कथा : त्रास

~बखतबहादुर थापा~

ठूलो हुने इच्छाले वशीभूत थिए होसबहादुर । उनी घर किन्न हिँडे । उनको मानसिकताले ३१ तले गगनचुम्बी भवनमा पु¥यायो । लिफ्टमा बसेर सररर माथिल्लो तलामा पुग्दा वैज्ञानिकहरू चन्द्र ग्रहमा जाँदा यस्तै मजा लुट्दा हुन् भन्ने अट्कल गरे उनले । ३१ तलाबाट तल हेर्दा जमिनका मान्छेहरू किरा जस्ता देखिए । यो उनको दोस्रो सन्तुष्टिको विषय भयो । छतबाट काठमाडौँको दृश्य हेर्दा आफू हवाई जहाजमा पो छु कि जस्तो लाग्यो उनलाई । यस भवनमा ७०–८० परिवार बस्छन् होला ! ती सबैका टाउकामा नाच्ने भनेको यही फ्ल्याट किन्ने मान्छे नै हो, भन्ने अटकलेपछि उनले देखे फाइदै फाइदा । कत्ति पनि ढिलो नगरेर त्यस फ्ल्याटलाई आफ्नो बनाए ।

बैठक कोठामा पैयाँ भएको गज्जबको टि टेबुल राखे उनले । सिसैसिसाले बनेको । बैठक कोठामा हल्का उज्यालो हुने गरी टेबुलको केही भागले प्रकाश पनि छथ्र्यो । इन्टर्नेटमा त्यस टेबुलको विज्ञापन देखेर उनले तेस्रो मुलुकबाट मगाएका थिए । ‘यो टुट्ने फुट्ने वाला सिसा हैन,’ फूर्ति देखाउन पछि पर्दैनथे उनी । उत्तर, पश्चिम र दक्षिण तीनतिरबाट गोलाइ लिएको ठूलो सोफा राखेका थिए त्यही कोठामा । पश्चिमको भित्तामा झर्नाका तस्बिर राखेका थिए भने उत्तरतर्फको भित्तामा ऐना भएको ठूलै दराज राखे । पूर्वको भित्तामा टिभि झुण्ड्याएका थिए र दक्षिणको भित्तामा किताबको ¥याक राखेका थिए । उनी प्रायः पूर्वतिर फर्केर बस्थे । त्यही टि टेबुलमा ल्यापटप राखेर चलाउँथे । छुट्टिको दिनमा प्रायः कम्प्युटरसँगै समय बिताउँथे होसबहादुर ।

२०७२ साल वैशाख १२ गते । दिउँसो ११ बजेर ५६ मिनेटको समय थियो, भुइँचालोले कुनै सुइँको नदिइकनै जमिनको लगभग १५ कि.मि. तलबाट अचानक हल्लाएर त्राहिमाम् बनायो । गगनचुम्बी भवनका बासिन्दामा त झनै ठुलो हाहाकार मच्चियो । भवनबाट बाहिरिँदा मृत्युको पन्जादेखि फुत्किँदैछन् जस्ता लाग्दथे मान्छेहरू । पर खाली ठाउँमा पुगेर गगनचुम्बी भवनलाई हेर्दा भूकम्पको झट्काले लड्छलड्छ जस्तो देखिन्थ्यो । त्ंयस भवनका बासिन्दाहरू फुटपाथे भइन्छ अब भन्ठान्थे र छातिमा हात राख्दै ‘शिवशिवशिव’ फलाक्थे ।

छिमेकीहरू पनि घरबाट भागेर परपर पुगेका थिए । तिनको दृष्टि पनि गगनचुम्बी भवनले आफैँतिर तानेको थियो । भूकम्पको चालले जब गगनचुम्बी भवन पिङ खेल्थ्यो तब ‘आफ्नो घरको नामो निशान मेटाइदिन्छ यसले !’ भन्ठानेर छिमेकीहरू पनि त्राहिमाम् हुन्थे ।

करिब ४५ मिनेटपछि होसबहादुर आँगनमा टुपुल्किए । उनी लुसुलुसु अरू कतै तर्किँदै थिए, चउरमा जम्मा भएकाहरूले डाके ।

एउटै भवनमा बस्नेहरूले यता आऊ भनेपछि आनाकानी गर्न सुहाएन, लखर लखर सबै भए ठाउँ पुगे उनी ।

“होसबहादुर दाइ ! तपाईं अहिलेसम्म घरभित्रै हुनुहुन्थ्यो ?”

मान्छेहरू अगाडि सर्दै उत्सुकता देखाउन थाले ।

“३१ तलामाथि बिचरा होसबहादुरको के हालत भयो होला ?”

“बाँच्छु भन्ने कल्पना पनि गर्न छोडिसकेका थिए होलान् ?”

“आँखा चिम्लेर ‘शिवशिवशिव’ भन्दै भगवान्को नाम जपेरै बसे होलान् हगि ?”

“बिचरा, यति नै रहेछ जीवन ! भन्ठानेर आफन्तहरूलाई सम्झन मन लाग्यो होला हगि ?”

होसबहादुरले ती सबैलाई थामिने सङ्केत गर्दै भने, “के भन्दै हुनुहुन्छ तपाईंहरू ? अनि सबैजना यो चउरमा आएर किन बस्नुभएको ?”

“…. !”

होसबहादुरका कुरा सुन्नेहरू अक्क न बक्क भए ।

“लौ, यहाँ किन आएका रे !” एक जनाले हात हल्लाउँदै वरिपरि उभिएकातिर हेर्दै आश्चर्य प्रकट ग¥यो । “प्रलय होला जस्तो गरेर जमिन घडघडाउन र डगमगाउन थालेपछि पनि घरभित्रै बस्छन् त ! सास फेर्न यहाँ आइपुगेका थियौँ हामी ।”

“ए…,” ठट्टा सुनेजस्तो मुखाकृति बनाए होसबहादुरले ।

“अनि तपाईं अहिलेसम्म घरभित्रै के गर्दै हुनुहुन्थ्यो ?”

प्र्रश्न होसबहादुरलाई सोधिएको थियो तर अर्को मान्छे अगाडि सरेर भन्यो, “रकेटको अनुभूति दिने लिफ्टले कानमा तेल हालेपछि चक्कर काट्नु परेन भर्याङ्गको ?”

“भर्याङ्गमा ठोक्किँदै सम्हालिँदै झर्दै भगवान्को नाम लिँदै गरेर बल्लतल्ल आइपुगे जस्तो छ ?” बिचबाट टाउको तन्काउँदै अर्कोले अटकल काट्यो ।

“घरले पिङ खेलेको देख्दा जमिनमा पुग्नलाई भर्याङ्गको सहारा नचाहिने हो कि भन्ने दोधार पो आइलागेको थियो कि ?” अर्कोले दाँत देखायो ।

छिमेकीहरूका कुरा सुनेर होसबहादुर झन् दोधारिँदै गइरहेका थिए ।

“भन्नुहोस् त होसबहादुरजी, अहिलेसम्म के गर्दै हुनुहुन्थ्यो एकतीस तलामाथि ?”

होसबहादुरले दुवै हात तलमाथि हल्लाएर ती सबैलाई धैर्य धारण गर्ने सङ्केत गर्दै भने, “म प्रत्येक शनिबार पौडी खेल्न स्विमिङ पुलमा आउँछु । त्यही तालिका अनुसार आज पनि नित्यकर्म सकेपछि लिफ्टबाट सररर तल झरेँ । आधा घण्टा पौडेँ । फेरि लिफ्टमा बसेर रकेटमा उडेझेँ सरररर आफ्नो फ्ल्याटमा पुगेँ । ८ बजेतिर हल्का भोजन गरेँ र निकैबेर टिभी हेरेपछि ल्यापटप अन गरेँ । म आफ्नो जवानीलाई कसरी तन्काउने र बुढेसकाललाई के गरी परऽऽऽ धकेल्ने भन्नेबारे रिसर्च गर्दै थिएँ । यस्तो कल्पनामा डुब्दा मलाई आँखै चिम्लेर सोच्नुपर्ने अवस्था आइलाग्थ्यो र म त्यही अवधिमा थिएँ । म कल्पनामा डुब्दा मेरो ल्यापटप आफ्ना मालिकको आज्ञाको प्रतीक्षामा स्क्रिन सेवरसँगै खेलिबस्थ्यो ।”

त्यसपछिको घटना सम्झिँदैछन् जस्तो घोरिएको एकैछिनमा होसबहादुरले भने, “अचानक ख्याटख्याटख्याट कुनै वस्तु जुज्दैछ जस्तो स्वर सुनिनु र म अगाडि हुत्तिनु लगभग एकै पटक भयो । झसङ्ग तर्सिँदै आँखा हेरेँ, टि टेबुल त मेरो ल्यापटप बोकेर पूर्वको भित्तातिर जाँदै थियो । अर्कोतिर मेरा हातले सोफा अँगालेका थिए, नत्र म पनि टि टेबुलकै पछिपछि जान्थेँ हुँला । मेरो गगनचुम्बी फ्ल्याट किन ढल्कियो भन्ने कुराको कुनै टुङ्गोमा पुगेको थिइनँ म, मेरो जिउ पछाडि ढल्कियो । सोफा पनि उत्तानो प¥यो र मलाई घुगुत्ती खेलाइदियो । बल्लतल्ल आफूलाई सम्हाल्दै थिएँ, टि टेबुल आफ्नै घुँडामा ठोक्किने गरी आइरहेको देखेँ । बुरुक्क उफ्रेर त्यसलाई नाघ्दै पूर्वको भित्तामा ठोक्किन पुगेँ । झनन्न रन्थनिने गरेर ठोक्कियो टाउको । मेरा हात टाउको सुमसुम्याउँदै थिए, म दाहिनेतिरको खाली ठाउँतिर जान खोज्दै थिएँ, गद्र्याम्म लड्यो दराज । आफैँलाई आँखा सन्क्याउँदै कपाल कोर्दा हेर्ने गरेको ऐना छङ्क्राङ्ग छुङ्क्रुङ्ग बजेको पनि सुनेँ । मेरो ध्यान तुरुन्तै बायाँतर्फ जाँदै थियो अगाडिबाट हिर्काउलाझैँ टि टेबुल आइरहेको देखेँ । एकछिन् पनि नअल्मलिकन मैले बुर्कुसी मारेँ र सोफामा ठोकिन पुगेँ । मेरो जिउ झन् अगाडि पछाडि मच्चिँदै थियो । टि टेबुल फेरि आएर हिर्काउन सक्छ भन्ठानेर म दाहिनेतिर हाम फालेर उम्किने दाउमा थिएँ किताबको ¥याक पनि लड्यो । मुस्किलले जोगिएँ म ।”

होसबहादुरको जोस बढ्दै गइरहेको थियो । उनले कुर्थाको बाहुला पनि सुक्र्याइसकेका थिए । मान्छेहरू उनका वरिपरि झुम्मिँदै थिए । लाग्थ्यो तिनका कुरा सुन्नेहरूले भुइँचालोको त्रास बिर्सिसकेका छन् । उनी बिन्दाससँग हात हल्लाएर सङ्केत पनि गर्दै थिए । “आफू बाँचेकोमा खुसीयाली मनाउनुको साटो त्यस टि टेबुलतिर आँखा तरेँ मैले ! सायद सुस्ताउन पनि नदिएकामा दुःखी थिएँ कि ? हेर्दाहेर्दै त्यो टि टेबुल फेरि आफैँतिर आइरहेको देखेँ र हत्तपत्त तेस्रो जम्प मारेँ । फेरि पूर्वको भित्तामा ठोकिएँ । टि टेबुल सोफामा बजारियो । पश्चिमको भित्तामा सोफा लडेकाले टि टेबुल र मलाई त्यसैले अल्झाउँथ्यो । म त लरखराउँदै हात टेक्न पुग्थेँ र सम्हालिन समय लाग्थ्यो । पूर्वको भित्तामा ठोकिँदा चोट लागे पनि त्यही भित्ताले आड दिन्थ्यो । टि टेबुल जता ठक्कर खान्थ्यो ल्यापटप त्यतै जान्थ्यो र भुइँमा खस्लाखस्ला जस्तो हुन्थ्यो, तर खसेको थिएन । चौथो पटक, बाठो भएर टि टेबुल हिँड्नु भन्दा पहिल्यै हाम फालेँ मैले ! छ्याः त्यतिखेरै त सुस्ताउने समय परेछ ! टि टेबुलमै थेचारिएँ म । त्यो त दरो थियो टसमस भएन । त्यसमाथि थियो ल्यापटप, कच्याककुचुक भयो त्यो ।”

होसबहादुर टिमुर्किए । सायद ल्यापटपको दुर्घटना सम्झिँदा मन कुँडियोे होला । “बिचरा मेरो ल्यापटप !” भनेर अँधेरिए पनि । फेरि उनले गम्भीर पारामा भने, “यस पटक टि टेबुलले किन धोका दियो ? बडबडाउँदै मैले कोठाका अन्य सामानतिर दृष्टि दौडाएँ । घरले पिङ खेलेर सामानको बिजोकै बनाइदिएछ, कुनै सामान घोप्टे परेका देखिन्थे त कुनै कोल्टे परेका थिए । कुनै सामानले कुना काप्चाको आडलिएका देखिन्थे, तर ती सबै थन्किएका थिए । मेरो जिउ पनि ढलपलाईरहेको थिएन र सिधा उभिनलाई हातको सहारा पनि लिनुपरेको थिएन मैले । मेरो फ्ल्याटले पनि पिङ खेल्न छोडेछ ! लामो सुस्केरा हालेर सुस्ताउन थालेको मात्र के थिएँ, मेरो फ्ल्याटले किन पिङ खेल्यो त भन्ने कुरा आइपुग्यो दिमाग घोच्न ! मेरो सम्झनामा युरोपका म्युजिकको तालमा घुम्ने टुइस्टिङ टावर आए । यदि यस गगनचुम्बी भवनसँग पिङ खेल्ने गुण थियो भने निर्माणकर्ताले गौरव गर्दै बढी पैसा किन मागेन ? मेरो मन कारण खोज्दै थियो भने, दृष्टि टुटेफुटेका र लहर दहर भएका सामानतिर दौडियो । यदि यस भवनको निर्माणकर्ताले सप्राइज दिन खोजेको रहेछ भने मेरोतर्फबाट एक चट्कन पाउँछ ! यस कुरामा पक्कापक्की भइसकेको थिएँ म । यत्तिकैमा मैले सम्झेँ– जब मेरो जिउ पश्चिमतिर ढल्किन्थ्यो र टि टेबुल पनि पश्चिमको भित्तातिर दौडिन्थ्यो तब ड्याङ्ग बम पट्केजस्तो ठुलै स्वर आउँथ्यो । त्यस बखत मेरो आङ थप अनियन्त्रित हुन्थ्यो । अरू कुनै चक्कर त हैन ? तत्काल म पुगेँ झयालमा र देखेँ आफ्नै भवनका मान्छेहरू घरबाट भाग्न तँछाड मछाड गरिरहेका थिए । खुट्टा भुइँमा छन् कि कसैका जिउमा भन्ने कुराको वास्ता थिएन तिनलाई, न त आङका कपडाको ख्याल गरेका थिए । त्यो देखेपछि मैले पनि भाग्नु पर्छ क्यारे भन्ने लाग्यो मलाई । अविलम्ब लिफ्टको छेउमा पुगेँ । रकेटको अनुभूति दिने लिफ्टले टेरपुच्छर लगाएन आज ! वरपर दृष्टि दौडाएपछि बिजुली पनि भागिसकेको रहेछ भन्ने थाहा पाएँ । तत्काल कुदेँ भर्याङ्गङ्तिर । माथिबाट हेरेको त भर्याङ्गङ्को कुनै टुङ्गो देखिएन । साँगुरिँदै गएको गुफा जस्तो देखेँ । मलाई लाग्यो गन्तव्य धेरै तल छ । म त्यहाँ पुगुन्जेल मान्छेहरू भवनले पिङ खेल्नुको कारण बिर्सेर फर्किँदै गरेका भेटिन सक्छन् । मेरो मनमा यस्तै कुरा खेल्दै थिए, फेरि डगमगायो भवन । लडखडाउँदै गएर भर्याङ्गको बारमा ठोक्किएँ म ।

‘आत्था,’ चिच्याएँ र लड्दै पड्दै तल झरेँ । मान्छेहरू फर्केका त थिएनन्, तर सुस्ताइ सकेका देखिए ।

आफू भर्खर झर्न भ्याएको भन्ने भान कसैलाई नपरोस् भन्ठानेर सक्दो सामान्य स्थितिमा देखिन खोज्दै थिएँ म । पेन्टको खल्तीमा हात घुसार्ने खोज्दा पो आफूले ट्राउजर मात्र लगाएको थाहा पाएँ ! म ट्राउजरमा घर बाहिर कहिल्यै निस्किँदैनथेँ । यत्तिकैमा मेरा आँखा भित्ताको ऐनामा पुगे, जिङ्रिङ्ग परेको रहेछ कपाल । अनुहार पनि रातभरि जाग्राम बसे जस्तो देखियो ! दुवै हातका औँला कोप्य्राएर कपाल मिलाएँ अनि गेटतिर लम्किँदै थिएँ । आफ्नो समाजले यता बोलाएपछि आउनै प¥यो, हाजिर छु ।” होसबहादुरले टाउको झुकाएर कृतज्ञता प्रकट गरे ।

“पछाडि फर्केर आफ्नो गगनचुम्बी भवनलाई हेर्नुस् त, कस्तो भइसक्यो ?” एउटाले होसबहादुरलाई समाएर पछाडि फर्कायो ।

चारपाँच तलासम्मका भित्ताहरू चर्केका थिए । मानौं अब यसको म्याद सकियो भनेर प्रकृतिले नै क्रस गरिदिएको होस् ! पिलर र भित्ताको गाह्रो पनि छुिट्टएको देखिन्थ्यो । राम्रो देखाउनलाई छाँटकाँट गरेका भित्ताहरू झरेछन् । कोप्चोे जस्तो देखिन्थ्यो भवन । झयालका सिसाहरू पनि कति त टुटेफुटेका थिए । पहाड जत्रो गगनचुम्बी भवनलाई दुई ठाउँमा ग्याप राखेर तीन भागमा बाँडेको थियो । होसबहादुरको फ्ल्याट पूर्वी भागको टुप्पोमा पथ्र्यो । घर हल्लिँदा त्यो पश्चिमतर्फको भागमा ठोकिँदो रहेछ । त्यो ग्याप पनि ठूलो भएको थियो र त्यसको छेउमा भत्केको थियो । ड्याङ्ग बम पट्केजस्तो स्वर आउँदा आफू थप डगमगाउनुको रहस्य खुलेपछि होसबहादुरले टाउको हल्लाउँदै भने, “पैसा जोगाउनलाई ग्याप राखेको हो कि ! कस्तो अनिष्टकारी घर बनाएछ ! ताली बजाएजस्तो यामानका पाटा ठोकिएर झन् तर्साए मलाई !”

“हेर्नुस् त चारैतिर, कस्तो विध्वंस मच्चिएको छ ! एम्बुलेन्सहरू रुँदै चिच्याउँदै दौडिरहेका छन् । दमकलहरू खतराको घन्टी बजाउँदै आगलागी नियन्त्रणमा कुदेका छन् । कहाँ के भयो निरीक्षणका लागि आकाशमा हेलिकप्टर उडिरहेका छन् । चारैतिर धुलो व्याप्त छ ।” छिमेकीले होसबहादुरतिर आँखा तर्दै भन्यो, “कस्तो अनिष्टकारी घर बनाएछ पो भन्छन् ! भुइँचालोले यत्रो ताण्डव मच्चाउँदा पनि ढलेन घर । नत्र नामोनिसान मेटाइदिएको हुन्थ्यो हाम्रो !”

होसबहादुरको दृष्टि जति टाडाटाडा पुग्यो त्यति आतङ्कित हुँदै गए र उनको जिउ पसिनाले लुथ्रुक्क भिज्यो ।

“तपाईंलाई त्यस टि टेबुलले दौडाएर महाभूकम्पको अनुभूति नै गर्न दिएन क्यारे ?” रहस्यात्मक मुख बनाउँदै अर्को छिमेकी होसबहादुरको अगाडि पुग्यो ।

“म… म… महाभूकम्प पो… !” भन्दाभन्दै होसबहादुरको जिब्रो लरबरिँदै गएर वाक्य नै बस्यो । आँखा सेल्ट्याएर ल¥याकलुरुक हुँदै नजिकै उँभिएका मानिसको जिउमा ढले ।

स्थितिले हठात् कोल्टे फे¥यो । केही क्षण अघि होसबहादुर पाखुरा सुर्किँदै मच्चिएरै गफ दिइरहेका थिए । तिनका कुरामा अल्झिएकाहरू अब “पानी ल्याऊ पानीऽऽऽ, होसबहादुर बेहोस भए,” चिच्याउन थाले ।

“टि टेबुल दौडिनुको कारण महाभूकम्प हो भन्ने थाहा पाएका भए त होसबहादुर माथि नै पो लड्ने रहेछन् ।”

समाजको तेस्रो आँखा खुल्यो ।

“बेहोस भए कि क्या हो ?”

“बिचरा ! भोकै रहेछन् ?” महिला अगाडि सरिन् ।

“अहिलेसम्म हाम्रा होसबहादुरलाई घर डगमगाउनुको कारण भूकम्प हो भन्ने थाहै रहेनछ ?” अर्की महिलाले होसबहादुरको जिउमा दृष्टि दौडाइन् ।

“बेहोस भएकालाई होसमा ल्याउने कोही छैन भने चेतना आफैँ फर्किन्छ कि उतैबाट लाग्छ परम धामतिर ?”

“यस्तो स्थितिमा केको अनुसन्धान गर्न लागेको होला !”

“हाम्रा होसबहादुर एक्लै बस्छन्, त्यसैले !”

“अलि उता सर न, हावा आउन देऊ त । प्राणै जान थाल्यो ।” होसबहादुरलाई समात्नेले भन्यो ।

“हरे… शिव ! भुइँचालो हो भन्ने थाहा पाएको भए हाम्रा होसबहादुरले ३१ तला माथिबाटै…, !”

अर्कोले वाक्य पूरा गर्दै भन्यो, “… हामफालेर रामराम सत्य हो भन्न लगाइसकेका हुन्थे !”

भूकम्पको त्रासले पानी ल्याउन घरभित्र पस्ने कसको आँट । होसमा ल्याउने अरू नै उपाय खोज्न थालियो त्यहाँ ।

एक जना लुङ्गी बेरेर निस्केको रहेछ । नजिकै उभिएकाले त्यही लुङ्गी तानेर हम्किन थाल्यो ।

“होसबहादुरको सामुन्ने भुइँचालोको कुरै नगर त ।” एउटाले भविष्य वाणी गरेझैं नाक फुलायो ।

खुला ठाउँमा राखेर लुङ्गीले हम्केको केही बेरमा होसबहादुरको चेतना फक्र्यो ।

“ओहोऽऽऽ, हाम्रा होसबहादुर दाइले रि–फ्रेस हुन जानेका रहेछन् ! अब मन नपर्ने कुरा नसम्झिनु ल ।”

सबै हाँसेको देखेर होसबहादुर पनि मुस्कुराए ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *