कथा : एक्लो यात्री

~सरु पेखरेल~Saru Pokharel

बर्षौपछी आज यो बाटो हिडेको उ |बाटोका दृश्यहरु फेरिएका छन्|हुन त उसको मन पनि फेरिएको छ |उसलाई यताबाट जाँदा नौलो लागथ्यो, अहिले फर्किदा नौलो भैरहेको छ| बाटोका छेउछाउका घरहरु,रुखहरु पुलपुलेसाहरू कुनै थोत्रिएका छन्,कुनै नया बनेका छन्|जमिनको आयतन खुम्चिएको छ,खाली ठाउँ भरिएकाछन्|भरिएका ठाउहरु अझै अग्लिएका छन् |

उ यतिखेर फर्किरहेको छ आफ्नो जन्मथलोमा |उसले यो बाटो पहिलो पटक हिंडेको सम्झिन्छ|बिकट गाउँमा जन्मेको मान्छे उ |मोटर देखन पनि एक दिनको पैदल बाटो हिंड्नु पर्थ्यो |उसले सातौं कक्षा पास गर्ने बेलासम्म मोटर र मोटरबाटो देखेको थिएन |आठौँ कक्षामा पुगेपछि फुपुको पछी लागेर सदरमुकाम झरेको थियो |कच्ची बाटोमा घंद्र्यंग घुन्द्रुंग मोटर गुडेको पहिलो पटक देख्दा अर्कै संसारमा उभिएको जस्तो लागेको थियो उसलाई |अहिले उसले अनगिन्ति चिल्ला बाटाहरुमा सयर गरिसकेको छ|जमिनका बाटामा मात्र होइन हावा र पानीका बाटोमा पनि उसको लागि कुनै नौलो छैन |आधुनिक बिकाशका सबै प्रविधिसंग उ परिचित छ |

यो बाटोबाट वषौंपछी फर्किदा उसको वर्तमान पनि बिगत तर्फ फर्किरहेको छ|उसले बाबुको मुख देखन पाएन|अरुको भनाइ अनुसार उ गर्भे टुहुरो हो|आमाले हुर्काएकी पढाएकी सहि बाटोको पहिचान गराएकी थिइन उसलाई|आमा छोरा बाहेक परिवारमा कोहि थिएनन|आमा कतिखेर भेटौ जस्तो भएको छ|वीचमा उसले आमालाई नसम्झेको त कहाँ हो र देशको परिस्थितिले गर्दा यहाँ फर्किने आँट गर्न सकेन|

काठमाडौँमा एम एस सी पढ्ने बेलासम्म त उ आउनेजाने गर्थ्यो|छात्रवृति पाएर अमेरिका जानेबेलामा बिदा माग्न आएको पनि तेह्र वर्ष भैसकेछ|सुरुका तिन चार वर्ष उसले आफ्नालागि संघर्ष गर्दै ठिक भयो |त्यसपछी उसले उतै घरजम गर्यो|त्यहाँको व्यस्त जीवन,नया जीवनसाथी उ चाहेर पनि आउन सकेन|सुरु सुरुमा चिठीपत्र आवतजावत चल्थ्यो|पछी गाउँमा सार्वजनिक टेलिफोन सुबिधा भएपछी एकाध वर्षमा आमासँग सम्पर्क हुन्थ्यो|फोनमा पनि उ नै एकोहोरो बोल्थ्यो,आमाको रुवाई मात्र हुन्थ्यो|उसको छोरा पनि जन्म्यो|आमाको न्यास्रोलाइ छोरा र श्रीमतिले कम गरेका थिए|सधैं व्यस्त हुँदा बचेको समय ति दुइलाई नै पुग्थेन|यतिखेर पनि उ सहजै आउन त कहाँ पाउथ्यो र आमा ज्यादै न्याश्रीएकी र एक वर्ष बढी फोन सम्पर्क नभएको हुँदा उ जसोतसो तारतम्य मिलाएर आएको थियो |

आजकल त तागारोमै गाडी आइपुग्छ,हिड्न पर्दैन बाबु भनेर पोहोरै आमाले भनेकी थिइन|

उसले काठमाडौँ उत्रेर पनि कुनै आफन्त,साथीभाई भेट्न खोजेन|उसलाई आमा भेट्न हतार भएको छ|
बस भरिका यात्रुको अनुहार पढ्न खोज्छ उ|सबै आफै जस्तो ठान्छ,सायद यिनीहरु पनि आफन्त भेट्न हतारिएका छन् |बसले कैयौ घुम्ती पार गर्दै गन्तब्य नापिरहेको छ |उसले पनि जीवनका धेरै घुम्तिहरु पार गरिसकेको छ तर उसलाई अझै आफ्नो गन्तव्यको बाटो खोटटिएको जस्तो लाग्दैन|

चिया नास्ताको लागि गाडी रोकिन्छ|पहिलो पल्ट काठमाडौँ आउदा आमाले झोलामा राखिदिएको घिउ र सातु खादै बाटो काटेको थियो उसले|त्यसपछीको यात्रामा उ बरु भोकै हिड्यो तर कहिल्ये सातु खाएन|आज उसले त्यो घिउ र सातुको स्वाद सव्झेको छ|

बस स्टपमा गाडी रोकियको छ |यात्रुहरु आ-आफ्ना समान लिएर उत्रदै छन्|उसकी फुपुको घर पनि यहि ठाउमा छ तर आज उसलाई फुपू भेट्नुभन्दा पहिला आमा भेट्न हतार भएको छ तसर्थ उ सोझै गाउँ जाने गाडी पक्डन्छ|

यात्रीहरु खचाखाच खादिएका छन् गाडीभित्र|उसले सबैलाई नियाल्छ|उसंग परिचित नै मान्छेहरु हुन् जस्तो लाग्छ तर उसलाई कसैले चिनेजस्तो गर्दैनन|कुनै समय उ गाउँमा कति प्यारो थियो|कसैको घरमा रेडियो बिग्रे पनि उसैलाई खोज्थे|चिठीपत्र लेखन,वाचन गर्न उही नै चाहिन्थ्यो|पूजाआजा ,बिहे,व्रतबंद ,भोजभतेर ,रंगरमाइलो आदिमा उसैलाई अघि सरिन्थ्यो यो तेह्र वर्षको अन्तरालमा उ धेरै एक्लिएको छ|उसको शारीरिक अवस्था पनि नाचिनिने गरि परिवर्तन भएको छ|उसका केशहरु आधा पाकिसकेका छन,जिउ निकै भद्दा र मोटो पनि छ|

कच्ची बाटोबाट गाडीभित्र बुंगबुंगती धुलो मडारिएको छ|अलिअलि चिनेजस्तो लाग्नेहरु पनि नचिनिने भएकाछन|

पहिला पैदल हिंड्ने बाटोभन्दा केहि तलको पहरा फोरेर मोटर बाटो बनाइएको रहेछ|कतिचोटी उ सदरमुकामबाट गाउँ फर्किदा माथिको बाटोमा तरर पसीना चुहाउदै जस्ता बोक्नेको पछीपछी दौडेको थियो|त्यतिखेर गाउँमा फाटफुटट जस्ताका छानामात्र थिए,अहिले खरका छाना कहिँ देखिदैनन|बरू जस्ता पनि उप्काएर ढलान गरिएको छ|

गाडीको झ्यालबाट उसको गाउँ नजिकै देखिएको छ|जस्ताका छाना टलक्क टल्केका छन्|आफ्नो घर खोटयाउन पनि गार्हो भएको छ उसलाई यतिखेर|

आमाले यस्ता गाडीहरु कति पर्खेर बसिन होला|हरेक पटक गाउँ आउने गाडीमा छोरो नभेट्दा निरासा आइरह्यो|आज आफुलाई भेट्दा आमा कति खुशी होलिन,उसका आखा रसिला भएकाछन|

उसको ठुलो गरो,पखेरे गरोको बिचबीचबाट गाडी गाउँतर्फ छिर्दै छ|मोटर बाटोले आफ्नो उब्जाउ जग्गा नासिदिएकोमा कताकता उ खिन्न हुन्छ|छिमेकी र आफन्तहरुको तगारोहुदै गाडी उसकै घरनेर पुगेकोछ|उ गाडी रोकेर उत्रन्छ|घरको आधा आँगन बाटोमा गएको रहेछ|भत्केको आँगनमा उभिएर उ घरलाई नियाल्छ|पक्पक उप्केका भित्ताहरु,महिनौ लिपपोत नगरेर फुङ्ग उडेको घर|ढोकामा ताल्चा लगाइएको छ|आमा कहाँ गईन होला,उ डील् बिनाको आधा आँगनको छेउमा पुगेर चिच्याउछ “आमा….आ” |उसको आवाज वरपर ठोक्किएर बिलाउछ|उ दौडिदै गोठमा जान्छ,गोठ पनि रित्तो छ|उ घरबारीतर्फ पागल जस्तै दौडिन्छ,घरबारी बाँझो छ|”आमा आमा ” एकोहोरो कराउदै घर वरिपरी फन्को मारिरहन्छ |आमाको बारेमा अरुथोक उ केहि सोच्न चाहन्न |माथि शम्भुदाइको गईनकी,उ हानिदै शम्भु दाइको आँगनमा पुग्छ|

“शम्भु दाइ”ढोका बाहिरबाट चिच्याउछ|

“दाइ त हुनुहुन्न को हो?”भाउजु भित्रबाट निस्किन |

“म तल सुरेन्द्र,आमा कहाँ जानुभएछ भाउजु ?”

“कहिँ तपाईं सुरेन्द्र ………..”उनको अनुहार एक्कासि अँध्यारो हुन्छ|उनि तत्काल अरु बोल्न सक्दिनन

“भाउजु आमा कहाँ ……?”

“यतिखेर आएर आमा भेटिनुहुन्छ “पर डाडामा नियालेर स्वर कपाउदै बोल्छिन उनि

“किन ?”

“अब आमा हुनुहुन्न तपैंको कारणले आमाले तल वरको रुखमा झुण्डीएर आत्महत्या गर्नुभयो,तपाईंसंगको बिछोड सहन सक्नु भएन| “उनि बोल्दा बोल्दै सुक्सुकाउन थालिन |भाउजुका कति शब्द उसले सुन्यो ,कति सुनेन तर उ निशब्द बनेको छ |सारा संसार फनफन घुम्न थालेको छ|आँखाभरि अन्धकार छाउदै आउँछ |उ भुईमा थचक्क बस्छ|

यहि कपुतले आमाको प्राण निल्यो,यसता कुलंगार नजन्मे पनि हुने ,अब के मुख देखाउन आएको होला |क्ल्यान्ग्ब्ल्यांग अरु मान्छेहरुको आबाज पनि उसको कानमा ठोकिन्छ|

“कति गरेर टुहुरो हुर्काईंन,थुईक्क …….बरु बाझैँ रहनु ठिक”

उ ढुन्मुनिदै वरको रुखको फेदमा पुग्छ|बुढो बरको रुखलाई आमाको अँगालो जस्तै च्यापर डाको छोड्छ मानौ उ यतिखेर वर्षौको रुवाइ एकै चोटी रोइरहेको छ |आज उ आफ्नै जन्मथलोमा ,प्यारो गाउँमा एक्लो भएको छ |झमक्क साँझ परेकोले वरको रुखका टोडकामा चराहरु बास बस्ने तरखरमा छन् |उ भने एकोहोरो बरको रुखलाई च्यापेर रोइरहेको छ l

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *