संस्मरण : लप्टनको होटेलमा देवकोटा

~अरविन्द रिमाल~

१. नेपाली साहित्यिक जगत्‌का शिखर पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको अप्रतिम प्रतिभाको समुचित शब्दले यशोगान गर्ने पंक्तिकारको औकात छैन । अतः यस लेखमा महाकविको जीवनकालमा उसले देखेको, सुनेको केही रोचक प्रसंगको मात्र चर्चा गरिन्छ ।

२. १९९७ सालमा नेपाल प्रजापरिषद्का तीनजना क्रान्तिकारी प्रजातन्त्रवादी दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ अनि स्वतन्त्र नागरिक अधिकारवादी शुक्रराज शास्त्रीको पाशविक हत्याको पाप, राप र तापमा जलेका राणा प्रधानमन्त्री जुद्धशमशेर ‘राजर्षि महाराज’ भएर गद्दी छाडी रिडी गएको वर्षको, २००२ सालको कुरा हो । पंक्तिकारका साहिँला काका सुब्बा जगन्नाथ रिमालले एकदिन मुद्दा फैसलाको एउटा अलि लामै मिसिल उसको हातमा थमाएर भने, ‘मैतीदेवी फाँटमा कवि लक्ष्मीप्रसाद देवकोटाको घर गएर यो मिसिलको अंग्रेजी अनुवाद गरिदिन मैले पठाएको भन्नु । अनि सुन्, कोठामा पुगेपछि दुवै हात जोडेर उनलाई ढोग्न नबिर्सेस् नि ! बुझिस् ? ‘

महाकविको कोठामा पुगेर काकाले अह्राएबमोजिम ढोगभेट गरेपछि प्रसन्न मुद्रामा भएका महाकविको कोमल पद्यमय स्वरको ‘कल्याण होस्, मैले चिनिनँ, बाबुलाई । के कामले आएको होला ? ‘ कानमा गुञ्जियो । आफ्नो परिचय सँगसँगै आफू आउनुको प्रयोजन बताएर उसले उनको सामु मिसिल अघि सार्‌यो । ‘ए, अंग्रेजीमा अनुवाद गरिदिनु पर्‌यो रे ! मैले भन्दै गए तिमीले सार्न सक्छौ, बाबु ? ‘ यसको लागि आफ्नो योग्यता नभएको जानकारी गराएपछि भोलि यही समयमा आउनु भनी मलाई बिदा दिए ।

महाकविसँग त्यो मेरो पहिलो दर्शनभेट थियो । १९९७ सालमा टंकप्रसाद आचार्य आदिसहित जीवनभर झ्यालखान थुनिएका चूडाप्रसाद शर्मा महाकवि पटनामा पढ्न बस्दाका सहपाठी थिए । क्रान्तिकारीहरूको हत्या र आफ्ना अभिन्न मित्र शर्मामाथि परेको त्यत्रो दण्डबाट मानवतावादी कवि हृदयमा कस्तो चोट पर्‌यो होला त्यो जो कोहीले पनि स्वतः अनुभव गर्न सकिने कुरा हो । २००७ सालपछि महाकवि र शर्मा छिमेकी नै भए ।

यसअघि डिल्लीबजार ओह्रालोबाट धोबीधारा निस्कने उकालो गल्लीको पहिलो सुसम्पन्न मध्यमवर्गीय रवाफिलो घरबाट घण्टाघर मुन्तिर ‘नेपाली भाषा अनुवाद परिषद्’को अड्डा जाने गरेको देखि नै महाकविको पहिरन र आकृतिभन्दा बेग्लै, कताकता अभावग्रस्तता छाएको परिस्थितिमा देख्दा मेरो मन नराम्ररी बिझेको थियो । विपन्नता देखिए पनि वातावरण बौद्धिक पढेलेखेलेका युवाहरूले महाकविको सान्निध्य प्राप्त गरिरहेको स्पष्ट अनुभव गर्न सकिन्थ्यो ।

सामान्य आकारप्रकारको कोठा, सुकुलमाथि पातलो सतरञ्जा बिछ्याइएको, एउटा पातलो सुजनी, भित्तामा फुकालेको लुगा अड्याउने काठको वस्तु, एउटा सानो भित्तेदराज र मैलोमैलो झूल हालिएको एउटा सुत्ने पलंग । दक्षिणपट्टि फर्केको कोठामा पाँचजना मानिसहरू पलेँटी मारेर बसेका र पलंगसँगै टाँसिएर पातलो कमिज लगाएर कछाड बेरेर बसेका महाकवि । सुसम्पन्न संयुक्त परिवारबाट परिस्थितिवश छुट्टिनुपर्दाको पीडा र अभाव भोगिरहेको अवस्था थियो त्यो । त्यो छवि ७२ वर्षपछि पनि आज मेरो सामु टड्कारै छ ।

महाकविको कोठाको अर्को दुईटा विशेषताप्रति पनि पंक्तिकारको ध्यान गएको थियो- एउटा कोठामा यताउति कच्याककुचुक गरी फ्याँकिएको कागजका पानाका डल्लाहरू र अर्कोचाहिँ चुरोटका ठुटाहरूले भरिएको माटोको एस्ट्रे । फुलमार चुरोटका औधी प्रिय महाकविका ओठमा वा दाहिने हातका औंलामा चुरोटको खिल्ली विरलै छुट्दथ्यो । पछिपछि उनको कोठामा यस्तो दृश्य प्रायः देखिने भए तापनि उनको चेहरामा सधैं छाएको सन्तुष्टि र आनन्दबाट ऊ प्रभावित नभइरहन सक्तैनथ्यो ।

घरमा यस्तो सरल र साधारण जीवन बिताउने महाकवि बाहिर काममा निस्कँदा जुन पहिरनमा हुन्थे त्यो बहुतै रवाफिलो हुन्थ्यो । अग्लो जीउडाल, घुँघरिएको कपाल, सधैं प्रसन्न मुद्रामा रहने महाकवि कालो शेरवानी कोट र सेतो चुडिदार सुरुवाल अथवा मयलपोस सुरुवालमाथि डबल ब्रेस्टेड कश्मीराको कोटमा देखिँदा जो कोही पनि आकृष्ट नभई रहन सक्तैनथ्यो ।

पछि थाहा पाइयो ती पाँचजना युवाहरू कवि हृदयराज शर्मा, कवि श्यामदास वैष्णव, कवि लक्ष्मण लोहनी, त्रि-चन्द्र कलेजका छात्रद्वय नरसिंहबहादुर श्रेष्ठ तथा हरिचरण श्रेष्ठ रहेछन् ।

३. भोलिपल्ट तयार भएको मिसिलको अंग्रेजी अनुवाद मेरो हातमा दिएर महाकविले भने, ‘सुब्बा बाजेलाई अक्षर पढ्न अलि गाह्रो होला भन्नु है, बाबु ।’ मैले उनलाई काकाले दिइपठाएको एउटा बन्दखाम टक्र्याएँ । उनले फेरि भने, ‘यसको लागि धन्यवाद भन्दिनु है ।’

नेपाली शैलीको क्लिष्ट मुद्दा फैसलाको मिसिललाई आफ्ना अनेक कार्यव्यस्तताका बीच एकै दिनमा अंग्रेजी भाषामा रूपान्तरण गर्न कस्तो प्रतिभा चाहिँदो होला पाठक आफैंले अन्दाज गर्न सक्तछन् ।

अब अर्को प्रतिभाको चर्चा गरौं । उनी ट्युसन पढ्न आउने वा पढाउन जानेलाई म्याट्रिकुसेलनदेखि लिएर आईए-आईएस्सी, बीए-बीएस्सीमा पढ्नुपर्ने सबै विषयहरू पढाउँदथे । विशेषगरी उनी धेरैजसो अंग्रेजी साहित्य पढाउँदथे । ट्युसन पढाउन जाँदा महाकवि अक्सर बाइसाइकल चढेर जान्थे । शान्त तवरले हिँड्ने देवकोटा बाइसाइकल चाहिँ कुदाएर चलाउँदथे ।

अंग्रेजीमा उनको दक्षता धेरै माथिको हो भन्ने सुनिएको हो । तर विनयशील महाकवि अरूको योगदानको कदर गर्न जान्दथे । अंग्रेजी भाषामा आफूभन्दा पनि बढी दक्खल भएको भनी देवकोटाले तिनताकाको जुद्धोदय स्कुलका अंग्रेजी शिक्षक र पछिका इतिहासकार अम्बिकाप्रसाद उपाध्यायको प्रशंसा गरी पत्र पठाएको उपाध्यायका छोरा डा. अवनीभूषण उपाध्याय बताउँदछन् ।

४. तिनताका महाकविको घर राणा शासनविरोधी प्रजातन्त्रवादीहरूका लागि एउटा राजनीतिक थलो भइसकेको थियो । त्यहीँ क्रमिक जमघटको फलस्वरूप विशुद्ध साहित्यकार देवकोटा आफैं पनि प्रखर राणाविरोधी प्रजातन्त्रवादी हुन पुगेका थिए । डिल्लीबजार, मैतीदेवी, ज्ञानेश्वरटोलका सचेत राजनीतिक युवाहरू उनको घरमा बिहान, दिउँसो, साँझ कुनै पनि बेला जम्मा भइरहन्थे ।

माथि बताइएका व्यक्तिहरूबाहेक प्रकाशबहादुर केसी, शंकरप्रसाद जोशी, डिल्लीराज उप्रेती, सूर्यबहादुर बस्नेत, चन्द्रधर उप्रेती, शंकरप्रसाद कोइराला, शंकरबहादुर केसी, भरतराज मन्थलीय, महेन्द्रध्वज सिंह पनि भेला हुन्थे । यो पंक्तिकार पनि चन्द्रधर उप्रेतीसँग महाकवि निवासमा बारम्बार पुग्दथ्यो । बेलाबेलामा कविहरू सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित र मोहन कोइराला, साहित्यकारहरू विजय मल्ल, गोविन्द गोठाले, शंकर लामिछाने र समालोचकहरू कृष्णचन्द्रसिंह प्रधान तथा जनकलाल शर्मा पनि देखिन्थे ।

५. २००४ सालको विद्यार्थी तथा नागरिक अधिकार आन्दोलनकै क्रममा डिल्लीबजारको ओरालोमा हालको गुडविल फाइनान्स र महाकविको पुरानो घरको बीचमा तीन कबल ओगटेको एउटा साधारण चिया पसल खुल्यो जो पछि गएर ‘लप्टनको होटेल’ नामले देशभरि नै प्रख्यात भयो । बाहिर चिया खानु पनि जोखिम थियो राणा शासनकालमा । त्यसलाई ‘कांग्रेसी बानी’ भनिन्थ्यो । महाकवि आफैं काम सकेपछि त्यो पसलमा चिया खान आएको देख्दा हामीलाई पनि आँट आयो । पछि गएर त्यो ठाउँ आन्दोलनको सम्पर्क थलो नै भयो ।

यसबीच नेपालमा प्रजातान्त्रिक परिवर्तनको आकांक्षाबाट अभिप्रेरित भएर र काठमाडौं सदर जेलबाट टंकप्रसाद आचार्यले गर्नुभएको आग्रह मानेर नेपालको वास्तविक राजनीतिक एवं सामाजिक अवस्थालाई झल्काउने गरी एउटा राजनीतिक विश्लेषणात्मक निबन्ध तयार गरेर महाकविले भारतीय संविधानविद् श्री श्रीप्रकाशलाई गोप्य रूपले दिएका थिए ।

राणाविरोधी आन्दोलनको रापमा परेका प्रधानमन्त्री पद्मशमशेरको आग्रहमा देशमा संविधान बनाउन श्रीप्रकाश नेपाल निम्त्याइएका थिए । पछिका राजनीतिक उथलपुथलमा नेपालप्रति र नेपालीहरूको आकांक्षाप्रति सही दृष्टिकोण राख्न उक्त निबन्धले भारत सरकारलाई कति सहयोग गर्‌यो त्यो आजसम्म गूढ रहस्य नै रहे तापनि उक्त कदम देशभक्त प्रजातन्त्रवादी नेपालीहरूको आँटिलो कार्य थियो ।

६. कमान्डर इन चिफ मोहनशमशेर राणाको नेतृत्वमा कट्टरपन्थी राणा समूहको विरोधले गर्दा सीमित सुधारको संविधान जारी हुन सकेन । त्यसपछि राणाशासनविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सम्मिलित हुन जागिर छाडेर महाकवि पहिला दार्जिलिङ र त्यसपछि बनारस पुगे । बनारसमा उनले प्रजातान्त्रिक आन्दोलनको मुखपत्र ‘युगवाणी’ पत्रिकाको सम्पादन गर्न थाले । पत्रिकामा छापिने उनका जोशिला कविताहरू धेरैलाई कण्ठ थिए ।

राजनीतिक प्रवासबाट स्वदेश फर्केपछि महाकविले केही समय त्रि-चन्द्र कलेजमा प्राध्यापन गरे । यसबीच ‘लप्टनको होटेल’को प्रगति भएर वर्तमान पद्मकन्या विद्यालय नगिचैको ठाउँमा सर्‌यो । परम्पराले नबाँधिने महाकवि त्यहाँ स्वादले चियापान गरेका देख्दा टोलका बुज्रुकहरू छक्क पर्दथे । तर हामी युवाहरूको लागि त्यस्तो संयोगले रोमाञ्चकता उत्पन्न गर्दथ्यो ।

७. आफ्नो घरबाट हाल ३२ वडा कार्यालयको सामुन्ने पीपलबोट आइपुगेर डिल्लीबजारको उकालो लाग्दा महाकविले एकछिन यसो सुस्ताएर पछाडिपट्टि सिंहावलोकन गर्ने गरेको दृश्य यस पंक्तिकार कहिल्यै बिर्सन सक्तैन । अनि विस्तारै पाइला बढाएर उनी डिल्लीबजार-कालिकास्थान चोकमा पर्ने लप्टनको होटेलको तेस्रो अन्तिम थलोमा पसेर एक मोहर (पचास पैसा) मा आधा प्लेट मासु तरकारी, पाँच पैसाको चिउरा र पाँचै पैसाको एक कप चिया सन्तोष र आनन्दका साथ ग्रहण गर्ने गरेको दृश्य पनि आनन्ददायक हुन्थ्यो ।

कहिलेकाहीँ त्यही ठाउँमा त्यही परिकार ग्रहण गर्नेहरूमा महाकविका अभिन्न मित्रद्वय ‘प्रगति’ साहित्यिक पत्रिकाका प्रकाशक एवं सम्पादक नारायणप्रसाद बाँस्कोटा र जुद्धोदय हाइस्कुलका अंग्रेजी शिक्षक हरिहरनाथ रेग्मी पनि हुन्थे ।

दिन बित्दै गए । नेपालको राजनीतिले अनेक कोल्टे फेर्दै गयो । तर लप्टनको होटेलमा महाकविको आगमनको क्रम रोकिएन । आ-आफ्नो उद्यमको लागि नाम र आशीर्वाद लिन आउनेहरूसँग किञ्चित झर्को नमानी महाकवि सबैलाई सन्तुष्ट पारिदिन्थे ।

‘नेपाल-रुस मैत्री संघ’ स्थापना गर्ने विचारले त्यही होटेलको कोठाबाट मूर्तरूप लिएको थियो । तत्कालीन रुसी राजदूतको प्रमुख आतिथ्यतामा त्यसको उद्घाटन समारोह भयो । त्यसको केही दिनपछि राजदूतबाट एउटा स्वागत समारोह आयोजित हुँदा हामीले महाकविलाई निमन्त्रणा टक्र्याएर आफूसँगै लैजान अनुरोध गर्दा उनले प्रसन्नतापूर्वक स्वीकार गरी हामी सबैलाई ठूलो सम्मान दिएका थिए ।

८. महाकविको साहित्यिक यात्रामा दुईवटा अन्तर्राष्ट्रिय सम्मेलनहरू विशेषरूपले उल्लेखनीय छन् । २०१३ सालमा भारतको राजधानी नयाँदिल्लीमा आयोजित ‘एसियाली लेखक सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलका नेताको रूपमा उनको सहभागिता र दोस्रो, २०१४ सालमा सोभियत उज्बेकिस्तानको राजधानी तासकन्दमा आयोजित ‘एसिया र अफ्रिकाका लेखकहरूको सम्मेलन’मा राष्ट्रिय स्वतन्त्रता वा स्वाधीनताको लागि लडिरहेका औपनिवेशिक राष्ट्रहरूको समर्थनमा नेपालको तर्फबाट उनले शंखनाद गरेको ऐक्यबद्धताको आवाज । महाकविको भाषणका केही अंश पछि उक्त सम्मेलनको घोषणामा अक्षरशः सम्मिलित गरिएको सुन्दा अहिले पनि भावविभोर भइन्छ ।

महाकविको तासकन्द भ्रमण र भाषणलाई उनका छद्मविरोधी तथा दरबारका चाटुकारहरूद्वारा उनको चारित्रिक हत्या गर्ने विषय बनाई राजा महेन्द्र समक्ष उनलाई ‘कम्युनिस्ट’ भन्ने दोषारोपण गरियो । फलस्वरूप २०१४ सालमा खुलेको ‘नेपाल एकेडेमी’मा साहित्य विभागतर्फ संस्थापक सदस्यमा नियुक्ति गरिएका महाकविको दानापानी धेरै महिनासम्म राजा महेन्द्रले हरे । पछि २०२२ साल कात्तिकमा ‘नेपाल सांस्कृतिक संघ’को प्रांगणमा महाकविको प्रतिमाको अनावरण गरेर राजाले आफ्नो पापको केही मोचन गरेता पनि महाकविप्रतिको उनको पूर्वव्यवहार निकृष्ट नै ठहर्दछ ।

२०१५ सालको पहिलो आम निर्वाचनपछि पंक्तिकार नेपाली भाषामा छापिने ‘सोभियत भूमि’ पत्रिकाको काम गर्न दिल्ली गयो । महाकविको देहावसानको लगत्तैपछिको अंकमा उनको अंग्रेजी भाषाको भाषण पत्रिकामा प्रकाशनार्थ अनुवाद गर्दा पंक्तिकारले आफूलाई शब्दशः महाकवि नै बनाएको स्मरण गर्दा आज पनि रोमाञ्चकता हुन्छ । उक्त अनुवादले नेपालबाट धेरै प्रशंसापत्र पत्रिकाले पाएको थियो । स्वयं महाकविलाई पत्रिकाको उक्त अंक हस्तान्तरण गर्ने सौभाग्य हामीले पाएनौं तर बालकृष्ण समबाट ‘सोभियत भूमि’ले नेपाली वाङ्मयको विकासमा खेलेको भूमिका अत्यन्त सराहनीय छ’ भनी आफ्नै कलात्मक हस्ताक्षरले पठाइएको पत्रबाट हामीलाई भएको हर्ष अवर्णनीय थियो ।

९. महाकविका सम्बन्ध विभिन्न कालक्रममा तीन जना लब्धप्रतिष्ठित विदेशीहरूले व्यक्त गरेका भावना उद्धृत गर्नु पनि उपयुक्त ठहर्ने छ ।

१९९५ सालमा औषधि उपचार गर्न महाकविलाई राँची लगिएको थियो । त्यहाँ उनको उपचार गर्ने प्रसिद्ध अमेरिकी मानसिकरोग चिकित्सक डा. बक्ले हिल भन्दछन्, ‘उपचारको क्रममा मैले देवकोटामा केही त्यस्तो घातक रोग पाइनँ, पाएँ एउटै रोग अर्थात् भूगोलको गल्ती । नेपालमा यिनलाई पागल भनिएछ तर म भन्छु, पृथ्वीले देवकोटा नेपालमा जन्माएर ठूलो गल्ती गरिन् । जन्मिनुपर्ने प्रतिभाको कदर हुने पश्चिमी मुलुकमा तर उनी जन्मे पूर्वमा जहाँ प्रतिभाको कदर
छैन ।’

प्रसिद्ध भारतीय साहित्यकार महापण्डित राहुल सांस्कृत्यायनले महाकविको विषयमा आफ्नो दृष्टिकोण यसरी राख्दछन्, ‘म देवकाटोलाई बुद्धपछिको सबैभन्दा ठूलो मानव अवतार ठान्दछु । भारतीय उपमहाद्वीपमा त झन् देवकोटासँग एक्लो प्रतिस्पर्धा गर्न सक्ने कोही जन्मेन । भारतका तीन साहित्यिक महारथी छायावादी जयशंकर प्रसाद, सुमित्रानन्द पन्त र सूर्यकान्त त्रिपाठी निरालालाई मिलाएर समेत देवकोटाको बराबरीको साहित्यिक शक्ति निर्माण गर्न सकिन्न ।’

आफ्ना देशवासीहरूलाई नेपाली साहित्यकालमा विचरण गराउने सुविख्यात तत्कालीन सोभियत विदुषी ल्युदमिला आगानीनाले ‘नेपाली महाकविको कथा’मा गिरिधर गोपालप्रति मीराको समर्पणजस्तै भाव व्यक्त गरेकी छिन् भन्नु अत्युक्ति हुनेछैन ।
जीवनवादी भनौं कि आँधीको चरा भनौं वा शान्त विद्रोही भनौं महाकवि लक्ष्मीप्रसाद देवकोटा अन्त्य समयसम्म अनन्य कृष्णप्रेमी नै थिए

‘रहेछ संसार निशा समान,
आएन ज्युँदै रहँदा नि ज्ञान ।
आखिर श्रीकृष्ण रहेछ एक,
नभक्ति भो, ज्ञान, न भो विवेक ।’

महाकविको कीर्ति बढाउनमा ‘नेपाल सांस्कृतिक संघ’ले गरेका कार्यहरू विशेषगरी उल्लेखनीय छन् । २०१६ सालको लक्ष्मीपूजाको दिनदेखि त्यसले महाकविको स्मृतिमा मनाउने गरेको लक्ष्मीजयन्ती आजसम्म चालू छ र त्यसले राष्ट्रिय रूप लिएको छ ।

संघको कार्यालय भवन बाहिर २०२२ सालमा स्थापित महाकविको मूर्ति पनि राष्ट्रिय प्रशंसाको कलाकृति हो जसको रचनाकार अमर चित्रकार हुन् । संघले महाकविका विभिन्न कृतिहरूको प्रकाशन गरेको पनि सराहनीय छ । त्यसका साथै महाकविको जीवन र कार्यसम्बन्धी बनाइएको वृत्तचित्रले पनि व्यापक प्रशंसा पाएको छ । तर त्यसको निर्माणकार्यमा संघले श्यामदास वैष्णव तथा लक्ष्मण लोहनीको सहयोग जुटाउन सकेको भए वृत्तचित्र अझ परिष्कृत हुनेथ्यो ।

त्रिभुवन विश्वविद्यालयको स्थापनामा पनि देवकोटाले ठूलो भूमिका खेलेका छन् । विश्वविद्यालयको ठाउँको रोजाइसमेत महाकविले गरेका हुन् । २०१४ सालमा महाकविकै शिक्षामन्त्रीत्वकालमा नेपाली भाषाले सरकारी स्तरमा आधिकारिक रूपमा राष्ट्रभाषाको दर्जा पाएको हो । ‘नयाँ नेपाल’ शब्दावलीका वास्तविक आविष्कारक पनि महाकवि नै हुन् ।

मृत्युशैय्याबाट नेपाली साहित्यिकारहरूलाई सम्बोधन गर्दै देवकाटा भन्दछन्, ‘नवयुवकबाट नै नयाँ जीवनको सञ्चार हुन्छ । नयाँ जीवको प्रार्दुभाव हुन्छ, नयाँ सन्देश देखिन्छ र नयाँ नेपालको निर्माण गर्नु छ । आफ्नो दिलोज्यान दिएर नयाँ नेपाल निर्माण गर्नमा यहाँहरूले कुनै कष्ट (गर्न बाँकी) राख्नु होला जस्तो मलाई लाग्दैन ।’

महाकवि देवकोटाको युगमा बाँच्नेहरू बुझुन् वा नबुझुन् तिनीहरू भाग्यमानी हुन्, अनि हामीजस्ता जसले उनको आत्मीयता पायौं, सान्निध्यता पायौं, उनीहरू त महाभाग्यशाली हुन् भन्ने भावनाका साथ बालकृष्ण समका यी हरफहरूबाट यस लेखलाई विराम दिने अनुमति चाहन्छुः

‘दिएँ अञ्जुलीले पानी बिर्सी सागरको जल,
दिएँ आरती बत्तीको सूर्यको छवि बिर्सेर एउटा
बोहतामा पुष्पाञ्जलीसम्म चढाइयो,
तर सद्भक्तिको गोल विश्वभन्दा विशाल छ ।’

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *