कथा : उत्पातको कालो कफी/कालो सोच

~रविन वैध तामाङ~

Crack House 1987 तिर धरानमा हेरेको अग्रेजी फिल्म। नशाको कारणले विग्रहमा परेको परिवारको कथा। हामीलाई मन पर्यो मात्र हैन, यति प्रभावित पनि बनायो की दमकमा हामीले खोज्न थाल्यौं…मान्छे नबस्ने -भत्केको घर अर्थात Crack House.

पहिलेको हावामहल, अहिलेको सब्जी बजार चौकको ठिक पश्चिम पट्टी पुरानो काठ मिल।कुनै बेला भारतीय रेल्वे लाईन बिछ्याउन, जंगल बाट काटीएका काठ, रंगेली पुर्याउन भन्दा अगाडी यही घाटगद्धी र टाँचा मार्ने काम हुन्थ्यो। तर अब भने यो, चारै तिर भत्किसकेको काठको बार/खिया लागेको मिलको आरा/चिरान गर्दा मुडा तान्न बनेको सानो लिक अनि निर्जन सुन्यता। मान्छे पस्दैनथे…कराउछ या एकान्तको डरले।

ठिक उत्तर पट्टी सटीएको काठको घर थियो, ढल्न लागेको। माथिल्लो तलामा जाने सिढी समेत हराइसकेकोथ्यो यो घरले।
हात-खुट्टाले खम्बा च्याप्प समातेर, उभोँतिर दुइ/चार सुल्के हान्यो पछि …पुगिन्थ्यो माथ्लो तलामा। हावा/पानी/घाम र समयले खाइसकेको जिर्ण शरिर लिएर शुनशान ठडीएको यो थोत्रो घर…..हाम्रो Crack House.

पहिलो दिन पहिलो शो, हाउसफुलका साथ तँपाईहरुकै सिनेमाघरको सुनौलो पर्दामा चलिरहेछ हिन्दी चलचित्र……..!” रिक्शामा बाँधिएको माईकबाट जब गुन्जीन्थ्यो यो आवाज, बाटो र बाटो छेउछाउको मात्र नभएर, चुल्हामा भात पकाउदै गरेको आईमाइहरु पनि निस्कन्थे बार्दालीमा । बुधवारे हाटे बजारको रमाइलो भनेको सिनेमा हुनु। कहिले डाकूको/कहिले रामायण/कहिले जय हनुमान / कहिले परिवारीक सिनेमाको फ्लेवरमा मस्त दमक।

सतुवा, भनिनेहरुले स्वादीलो र लाजमर्दो बनाएथ्यो दमक, वरफ/मुंगफली/पापड़/चटपटे ख्वाएर साथै एका विहानै रतुवाकिनारमा टुक्रुकीएको लामो लहर’र पनि यो शहर भिड जम्मा गर्न सक्थ्यो…बुधवारे हाटमा/आमसभामा/नेपाली सिनेमामा।

तर यो शहरले हामीलाई तानेन/मानेन । शहरमा असंतुष्टी थियो वा हामी भित्र ? थाह भएन।
चौकमा भेला भएर, हामी गुम हुन्थ्यौ कतै। था’छैन, जिम्मेवारीबाट भागेको या शान्तिको खोजिमा ? एकान्त चाहान्थ्यौ, जहाँ कोही नहोस/नआवस। चुपचाप पल्टीन्थ्यौ कहिले/कहिले गफिन्थ्यौ घण्टौं। कहिले गीटार बजाएर गाउथ्यौ अनि कहिले मरुञ्जेल गल्ली-गल्ली चाहार्थ्यौ।

दमक शहरमा परिणत हुदै भोगी बन्दैथ्यो…..पशुपति मन्दिरको धर्मशालामा, हामी योगी/जोगी बन्दैथ्यौ।
माइ नेम इज नो वडी ।आइ एम फ्रम अल अराण्ड द वर्ल्ड।” हिप्पी हरुले दिने “परीचय” जस्तै थियौं, हामी, दमकको सन्दर्भमा।
विवीध धर्म/जात/पेशामा हुर्किएको समावेशी समुह। हुने-खाने…बसि खाने/ गरीखाने सबै तहको।

“सुट-सुन-सुगन्ध” नभिर्ने , फेशन प्रेमी।
“आँ….आँच….आम्बो संगै, मन पर्ने छाडा बोल्ने।
चुरोटको धुँवाको गोलो-गोलो छल्ला उडाउने।
लेट-नाइट ग्यादरिंग।
बनजोभी र मार्ले बाबाको गीत गुन्जाउने।
“ब्लाक एण्ड व्हाइट” भने जस्तै …..चोक र बजार, दुई भाग थियो दमक। तर हामी प्रायः चोकमा उभिन्थ्यौं……चोंके भएर…अरुलाई बिझाउने गरि ।

मंसिरको अन्तिम दिनहरु। साँझ पातलो हुंदै… हामी पाइन्टको गोजीमा दुई हात घुसारेर/अलिकती कुम उठाउदै/ओरालिदैथ्यौं चोक तिर…त्यो छ’नि खुत्रुके बनाउन् ठाँउ, पुरानो, अहिले कन्काई बिकास बैंक भको…कुन्नी किन प्रसंगमा कुरा गर्दैथ्यौं हामी, “कप्स” भन्ने शब्द बोल्यौं ।

ए जा..हरु, तिमेरु पुलिस लाई गाली गर्ने ?, एकसुरमा गफिदै गरेको हामी, तर्सियौं, फर्केर हेर्दा पुलिस रहेछ। हामीले धेरै अनुनय-विनय गर्यौं/तंपाईहरुलाई भनेको हैन भन्यौ। यो गाली हैन, अंगरेजीमा पुलिस लाई ” काप” भन्छ भन्यौ.. अहँ…मानेन। अन्तमा, थाना लादै गर्दा बाटोमा भन्यो, ..डिक्शनरी हेर्छु, हैन भने मरिस जा..हरु । कति भाटा भाँचिन्छ, थाहा पाउनेछस्।
….खालि अंग्रेज़ी फ़िल्म हेर्दा गुण्डाको वोसले भन्थ्यो, आई डोन्ट लाईक काप्स! नेपाली स्कुल पढेको हामी,स्योर थिएनौ, काप भनेको पुलिस नै हो भनेर। डर पुरा थियो के हो के हो।

गेटमै सेन्ट्रीले टार्च लाएर हेर्यो/अंध्यारोमा डुबेको थाना, सुनसान । लालटीनको मधुरो उज्यालोमा कुन्नी कसरी निकाल्यो, अजन्ताको अंग्रेज़ी -नेपाली डिक्सनेरी…यसमा छैन भने ? उफ….।

उस्ले खोलेर चोर औंला घुमायो C अल्फावेट माथी। डर उग्र भयो। एकछिन पछि हल्का टाउको हल्लाउदै बोल्यो, बचिस् । मतलब लेखिएको रहेछ त्यहां, हामी लाई बचाउने शब्द।

जा…आदेश हुन साथ यति छिटो काटीयो कम्पाउण्ड …. जसरी काटीन्छ अँध्यारो रातमा बाँसघारी।

१. पढन्ते, २. वाउको व्यावसाय थाम्ने, ३. खेल्ने, विशेष कराते र फुटबल ……यि खालका छोराहरु हाटकेक जस्तो थियो, दमकमा त्यो बेला। जो पनि पाउन वा बनाउन चाहान्थे।तर हामी यि सबैमा जिरो। हामी हाटकेक हैन, डबल रोटी जस्ता थियो, भोक को वेला मात्र संझिइने। बाउको विंडो थाम्ने हैन, भाँच्ने प्रकारको छोरा थियौं हामी।

……..प्रचलित र परम्परागत छोरा थिएनौ हामी। छोटो ज्याकेट/ज्याकेट भरी ब्याज/टाइट पेन्ट/लेदर बुट/लामो कपाल/कानमा कुन्डल….संभवत, पहिलो पुस्ता थियौं हामी, Westernized…जो रफ़ी र किशोर हैन, नबुझे पनि बन जोभी, बब मार्ले/भ्यान हेलेनको गीत सुन्थ्यो। डुरन-डुरन र व्हायम (Wham) को हेयर स्टायल चोर्थ्यो। कोठाको भित्ता भरी Culture Club/Bob Marley /Wham/Kiss टास्थ्यो, हो कसै कसैले Bruce lee र Phoebe Cates को पनि।

हामी..हामीमा नै सिमीत थियौं। हामीलाई..हामी भए पुग्थ्यो। हाम्रो निम्ती संसार भन्नु नै हामी थियौं। जे भए’नि तल उल्लेखित काम हामीले कहिल्यै गरेनौ मतलब, थिएन हाम्लाई यि कुरा संग।
१. झगड़ा गरेर दादा हुने, २. केटी लाई बाटो छेक्ने/जिस्काउने/प्रेम गर्ने, ३. ” वामे – मण्डले” मा कुद्ने, ४. “बंगारा झारीदिन्छु ” भनेर थर्काउने….नपत्याए हेरे हुन्छ २०४० देखि २०५० सम्मको इलाक़ा प्रहरी कार्यालय दमकको प्रतिवेदन हरु। कहीँ पनि केहीमा पनि छैनौ हामी।
…..फेरि पनि मानिसहरु “थुक्क” को शैलिमा हेर्थे
…….पंक र गुन्डा भन्थे
…….विगरल अर्थात बिग्रेका सन्तान भन्थे

तर राम्रो देखिन हैन, बनिन चाहान्थ्यौ हामी। कसैले नबुझेको हुन कि…..?

(स्रोत : हाम्रोदमक डट कम)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *