अनूदित कविता : कामसुत्रको एउटा पाठ

~महमुद दर्विश~
अनुवाद : सुमन पोखरेल

नीलो प्याला लिएर उनलाई पर्ख
बसन्तको साँझमा गुलाफहरूले घेरिएर उनलाई पर्ख
पहाड उक्लिन सिकाइएको घोडाको धैर्य लिएर उनलाई पर्ख
कुनै युवराजको झैँ अनेक सौन्दर्यचेत लिएर उनलाई पर्ख
बादलका सात सिराने लिएर उनलाई पर्ख
उड्दै गरेका नारीजनिन सुगन्धहरू लिएर उनलाई पर्ख
घोडाका पिठ्यूँमा रहेको चन्दनको पौरुषीय सुगन्ध लिएर उनलाई पर्ख
उनलाई पर्ख र हतार नगर।

ऊ ढीलो आइन्‌ भने उनलाई पर्ख
ऊ चाँडै आइपुगिन्‌ भने उनलाई पर्ख
उनको सिँगारिएको केशको चरोलाई नतर्साऊ
वगैँचामा आएर उनी बस्न सक्छिन्‌,
पर्ख, उनी फूलहरूका टुप्पामा बस्न सक्छिन्।

पर्ख,
उनका लागि नितान्त नौलो यो हावामा उनी सास फेर्न सक्छिन्‌।
उनका गोडाबाट उनको लुगा बिस्तारै उठाउनलाई प्रतिक्षा गर।
उनलाई पर्ख र
डोर्याएर बार्दलीमा लैजाऊ दूघमा डुबिरहेको जून देखाउनलाई।
उनलाई पर्ख र वाइनभन्दा अघि पानी देऊ पिउनका लागि।
उनका छातीमा निदाइरहेका जोडी परेवातिर नहेर।

पर्ख,
र तिमीले उनको प्रतिक्षाको शीत बोकिरहेझैँ गरेर
उनले प्याला राख्दै गर्दा बिस्तारै उनको हात छोऊ।

भोलिले के बोकेर आउनेछ भन्ने थाह भएजसरी
एउटा त्रसित भ्वाइलिनको तारसँग बाँसुरीले जसरी कुरा गर्छ
त्यस्तै स्वरमा कुरा गर उनीसँग।

पर्ख, र उनका लागि रातलाई रङ्ग्याऊ।
रातले
“तिमीहरू दुई जनाबाहेक कोही पनि जीवित छैन” ’नभनुन्जेल
उनलाई पर्ख।

त्यसपछि भने
बिस्तारै उनलाई तिमीले यतिकाबेरदेखि चाहेको मृत्युतिर लैजाऊ,

र पर्ख।

– महमुद दर्विश (प्यालेस्टाइन)
Nepali Translation of Mahmoud Darwish’s Poem “A Lesson from Kamasutra 

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in अनूदित कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *