कथा : भक्तपुरको बिस्केट जात्रा

~जयदेश श्रेष्ठ~

भक्तपुर बिस्केट जात्राले गर्दा बाटो भरि मानिसहरूको ठेलम ठेल जात्रामा बाटो छेकेर व्यापार गर्नेहरुको भिड, हेर्नेहरुको रमिताले विशेष चहल पहल भएको छ । साना नानीहरू आफ्ना बुबा आमालाई ग्याँस भरिएको उड्ने बेलुन किनिदिन मरिहत्ते गरिरहेका छन् । भैया प्रति बेलुन २५ मा बेचिरहेका छन् । ओ भैया जात्रा सुरु भयो ? कहाँ हो जात्रा हुने ठाँउ ? भैयालाई जात्राको के सरोकार, लकडी उठाते है ढयाङ्ग ढयाङ्ग बाजा बजाते है, क्या के जात्रा ? जात्रा प्रति ब्यङ्ग गदै बेलुन बेच्नमा व्यस्त छ । ऊ समय समयमा विभिन्न आवाज निकालेर बेलुन बजाएर आफूतिर ग्राहकलाई आकर्षण गर्दछ ।

नजिकको घर धनी जात्रामा सहभागीहरूलाई खाने पानीको व्यवस्था गरेर पुण्य कमाउने काम सेवा गरिरहेछ । भैया कराउने र ग्याँसको गन्धले रन्थनिएर उसलाई त्याहाँबाट भाग भनेर कराउँछ, तर भैया त्यहाँ बाट जान सक्ने अवस्था भने थिएन । भैया जान नमानेपछि झ्यालबाट पानी खन्याउने अभिप्रायले जग उचालेको मात्र थियो । भैयासँग आँखा जुध्यो ! अकमक्क पर्दै भन्यो भैया पानी पिएगा ? नहि साहेब पानी पिएगा तो टवाईलेट जाना पडेगा, हमारा कहाँ मिलेगा टवाईलेट भैयाले नमस्कार गर्यो ।

बिस्केटमा जात्रा हेर्न र भोज खान घरभरी पाहुनाहरु आउन्थ्यो । यस पालि अनेक बहानामा पाहुनाहरू आएन । पाहुनाको बाटो हेर्दै थाकेका घर धनीलाई बनाएका परिकारहरू त्यसै बासी हुने भए । पाहुनाहरू नआउदा जात्राको रौनकता भएन निराश लाग्न थाल्यो । जो पाए त्यसलाई ख्वाउन भएन भोलि सबै खानेकुरा बासी हुन्छन् गर्मीको समय ! भैयालाई भने झ्याई नझ्याई छ । जात्राको सरोकार छैन । टवाईलेट नगई पैसाको पोकामा मग्न छ ।

जात्रा हेर्न कहाँ कहाँ देखि मानिसहरू आउँछन् । जात्रा देखाउनकै लागि हो, खर्च र दुख गरेका नेवारी संस्कृतिको जगेर्ना गरिरहेका छन् । बिस्केट जात्रा, भक्तपुरको विशेषता प्रत्येक वर्षको नयाँ वर्षमा लिङ्गो उभ्याउने रथ जुढाउने आफ्नै नेवारी परम्परा नेवारी संस्कृतिको बेजाड प्रस्तुतिले गर्दा , सबैजना आ–आफ्नै तरिकाबाट आनन्दित छन् । स्वदेशी, बिदेशीहरु फोटो खिच्नमा मस्त छन् , कोही थाहा नभएकाहरू इतिहास खोतल्दै जानकारी लिदैछन । के बुढा के बुढी, युवा युवतीहरू पनि नेवारी पहिरणमा ढिमे बाजा, बाँसुरी बाजा गाजा सहित नाचगानमा मस्त छन् । केटाकेटीहरू बेलुन, बासुरी र खेलौनामा मस्त छन् । सबैकुरा विर्सेर सबैजना जात्रामा हर्षित छन् । जात्राको विशेषता भने कै यही हो ।

घरी, घरी भैयालाई पच्छाइरहेछ उसका आँखा, व्यस्त सडकमा आवात जावतमा कठिनाइ भएको छ । भैयाको व्यापार देखि इस्र्या र दया दुवै जाग्यो उसलाई, घर अगाडिको सानो ठाउँ आफ्नो बलेसीमा भैयालाई व्यापार गर्न भन्यो । साबको जय होस भैयाले पुन नमस्कार गर्यो । घरको झ्याल, झ्यालसम्म आउने गरी रङगी चङगी बेलुनहरूले सजाउन थाल्यो । बेलुनहरुले घरको शोभा र जात्राको रौनकता थपियो । घर बेटीलाई पनि रमाइलो महसुस भयो । टवाईलेट जान सकिएला कि भनेर भैयाले विनम्र अनुरोध गर्यो । टवाईलेट जान पाएर एक जग पानी बेजोडका साथ, स्वादले खाएर लामो सुस्केरा हाल्यो । भैयाले पानी खाएको देखेर घरबेटीले पनि ठुलो आनन्दको महसुस ग–यो । प्रफुलित हुँदै भैयाले खुसीमा आनन्दित हुँदै दुई चार बेलुन हावामा उदायो । आकाशतिर उडेको बेलुनले गर्दा धेरैको आँखा भैयामा पर्यो । बेलुन किन्नेको भीड झन् बढ्न थाल्यो ।

साँझपख, पाहुना नआएर विरक्त बनेका घरबेटीले भैयालाई केही ख्वाउने बिचार ग–यो र भैयालाई खान ढाक्यो । भैया मानेन नमस्कार साहुजी आपको जय होस् । आफूलाई खानलाई समेत कोही साथी नभए पछि भैयालाई पाखुरा समातेर ल्याए । भैयाको सबै सामानहरू आफ्नै घर भित्र राख्न दिएर माथि कोठामा सँगै बसेर खान थाले । भैया लजाएर सुरु गरेको भोजमा अयलाको (रक्सी) करामत देखिदै आयो । खुला ह्रदयले खान थालेकोले अपार आनन्द मिल्यो । भैयाले आज बडो रमाइलो मान्यो । जिन्दगीमा कहिले काही रमाइलो पनि गर्नु पर्छ, भनी आफूसँग भएको सबै पैसाको पोका भोलि लिउला भनी साहुजीलाई जिम्मा दिए । यतिका मिठो परिकार जिन्दगीमा कहिल्यै नखाएको भन्दै आनन्दित भए । भोज खाइसकेर घरबेटीलाई धन्यवाद भन्दै निकै खुसी भए । जिन्दगीको सबैभन्दा खुसीको दिन आज भन्दै जात्रा हेर्न निस्किए भैया । भीडलाई ठेल्दै लरखराउदै रक्सीको नसाको सुरमा नाच्दै ठेल्दै भैरब रथको डोरी समाउन पुगे । भीडमा उसको साहस बढदै गयो । उ झन् झन् अगाडी बढदै जात्रामा रथ जुढाउदै गरेको रथको पाङग्रोमा पो थेल्न थाल्यो । अघि बढेको रथ पछाडि तिर फर्कियो अनि …..अनि ….कोलाहल मचियो । रथ कहिले अगाडि कहिले पछाडि गर्दा गर्दै क्षेड बिक्षेद भयो भैयाको शरीर । बेवारिस भनेर लासलाई हटाएर जात्रा निरंन्तर चलिरहयो ।

अपरिचित पाहुना बेलुका सम्ममा पनि फर्केन । नासो पैसा लिन पनि कोही आएन जात्रा सकियो । बेवारिसे लास बुझ्न कोही आएन । टोलवासीहरूमा पैसा उठाएर लासको अन्यष्टि गरिने भनियो । बेवारीस मान्छे मरेको खबर सुनेर घरबेटीलाई शङ्का लाग्यो । अघि बढयो लास हेर्न….. हे दैव ‘‘जिन्दगीको सबैभन्दा सुखको दिन सँगै मृत्यु पनि साथ लिएर आएको रहेछ अपरिचित भैया ”

।। भक्तपुरको बिस्केट जात्रा ।।

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *