कथा : बाडेका भट्मासहरु र उमेशका सपना।।।

~राजिव घिमिरे~

उहि दुब्लो पातलो चेहेडा, उडिरहेको कपाल र खैनि मोलिरहने हात । उमेश जस्ताको त्यस्तै लाग्यो, लामो अन्तराल पछि पनि । हंसाइ पनि पुरानै रहेछ । ‘यो डबल मजा धेरै न खा साले, गतिलो चिज होइन, क्यान्सर भएर मर्लास’ उ मलाई सम्झाउंदै थियो । म खाटमा ढल्केको थिंए । मैलो गलबन्दि र चिसोको खोकी । हिन्दी रिमिक्स, बिकाजि भुजिया, सेलाएका भटमास, ओछ्याएको कान्तिपुर र रोयल स्टेग । हाम्रो भेट यस्तै माहोलमा जुरेको थियो । हामी रक्सि र बिगतमा झुमेका थियौं । हाम्रो भेट अनौठो किसिम ले भएको थियो त्यो दिन । ‘भटमासमा लसुन हाल है, साउनि”’ उ हरि लाई जिस्काउँदै थियो । ‘अनि के हो तं त जागिरे भइछस, खुब कमाएको होलास है ।‘ हांस्दै सोध्यो । मैले हो कमाएको छ, राख्ने ठाऊ नभएर बाकस किन्न हिडेको भने । दुबै जना हांसियो ।

उ त्यति नराम्रो बिधार्थि थिएन तर SLC पछि किन पढेन वा पढन सकेन त्यो थाहा भएन । सोध्न उचित लागेन । हामी हाम्रो भेटघाटमा नै रमायौ । स्कुले ठिटोपनाका मीठास टटोल्दा हामी रमेका थियौं । “तैले कल्पनालाई साईकलको क्यारियरमा राखेर कुदाउँदा लडाएको हैन?” मैले हरि लाई छेड हाने “यसका काका आउँदै थिए नि त त्यो बाटो मा” उमेशले थप्यो। हरि यो पटक पनि लजाएको थियो । ‘तं हिरो न हु न, रमालाई पाण्डे होटलमा समोसा खुवाउन लगेको हैनस!’ मलाई पनि कहाँ छोडे र केटाहरुले!! SLC पछि म असकलमा पढें, उ बिर्तामोडको सुन पसलमा काम गर्न थाल्यो । बीचमा हाम्रो भेटघाट खासै भएन । धेरै पछि हाम्रो भेट काठमाण्डौमा हिउ परेको दिनमा भयो । म कामको सिलसिलामा काठमाण्डौ गएको थिए, उ युएई जान । ‘४ दिन पछि म त उडछु यार । भोलि भिसा खस्छ रे । सबै बिदा बारि भएर आएको । तिमीहरुलाइ पार्टि दिन्छु र जान्छु’। उ हांसिरहेको थियो । उ स्पष्ट रुपमा खुसि थियो। किरण र सिताराम पनि आइपुगे । साँझ रमाईलो हुदै गएको थियो ।

किरणले चुरोट सल्कायो । बातावरण, धुंवामय भयो । बिपासा जि नाच्दै थिइन्, ‘बिडि जलाईले जिगरसे’ भन्दै । हामीले लामो लामो सर्को तान्यौ । खाना खाईएन । चिउरा र यता उति का कुराले नै भोक टारियो । सबै गफमा मग्न थियौ । सबैका कुरा निकालिए । सबै हाँसियो, आ-आफ्ना वर्तमान बिर्सेर । उमेश भुईमा ढल्केको थियो। म खाटमा नै । अरु केटा यता उता ।

‘के गर्छस, यार बिहे गरिनछस त?’ सधै जसो आउने प्रश्नले फेरि मलाई हिर्कायो । ‘खोइ यार, हेरौ, १/२ बर्ष पछि गर्छु । बिहे गरेपछि सबै सकिन्छ । भर्खर जागिर पाएको । अलिक, ब्यवस्था होस, अनि अलि अलि मोज गरौ, रिल्याक्स गरौं । अनि गरौला बिहे ।‘ मैले खुलेको उत्तर दिए । यत्रो बर्षपछि भेट भएपनि हामीलाई कुरा साट्न गाह्रो लागेन । ‘हेर बिहे गर्, यि सब बकवास कुरा हुन्। जुनेलि रात मा बिस्कुन सुकाएर केहि जित्दैनस; सिधै भन्यो मलाई । उमेश मान्छे त्यो बेला देखि नै सुरो थियो । लेखनाथ चौकमा बाउबाजेको अगाडि खुला रुपमा चुरोट खाने हिम्मत उसै को थियो, जुन आज पनि हामी गर्न सकेका छैनौ । SCL पछि काममा लागेछ । ‘किन नपढेको त?’ त्यो बेला सोधे । ‘पढेर को ठुलो भा’छ जस्तो लाग्यो, अनि काम मा लागे । पैसा खेलाईयो, साहु ठगियो, त्यसै मा भुलियो।‘

‘सुन पसलमा के ठगिस, सुन?’

‘हा हा धेरै तिर काम गरे, कहिले सुन पसल, कहिले जुत्ता पसल, कहिले ट्रान्सपोर्ट कहिले के कहिले के न। । भन्सार छल्ने देखि अन्त शुल्क को डुब्लिकेट स्टिकर सम्म । तर कमाएको धेरै पैसा रक्सि र तरुनिमा सकियो । अहिले सम्झंदा दिक्क लाग्छ । कुरा गर्दा उसको अनुहारमा तनाब स्पष्ट देखिन्थ्यो । केटाहरु सबै सुतिसकेका थिए । कोहि पल्लो खाटमा, कोहि अर्को कोठामा।

‘यो सिराननिले मलाई हुदैन । उ कराउन थाल्यो।‘ किरणले निन्द्राको सुरमा जिन्स पोको पारेर फालिदियो । त्यसलाई डस्नामुनि बाट सिरानि बनायो । ‘अर्को पनि दे।‘ उसको यो माग कसैले सुनेन । FM मा गित बज्न थालेको थियो। किशोर कुमारको । हरिले आखा नखोलि कराउदै थियो । ‘बिस्तारि बोल यार, मलाई घर धनि ले निकाल्छ भोलि।‘
‘छोरि छैन त्यसकि?’ उमेश त्यो बेला पनि जिस्कदै थियो ।

‘म भन्दा अगाडि यो कोठामा बस्नेले भगाएछ।‘ हरिले उत्तर दिएर निन्द्रा मै हास्यो । हामी तन्द्रामा ।

मलाई फिल्मको कहानि सुनेको जस्तो भएको थियो । ‘तं जागिरेलाई पो हातमा ल्याईदिन्छन् । बाहिर कति पापड बेल्नु पर्छ यार, तलाई के थाहा । तर केहि छैन, अब बिदेश हानिने हो । ज्यान फालेर काम गर्ने । अनि पैसा बोकेर घर फर्केर आफ्नै केहि सुरु गर्ने।‘ उ आशाबादि थियो, भविष्यप्रति, खुशि पनि ।

‘मेरो भागको ५ कठ्ठा बेचेर २ लाख म्यानपावरलाई दिइको छु। चिनेको हो मान्छे । सजिलो काम लगाई दिन्छु भनेक छ । महिनाको २० जति बच्छ रे।‘ उ सुनाउँदै गयो ।

‘बिहे कहिले गरिस?’ मैले प्रसंग बदल्न खोजे । ‘पहिलेको डुलि हिडने काम, महिनामा २ तिन वटि संग लब पर्थ्यो । कति मोज गरियो कति । तर मलाई त्यो शनिश्चरे कि केटि ले बाधी । बच्चा बसेछ बिहे गर्नै पर्यो। एउटि संग गर्नै पर्छ, राम्रो भनेका पनि त्यस्तै हुन, भनेर गरिदिए।‘ उ उसको बिगत छोट्याउँदै थियो । म उसको भोगाइ र मेरा कांचा बिचार केलाउंदै थिंए ।

‘तिमीहरु गफैमात्र गर्ने भए, खुलामन्च जाओ । हामीलाई ओछ्यान त पुग्छ । कति कराएको ।‘ हरि मुर्मुराउंदै थियो । ‘तेरो रेडियो राम्रो लाग्यो भनेको क्या।‘ भन्दै मैले रेडियो को भल्युम बढाँए । ‘मलाई त भोक लाग्यो यार’ भन्दै उमेश उठ्यो । यता उता खोज्दा पाउरोटि फेला पर्यो । आधा रातमा सुख्खा पाउरोटि खाइयो ।

उ सुनाउँदै गयो । ‘जस्ति भएपनि आफ्नि बुढिको माया लाग्दो रहेछ यार । फेरि छोरी पनि भई २ बर्ष भयो । जिम्मेवारि थपियो । आफु त पढिएन छोरी पढाउने बिचार छ। कस्तो मनै तिनिहरुमा बसेको छ यार । आज पनि फोन गरेको थिए । न्यास्रो मानेकि थिइ । तिमीहरु कै लागि त जान लागेको लाटि भनेर सम्झाए ।‘ उसको कुरा सुन्दा हामी अल्लारे ठिटाबाट व्यवहारिक मान्छे भइएछ भन्ने लाग्यो । उसका कुरा सुन्दा सुन्दै कतिबेला निदाईएछ थाहा भएन । हरि ले गालि गर्दै उठायो । बिस्तारै सबै आ आफ्नो बाटो लागियो ।

त्यसपछि म जिल्ला फर्के । उमेशसंग सम्पर्क भएन । १ महिनापछि , हरिले फोन गरेको थियो । उमेशलाई म्यान पावर ले ठगेछ । युएई भनेर कतार पठाएछ । त्यो पनि अर्का को पासपोर्टमा उसको फोटो राखेर । अरु सबैले न जा भन्दा पनि बिदा मागेर आइसके अब जे भएपनि जान्छु भनेर गएछ । ११ महिना भयो उमेश गएको, एकचोटि फोन पनि गरेको छैन रे ।

गत हप्ता काठमाण्डौं जाँदा फेरि जमघट भयो केटाहरुसंग । सबै उस्तै थिए । म अझै अबिबाहित । हरि, किरण सिताराम सबै उस्तै । मात्र उमेश थिएन, अनि हरि को डेरा अर्कै थियो । लसुन हालेको भटमास यसपालि पनि मीठो थियो । अनि फेरि पनि FM मा गित बजिरहेको थियो, सुन्ने म मात्र थिए, उमेश कहां कहां ।।।।।

01-10-08 11:43 AM

(स्रोत : साझा डट कम)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *