष्ट सकेर जुनु म्याडम आफ्नो काममा बाहिर निस्कन लागिन् उही हिजोको बैठकले गरेको निर्णयअनुसार । रामप्रसादले टेलिभिजन खोले । कान्छीले आफ्नो धन्दा सकेर नुहाउन बाथरुमभित्र छिरी ।

टेलिभिजन हेर्दाहेर्दै बिजुलीको लाइन गयो । रामप्रसाद कोठाबाट बाहिर निस्किदै थिए, त्यसैबेला कान्छी पनि बाथरुमबाट नुहाएर बाहिर निस्कदै थिई । उसको शरीरमा पूर्ण वस्त्र थिएन । पातलो बर्कोले सबै शरीर छोप्न खोजेको जस्तो देखिन्थ्यो । भर्खर उदाउँदो बैंसमा चढ्दै गरेकी, सोली परेका तिघ्रा, पुष्ट उछिट्टिन खोजेको नितम्ब र करिब–करिब बालापनलाई बिदाइ गर्दै युवतीको आकृतिमा फक्रिन खोजेजस्तो छातीको आकार थियो कान्छीको ।

रामप्रसादलाई ढोका अगाडि देख्नेबित्तिकै डर र लाजले भरिएका आँखाहरु फनक्क घुमाइ र टाउको निहुराई । रामप्रसादको मनभित्र एकप्रकारको पापी हुरी बतास मडारिन थाल्यो । उसका आँखाले कान्छीको छातीमा शिकार गरिराखे र उसको घाँटीबाट ¥यालको एक घुट्की घुटुक्क पेटभित्र छि¥यो । जमिनमा गाडेको मुढोजस्तो ठिङ्ग्रिङ्ग उभिइरह्यो कान्छीको अगाडि । यत्तिकैमा बाहिरबाट कसैले गेटको ढोका बजाएको आवाज आयो ।

‘कसलाई खोज्नुभएको हो ?’ रामप्रसादले सोधे ।

‘हामीले यो घरको मालिकलाई खोजेको हो ।’ पाँच जनाको टोलीमध्ये एक जनाले जवाफ दिए ।

‘म नै हुँ भन्नुस् न ।’ रामप्रसादले ढोका खोलेर भित्र पस्ने अनुमति दिएको संकेत गर्दै भने । सोही संकेतअनुसार सबैजना घरभित्र पसे । यताउता हेरे । बैठक कोठामा सजाएर राखेका प्रशंसा–पत्र र विभिन्न पुरस्कार राशी थापेका फोटोहरुले बैठक कोठा शोभायमान थियो । सबै टोली सदस्यका आँखाहरु तिनै प्रमाण–पत्र र फोटोहरुमाथि घुमिरहेका थिए । रामप्रसादले फेरि प्रश्न गरे– ‘मैले त तपाईंहरुलाई चिनिन नि ? कहाँदेखि पाल्नुभयो ?’

रामप्रसादले आफ्नो प्रश्नको जवाफ पाएन । बरु अर्को प्रश्न तेर्सियो उसको लागि– ‘तपाईंहरु को–को हुनुहुन्छ यो घरमा बस्ने ?’

‘म र मेरी श्रीमती मात्र हो, हाम्रो घरको सदस्य । श्रीमती अफिसको कामले बाहिर गएकी छन् । म घरमै बस्छु । मेरी श्रीमतीको एउटा गैरसरकारी संस्था छ । ऊ यो भित्तामा तपाईंहरुले हेरिरहनुभएको सबै मेरी श्रीमतीको उपलब्धि हो । समाजसेवा गरेबापत थुप्रै ठाउँबाट धेरै पटक सम्मानित भएकी छन् उनी ।’ रामप्रसादले आफ्नो श्रीमतीको निकै प्रशंसा गरेर जवाफ दिदै थिए । अर्को कोठाबाट कुचो लगाउँदै बाहिर आउन लागेकी कान्छीतिर आँखा गयो एकजना टोली सदस्यको । उनी महिला सदस्य थिइन् भावना दिदी, महिला तथा बालबालिका कार्यालयको प्रतिनिधि ।

‘तिमी को हौ नानी ?’

‘म कान्छी ।’ सोझो उत्तर दिई उसले ।

‘तिम्रो अर्को नाम छैन ?’

‘छैन । मलाई यो घरमा कान्छी भनेर बोलाउनु हुन्छ ।’ थोरै लाज र डरले भरिएको स्वरमा जवाफ दिई उसले ।

‘ए, त्यसो भए तिमी यो घरकी कान्छी छोरी हौ ? कतिमा पढ्छ्यौ ? अनि आज स्कुल किन नगएकी त ?’ एकैचोटि तीनवटा प्रश्न बर्सिए बिचरीलाई ।

‘मलाई यो घरको मेमसापले सात वर्ष पहिले मेरो घरबाट ल्याएर आउनुभएको हो … ।’ उसको गला अवरुद्ध भयो । आँखाहरु रसाए । हातबाट कुचो फुत्किएर भुँइमा झ¥यो । कान्छीका आँसुका धाराहरुले सबै प्रश्नको जवाफ दिएका थिए । उसले रात दिन पसिनासँग अलिकति माया साट्छे, पीडा र बेदनासँग मुछेर मुखमा माड लगाउँछे अनि आँसुका धाराहरुले लेख्छे चिल्ला कोठा र दलानहरुमा । सायद उसका प्रत्येक अङ्गहरुले अरु पनि धेरै भन्न बाँकी थियो, मेमसाप नभएको बेला रामप्रसादले ऊ माथि गर्ने दुव्र्यवहारको बारेमा । उसको कुरा सुनेर सबै टोली सदस्यहरु भावुक भए ।

‘असई साप उहाँलाई पनि लिएर जाउँ ।’ भावना दिदीले रामप्रसादतिर संकेत गर्दै भनिन् । कान्छी र रामप्रसादलाई लिएर टोली जिल्ला प्रशासन कार्यालयतिर अगाडि बढ्यो ।

उता जुनु म्याडम र अनिल किशोरले नेतृत्व गरेको टोली पनि आ–आफ्नो क्षेत्रको काम सकेर जिल्ला प्रशासनमा समीक्षा बैठकको लागि आइसकेको थियो । तीनवटै टोलीको संयुक्त प्रतिवेदन तयार पार्ने सिलसिलामा सिडियो सावबाट प्रगति विवरणको समीक्षाको लागि अनुरोध भएबमोजिम सबैले आ–आफ्नो प्रगति विवरण सुनाए ।

अन्त्यमा भावना दिदीले पनि आफ्नो प्रतिवेदनमा एक जना बालिकाको उद्धार गरेको उल्लेख गरिन् । जुनु म्याडमले त्यो उद्धार कार्यको निकै प्रशंसा गरिन् र भावना दिदीलार्ई धन्यवाद पनि दिइन् । सिडियो सापले ती पीडित बालिकालाई उपस्थित गराउन र पीडा दिने परिवारलाई गिरफ्तार गर्न आदेश दिए । आदेशबमोजिम असई सावले कान्छी र रामप्रसादलाई उपस्थित गराए । जुनु म्याडमले आफ्नो पति र कान्छीलाई उपस्थित गराएको देखेर छा“गाबाट खसेजस्तो भइन् । समीक्षा बैठकमा उपस्थित सबैजना स्तब्ध भए ।

‘असई साप दोषीलाई हत्कडी लगाइदिनुस् ।’ सिडिओको आदेश भयो । असईले हत्कडीको एउटा माला लगेर जुनु म्याडमको दुबै हात बाँधिदिए, अर्को माला लगेर रामप्रसादको हातमा पहिराइदिए । रामप्रसादले आफ्नो पनि अपील गर्न खोज्दै थिए– ‘सिडिओ साब ! म निर्दोष छुँ, हिंसा ममाथि पनि भएको छ । जुनु मात्र श्रीमती बनिन् तर कहिल्यै मेरी पत्नी बनिनन्…।’

कान्छीका निश्चल आँखाहरु भविष्य खोज्दै थिए । पत्रकारहरु फोटो खिच्दै थिए ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *