कथा : च्याट बाटै प्रेगनेन्ट

~दीपक घिमिरे~

एउटा हातमा डुनकिन डोनट्सको कोल्ड कफी छ अनि अर्को हातमा केएफसीको मीठो चिकेन स्याण्डविच । डेरा दुवईको सिटी सेण्टर मल अगाडि मेट्रो कुर्ने स्थानमा म एक्लै छु, तर मान्छे धेरै छन्, सबै अपरिचित । धेरै जसो फिलिपिनी छन् । केही बंगाली पनि छन् । पाकिस्तानी र इण्डियन पनि छन्, भीडमा । मैले चिनेको म मात्रै छु । भीडमा नेपाली देख्दिन । देखे पनि नेपाली र फिलिपिनीको अनुहार उस्तै उस्तै मानिने हुँदा चिन्न सक्दैन, त्यसैले चुप छु, खाँदै ।

अस्ति किनेको आइफोन सेवेनको वाएरलेस एयरफोन कानमा घुसाएर मन्द स्वरमा गाना सुन्दै छु । कसैलाई वास्ता छैन मेरो र मलाई पनि वास्ता छैन कसैको । यो सहरै त्यस्तै छ । सबैको पीडा एउटै भएपनि कोही कसैसँग खुल्दैन, सबै आ–आफ्नै धुनमा मस्त । लेटेस्ट गाना सुन्दैछु । हेमन्त रानाको सुन साइली …. ।

मेट्रो आउने संकेत स्क्रिनमा बजेसँगै मेरो भाइबरमा म्यासेज आयो । मेट्रोभित्र केही खान नपाउने नियमलाई पालना गर्न डस्टविनमा कफीको कप र स्याण्डविचको खोस्टा फाले अनि मुख पुछेर मोबाइल निकाल्दै मेट्रो चढ्ने ढोकामा पुगें । ‘ के गर्दै डियर ? म भर्खर कलेजबाट आएँ, अब काममा जानुपर्छ । मिसिङ यु है लाटा !’

रुविले जापानबाट म्यासेज पठाकी रैछ । हेर्दै मुस्कुराएँ । अनि मेट्रोमा चढें ।

मेट्रोको सिटमा बसेपछि यताउति नजर डुलाएँ । धेरै युवायुवतीहरु मस्त थिए,गफमा । सबै युगलजोडी जस्ता देखिन्थे । फ्राइडे विकेण्ड मनाउन कहिले सिटीसेण्टर त कहिले झुमेरा बीच गर्ने ती जोडीलाई देखेर रुवीको यादले सतायो ।

रुवी ! नाममा के छ र ?जति उसको मायामा छ ।

म उसलाई रुवी भन्दिन । काली भन्छु । गहूँगोरी उसलाई कालीभन्दा ऊ सधैं मुस्कुराउँथी । ऊ मुस्कुराउँदा म आफूलाई संसारभरको सबैभन्दा ठूलो भाग्यमानी ठान्थे ।

त्यही भाग्यमानी ठान्ने चक्करमा हामीले लभ म्यारिज ग¥यौं । ऊ पढाइमा तीखो दिमागकी थिई, विहे गरेकै वर्ष जापानमा स्टुडेण्ट भिषामा नाम निकाली । ऊ उता उडी, सयौं कोशिस गर्दा पनि मैले नाम निकाल्न सकेन अनि म यता उडें ।

कस्तो कर्म ? देख्नेहरु जोई–पोई फरेनमा भनेर डाहा गर्छन् । सबै जना हाम्ले कमाउने रुपैयाँ–पैसामा ध्यान दिन्छन्, तर भित्री कथा हामीलाई मात्र थाहा छ । रुवी अर्थात् मेरी कालीलाई अनि मलाई ।

तीस सेकेण्डको रुकाईपछि मेट्रो चल्यो, मैले मोबाइल निकालेर उसलाई रिप्लाई गरें ‘ आज छुट्टी छ कालु । घुम्न निस्केको छु । मिसिङ यु यार डियर ।’

म्यासेज सकेर स्क्रिन अफ गर्दै थिएँ, उसले तुरुन्त म्यासेज गरी ‘ बाउ ! मस्ती छ है ? यदि हामी सँगै हुन्थ्यौ भने !’

उसको म्यासेजले मलाई चसक्क घोच्यो । विहे गरेकै बर्ष छुट्टिएका हामी अब उसले सोचे जस्तो सँगै कहिले हांैला भनेर मन पोल्यो ।

उसलाई मसँगगफिने फुर्सद हुँदैन । विचरी अस्ति भन्दै थिई ‘ काममा, कलेजमा जाँदा–आउँदा तिम्लाई कल गर्छु । अरु बेला मिल्दैन ।’

‘ कति अभागी रै‘छौं है हामी ! ’ म यस्तै सोच्छु ।

तर दुनियाको लागि कति भाग्यमानी छौं, हामी । कहिले काहीं लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको एउटा टुक्का याद आउँछ । ‘हातका मैला, सुनका थैला के गर्नु धनले । साग र सिस्नु खाएको वेश आनन्दीमनले ।’

यो टुक्का सम्झिँदा रुवीलाई जापानबाट क्यान्सिल बोलाएर मलाई पनि नेपाल फर्किन मन लाग्छ, तर आदर्शले जीवन चल्दैन । अभावले माया फस्टाउँदैन । कैयौ उदाहरणहरु छन्, हाम्रै गाउँघरमा जो अभावको पीडा सहन नसकेर छुट्टिएका छन ।

आज मेरो छुट्टी हो, त्यसैले म खुशी छु । ऊ विहान कलेज, दिउँसो काम गरेरै थाकेको सुनाउँछे । अरु दिन म पनि थाक्छु, तर आज फ्राइडे । मेरै दिन जस्तो लाग्छ मलाई । उती बेला स्कूल जानु नपर्ने शनिबार मेरै दिन लाग्थ्यो , आज भोलि काममा जानु नपर्ने शुक्रबार मेरै लाग्छ । म फेरिएको हँु या समय । पत्तो छैन।
एउटा कुरा सम्झेर अचम्म लाग्छ । कहिलेकाहींकाममै पनि हाँस्छु, आज मेट्रोमा बसिरहेको मौकामा पनि हाँसो लाग्यो । यताउताका मान्छेले देखेर सोचे होलान ‘ यो पागल रहेछ । ’

तर म पागल हैन, आफ्नै बाध्यता सम्झेर हाँस्छु । बाध्यता पनि कस्तो कस्तो आइपर्छ , आफ्नै श्रीमतीसँग च्याट सेक्स गर्नुपर्ने बाध्यता ।

यस्तो बाध्यता परेकाहरु धेरै होलान् तर भन्दैनन् । मैले आफ्नै दैनिकीमा यो कुरा उल्लेख गर्दैछु । किनकी म यी कुरा बुढेसकालसम्म सम्झेर हाँस्न चाहन्छु ।

बाध्यतापनि अनेक प्रकारका हुदाँ रहेछन । साँझ–विहान हात–मुख जोर्ने बाध्यताले परदेशमा भास्सिएका हामी जस्ता लाउरेहरुको लागि श्रीमती सँग हाँसी–रमाइलो गर्न वा यौवनको प्यास मेटाउन च्याट गर्नुपर्ने र यसैबाट सबै काम सक्नुपर्ने बाध्यता ।

बाध्यता मेरो मात्र हैन, हाँस्नु पर्दैन ।

मैले लेख्न जान्या छु, मेरो बुढीले लेख्न जान्या छे । मैले फेसबुक चलाउँछु र उसले पनि । अनिहामी च्याट सेक्स गर्छौं । विचरो बंगाली सेराज अंकल सुटुक्क फोनमा सेक्स गर्छ । बंगलादेशको न्वाखाली भन्ने स्टेटमा बस्ने सेराजकी बूढी उमेरले चालिस कटिन रे । अनपढ अन्टीलाई फोन उठाउन आउँछ । फुर्सदमा कुनातिर गएर सेराजले जिस्काउदै भन्छ ‘के मन आसे ? आए बहुत मन कच्छी, सँग सुते आइतमनि ?’

कैयौ पटक उसले यस्तो भनेको मैले सुनेको छु । त्यति मात्र कहाँ होर ? अलि परको कम्पनीमा सेक्युरिटी गार्ड बनेर आएका रुपलालदाइले स्काइपमा हेर्दै भाउजुलाई सेक्स गर्छन् रे । अस्ति भन्दैथे ‘ के गर्चस् कान्छा ! वर्षमा पैंतालिस दिन छुट्टी हुञ्च ! दश दिन जाँदा आउँदा सकिन्च । बाँकी पैतिस दिन । आफन्तको मा जाउ–आउ पन्द्र दिन सकिन्च । बच्यो बीस दिन । त्यही मौकामा तिम्री भाउज ुमिन्स भैदी भने एक हप्ता सक्यो । बच्यौ तेह्रदिन । वर्षमा तेर दिन मस्ती गरेर चित्त बुझाउनु प¥या छ बाबु ।’

अब सोच्नुस् आफै ! वर्षमा तेह्रदिन बूढीलाई अँगालो मार्न पाउने रुपलालदाइ त स्काइपमा सेक्स गर्छन् भने मैले त वर्षौं कुर्नु पर्छ,अझै ।

अस्ति उसलाई नेपाल आइज म छुट्टी मिलाउँछु भन्दा भन्दै थिई ‘ कर्ममा लेखेको छैन कि झैं लाग्छ दीपक ! नेक्स्ट मन्थबाट इक्जाम चल्दैछ अनि तुरुन्तै अर्को काममा गैएन भने कलेज फी र होस्टल फी तिर्न सकिँदैन अनि सधैंका लागि नेपाल आउनुपर्छ ।’

कति अभागी छु म । कहिले हाँसोका फोहरा छुट्छन् त कहिले पीडाका भक्काना । अहिले पैसा छ, मस्ती छ तर हामी एकअर्का सँगै छैनौं । यस्तो पैसा अनि मस्तीको खास्सै महत्व नहुँदो रहेछ ।

मन खिन्न हुँदै थियो, मेट्रो बुर्ज खलिफा स्टेसनमा आएर रुक्यो । म झरें । सरासर बुर्ज खलिफाको साइडमा भएको दुबई मल भित्र छिरें । छुट्टै संसारको झझल्को दिने यो मलमा पनि मलाई रुवीको यादले सताउन छाडेन ।

अँगालोमा बेरिएर, हाँस्दै मजाक गर्दै मल, पार्क घुम्ने हाम्रा सपना जापान एम्बेसीले टुटाइ दियो । अनेक उपाय लगाउँदा पनि मलाई जापानी भिसा मिलेन । र त आज ऊ उठ्दा म निदाउँछु र म निदाउँदा ऊ उठेर काममा जान्छे । फुर्सदमा च्याटमा जिस्कन्छौं, फोनमा हट बन्छौं अनि च्याट र फोनमै सेक्स गरेर श्रीमान–श्रीमतीको नाता बचाउँछौं ।

अस्ति जिस्कँदै गर्दा उसले भनी ‘ अब बच्चा बनाउनु पर्छ, मलाई आमा बन्ने रहर छ । सेक्सको आवश्यकता त च्याटबाटै मेटाइदिएका छौ अब मलाई प्रेगनेन्ट पनि बनाऊ ।’

महाँसे, ऊ पनि हाँसी । फेरि एक पटक संसारभरको खुशी मिल्यो ।

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *