नियात्रा : मुक्तिनाथ यात्राका चीरस्मृत सम्झनाहरू

~भेषराज रिजाल~

वि.सं. २०५५ साल भदौ महिनाको अन्तिमसाता आमा, बुवा र म मुक्तिनाथ यात्रामा निस्कियौँ ।

हामी पुर्ख्यौली थलो पर्वतबाट कुश्मा, बेनी, गलेश्वर, घाँसा, लेते, टुकुचे, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथ पुगेर आठौंदिनका दिन घर फर्किएका थियौँ । चारदशक लामो जीवन यात्रा पार गर्नै लाग्दा आठदिने यात्राका ती रोमाञ्‍चक पलहरू अविस्मरणीय बनेर मन मुटुमा सजिएका छन् ।

ज्ञादीको समथर फाँट हिँडेर मोदीखोला तर्दै कुश्मा उक्लँदा सूर्य मध्याकासमा पुगिसकेको थियो । कुश्माबाट मोटर चढी झण्डै दशकिलोमिटर दूरीमा रहेको मालढुङ्गा पुगेपछि बेनीका लागि केहीबेर गाडी पर्खनुपर्यो । काठमाडौं, पोखरा, कुश्मातर्फबाट आउने यात्रुहरू बेनी पुग्नका लागि दुईवटा बाटा छन् । एउटा बाटो कालीगण्डकीको पुल तरी बागलुङबजार हुँदै बागलुङ जिल्ला र म्याग्दी जिल्लाका केही गाउँहरू पार गर्दै बेनी पुग्छ भने अर्को बाटो कालीगण्डकीको किनारैकिनार पर्वत जिल्लाका पाङ, नाङलिवाङ, माझफाँटका भू-भाग हुँदै अगाडि बढ्छ । हामीले दोस्रो बाटो समात्यौँ ।

जागिरको दौरानमा मैले पर्वत जिल्लाका उत्तरी भेग र म्याग्दी जिल्लाका अधिकांश गाउँहरू छिचलिसकेको भए पनि त्यो यात्रा निकै रमाइलो अनुभूत भइरहेको थियो । पहिले पहिले हिँड्दा नदेखिएका काली किनारका चिटिक्‍क मिलेका ढुङ्गा, बालुवाका थुप्रा, रूख, बगैंचा, तरकारी बारी, पारिपट्टिका थुम्काथुम्की, डाँडापाखा सबै दृष्टिगोचर भइरहेका थिए । मनमा रमाइलो भए संसार रमाइलो भनेको साँच्चै रहेछ ।

हाम्रो गाडी केहीबेरमै पर्वत बेनीमा रोकियो । कालीगण्डकीको झोलुङ्गे पुल तरेपछि म्याग्दी बेनी पुगियो । म्याग्दी र कालीको दोभान बेनीबजार साँघुरो भए पनि निकै चहलपहलयुक्त बजार हो । जिल्ला सदरमुकाम भएर मात्र हैन, विदेसिएका युवाको पसिनाको मूल्य सजिलरी खर्चिँदा बेनीमा महङ्गा लत्ताकपडा, देशी विदेशी मालसामानहरू प्रशस्त पाइन्छन् । मेरो उर्वर वैंश खर्चिएको कर्मथलो म्याग्दीसँग जोडिएका विभिन्न ठाउँ र घटनाबारे मैले आमाबुवालाई बताउँदै गएँ ।

मैले म्याग्दीको मुदीमा पर्ने धवलागिरि हिमाल र गुर्जामा पर्ने गुर्जा हिमाल नजिकबाट हेरेको छु । वर्षात्‍को भेलमा उर्लंदो म्याग्दी खोलाले काटेका किनार छिचल्दै जागिरे जीवन बाँचेको छु । केही गर्न नसके पनि विकट गाउँका कुनाकाप्चामा पैदल पुगेर त्यहाँका मलिन अनुहारहरू पढेको छु । पोखराबाट मुस्ताङका लागि उडेको हवाईजहाज नारच्याङ भीरमा ठोक्‍किएर जीवन गुमाएका यात्रुका परिवारप्रति सहानुभूति राख्दै उनीहरूको पीडाको कल्पना गरेको छु । धेरै म्याग्देली दाजुभाइ निर्वाहका लागि विदेसिँदा आफ्नै मातृभूमिमा केही गर्नुपर्छ भन्ने महावीर पुनजस्ता स्वाभिमानी सपुत देखेको छु । आमाबुवालाई यी सबै कुरा बताइरहँदा म्याग्दीसँग मेरो आत्मालाप भइरहेको थियो-

तिम्रो आँसु बन्यो कि भेल

म्याग्दी खोला बढ्दैछ साल साल

धवलागिरि तिमीसित रुँदै पग्लियो कि ?

नारच्याङ भीर तिम्लाई छेक्न अझै अग्लियो कि ?

बताउ के छ तिम्रो चाल

चोट खाई भयौ कि घायल

निलगिरि अन्नपूर्णा किन निहुरिए ?

तिम्रो लागि फुल्ने गुराँस कल्ले सिउरिए ?

दाना गल्छी गडी गण्डकीलाई शूल

रोई मात्र गर्यौ कि झन् भूल

दरबाङ दुख्दा बेनी रोयो गलेश्वर झस्क्यो

दाजुभाइ विदेसिँदा तिम्रो मुटु चस्क्यो

परदेशीको के छ हाल

घरमा आमा रोएर बेहाल

तिम्रो आँसु बन्यो कि भेल

म्याग्दी खोला बढ्दैछ साल साल ।

मैले झण्डै आठवर्ष बिताएँ म्याग्दीमा । पहिलोचोटी मदन भण्डारीको भाषण सुन्न पर्वत जिल्लाको लेखफाँटको बनबढेका गाउँलेको लर्कोमा मिसिएर बेनीबजार पुगेको थिएँ म- बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछिको पहिलो संसदीय निर्वाचनताका ।

वरिपरि अग्ला डाँडाहरूले घेरिएर कालीगण्डकी र म्याग्दी खोलाको सङ्गममा साँघुरिएको बेनीबजार । म्याग्दीको सदरमुकाम भए पनि म्याग्दीका धेरै गाउँबाट टाढा । म्याग्दीखोला भेग, कालीगण्डकी भेग र दुवै खोलाबाट टाढा रहेको भू-भाग । तर सबै जिल्लाबासीका लागि पायकपर्ने स्थान । ती सबै भू-भागका सङ्गम भएर रहेकोछ बेनी ।

जागिरे भएर म्याग्दी बस्दाका एकाध घटना सम्झन्छु अहिले । ओखरबोटका जनताहरूले अथक मेहनत गरेर बिजुली उत्पादन गरेका थिए । गाविस, कृषि विकास बैंक र ग्रामीण उर्जा परियोजनाको अनुदान तथा लगानी परेको थियो त्यसमा । गाउँमा जाने स्रोतको सही परिचालन भएमा थोरै बजेटबाट पनि राम्रा योजना सञ्चालन गर्न सकिँदोरहेछ भन्ने उदाहरण भएको थियो दाजुङखोला जलविद्युत आयोजना । आमने सामने रहेर राजनीतिक हिसाबले पनि विपरित ध्रुवझैँ भइरहने ओखरबोट र चिउरीबोट गाउँलाई दाजुङखोलाबाट निकालिएको बिजुलीले जोडेको थियो । इतिहासमा चेपे नदीमा दूध बगाएर राज्यको सीमाना छुट्याइन्थ्यो भने त्यहाँ दाजुङखोलाले दुर्इ गाउँलाई मिलाएको थियो । मैले समन्वयात्मक र सहयोगी भूमिका निर्वाह गरेका सफल कामहरूमध्ये त्यो गाउँमा बस्दा गरेका कामहरूलाई पनि सम्झन्छु । काम गर्छु भनेर मात्र हुँदो रहेनछ, काम गर्न पाइनुपर्ने रहेछ । त्यहाँको बिजुली उत्पादन, विद्यालय भवन, घोडेटो बाटो निर्माण, जिल्लागत वस्तुगत विवरण प्रकाशन जस्ता कामको जिल्लैभर चर्चा हुने गर्दथ्यो ।

निकै ठूलो बजेट खर्च गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूको काम देख्दा हाँसो उठ्छ कहिलेकाहीँ । “कागजी प्रक्रिया बढी मिलाउनुपर्ने सरकारी निकायहरूभन्दा त दश गुणा बढी भ्रष्टाचार हुन्छ गैरसरकारी संस्थाहरूमा” भन्ने कसैको भनाइ सत्य होलाझैँ लाग्छ । तर सरकारी लोलोपोतो र राजनीतिक स्वार्थ पनि उत्तिकै जिम्मेवार छन् मुलुकको यो दुर्दशा हुनुमा ।

एकपटक सामाजिक सुरक्षा भत्ता वितरण गर्न युक्त सुवेदीजी र म लुलाङ र गुर्जातर्फ जाँदै थियौँ । म्याग्दी सदरमुकामभन्दा छब्बीस कोष टाढा रहेको गुर्जा उपत्यका पुग्न पहिलोपटक हिँड्दै थियौँ हामी । लुलाङमाथिको जङ्गलमा भयङ्कर पानी परेर बाटामा धमिलो भेल बगे पनि प्यासले सताएको थियो । उकालो उक्लिसकेपछि आइपुगेको ठाँटीभित्र कसैले बालेर छोडेको आगोका छेउमा सुस्ताउँदै जुका टिपेर फालेका थियौँ ।

मनभरि कुरा, शरीरभरि पीडा, आफन्तसँगको विछोड र भेउ नपाएको निर्जन जङ्गली बाटो । शायद यी सबै एकैचोटी सहन परेमा मान्छे यात्रामै थलिन्छ होला । मेरो घाइते मनले पनि कुरा खेलाइरहेको थियो । ओरालो झर्ने अर्को पाखो कुहिरो लागेर अँध्यारो भएको थियो । घोडाखच्चर हिँडेर हिलाम्मे भएको बाटोमा यसरी कुदियो, सधैँ हिँड्ने स्थानीयहरूभन्दा एकघण्टा छिटो गुर्जा पुगिएछ । भोलिपल्ट बिहान झुल्के घाममा अनगिन्ती फाँटहरूलाई वरपर राखेर हिमालकै काखमा फैलिएको छन्त्यालहरूको ठूलो गाउँ ‘गुर्जा’ देखेर म मोहित भएको थिएँ ।

लुलाङसम्म आइपुग्दा र फर्कँदाका केही कुराहरू सम्झन्छु । ताकम पुगेपछि माओवादी कार्यकर्ताहरूसँग भेट भयो ।

“भत्ता बाँड्ने भरपाई र पैसा हामीलाई दिनुहोस् हामी बाँडेर भरपाई दिन्छौँ” एकजना माओवादी कार्यकर्ताले भने ।

मैले भनेँ -“बूढाबूढीहरूलाई भत्ता बाँड्न जान लागेका हौँ । हाम्रो विश्वास नभए एकजना कार्यकर्ता हामीसँगै पठाउनुहोस् । पैसा हामीले नै बाँड्नुपर्छ । जान नदिए बरू फर्कँन्छौँ ।”

निकैबेर छलफल र विवादपछि जान दिने भए तर लुलाङका गाउँ कमाण्डरलाई भेटेर मात्र ।

लुलाङ पुग्दा भेट्ने भनिएका कमाण्डर अर्को गाउँमा गएका रहेछन् । हामी सरासर गुर्जा पुग्यौँ र निर्धारित काम सकी फर्केर आयौँ । फर्कँदा उनीसँग भेट भयो । उनले भेटेर नगएकोमा आपत्ति जनाए । के के छ झोलामा भनेर सोध्न थाले । मसँग त केही पनि थिएन । भत्ता बाँडेको भरपाई गोजीमा राखेर प्रयोग नभएका फारामहरू माथि जङ्गलमा च्यातेर फालिसकेको थिएँ । तर युक्तजीसँग पञ्जिकरणलगायत कार्यालयका थुप्रै कागजातहरू थिए ।

मैले मेरो झोला उनी सामु राखिदिएँ । उनले हेर्नुभन्दा पहिल्यै आफैले फेरि झोला तानेँ र मेरो कविता सङ्ग्रह ‘देश सधैँ रूने छैन’ झिकेर दिएँ- “बुर्जुवा साहित्य हेर्नुहुन्छ कि ? मैले नै लेखेको हो ।”

उनले पल्टाएर हेरे । पछिल्लो पेज पल्टियो । शायद उनले पढे ‘लुतो फाल्ने तयारी’ नामक कविता –

आस्थाको असारभरि

मेहनतका बीउ छरेर

खुसी फल्ने विश्वासमा

हर्षित पुलकित

मीठो थकाइसँग रमाइरहेको

साउनको पहिलोदिन

यसपालि फेरि हाम्रो घर

लुतो फाल्ने तयारी छ

… …

यसपालि हामीले

राँके अगुल्टा मात्र मिल्काउँदैनौँ

तिमीजस्ता समाजका लुतेहरू

हाम्रो अगुल्टाले दागिनेछन्

देश चुस्ने घुस्याहाहरू

हाम्रो अभियानमा ताकिनेछन् ।

उनका परिवारका अरू सदस्यहरू जनयुद्धमा मारिएका रहेछन् । ती कमाण्डरको नाम ‘हिक्मत’ रहेछ । समयको सङ्‍कुचित वृत्तले बाँधिन नसकेको एउटा क्रान्तिकारी योद्धा हिक्मत । उनले कविता सङ्ग्रहका पाना फेरि पल्टाए । अघिल्लो पेज पल्टियो । ‘म अलि हतारमा छु’ शीर्षकको कविता सरसर्ती पढे होलान् उनले-

तपाईं आउँदै गर्नुस् है

म अलि हतारमा छु

तपाईंको मन्दिर जाने बाटो एउटै परे पनि

मेरो बस्ती जाने बाटो एउटै परे पनि

मलाई अलि हतार छ,

मेरो मन्दिरका सर्जाम छिटो पुर्‍याउनु छ

तपार्इंको मन्दिरका देवता त पर्खिन्छन् होला

मेरो मन्दिरकी देवीलाई म पर्खाउन चाहन्न

… …

मेरी देवी त जिउँदी देवी हुन्

नबोल्ने ढुङ्गाका देवताका

पूजा सर्जामले हुँदैन उनलाई ।

उनले पल्टाउँदा संयोगले फेरि पल्टियो ‘हाँस्दै हाँस्दै’ शीर्षकको गजल । अरूका नजरले आफूलाई हेर्नु र अरूका आँखाबाट आफ्ना रचना पढिनु आह्लादकारी हुन्छ मेरा लागि । आफूले जन्माएको विचारलाई अरूले कसरी हेर्छन् जान्ने तीव्र चौचौ हुन्छ मलाई । उनले पाना पल्टाउँदा एकदुई हरफ मैले उनकै हातबाट पढेँ-

हाँस्दै हाँस्दै रोएको छु रूँदै रूँदै बसेको छु

मेरी जून तिमीलाई मुटुभित्रै कसेको छु

हिजो बादल मुनी थियौ मसँगै धर्ती रोयो

चाँदनीको सङ्घार टेकी आज आकास पसेको छु …।

उनको मुखाकृतिको भावबाट उनी वाक्क भएझैँ लाग्थ्यो ।

उनले भने- “लेखेर मात्र हुँदैन । तपाईंहरूको व्यवहार कस्तो छ, हामीलाई थाहा छैन । गाउँ र सदरमुकाम गरिरहँदा हाम्रा कुरा सिडियो एलडियोहरूलाई लगाइदिनुहुन्छ होला । हाम्रा विरुद्धमा काम गर्नुहुन्छ होला ।”

मैले सम्झाउने कोशिस गरेँ- “हेर्नुस्, हामी सरकारी कर्मचारी । सरकारले लगाएको काम गर्नुपर्छ तर नेपाली दाजुभाइ आपसमा लडेर मरे मारेको हामीलाई राम्रो लाग्दैन । त्यसैले तपाईंहरूको विरुद्धमा कुरा लगाउने काम हामीले गर्दैनौँ ।”

युक्तजीले थपे- “हामीलाई लुलाङका वृद्धवृद्धाहरूलाई भत्ता बाँड्न दिनुहोस् । हामी फर्किहाल्छौँ ।”

अन्त्यमा उनी सहमत भए- “भत्ता बाँडिसकेपछि फर्कँदा ताकममा हाम्रा गाउँ कमाण्डरलाई भेटेर जानुहोला ।”

हामीले गाउँगाउँ डुलेर भत्ता बाँड्यौँ ।

फर्कँने बेलामा युक्तजीले भने- “मैले बाटो देखेको छु, ताकम नगई अर्कै बाटो जाउँ ।”

अर्को बाटो फर्कँन मैले मानिन- “हामीले केही गल्ती गरेका छैनौँ । बरू जनताको काममा राम्रो सहयोग गरेकोले होला आजपर्यन्त सबैबाट राम्रो सहयोग र समर्थन छ अनि कतैबाट कुनै धम्की वा दबाव पनि आएको छैन । त्यसैले उनीहरूलाई भेटेरै जानुपर्छ, भाग्न हुँदैन ।”

हामी ताकममा पुग्दा माओवादीहरूको सम्मेलनको तयारी रहेछ । आधार शिविरका रूपमा रहेको ताकम गेटहरूले सजिएको थियो । माओवादीहरूले पम्पलेट पोष्टर टाँस्दै गरेका थिए । सैनिक ड्रेसमा सजिएका केटा जत्तिकै सङ्ख्यामा केटीहरू पनि देखिन्थे। हामीले कमाण्डरलाई भेट्यौँ । उनले पनि पहिलेका गाउँ कमाण्डरले जसरी नै सोधपुछ गरे । उनीसँग छुट्टिएपछि हामी बेनी फर्केर आयौँ ।

मुस्ताङ जाने बाटाको ट्रयाक खोल्न पहरो फुटाउँदै गर्दा हिँडेको बेनीबाट शिख जाने बाटाको एउटा अर्को घटना पनि सधैँ मेरो स्मरणमा आइरहन्छ ।

बम विष्फोट गराउञ्जेल डाँडाको कोल्टे पाखामा पर्खेर बाटो खुलेपछि हिँड्दा अचानक एउटा बम विष्फोट भएको थियो । नजिकै खसेको ठूलो ढुङ्गाले हामीलाई नलागे पनि एकजना कामदारलाई लागेको थियो । बाहिर कतै घाउ नदेखिए पनि उसको छातीमा ढुङ्गाको ठूलो चोट लागेको रहेछ । उसको कस्सिएको जुता, मोजा र फलामे टोपी फुकाल्न लगाएर छेउको खोल्साबाट पानी ल्याएर खुवाएको थिएँ मैले । एकैछिन अगाडिसम्म बोलिरहेको उसको अनुहार एक्कासि पहेँलो हुँदै लज्जावती झार छुनासाथ ओइलाएझैँ ढलेको थियो ऊ । काँचको ऐनामा परेको सामुन्नेको आकृति हट्दा ऐनाबाट प्रतिरूप हराए जसरी ऊ यस धर्तीबाट हराइसकेको थियो । उसको अन्तरहृदयमा बज्रिएका असीम पीडाहरूसँगै ऊ मेटिइसकेको थियो । तर पहिले जसरी नै उसको अनुहार निश्चिन्त देखिन्थ्यो । मसँग एकैछिन अगाडि बोले जसरी फेरि बोल्लाजस्तो । मैले त्यति नजिकबाट मान्छेको मृत्यु देखेको थिइन । भर्खर विवाह गरेर बाटो खन्ने ठेकेदार आफ्नै मामाको छोरासँग कमाउन आएको नौजवान खुत्रुक्क भएको घटना सम्झदा मेरो मुटु चस्किन्छ अझै पनि । पानीका थोपाहरू बर्सँदा तलाउको जम्मै पानी उद्वेलित भएजस्तो मनको शान्त र एकान्त तलाउमा पनि तुफान उठाइदिन्छ त्यो घटनाले ।

बेनीले मलाई साहित्यको आँगनमा बामे सर्न सिकायो । मान्छेहरूका सरकारी कामकाजसम्बन्धी समस्याहरू र तिनका समाधानका बारेमा थोरबहुत सिकायो । पर्वतमा शिक्षण गर्दाताका एक दिनमा गाउँमा पुगिन्थ्यो भने म्याग्दीमा जागिर खाएको स्थानमा पुग्न दुईदन हिँड्नुपर्दथ्यो । म्याग्दीले गाउँ हिँड्दा प्रकृतिसँग रमाउन पनि सिकायो । घामपानीमा सुक्दै भिज्दै कतै टाढा पुग्ने ताकमा हिँडेर लखतरान भएका बेला सुविधासम्पन्न होटलभन्दा मानवीय व्यवहार गर्ने झुप्राझुप्रीले बढी सन्तोष दिएका अनेक आत्मकथाहरू छन् मसँग ।

बुवाले पनि सिद्दार्थ राजमार्ग बनिसकेपछि बटौलीमा नुन तेल पाइनुभन्दा पहिला तिब्बततर्फबाट आउने नुन साट्न चामल र घिउ बोकेर थाकखोला गएका अनेक घटनाक्रमहरू सुनाउँदै हुनुहुन्थ्यो । नुन लिन जाँदा कहिले टुकुचे पुग्नुपर्ने त कहिले कोप्चेपानीमै पाइन्थ्यो रे ! चामल र घिउसँग नुन साट्न बसेका व्यापारीले आफ्नो नुनको अत्यावश्यकता देखाउँदै ‘जिरा हाल हिङ हाल, मेरो नहाली हुँदै हुन्न’ भनेको प्रसङ्ग पनि बुवाले सुनाउनुभयो । एकपटक सँगै नुन लिन हिँडेका साथीहरूको समूहबाट आफूसहित  दुईजना ठिटा मात्र छुटेर पछि परियो होला भन्दै कुद्दै थाकखोला पुग्दासम्म समूहका अरू मान्छे नभेटिएर नुन लिएर फर्की कोप्चेपानी आइपुगेपछि बल्ल उनीहरू जाँदै गरेका भेटिएको रमाइलो सम्झना पनि बताउनुभयो बुवाले ।

रमाइला वार्तालाप र दृश्यावलोकनका साथ त्यो दिन बित्‍न लागेको थियो । बेनीमै साँझ परे पनि केही बाटो घटाए भोलि सजिलो होला भनेर करीब तीन किलोमिटर उत्तरमा पर्ने गलेश्वर पुगेर बास बस्यौँ । गलेश्वर रघुगङ्गा र कालीगण्डकीको किनारमा रहेको छ । गलेश्वर जडभरतले तपस्या गरेको पौराणिक कथासँग जोडिएर मात्र नभई प्रसिद्ध गलेश्वर मन्दिरका कारण पनि चर्चित छ ।

भोलिपल्ट गलेश्वरको दर्शनपछि हाम्रो यात्राले निरन्तरता पायो । घुमाउने ताल, बैसेरी, बेगखोला, तिप्ल्याङ हुँदै महभीर काटेपछि कडा पहरो खोपेर बनाएको साँघुरो बाटो आइपुग्यो । माथि भीर । तल कालीगण्डकी । भित्ताबाट पानी रसाएर चिप्ला भएका खड्केरी । खुट्टा चिप्ले सिधै काली गण्डकीमा खसिने । घोडाखच्चर आएको बेला साइड दिन भित्तातिर टाँसिनुपर्ने । जिन्दगीमा यस्ता कहाली लाग्ने ठाउँहरू धेरै हिँडिसकेको मलाई भीरले भन्दा पनि माथि फर्केर हेर्दा टाउकोमाथि थोरै मात्र देखिने आकासको दृश्यले चकित पारेको थियो । दायाँ बायाँ ठडिएका ठाडो भीरयुक्त ठूल्ठूला पहाडले सिङ्गो आकासलाई छेकेर हत्केलाभरिको टुक्रे आकास देखिन्थ्यो । यस्ता दृश्यहरू कैद गर्न मनमस्तिष्कबाहेक मसँग अर्को कुनै क्यामरा थिएन । भास्को डिगामा, कोलम्बस, हुयानसाङ आदिका शताब्दियौँ पहिलेका यात्रामा प्रयुक्त स्रोतसाधनसँग तुलना गर्ने हो भने हामीसँग केही थिएन तैपनि भरे बास बस्दा आफैले पकाएर खाने सामल र चिसो छल्न बोकेका लुगाकपडाहरूले झोला गह्रुङ्गो भइरहेको थियो ।

पोखरेबगर हिँडिसकेपछि घारखोला पुगियो । पोखराबाट वीरेठाँटी, घोडेपानी, शिख, घार हुँदै मुस्ताङ जाने बाटो घारखोलामा जोडियो । घारखोलामा अपरिचित पोखरेली बाहुनहरू भेटिए । तिनीहरूसँग बुवाले बाटामा धेरै कुराकानी गर्दै रमाइरहनुभएको थियो ।

घारखोला तरेर आधा घण्टाजति हिँडेपछि पुगियो भुरूङ तातोपानी । एकातिर धुले पहिरो खस्दै गरेको अजङ्गको पहाड, अर्कोतिर पनि त्यस्तै अग्लो पहाड, कालीगण्डकीको किनारमा ढुङ्गाले छाएका घरहरूले बनेको स-सानो बजार । बजारको छेउमा तातोपानीको कुण्ड । त्यही कुण्डमा खुट्टा डुबाएर केहीबेर आराम गरियो । कुण्डमा तीर्थयात्रीका साथै विदेशी पर्यटकहरू पनि रमाइरहेका थिए । यो क्षेत्र विश्वको नामी अन्नपूर्णा पदयात्रा मार्ग अन्तर्गत पर्ने भएकाले पनि विदेशी पर्यटकहरूको आवागमन बढी देखिएको होला।

तातोपानी बजारबाट अलिमाथि पुगेर पारिपट्टि हिँड्दा देखिने तातोपानी जलविद्युत आयोजनाको पावर हाउस, म्रिस्ती गङ्गा र नारच्याङ गाउँको दृश्य कम्ती मनमोहक थिएन । सूर्य रश्मी पहेँलिएर डाँडाका चुचुराहरूमा मात्र सीमित भइसकेको थियो । अग्लाअग्ला महाभारत पहाडहरू लस्करै पङतिबद्ध उभिएका थिए । तिनै पहाडलाई ताकेर पूर्व–उत्तर कुनातर्फ हाम्रा पाइला हानिइरहेका थिए । हामी कुन पहाडको फेदीबाट हिमाल पारि छिर्दैछौं भन्ने अनुमान लगाउन सकिरहेको थिइन मैले ।

हिँड्नु कति छ ?, कताबाट जाने हो ?, पुग्ने ठाउँ कस्तो छ ? यी सबै कुरा अञ्जान रहस्यमै थिए । सबै रहस्य छर्लङ्ग भए संसार निरस हुँदो हो । यात्रा रमाइलो हुनुमा हिँड्दै जाँदा खुल्दै जाने रहस्यले पनि होला । त्यसै भएर नै संसारमा कहाँका मान्छेहरू कहाँ कहाँ पुग्ने गरेका होलान् । एडमण्ड हिलारीलाई सगरमाथाको चुचुरोमा र एमण्डसेनलाई दक्षिणी ध्रुवमा पुर्‍याउने शक्ति पनि प्रकृतिको रहस्यमय सुन्दरता नै हुनुपर्छ । हिँडाइका पाइलाभन्दा मनमा कुरा बढी खेलिरहेका थिए । अगाडिपट्टि ठडिएको हवाईजहाज दुर्घटनास्थल नारच्याङ भीर देखेर भने आङै सिरिङ्ग भएको थियो ।

बेनीबाट माथि लागेदेखि नै घोडेटो बाटो उस्तैउस्तै थियो । घोडाखच्चरको पिसाब र लादीको गन्ध त बाटाको विशेषता नै रहेछ । बाटासँग जोडेर बनाएका घरहरू धुलाले ढाकिएका देखिन्थे । विशेष गरी घोडाखच्चरका टापले उडाएको धुलाले धुलाम्मे भएका होलान् ती घरहरू । भारी बोकेर हिँडिरहेका पेशेवर भरियाजस्ता देखिने मान्छेहरूले लामा भाका र चर्को स्वरमा गीत गाएको सुनिन्थ्यो कतैकतै । उनीहरूले गाएका गीतको अर्थ नबुझिए पनि तिनीहरूले पक्कै विरहमा माया प्रिती वा दुःखका गीत गाएका होलान् भनेर अनुमान गर्न सकिन्थ्यो ।

बाटो अगलबगलका पाखापखेरामा कसैले गाएको नसुनिए पनि मनमा भने यो एउटा मीठो भाका गुञ्जिरहेको थियो- “बेनीको बजार जता माया उतै छ नजर, किरेमिरे जाले रूमाल ।”

दाना पुगिसक्दा भोकले गालिसकेको थियो । त्यहाँ हामीले खाएको चिनी मिसाएको सातु र चिसो पानीको मिठासको वर्णन गर्ने मसँग कुनै शब्द नै छैन । भोकालाई भोजन मात्र हैन स्वादका पारखीहरूलाई पनि यात्रामा निस्कँदा त्यस्तो परिकारको जोहो गर्न सुझाव दिने गरेको छु अचेल मैले ।

दाना मुस्ताङ जिल्लाको पुरानो सदरमुकाम रहेछ । २०३२ विक्रम सम्बत्‍ ताका मुस्ताङ जिल्लामा पर्ने दानादेखि राखुसम्मका एक दर्जनभन्दा बढी गाविसहरू म्याग्दी जिल्लामा गाभिएका रहेछन् । त्यसपछि मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोममा सरेको रहेछ । दाना प्राकृतिक सुन्दरताले पनि उत्तिकै परिपूर्ण रहेछ । अन्नपूर्णा र धौलागिरि हिमालका बीचमा बनेको विश्वको सबैभन्दा गहिरो अन्ध गल्छी मात्र हैन रूप्से झरनाले पनि सिङ्गारेको रहेछ दानालाई ।

साँझ परिसकेकोले हामी बास खोज्नतर्फ लागेका थियौँ ।

विदेशीहरूकै स्वागत र प्रतीक्षामा आँखा बिच्छ्याएका धरैजसो होटलका आँगनहरूमा हाम्रो पदचाप र आहटको कुनै वास्तै भएन । नेपाली तीर्थ यात्रीबाट खासै फाइदा हुँदैन भन्ने कुरा भलिभाँती बुझिसकेका थिए तिनीहरूले । बिनामोलतोल कोठै छैन भन्ने ओठे जवाफ पाइहालिन्थ्यो । खाने पकाउने सामान हामीसँगै थियो । हामीलाई त केबल पकाउने भाँडाकुँडा र सुत्ने ठाउँ मात्र भए पुग्थ्यो । साँझ छिप्पिँदै गयो, हामीले बासका लागि सोध्दै हिँड्यौँ ।

रूप्से झरनाभन्दा अलि ओल्तिरको उकालोनेर पुगेपछि बल्ल बास बस्ने साँघुरो कोठा पाइयो ।

आमाले खाना पकाउञ्जेलसम्म म बुवाका कथा सुन्दै वारिपारिका डाँडाहरूको धमिलो आकृतिमा मनका चित्रहरू बनाइरहेको थिएँ । बुवाले रूप्से झरनालाई प्रसन्न बनाई सुन लिन गएको लोभी मान्छेको कथा सुनाउनुभयो । “घनको एक प्रहारबाट जति सुन आउँछ, त्यति मात्र लैजान रूप्सेले आफ्नो छहरो रोकिदिए पनि सुन लिन गएको मान्छेले अजङ्गको सुनको खम्बा देखेपछि दोस्रोपटक घन प्रहार गर्दा रूप्सेको प्रवाह खसेर उसको मृत्यु भएको थियो रे ! त्यो मान्छेले हानेको प्रहारबाट झरेको सुन कालीगण्डकीको बालुवामा अझै पाइन्छ भन्ने किंवदन्ती छ”- बुवाले भन्नुभयो । कथाले लोभ र स्वार्थलाई निरूत्साहित गर्न खोजेझैँ लाग्थ्यो ।

मलामी जाँदा मोदीबेनीनेर कालीगण्डकी किनारमा माझीले सुन चालेको त मैले पनि देखेकै हो । कालीको प्रवाहमा कहीँ न कहीँ सुनखानी अवश्यै होला भन्ने सोच्छु ।

तेस्रोदिन बिहान झिसमिसेमै बाटो लाग्यौँ । केहीबेरमै रूप्से झरना आइपुग्यो । वर्षात् बितिसक्न लाग्दा पनि धमिलिएका थुप्रै खोलाखोल्सा छिचलेर आएका हामीलाई चकित पार्दै रूप्से सुकिलो जल पहिरनमा छङ्छङ् बगिरहेको थियो । पानीको मुख्य प्रवाह र प्रवाहबाट उछिट्टएिका सुन्दर बाछिटाहरू पहराको घरि कुन पाखामा त घरि कुन कुनामा ठोक्किन्थे । सङ्गलो छचल्किएको जलप्रवाह हेरेर अघाउने त कुरै थिएन ।

विश्वको सबैभन्दा गहिरो गल्छी अब हाम्रो सामुन्ने थियो । अन्नपूर्णा र धवलागिरिको बीचमा रहेकोले यसलाई अन्धगल्छी भनिएको हो । दाना गल्छी पनि भनेको सुनेको छु मैले । गहिरो गल्छीभित्र बगेको गण्डकीलाई उकुसमुकुस भएको होला भन्ने मेरो आफ्नै मनको कल्पना र छटपटी सम्झेर मनमनै हाँसो लाग्यो । कल्पना-विश्वास-विचार-दृढताले नै मानिसलाई आफ्नोपन दिँदोरहेछ भन्ने सोचाइले म झन् आफैँभित्र हराइरहेको थिएँ ।

वर्षात्‍ले कमजोर बनाएको काठेसाँघु तरेर अघि बढियो ।

केहीबेरपछि कोप्चेपानी आइपुग्यो । उहिले नुन व्यापार हुने कोप्चेपानीमा अहिले स-साना चिया पसलहरू मात्र थिए । कोप्चेपानी पार गरेपछि उकालो आयो । बुवा उमेरले पाको र शरीरले दुब्लो भए पनि मोटाघाटा मान्छेहरूभन्दा निकै छरितो उकालो उक्लिरहनुभएको थियो ।

“थाकखोलामा नुन लिनजाने उहिलेको बाटो उः त्यताबाट थियो, हिँड्दा कतै त बाबियाका गाँज समात्दै उक्लनुपर्थ्यो ।”  बुवाले पारिपट्टिको भीर देखाउँदै भन्नुभयो ।

हेर्दा कहाली लाग्दो भीरमा कहाँनेर थियो होला गोरेटो भनेर मैले बनाउन खोजेका कल्पनाका धर्साहरू पनि भीरमा अड्याउन सकिरहेको थिइन ।

केहीबेरमै पहिरो थाप्ला पुगियो । त्यहीँबाट मुस्ताङ जिल्लाको सीमा प्रारम्भ हुँदोरहेछ । ठाउँ ठाउँमा अन्नपूर्णा संरक्षण क्षेत्र आयोजना (एक्याप) ले राखिदिएका बोर्डहरूले स्थान र दूरी थाहा पाउन सकिन्थ्यो ।

अलिबेरपछि घाँसा पुगियो ।

घाँसाको बस्ती सकिएपछि बुट्यानमिश्रित जङ्गल आउँदोरहेछ । घारखोला पार गरेदेखि नै भेडा, च्याङ्ग्राका ठूल्ठूला बथानहरू आइरहेका थिए । नजिकिँदो दशैंका लागि बेनी, बागलुङ, कुश्मा, पोखरातर्फ ती बथान लगिँदारहेछन् ।

एउटा कमेरोमिश्रित धमिलो खोला आयो- लेतेखोला । खोलो तरेपछि आइपुग्यो लेतेगाउँ । लेतेगाउँ पार गरेपछि भीरबाट खस्दै गरेको एउटा च्याङ्ग्रो र त्यसलाई बचाउन प्रयासरत व्यक्तिलाई हेरेर हामी केहीबेर रोकियौँ । निगालाका झ्याङ समात्दै त्यो व्यक्ति भीरबाट तल जाँदैथियो ।

“बरू च्याङ्ग्रो छाडिदेऊ भीरमा नजाऊ” बुवाले भन्नुभयो ।

“सक्छौ भने तिमीले खोज र लैजाऊ ।” निगालाका झ्याङ समात्दै त्यो व्यक्ति भीरबाट माथि उक्लेर आयो र भन्यो ।

त्यो सङ्घर्षपूर्ण हिमाली जीवनसँग पहिलोपटक साक्षात्कार गरेका हामीलाई भीरबाट खस्दै गरेको च्याङ्ग्रो र त्यसलाई बचाउन उद्धत त्यो व्यक्तिको मायाले संवेदनशील बनाएको थियो न कि च्याङ्ग्राको लोभले। आखिर च्याङ्ग्रो कराउँदै कराउँदै कालीमा खस्यो र त्यो व्यक्ति घोडा चढेर बाँकी च्याङ्ग्राको बथानको पछाडि गयो ।

हामी अगाडि बढिरह्यौँ । कोखेठाँटीलाई छोडेपछि कालीको ठूलो बगर आइपुग्यो । घरि जङ्गल त घरि सेपिलो बगर हिँड्दै जाँदा आइपुग्यो- एउटा खोला । पुलबाट खोला तर्दा फेरो बाटो निकै घुम्नुपर्ने र खोला धेरै ठूलो पनि नदेखिएको हुँदा हामी खोलामा पस्यौँ । खोला तरिसक्दा खुट्टा झर्लाझैँ कठ्याङ्ग्रिएका थिए । त्यो खोला रहेछ- भूपिको कवितामा वणिर्त ‘बोक्सीखोला’ । धौलागिरि हिमालको हिउँ पग्लेर बनेको त्यो खोलाले कहिलेकाहीँ त एक्कासि मान्छे नै बगाउँछ रे ! धौलागिरिको हिमाली शक्ति सञ्चार गर्ने बोक्सीखोलाले मलाई एउटा विचार दियो । हरक्षण फैलिएर विशाल हुननसके पनि घरिघरि प्रबल छाल बनेर धेरै कुरा गर्न सकिन्छ कर्मक्षेत्रमा ।

केहीबेरमै कोबाङ पुगियो । धौलागिरि हिमालको फेदीमै रहेको फराकिलो त्यो गाउँ स्याउ र फापरले ढपक्कै ढाकिएको देखिन्थ्यो । गाउँमाथिको डाँडामा धुपीका अग्ला रूखहरू  देखिन्थे । धौलागिरि हिमश्रृङ्खलाको सधैं देखिने दक्षिणी चुलिभन्दा बढी हिउँ थुप्रिएको देखिन्थ्यो त्यो मोहडामा । धौलागिरि हिमालका सामुन्नेका गाउँहरूबाट देखेको त्यसलाई नयाँरूपमा पाएर मनमा अर्कै उत्साह सञ्चारित भइरहेको थियो । बिहानीको झुल्के घाममा देखिने हल्का पहेँलो धौलागिरि, सूर्यास्त्‍का बेलामा देखिने रक्तिम धौलागिरि, शरद्‍मा चाँदीझैँ टल्किने धौलागिरि, वर्षात्‌मा कुहिराले छोपिने धौलागिरि, हिउँदमा आसपासका महाभारत पहाडहरूमा हिउँको साम्राज्य फैलाएर गजक्क फुल्ने धौलागिरि, अन्नपूर्णा-माछापुच्छ्रे-नीलगिरि-गुर्जा-चुरेन-मुकुट आदि हिमालसँग लस्करमा हात मिलाएर उभिएको मेरो बालसखा धौलागिरिले मलाई हिउँको धारिलो स्पन्दनका साथ नजिकैबाट हात हल्लाइरहेझैँ लाग्यो । आफू पुगेको जुनसुकै गाउँ ठाउँ र बस्तीबाट हेर्दा पनि देख्दै आइरहेको त्यो चुली मेरो आस्थाको धरोहर नै बनिसकेछ । त्यसैले होला कतै जाँदा हिमाल नदेखिने गाउँमा पुग्दा मलाई अत्यास लाग्न थालेको छ ।

कोबाङ माविमा पढाउने फुपूका छोरा नारायण सापकोटा भाइले त्यो दिन कोबाङमै बस्न कर गरे पनि फर्कँदा बस्ने वाचासहित हामी अगाडि बढ्यौँ । काली किनारको घोडेटोमा थुप्रै भेडा च्याङ्ग्राका बथानहरूसँग छलिँदै हिँडिरह्यौँ । थकाइ खुट्टामा हैन, अनुभूतिमा हुँदोरहेछ । प्रकृतिको नवीनतासँग रमाउँदै हिँड्दा थकाइले सजिलै छुन सक्दोरहेनछ ।

कालीले बनाएका फाँट र थोरै जलप्रवाहमा समेटिएको सानो कालीगण्डकी हेर्दै अगाडि बढ्दा एउटा अर्को खोला आइपुग्यो । काठको साँघु तरियो । खोला तरेपछि आइपुगेछ- भूपि शेरचनको जन्मथलो टुकुचे ।

टुकुचेमा एकजना थकालीको घरमा बास बस्यौँ । साँझ नछिप्पिँदै म एकछिन बाहिर निस्केँ । ठूल्ठूला  ढुङ्गा बिच्छ्याएको बाटो हिँडेर गाउँको शीरदेखि पुछारसम्म नजर लगाएँ । लटरम्म फलेका स्याउका बोटहरूले गाउँलाई सुन्दर बनाएका थिए । बीचमा फराकिलो आँगन पर्नेगरी बनाएका ठूल्ठूला घरहरूको छानामा दाउराका भारी यति धेरै देखिन्थे कि माथिल्लो तलाको गाह्रो त दाउराले नै चिनेर बनाएझैँ प्रतित हुन्थ्यो । दाउराको कुरा चल्दा ‘धेरै दाउरा हुनेलाई धनी मानिन्छ’ भन्ने थकाली दाइको कथन सम्झँदै त्यत्रा दाउराले त हामीलाई वर्षौं पुग्दो हो भन्ने कल्पना गर्दै थिएँ मैले । घरका छतहरू माटाले बनेका हुँदारहेछन् भन्ने थाहा पाएर झन् दङ्ग परेँ । पानी नपर्ने र हिउँ पर्दा बढारेर फाल्न मिल्ने भएकोले माटाको छत बनाउने चलन रहेछ । हावा जोडले लाग्ने हुनाले ढोका र आँगनभित्र पर्ने गरी घर बनाएका हुँदारहेछन् । हेर्दै जाँदा गाउँको बीचमा भूपि स्मृति थाक पुस्तकालय देखियो । अब भने मलाई टुकुचे गाउँ साँच्चिकै धनी थकाली गाउँ लाग्यो । खाना खाएर सुत्ने बेलामा थकाली दाइले टुकुचे र भूपिका बारेमा हामीलाई केही जानकारी गराए ।

चौथोदिन बिहानै टुकुचेबाट निस्कियौँ । कस्केली तीर्थ यात्रीहरूसँग कुराकानी गर्दै अगाडि बढिरह्यौँ । उनीहरूमध्ये केहीले मुक्तिनाथको धेरैचोटी दर्शन गरिसकेका रहेछन् । ‘मूढे पाखण्डभन्दा त धार्मिक आस्था र तीर्थयात्रा धेरै बेस’ भन्ने उनीहरूको तर्कलाई नकारिहाल्नुपर्ने कारण थिएन । उनीहरूसँग कुराकानी गर्दै जाँदा धेरै बाटो काटिएछ ।

हामी मार्फा पुगेछौँ । मार्फामा लटरम्म फलेका स्याउका बगैंचाहरू देखिन्थे । काउली, बन्दा र सागका लहलहाउँदा तरकारी बारीहरू पनि देखिन्थे त्यहाँ । असाध्यै लोभ लाग्दा स्याउका दाना देखेर स्याउ धनीको सहमतिमा हामी आफैँले टिपेर किन्यौँ । ताजा स्याउ पनि त्यति स्वादिलो छैन नि भन्ने जिज्ञासामा थकाल्नी दिदीले भनेकी थिइन्- “टिपेर दुईचार दिन राखेपछि मात्र स्याउमा वासना र स्वाद आउँछ ।”

उनले घरभित्रबाट ल्याएर दिएका स्याउका दाना साँच्चै स्वादिला थिए ।

मार्फा काटेर केही अगाडि बढेपछि चर्को हावा लाग्न थाल्यो । हुन त हिजो बेलुकादेखि नै जोडतोडले हावा लागिरहेको थियो । हावाले स-साना ढुङ्गै उडाएर हानिरहेको थियो । धुलो आँखामा बिझाएर हेर्नै कठिन भइरहेको थियो । विपरित दिशाबाट आएको हावाको झोक्काले हिँड्नसमेत मुस्किल भइरहेको थियो । त्यो हावाले ‘जोमसोमै बजार बाह्र बजे हावा सरर…’ भन्ने लोकप्रिय गीतको सम्झना गराइरहेको थियो । गीतमा बाह्र बजे भने पनि नौ दशदेखि नै चर्को हावा लागिरहेको थियो ।

लेते, कालापानी, कोबाङसम्मका जङ्गलमा सल्ला र धूपीका ठूल्ठूला रूखहरू देखिएका थिए । अब भने डाँडाहरूमा कतै स-साना बुट्यानहरू देखिन्थे । कतै मरूभूमिजस्ता नाङ्गा डाँडाहरू मात्र देखिन थालेका थिए । जागिरे जीवनमा हिउँदमा हिउँ फुस्फुसाएका धेरै डाँडापाखाहरू हिँडेको छु मैले पनि । चिसा लेकहरूको सानिध्यताबाट केही टाढिए पनि तिनीहरूको सम्झना भने हराएको छैन अझै । स्मृतिका पानाहरू पल्टाउँदा मलाई आफूले हिँडेका तिनै चिसा लेकहरूको सम्झना आइरह्य्यो त्यहाँ पनि-

चैत बैशाखको बहारसँगै

सूर्य आउला भनी

छ महिनादेखि प्रतीक्षारत

हिउँले कक्रक्क जमेका

उत्तर फर्केका

देउरालीका खोल्सा छिचल्दै

मैले हिँडेका चिसा बाटाहरू

उस्तै होलान् कि विकट अझै

कुरा खेलिरहन्छ मनभरि !

सम्झनामा आइरहे जाडोको प्रारम्भमै जमेको तुषारोले सेतै भएका चउरहरू । जाडो बढेपछि पुसे झरीमा वन जङ्गल, खर्कचौर, बस्ती चारैतिर फैलिएर परेको हिउँ नै हिउँ । हिउँ परेको भोलिपल्ट घाम लाग्दा हिउँमा परेको प्रचण्ड उज्यालोले तिरमिराएका आँखाहरू । र सम्झेँ, पहिलोपटक हिउँमा हिँड्दाको आफ्नो हिउँयात्रा । करीब चारघण्टे निर्जन लेकाली बाटोमा लौरो टेकेर हिउँ कुल्चँदै एक्लै हिँड्ने साहसी ठिटो मै थिएँ त भनेर घोत्लिएँ । त्यो ठिटो मभित्रको अर्कै कोही थियो होला, अहिले त म निकै डरपोक र कमजोर पो छु । साँच्चै, अनेक थरी भोगाइ, समस्या र परिबन्दहरूले घेरिएर म निर्धो र कमजोर भइसकेँछु ।

पूर्वी भित्तातिर देखिने ठूल्ठूला गुफाहरू गुम्बा होलान् भन्ने अनुमान गर्दै हिँडिरह्यौँ । धौलागिरि र नीलगिरिको बीचबाट उडेर आएका हवाईजहाजहरूको ओहोरदोहोरले हामी जोमसोम नजिकै आइपुगेको सङ्केत मिल्दथ्यो ।

मरूभूमिका बीचमा तलाउ फेला परेझैँ जोमसोमबजार आइपुग्यो ।

मुस्ताङका साक्षात् भू-दृश्यहरूले तानिरहेको थियो मलाई । अरू तीर्थ यात्रीहरूका गफगाफमा घरिघरि भुले पनि अधिकांश समय तिनै दुर्लभ दृश्यावलोकन र आफैँभित्रको दुनियाँमा हराइरहेको हुन्थेँ म ।

हावाको झोक्कासँग सामना गर्दा बिझाएका राता आँखा मिच्दै हिँड्नु परिरहेको त छँदै थियो । बिहानदेखि केही नखाई हिँडेकाले चियानास्ता पनि गर्नुथियो । त्यसैले जोमसोममा केहीबेर विश्राम गर्यौँ । धेरैजसो जहाज र खच्चरबाट ढुवानी गर्ने मरूभूमिप्राय: मुस्ताङको महङ्गीसँग पनि साक्षात्कार भइरहेथ्यो । त्यही सन्दर्भमा बुवाले सिक्काका पैसा झोलामा लिएर हिँडेको र एकरूपैयाँले प्रशस्त चिजबिज पाइने आफ्नो पालाका कुरा गर्नुभएको थियो ।

कालीगण्डकीको किनारैकिनार उत्तरतिर लागिरहेपछि बाह्र बजेतिर आइपुग्यो कागबेनी । मुक्तिनाथबाट झरेको कालीगण्डकी र दामोदर कुण्डबाट निसृत: कागखोलाको सङ्गम रहेछ कागबेनी । पितृलाई पिण्ड दिएर मात्र मुक्तिनाथको दर्शन गर्न जानुपर्ने भन्ने बुवाको भनाइले हामी कागबेनीमै बस्यौँ ।

बाह्र बजिसकेकोले भोकले पनि सताएको थियो । छिटो खाना पकाउन चुलामा धेरै दाउरा राखेको भन्दै आइपुगिन् भोटिनी दिदी । उनले दाउरा थुतिदिँदा छोइदिएको भनेर कचकच गर्दै थिइन् कस्केली दिदी । बाटामा रमाइला कुरा गर्दै आइरहेका उनका श्रीमान्‍ले सम्झाए उनलाई । खाना खाएपछि फुर्सदको समयमा भोटिनी दिदीकी छोरीलाई धेरै कुरा सोध्दैथिएँ मैले ।

तिम्रो नाम के हो ?

–छिमी टोका ।

कति कक्षामा पढ्छौ ?

–दुर्इ कक्षामा ।

टोका के जात हो ?

–भोटे ।

हिउँ पर्दा के गर्र्छौ ?

–पहिल्यै पोखरा जान्छौं ।

फोटोमा तिम्रो बुवा कुन चाहिँ हो ? यो प्रश्न भने जतिपटक दोहोर्‍याए पनि छिमीले तीनजनालाई आफ्नो बुवा भनेर देखाएपछि मैले भोटिनी दिदीसँगै सोधेको थिएँ । उनले बहुपति प्रथाका बारेमा प्रष्ट पारिदिएकी थिइन् । दाजुभाइले छुट्टाछुट्टै विवाह गर्नेले पैतृक सम्पत्ति नपाउने चलनका बारेमा पनि बताइदिएकी थिइन् ती दिदीले । पौराणिक कथा सम्झेँ, पाण्डवहरूकी पनि त एउटै श्रीमती द्रौपदी थिइन् । लाग्यो, सामाजिक नियम भनेको असल नियतपूर्वक परिपालनाका लागि परिस्थिति हेरी बनाउँदोरहेछ समाजले ।

साँझ नपर्दासम्म म छिमी टोकासँग घरि उनको मावली त घरि कागबेनी डुलिरहेँ । मरूभूमिजस्तो जमिनका बीचबीचमा ढकमक्क फुलेको फापरबारी देख्दा आँखा नझिक्याई हेरिरहुँझैँ लाग्थ्यो । गुजुमुज्ज परेका माटाका छत भएका घरहरूले सिङ्गारिएर कागबेनीले आफ्नो पहिचान दिइरहेको थियो । त्यहाँ रहेको वायु उर्जा केन्द्रले कागबेनी पनि प्रबल हावादारी क्षेत्रमा पर्दछ भन्ने सङ्केत गरिरहेको थियो ।

पाँचौदिन बिहानै बुवाले पितृका नाममा कागबेनीमा पिण्ड तर्पण र पूजाआजा गरेपछि हामी मुक्तिनाथतिर उक्लियौँ । पर्यटक र असक्तहरूलाई ओसार्न घोडाको प्रयोग भइरहेको थियो । दाउरा र खाद्यान्न बोकेका शरीरभर झपटाले टालिएका लुलुझोपाहरू पनि घाँटीमा घण्टी बजाउँदै हामीसँगै उक्लिरहेका थिए । केही मान्छेहरूले कागबेनीबाट उकालो लाग्ने बित्तिकै आउने मरूभूमितुल्य पाखामा अर्कोजन्मका लागि भन्दै ढुङ्गा ठड्याएर घरजस्तो आकृति बनाइरहेका थिए ।

कति हाँसो उठ्दो छ मान्छेको क्रियाकलाप र सोचाइ ! उमेरछञ्जरी छोरा नातीलगायत आफ्ना सातपुस्ता सन्ततीलाई पुग्ने गरी कमाउँदासम्म केही नसोच्ने ! अनि बुढेसकाल लागेपछि तीर्थयात्रा गर्दा ढुङ्गाका कटेरी बनाउँदै हिँड्ने ! हुन त अब नचाहिँदो सङ्ग्रहित धनसम्पत्तिले काम दिँदैन भन्ने सद्‍बुद्धि पलाएहोला तिनीहरूलाई । मैले ठट्टैठट्टामा कसैले बनाएका एकाध ढुङ्गेकटेरी भत्काइदिएको थिएँ ।

डेढघण्टा उक्लेपछि आइपुग्यो झारकोट । विद्यालयस्तरमा सँगै पढेका साथी लोकबहादुर भेटिए त्यहीँ । उनले नजिकैको विद्यालयको प्राङ्गणबाट हात हल्लाइरहेका थिए । उनी त्यही विद्यालयमा शिक्षण गर्दा रहेछन् भन्ने बुझ्न कठिन भएन मलाई । उनीसँग बसेर गफगाफ गर्ने समय भएन हामीसँग । फर्कँदा बसौँला भन्दै बाटा लाग्यौँ ।

कागबेनीबाट माथि उक्लन थालेदेखि नै कताकता छिटो हिँड्न नसकिएजस्तो अनुभूत भइरहेको थियो । खासै गाह्रो भएको त थिएन । नयाँ अनुभवका लागि मलाई त हल्का दौडिन मन लाग्यो । केही दौडेपछि भने सास फेर्दा फोक्सो फुलेजस्तो भयो । मैले हाइअल्टीच्यूड र मेरो दौडका बारेमा आमालाई बताएँ । आमाले ‘तँ अझै केटाकेटी छस्’ भन्दा मनभित्र किन हो कुन्नी झन् रमाइलो अनुभूति भइरहेको थियो ।

धर्तीको उचाइसँगै उचालिँदै जाँदा आइपुग्यो रानीपौवा । रानीपौवामा तीर्थ यात्रीका लागि एउटा पौवा पनि रहेछ । हामी रानीपौवामा केहीबेर विश्राम गर्‍यौँ । मैलै वरिपरिका पहाडहरू र तल बग्दै गरेको कालीगण्डकीलाई नियालेँ । कालीगण्डकी सानो खोलाजस्तो देखिन्थ्यो ।

रानीपौवामा शालिग्राम, पुराना मूर्ति र माला बेच्नेहरू देखिन्थे । स-साना सिँगाने फुच्चेहरू पनि खुद्रा पैसा साट्न र त्यस्ता सामान बेच्न बसेका थिए । खिङ्गाबाट हेर्दा पर पहाडको काखमा देखिएको मुक्तिनाथ अब हाम्रै टाउकामा छोइएलाजस्तै समीप भइसकेको थियो ।

जीवनमा पहिलोपटक त्यति धेरैदिन पैदलयात्रा गर्दै थिएँ मैले । त्यो पनि आजसम्म नहिँडेको हिमाली भूगोलमा । छुट्टै रमाइलोले भित्रभित्र कुत्कुत्याएको थियो । मैले पटकपटक मुक्तिनाथतिर आँखा उचालेर हेरिरहेको थिएँ ।

रानीपौवाबाट आधाघण्टा जति उक्लेपछि मुक्तिनाथ मन्दिर पुगियो । तीन हजार सातसय मीटरभन्दा बढी उचाइमा हिमालको काखैमा रहेकोले होला पानी असाध्यै चिसो थियो । कसैकसैले त हातले जल टाउकोमा चढाएजस्तो गरेर पनि धारा छेउबाट हिँडिरहेका थिए । “म चाहीँ नुहाउँछु हजुरहरूले जल टाउकामा चढाएजस्तो गर्नुस्” मैले आमा बुवालाई भनेँ तर उहाँहरूले मान्नुभएन । त्यसपछि हामीले एकसय आठ धारामा थापिंदै नुहायौँ र मुक्ति तीर्थ भनिने मन्दिर अगाडिको कुण्डको जलस्पर्श गर्दै बाहिर निस्कियौँ ।

धारा र कुण्ड दुवैमा पानी बोक्सीखोलाको जस्तै चिसो थियो । लुगा फेरेपछि मन्दिर परिसरमा बालेको आगो ताप्दै मरिच हालेको तातो चिया खाइयो । त्यहाँ औषधोपचारको प्राथमिक सेवाको पनि व्यवस्था गरिएको रहेछ । हिउँ परिनसकेको भए पनि चिसो भने अत्यधिक थियो । तीर्थालुहरू भन्दै थिए- “हिउँ परेपछि धाराहरू हिउँका लौरा बन्दछन्, लौराले हानेपछि मात्र पानी बग्न थाल्दछ । तलाउमा पानी जमेर काँचजस्तै हुन्छ ।”

धाराको वरपर स -साना फुच्चेहरूलाई देखेर भने मलाई रमाइलो लागिरहेको थियो । पैसा कतै चढाउन पाएको छैन खोसाखोस गरेर टिपिहाल्ने ।

मुक्तिनाथ मन्दिरभित्र रहेको नारायणको मूर्तिको दर्शन गरियो । त्यसपछि मुक्तिनाथ मन्दिर नजिकै रहेको ज्वालामाईको मन्दिरमा गयौँ । पानीमा ज्वाला बलेको देखाउँदै थिए पुजारी । त्यहाँका मन्दिरहरूमा पुजारी झुमा हुँदा रहेछन् ।

त्यसपछि केहीमाथि रहेको नरसिंहको मन्दिरमा गयौँ । मुक्तिनाथ मन्दिरभन्दा माथिबाट मनाङतिर छिर्ने थोराङपासतर्फ जाने बाटो हेर्न मन लागे पनि समय, योजना र कुनै जानकारी थिएन मसँग । रमाइलो यात्राका लागि सबै कुराको तालमेल नमिलेसम्म रहर मात्र भएर कहाँ हुँदोरहेछ र ?

आमा बुवालाई तीर्थ यात्रा घुमाउँदा मैले पनि रमाइलो यात्रानुभूति सङ्गाल्ने भरमग्दूर प्रयास गर्दै थिएँ । रमाउने मन भएर यात्राको असीम आनन्द प्राप्त भइरहेको थियो ।

केहीबेरपछि तलतिर झर्‍यौँ र रानीपौवामा आएर खाना खायौँ । पाकिरहेको भाँडाबाट तरकारी झिकेर खाइरहँदा नजिकै खाना पकाइरहेका एकजना तीर्थ यात्रीले भनेको सधैँ सम्झन्छु मैले- “पाकिरहेको भाँडाबाट झिकेर खाए मन पाक्छ ।”

कागबेनी ओर्लेर हिजो बसेको भोटिनी दिदीकै घरमा बाँस बस्यौँ । फर्कँने क्रममा कोवाङ र तातोपानीमा पनि बाँस पर्‍यो । तातोपानीमा बास बसेर फर्कँदाका दिन बिहानको खाना महभीरमा खाइयो । पैसा लिने बेलामा पसलेले दाउरा र सागको मात्र हिसाब गरेर चामलको पैसा बिर्सेछ । तिप्ल्याङ आइपुगेपछि मात्र त्यो कुरा थाहा भयो । बुवाले त्यो पैसा तिर्न झण्डै मलाई फर्काउनुभएको थियो । मैले बुवालाई अर्कोपटक आउँदा तिरौँला भनेर अनेक गरेर सम्झाएको थिएँ । तर आजपर्यन्त तिर्न सकिएको छैन त्यो ऋण । महभीरमा फेरि गइएछ भने पनि शायद ती घरधनीलाई भेटाउन कठिनै छ । न उनको पसल सम्झेको छु मैले न त उनको अनुहार नै । एकजना तीर्थ यात्रीले चामलको पैसा तिर्न बिर्सेको पसल कुन हो भन्दै सोधेर पनि पत्ता लाग्ने छैन् । फेरि, हामीजस्ता बिर्सेर हिँड्ने अरू पनि त होलान् । त्यो घटनाले मलाई अरू कसैको सापट र ऋण बिर्सिन्छ कि भनेर सधैँ सचेत गराइरहन्छ ।

हामी घर आइसकेपछि तातोपानीबजार डुबाउने गरी पहाडै खसेर कालीगण्डकी थुनिएको समाचारले नरमाइलो लाग्यो । हामीले धुले पहिरो खस्दै गरेको देखेकै स्थानमा पहिरो गएको रहेछ ।

“तातोपानी कटेर घारखोला आइपुग्दा पहिरोले थुनिएर गण्डकी सुकेको देखेपछि शिख हुँदै वीरेठाँटीको बाटो घर फर्कें ।” दशैंमा घर आएका नारायणभाइले सुनाउनुभएको थियो ।

हामी बास बस्दा भुटेको दूधे मकै र दही खान दिने बूढीआमैलाई त केही भएन होला नि भन्ने चिन्ताले भने सताइरह्यो ।

हामी कोबाङ आउनुभन्दा पहिल्यै नारायणभाइले राम्राराम्रा स्याउ टिपेर राख्नुभएको रहेछ । गह्रुङ्गो हुन्छ, बेनीतिरै किनौँला भन्दा पनि नमानेर झोलामा हालिदिएपछि अस्विकार गर्न सकिएन । कालीगण्डकी किनारमा खोजेका शालिग्राम र टुकुचेमा किनेका ओखर पनि हाम्रो झोलामा थिए । हामीसँग झोलामा मुस्ताङका धेरैथरी चिनो थिए ।

मेरा लागि सबैभन्दा महत्वपूर्ण थियो- ‘कालीगण्डकीका किनारमा हिँड्दा कोरिएका पाइलाका एकाध डोबहरू र मनमस्तिष्कमा सजिएको मुक्तिनाथ यात्राका चीरस्मृत सम्झनाहरू’ ।

प्रकाशित : मेरा पाइलाहरू, नियात्रा संग्रह, २०६८

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *