कथा : इतर, स्वास्नीमान्छे र म

~ओमप्रसाद घायल~Om Prasad Ghayal

‘दाइ, जाने हो ?’

रत्नपार्कको दक्षिणपट्टि उभिएर वरपरको रमाइलो हेरिरहेको बेला मेरो नजिकै आएर एउटी केटीले सोधी । त्यो प्रश्नको अर्थ बुझिनँ मैले । ऊ मेरो जवाफ पर्खँदै हल्का मुस्कानसहित छेउमै उभिएकी थिई ।

उसलाई एकसरो नियालेपछि दुई नम्बरी केटी हो भनेर छुट्याउन बेर लागेन मलाई ।

केही समय उसलाई जिस्काउने मनसायले सोधेँ – ‘आधा घण्टाको कति पैसा लिन्छ्यौ नि ?’

‘अघिपछि हुँदो हो त हजार घटेर हुँदैन्थ्यो । आज बिहानदेखि बोहनी भएको छैन, त्यसैले पाँच सय मात्र । जाने हो भने टेम्पो लागिरा’छ, अबेर नगरौं ।’

अचम्म लाग्यो, कति सजिलै आफ्नो शरीर बिक्रीका लागि विज्ञापन गरिरहेछन् मान्छे !

‘के सोचिरहनुभएको ? हुन्छ भने हुन्छ भन्नु, होइन भने म अर्कै ग्राहक खोज्न हिँडिहाल्छु । नत्र बेलुका …,’ ओठ थर्थराई उसले, एक गहिरो विस्मयमा ।

यसपालिको उसको भनाइ अलि मायालाग्दो देखिन्थ्यो । तैपनि उसलाई तत्काल जवाफ दिनुपर्ने भएकोले होसियारीका साथ भनेँ – ‘हेर, म कसैको यौन शोषण गर्नु एक अपराध सम्झन्छु । म तिम्रो ग्राहक कदापि बन्न सक्दिनँ ।’

मेरो कुरा सुनेर तीखो नजरले हेरी उसले । भनी – ‘अगाडि नै भन्नुपर्थ्यो नि ! फेरि अपराध सम्झनेले भाउ सोध्ने के आवश्यकता थियो ? कि डराउनुभो ? डराउनु पर्दैन क्या दाइ ! मलाई एचआईभी लागेको छैन क्यारे । जाऔं न प्लीज !’ ऊ विनम्र भएर प्रस्तुत भई ।’

‘मैले भनिसकेँ नि, मबाट यस्तो काम हुनै सक्दैन । यदि तिमी खानकै लागि आफ्नो शरीर बेच्न तम्सिएकी हौ भने आज भरेको खानाको बन्दोबस्त म गरिदिउँला । तिमी यहीँ बसिराख,  साँझ अफिसबाट फर्केर होटलमा लगेर खाना खुवाउँला,’ यति भनेर म हिँडेँ ।

साँझ म अफिसबाट फर्कँदा ऊ त्यही ठाउँमा त्यसरी नै ग्राहक पर्खेर बसिरहेकी थिई । उसले ‘जाने हो ?’ भनेर प्रस्ताव राखेका कतिपय मानिस यौन बजारसँग अनभिज्ञ थिए । कतिपयसँग भने उसले तोकेको मूल्यमा सहमति हुँदैन्थ्यो । साँझसम्मको नीरसता र दिनभरिको कुराइमा एउटा पनि ग्राहक हात नलागेपछि ऊ साँझको छाक टार्ने झिनो आशामा मेरो बाटो कुरिरहेको भान हुन्थ्यो ।

घडी हेर्दै थिई ऊ । मुखबाट लामो सुस्केरा छाडिरहेकी थिई । एक मनले सोचेँ, आफ्नो परिवारको मुखमा माड लगाउन धौ-धौ परिरहेको बेला यो बजारु केटीलाई खाना खुवाएर के थोत्रो आदर्श प्रस्तुत गर्नु ! फेरि सम्झेँ, वाचा गरेपछि पूरा गर्नैपर्छ । त्यो वेश्या भएर के भो, त्यसको आत्माको त आशिष् लाग्ला नि !

‘कति जनालाई खुसी पार्‍यौ नि ?,’ नजिकै पुगेर सोधेँ उसलाई ।

‘एक जनासँग पनि कुरा मिलेन दाइ ।’

उसको उदास अनुहारको शोकलहरीमा समवेदना राख्दै भनेँ – ‘त्यसो भए हिँड, जाऔं खाना खान ।’

ऊ भित्र एक लाज र मौनता एकैसाथ सलबलायो । धर्मसंकटमा परेझैं भुइँतिर हेरेर टोलाई ।

‘पैसा नभएर भोकै बस्नुपर्ने भए फेरि ढिला किन ? हिँडिहाल, साँझ पर्न लागिसक्यो । मलाई कोठामा फर्कन हतार हुन्छ फेरि,’ मैले उसको मौनता बिथोलेा ।

विवश भए झैं ऊ अघि बढी । मैले भनेँ – ‘आऊ टेम्पोमा बस, न्यूरोडको सृष्टि होटलमा जाऔंला ।’

टेम्पोमा बसेर होटलमा पुग्दासम्म पनि ऊ मौन नै थिई । उसको लागि मासु-भात र मेरा लागि एक प्लेट सुकुटी र एक बोतल बियर मगाए । मैले बियर रित्याउँदासम्म उसले पनि खाना खाइसकेर रुमालले हातमुख पुछ्दै थिई ।

‘अँ साँच्ची, कहाँ बस्छ्यौ नि तिमी ?’ संवाद सुरु गरेँ आफैंले ।

‘कालीमाटीतिर ।’

‘एक्लै छ्यौ कि अरु पनि?’

‘यस्तै पेशामा लागेका तीन जना साथी पनि छन् ।’

‘के नाम हो त तिम्रो ?’ मेरो सोधाइमा झसङ्ग हुँदै उसले भनी – ‘सावित्री ।’

नाम सुनेर जिल्ल पर्छु । ओठबाट हाँसो फुत्किन खोज्छ, तर सम्हालिन्छु ।

भनेँ – ‘नामअनुसारको पेशा भएन तिम्रो । सावित्रीले त आफ्नो सतित्वको लागि प्राणको आहुति समेत गर्न सक्नुपर्छ । तर, तिमीले प्राण रक्षाको लागि सतित्व नै बिक्री गरिरहेकी छ्यौ ।’

मेरो कुरा कति बुझी कुन्नि उसले, अपराधी झैं मुख लतारी । लाग्थ्यो, ऊ ग्लानिले फतक्क गलेकी छे ।

सात बजिसकेकोले बिदावारी हुन खोजेँ । फेरि कुनै दिन भेट होला भन्दै कोठातिर हिँडेँ ।

राति अबेरसम्म सावित्रीको बारेमा मनमा कुरा खेलिरहे । उसले सबथोक छोडेर किन वेश्यावृत्तिको अँध्यारो जिन्दगी स्विकारिरहेकी छे ? त्यसबाट किन अलग हुन सकेकी छैन ? यस्तै अनेकौं तर्क-वितर्क गरेर आफ्नो निद्रा खर्चिरहेको थिएँ ।

त्यो बेला अनायासै मलाई माइतीमा बसेकी श्रीमतीको सम्झना भयो । करिब दस महिनादेखि हाम्रो भेट हुन सकेको छैन । घर झगडापछि माइत गएकी मेरी बसुन्धरा अहिले वास्तवमै स्वतन्त्र होली कि ?

हाम्रो विवाह भएको पनि दुई वर्ष मात्रै भएको हो । एउटा पतिले दिनुपर्ने सम्पूर्ण माया मैले उसलाई दिएकै थिएँ । एक कलमजीवी पत्रकार भए पनि लाउन-खान दुःख थिएन । यद्यपि बसुन्धराले आफू स्वतन्त्र हुने बहानामा मलाई विगत दस महिनायता बिर्सिरहेकी थिई ।

जस्केलोबाट सूर्यको किरण छिरेर कोठाभरि पोखिएपछि मेरा आँखा खुले । राति अबेर मात्र गहिरो निद्रा परेछ, बिहान शरीर अलि गह्रौं लागिरहेको थियो । उठेको मात्र के थिएँ, घरबेटीले भनिन् – ‘आज धारामा पानी नआउने भयो ।’

धारामा पानी नआउने भएपछि मलाई होटलमा खानुपर्ने बाध्यता हुन्थ्यो । त्यस दिन खाना बनाउने झन्झट नभएपछि मलाई सग्लो बिहान कसरी सक्ने भन्ने समस्या अगाडि तेर्सियो । मनभित्रैबाट पुनः श्रीमतीको सम्झना आयो । उसलाई एउटा प्रेमपत्र लेख्न कापी र कलम लिएर बसेा ।

पत्रको सुरुवात गर्न के लागेको थिएँ, झल्यास्स याद आयो – ‘म जिन्दगीभर यो घर फर्कने छैन ।’ बसुन्धराले जाने बेलामा आँगनको डिलबाट भनेकी थिई त्यो वाक्य । सम्भवतः उसले मलाई बिर्सी पो सकी कि ! पत्र लेख्न मन लागेन ।

बसुन्धरासँग म भावनात्मक प्रेम गर्थेँ । यस दुनियाँमा यदि कोही पत्नीभक्त र जोइटिंग्रे व्यक्ति थियो भने त्यो म नै थिएँ । विवाहपछिको एक वर्ष मैले जिन्दगीभर पुग्ने गरी माया दिएँ उसलाई ।

परिवारको जेठो छोरो भएकोले म परिवारप्रति जिम्मेवार थिएँ । बुबा-आमाको आम्दानीको स्रोत केही नभएकोले पैसा कमाउनुपर्ने बाध्यता थियो । तर, म तत्काल जागिरमा नअल्झीकन पढ्न चाहन्थेँ । जसका लागि बुबा-आमासाग पैसा माग्ने स्थिति पनि थिएन । ठूलो धर्मसंकटमा थिएँ ।

एकदिन सुत्ने बेलामा बसुन्धरासँग मैले एउटा प्रस्ताव राखेँ – बिहेमा बनाएका सिक्री र चुरीहरु बेचेर भए पनि म एमए पढ्न काठमाडौं जान्छु ।

क्याम्पसमा भर्ना मात्रै हुन सकेँ भने बाँकी खर्च त केही न केही गरेर चलाउँला भन्ने दृढ विश्वास थियो आफूलाई । तर, बसुन्धरा जिन्दगीमा पहिलोपल्ट रातो-नीलो भएर झगडा गर्न तम्सिई मसँग ।

मैले निकै सम्झाएँ उसलाई । पति-पत्नी भनेका एक-अर्काका परिपूरक हुन्, त्यसैले एक-अर्काको दुःख-सुखमा सहयोग गर्नुपर्छ भनेर मनाउन प्रयास गरेँ । ‘अहिले गरगहना बेचेर मलाई सहयोग गर, एक वर्षपछि फेरि बनाइदिउँला नि । यसपालि मेरो दुःख बुझिदेऊ,’ यस्तै बिन्ती बिसाएँ ऊसँग । तर, बसुन्धराको मुखबाट आगोको मुस्लो निस्कियो । उसले भनी – ‘मेरा चुरी र सिक्री मात्र किन ? मलाई नै लगेर बेच्नू नि !’

बसुन्धराको कडा प्रतिकारले आहत भएको मेरो मनले त्यतिखेर उसलाई माफ गर्न सकेन । पागल जस्तै भएर साह्रै पिटेछु । घरमा खैलाबैला मच्चियो । भोलिपल्ट जिन्दगीभर हाम्रो सम्बन्ध हुन नसक्ने जिकिर गर्दै ऊ माइत गई ।

बसुन्धरालाई चिठी लेख्नु निरर्थक सम्झेर कापी-कलम राखेँ । घडीमा नौ बज्नै लागेकोले लुगा फेरेर अफिसतिर हिंडेँ । खाना बाटोको कुनै होटलमा पसेर खानुपर्ला भन्ने सोच थियो ।
रत्नपार्कमा पुग्दा उही सावित्रीसँग जम्काभेट भयो । उसले मलाई देख्नासाथ अति विनम्रताले झुकेर नमस्कार भनी । त्यो नमस्कारमा उँचो श्रद्धा थियो, गहिरो हार्दिकता थियो र थियो बेग्लै आत्मीयता ।

‘बोहनी भयो त सावित्री ?’

मेरो प्रश्नमा लज्जा भाव प्रदर्शन गरी उसले । जवाफ केही आएन ।

‘हिँड, खान खान जाऔं । आज त मैले पनि खाएको छैन,’ औपचारिकता निर्वाह गरेँ मैले ।

‘भैगो दाइ । आज त पैसा छ मसँग ।’

पत्ता लाग्यो, आज उसको बोहनी भइसकेछ ।

‘सावित्री, तिमी किन यस्तो पेशामा लाग्यौ ? अरु नै काम गर्नुपर्ने थियो । घरमा कोही थिएनन् र ?’ मेरो प्रश्नसँगै बरर आँसु खसाली उसले । यति मात्रै भनी – ‘पेट पाल्नको लागि ।’

‘पेट पाल्नको लागि पनि आफ्नै शरीर बेच्नु हुन्छ त ? परिश्रम गर्न सक्नुपर्छ नि लाटी !’ अभिभावकको भूमिका निर्वाह गर्दै सम्झाएँ उसलाई ।

‘घर कहाँ हो नि तिम्रो ?’

‘धादिङ ।’

‘घरमा अरु कोही छैनन् ?’

बल्ल उसले आफ्नो कथाको पेटारो खोली –

‘बुबा, आमा र भाइ ५/६ वर्षअघि पहिरोमा पुरिएर बिते । म सानीआमाकहाँ गएकीले बाँचेँ । घर, गोठ र खेत पनि सबै पहिरोमा सखाप भएकोले म सानीआमाकै घरमा बरिरहेँ । मुग्लिनमा उहाँको होटल थियो । दिनहुँ थुप्रै गाडीको ओहोरदोहोर हुने भएकोले र सयौं मान्छेले खाना खान्थे होटलमा । त्यहाँ आउने केही मान्छेले ममाथि अभद्र व्यवहार गर्थे ।

त्यसको बारेमा सानीआमासँग गुनासो गर्दा उनले त्यस्तो काम नगरी होटल नै नचल्ने बताइन् । मैले त्यसको विरोध गर्दा पनि सडकछाप हुनुपर्थ्यो । त्यसैले विवश भएर आफूलाई लुटाउन सुरु गरेँ । धेरै समयपछि महसुस भयो, अन्तै कतै गएर अरु कुनै काम सुरु गरुँ । मुख र मुठी लिएर म राजधानी आएा । यहाँ त झन् कसैलाई चिनेकै थिइनँ । हातमुख जोर्नको लागि कुनै काम पाइनँ । केही मान्छेले यहाँ पनि मलाई वेश्या हुन विवश गराए । त्यसपछि आजसम्म यस्तै जीवन घिसारिरहेको छु ।’

‘यो पेशा छोड्न तयार छैनौ ?’ उसको सबै वृत्तान्त सुनिसकेपछि मैले उत्सुकता राखेँ ।

‘अरु केही बाँच्ने आधार भए त यो कालकोठरीमा एक मिनेट पनि किन बस्थेँ र दाइ ?’

‘अलिअलि लेखपढ गर्न जान्दछ्यौ ?’

‘एसएलसी त पास गरेकी हुँ क्यारे ।’

‘ठीकै छ, त्यसो भए म आजैबाट काम खोज्न प्रयास गर्नेछु ।’

सावित्रीसँग छुट्टिएपछि मलाई उसैको चिन्ताले पिरोलिरह्यो । केही काम खोजेर उसलाई वेश्यावृत्तिबाट छुटकारा दिलाउन पाए आफ्नो अहोभाग्य हुन्थ्यो भन्ने सोचिरहेँ ।

हठात् सम्झना आयो साथी सरोजको । ऊ एउटा फाइनान्स कम्पनीमा म्यानेजर थियो । फोन गरिहालेँ – ‘मेरो एकजना मान्छेलाई काममा राखिदिनुपर्‍यो ।’

सावित्रीले एसएलसीसम्म पास गरेकीले फाइनान्स कम्पनीको बजार प्रतिनिधिमा उसको जागिर पक्का भयो ।

भोलिपल्ट बिहान सावित्रीलाई औपचारिक खालको लुगा लगाउन र हल्का मेकअप गर्न अह्राएँ । सरोजसामु मेरी सानिमाकी छोरी वा मेरी बहिनी भनेर परिचय दिन आग्रह गरेँ ।

किन-किन त्यसदिन पहिलोपल्ट सावित्रीलाई अति रुपवती देखेँ मैले । साँच्चै राम्री थिई ऊ । यति धेरै सुन्दर बनाएर पनि ईश्वरले उसलाई बाँच्ने आधार दिएन । धन्य ईश्वरको लीला !

सावित्री र म फाइनान्स कम्पनीमा पुग्यौं । कुरा गरेर मान्छेमा प्रभाव पार्ने अनौठो जादु थियो उसमा । कसैले पनि हुँदैन भन्न सकेनन् । त्यसै दिनदेखि नियुक्ति भयो सावित्रीको ।

साँझ सावित्री र म सागै फर्कियौं ।

‘सावित्री, एउटा कुरो भनूँ ?’

‘के कुरा दाइ ?’

‘तिमी आजैबाट पूरै परिवर्तन हुनुपर्छ । तिमी हिजो जो थियौ, त्यो बितिसक्यो । भुलेर पनि त्यसको सम्झना गर्नुहुादैन । अब तिमी वास्तविक सावित्री भएर बाँकी जिन्दगी बाँच्नुपर्छ । तिमी आजैदेखि कालीमाटी छाड । म तिम्रो लागि अन्तै कोठा खोजिदिन्छु ।’

मेरो कुरा सुनेर सावित्री भक्कानो छाडेर रोई । यतिबेला उसको आँसुमा पनि एउटा आदर्श थियो ।

सावित्रीलाई मैले आफ्नी बहिनी मान्न थालिसकेको थिएँ । दिन-प्रतिदिन ऊ यतिसम्म बदलिँदै गएकी थिई । कुनै पनि सति सावित्री महिलाभन्दा कम चरित्रवान् लाग्दिन थिई ।

मैले उसलाई प्रेमले ‘सानी’ भनेर सम्बोधन गर्न थालेँ । फाइनान्समा पनि सबै जनाले उसको प्रशंसा गर्न थालेका थिए । साथी सरोजले त झन् मसँग भेट हुने बित्तिकै सानीको बखान गर्थ्यो ।

सानीसँगको मेरो सरसंगत निकै बढ्यो । मेरा केही आफन्तले हामी दुईको बारेमा नकारात्मक टीका-टिप्पणी पनि गर्न थालेका थिए । तर, मेरी प्यारी सानी मेरी अरु कोही हुनै सक्दिनथी । किनकि दाजु-बहिनीको आत्मीय सम्बन्ध छ हामी बीचमा । म उसलाई भएभरको प्रेम गर्छु ।

जिन्दगीको बाँकी अनुच्छेदभरि म सानीलाई लेख्न चाहन्छु । यस वर्षको तिहारमा सानीले सप्तरंगी टीका र मखमली माला लगाएर मलाई आफूमाथि थप जिम्मेवारीको भागीदार बनाएकी थिई । उसको बारेमा कसैले पनि शंका गर्ने ठाउँ थिएन । उसको पहिलेको जिन्दगीबारे मलाई मात्र थाहा थियो । म चाहन्थेँ, सानीले सम्पूर्ण अतीत बिर्सियोस् । तर, कहिलेकाहीँ सानीको मन-मस्तिष्कभित्र सायद अतीत बल्झिन्छ । धेरै एकान्तहरुमा ऊ निकै रोएको पनि देखेको छु मैले ।

सानी रोएको बेला मलाई मेरी बसुन्धराको धेरै याद आउाछ । तर, बसुन्धराको स्मृति चित्र सानीको अनुहारमा कहिल्यै खोज्दिनँ म । मेरा लागि दुई फरक प्रेम हुन् सानी र बसुन्धरा । दुवैको प्रेममा एकदमै फरक परिभाषा छ जिन्दगीको ।

बसुन्धरालाई मैले प्रेम गरेँ र आफ्नो अधिकारको वस्तु ठानेर एउटा दाम्पत्य जीवनको प्रयोगशालाभित्र उसबाट धेरै कुरा लिन खोजेँ । जसको कारण आज नमीठो गरी बिछोडिएका छौं हामी ।

सानीलाई आज मैले प्रेम गरिरहेको छु । उसप्रति एक किसिमको जिम्मेवारी पनि छ । एउटा कहालीलाग्दो अतीतबाट ब्युँझाएर राम्रो बाटोतिर डोर्‍याउन सकेकोमा म आफैंप्रति कृतज्ञ भइरहेको छु ।

शनिबारको छुट्टीमा कतै न कतै घुम्न जाने मान्यताअनुरुप एउटा शनिबार हामी चिडियाखाना गयौं – सानी, सरोज र म । हाँसो ठट्टाको मौका पारेर सरोजले सानीसाग विवाह गर्ने चाहना राख्यो । उमेरको हिसाबले मिल्दोजुल्दो र अरु कुरामा पनि योग्य साथीलाई बहिनी दिन्नँ भन्नै मिलेन ।

सानीसँग सोधेँ । मौन स्वीकृति थियो उसको । दक्षिणकाली मन्दिरमा लगेर विवाह गराइदिएँ दुवैको ।

सुखद दाम्पत्य जीवनको शुभारम्भ गरे उनीहरुले ।

विवाहपछि सानीप्रतिको मेरो जिम्मेवारी घट्यो । कहिलेकाहीँ उनीहरुलाई मेरो कोठामा खाना खान बोलाउँथेँ, कहिले म उनीहरुकोमा पुग्थेँ । उनीहरुबीचको आदर्श प्रेमले मलाई सन्तुष्टि मिलेको थियो । कुनै बेला जिन्दगीको बाटोमा विचलित भइरहेकी सानी आज एउटा फाइनान्सको म्यानेजरकी श्रीमती भएर जिन्दगीको एक अद्भूत् शृंखलामा रमाइरहेकी छे ।

यो देखेर मलाई आज लाग्दै छ- जिन्दगीमा हार-जितको कुनै समय तालिका नै हुँदैन । जिन्दगीले मान्छेलाई कहिले नराम्रोसँग पछार्छ त कहिले कल्पनै गर्न नसकिने गरी माथि पनि उचाल्छ । जिन्दगीको यस्तै मोडमा म थोरै विजय भएको छु र धेरै पराजित भएको छु । तर, कहिलेकाहीँ आफू हार्नुमा पनि मज्जा आइरहन्छ मलाई । किनकि कुनै हार पनि बडो बुद्धिमत्ता र बहादुरीपूर्ण ठहरिन्छ जीवनमा ।

आज दुई नारी आत्माको अनुभूतिमा म फरक-फरक परिभाषित भइरहेको छु ।

बसुन्धरा मलाई एक कमजोर र हुतिहारा पुरुषका नामले जान्दछे । उसको नजरमा म विवेकहीन र दमनकारी पुरुष कंकालको नमूना हुँ ।

तर, सानीको हेराइमा म आदर्शवान् र महापुरुष हुँ । जोसँग त्याग, श्रद्धा र आत्मीयताको भण्डार छ । जसको नाम मात्र लिएर पनि ऊ गौरव महसुस गर्छे ।

(स्रोत : Onlinekhabar.com)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *