संस्मरण : आत्मस्वीकृति: नयाँ अध्यायको

~प्रदीप नेपाल~

शरीर थाकेको हो कि मन थाकेको थाहा छैन । हिजोको तुलनामा शरीर थाक्ने समयचाहिँ भइसकेको छ । राजनीति गर्नेले थकाइ मान्नुहुँदैन भन्नचाहिँ सजिलै हुन्छ । तर, शरीर सिद्धान्त होइन, त्यो जीवविज्ञान हो । केटाकेटीमा त्यो घिस्रिन्छ । युवावस्थामा त्यो दौडिन्छ । अधबैँसे हुन थालेपछि उसको दौड हिँडाइमा रूपान्तरति हुन्छ । वार्धक्यतिर लागेपछि उसलाई आराम गर्न मन लाग्छ । त्यस्तो अवस्थामा पाकाहरूले क्रमशः सक्रिय राजनीतिक नेतृत्व छोड्नुपर्छ, युवालाई अगाडि बढाउन सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म । यसलाई म आफ्नै जीवनमा लागू गर्न चाहन्छु । पार्टीको महाधिवेशन समयमै भए फागुन महिनामा । त्यो हुन नसके चैत महिनाको मसान्तपछि म नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य रहन्नँ । किनभने, हिजो आफैँले घरबार छोड्न लगाएर पूर्णकालीन भएका साथीहरू अहिले शीर्ष नेतृत्व सम्हाल्न पुगेका छन् । यो मेरा लागि गर्वको विषय पनि हो । यसका साथसाथै अवकाश लिने समय धेरै पर भए पनि अहिले नै यो अनुभूति लेख्नुको कारणचाहिँ मजस्ता ६० वर्षको नेटो काटेकाहरूलाई राजनीतिक दंगलको मैदान खाली गरिदिन बेलैमा गरएिको अनुरोध पनि हो ।

यो आत्मस्वीकृति वर्तमान नेपालको अनुहारसँग जोडिएको छ । सज्जन मानिसका मनमा समेत गुनासाहरू थान्को लागेर बसेका छन् । र, ती सबै राजनीतिसँग जोडिएका छन् । किनभने, राजनीति, समाजको यस्तो तत्त्व हो, जसलाई न माया गरेर पाल्न सकिन्छ, न घृणा गरेर फाल्न सकिन्छ । गजलकार भाइ धनराज गिरीले भनेको एउटा भनाइ यतिबेला मलाई सम्झिन मन लागको छ । उनी भन्छन्, “राजनीति समाप्त भएपछि आत्मीयता आरम्भ हुन्छ ।” तर, वास्तविक जीवनमा कहिल्यै राजनीति समाप्त हुँदैन । नेता नभए पनि बुढ्यौलीतिर लागेको मानिस पार्टीको सल्लाहकार हुन्छ ।

वैमनस्य खालि राजनीति गर्ने नेता-कार्यकर्ताका बीचमा मात्र हुन्छ भन्ने गलत सोचको वाहक पनि होइन म । नेपालमा वैमनस्य नागरिक रगत बनेर बगिरहेको छ । त्यसैले डाक्टरको वैरभाव डाक्टरसँगै हुन्छ, इन्जिनियरको वैरभाव इन्जिनियरसँगै हुन्छ । लेखक, साहित्यकारलाई महान् मान्छौँ हामी, संवेदनशील मन भएका नागरिकहरू । तर, त्यहाँ पनि ईष्र्या र वैमनस्य खाँदीखाँदी भरएिको पाउँछु म । पेसा मात्र होइन, जात-जातको बीचमा वैरभाव हुन्छ । यति मात्र होइन, जातिभित्रै पनि धनी र गरबिका बीच वैमनस्य हुन्छ ।

एकछिन गन्थन गर्छु है !

आठपटक पल्टिएछु अस्पतालका अपरेसन थिएटरहरूमा । उहिले गलाएको थिएन चिरफारले । पछिल्ला दुइटा चिरफारले त मज्जैले गलायो । दस-दस दिन निष्काम आराम गरेर बस्नुपर्‍यो ।

एउटा शरीरको यति धेरै चिरफार, नेपालभित्र चाहिँ सायदै कसैको भएको होला भन्ने लाग्छ मलाई । आफूजस्तो अरू नभेटेर मात्रै यस्तो लागेको हो कि !

पहिलो घाँटीको सिस्ट फाल्ने अपरेसन भएको थियो, ०५२ सालमा । के होला भन्ने कौतूहल थियो तर डर थिएन मनमा । धेरैले नेपालमा अपरेसन गराउनु हुँदैन पनि भनेका थिए । त्यतिबेला म सूचना तथा सञ्चारमन्त्री थिएँ । मन्त्री हुनेबित्तिकै रुघा लाग्दा पनि विदेशै जाने चलन त चलिसकेको थिएन । तर पनि मन्त्री भएको मानिसले किन वीर अस्पतालमा अपरेसन गर्ने भन्ने चासोचाहिँ धेरैले देखाएका थिए । तर, मैले वीर अस्पतालमै घाँटीको सिस्ट फालेँ । अपरेसन गर्ने डाक्टर सोमनाथ अर्यालप्रति मेरो दर्बिलो विश्वास थियो ।

दोस्रो अपरेसन थियो एपिन्डिक्सको । आफैँ गाडी चलाउँदै गएको थिएँ कार्यालय । पेटचाहिँ असाध्यै दुखिरहेको थियो । विद्या भण्डारीले ‘तपाईंको अनुहार किन यति कालो’ भनेर सोधेपछि मेरो दुखाइ झन् चर्किएको अनुभूत गरेँ र बाहिर राखेको गाडी टिपेर घरतिर लागेँ । घर आएपछि श्रीमती झुमा देवान र भानिज सुरेशलाई लिएर मोडेल अस्पतालतिर लागेँ । विद्याले फोन गरसिक्नुभएको रहेछ । ढोकैमा भेटिनुभयो, डाक्टरद्वय भरत प्रधान र सरोज धिताल । ‘खानापुरी पछि गर्दै गरौँला’ भनेर मलाई तान्दै उहाँहरू अपरेसन रुमतिर लाग्नुभयो ।

जुन रात मेरो एपिन्डिक्स फ्यालियो, त्यही रात पार्टी फुटेछ । बिहानै मलाई पोस्टअपबाट वार्डमा सारियो । मलाई झार्दा नझार्दै आएका अछामतिरका एक जना साथीले ‘आज दिउँसो औपचारकि रूपमा नयाँ पार्टी दर्ता हुँदै छ, त्यसैले अहिले नै स्वास्थ्यलाभको शुभकामना दिन आएको’ भनेपछि रातीको दुखाइ बल्झिएर आएको थियो । अर्को दिन पार्टी विभाजनका विरुद्ध लड्न घर पनि नआई सीधै बल्खुको पार्टी कार्यालय गएको थिएँ ।

मेरो टाउकामा के रोग लागेको थियो, अहिले पनि म ठ्याक्कै भन्न सक्दिनँ । डाक्टर राम घिमिरेले टाउकामा गम्भीर समस्या भएको जानकारी दिनुभयो । मेरो मनको चिन्ता घटाउन होला, डाक्टर उपेन्द्र देवकोटाले टाउकामा पिनास भरिएछ भनेर मेरो मनलाई रमाइलो बनाइदिनुभयो । त्यसैले टाउको फुटाउँदा पनि मलाई डर लागेको थिएन । नर्भिक अस्पतालमा भएको थियो, मेरो टाउकाको अपरेसन । अस्पतालमै हल्ला सुनेँ । मलाई त ब्रेन क्यान्सर भएछ! तर, पत्याइनँ मैले, चिकित्सकहरूको उज्यालो अनुहार देखिरहेको हुनाले । अपरेसन सकिएपछि, केमोथेरापी र रेडिएसनका लागि दिल्ली पठाउनुभयो, डाक्टर देवकोटाले । दिल्लीको एम्समा म देवकोटाको सिफारसिपत्र लिएरै गएँ । त्यहाँ डाक्टरद्वय महापात्र र पीके झुल्काले ‘यो अपरेसन नगरेको भए पनि हुने थियो’ भनेर मेरो मनलाई झन् हल्का बनाइदिएका थिए । टाउकाले पैसाचाहिँ कुस्तै खर्च गरायो । बाचुन्जेल गाली सुन्नुपर्ने गरी राज्यले एकतिहाइ सहयोग गर्‍यो । बाँकी दुईतिहाइ साथीहरूको सहयोग र ऋणपान गरेर खर्च टारियो । ०५८ सालमा लिएको ऋण ०६७ सालमा तिरेर सकिएछ । १० वर्षपछि डाक्टर रामले भन्नुभयो, “अब एमआरआई गर्नुपर्दैन, तपाइर्ं पूर्णरूपमा चंगा हुनुभयो ।”

टाउकाले दुःख भने मलाई मज्जैले दियो । दुई-दुईपटक अमेरिका नै पुग्नुपर्‍यो । संयुक्त राष्ट्र संघको महासभामा उपस्थित हुने मौका पाएको हुनाले अमेरिकाको खर्च घटेको थियो । यो खर्चलाई पनि मैले सरकारी सहयोगमै जोडेको छु । यद्यपि, महासभामा जाने अरू कुनै पनि सांसदले भन्दा दुईगुना बढी कामचाहिँ मै बिमारी सांसदले गरेको रहेछु । योचाहिँ सन् २००४ र २००६ सालमा न्युयोर्क नियोगमा बस्नुभएका साथीहरूले दिनुभएको जानकारी हो । कतिपय सांसदहरू त नियोगमा हाजिरी जनाएर आफन्त भेट्न अमेरिकाका अन्यान्य राज्यतिर भौँतारनि थाल्दा रहेछन् । पञ्चायतकालदेखि नै यस्तो चलन चलेको रहेछ । पहिलोपटक मैले तीन समितिमा नेपालको दृष्टिकोण राखेको थिएँ । दोस्रोपटक पनि दुई समितिमा राष्ट्रिय मान्यताको प्रस्तुति दिएको थिएँ ।

म आफ्नो बिमारीलाई सामान्यीकरणमै बसाइरहेको थिएँ, एउटा बिहे पार्टीमा भेट भएका अचिनारु मित्रले भने, “तपाईंलाई केमो र रेडिएसन दिएकै हो भने त्यो क्यान्सर नै थियो ।” आ ! क्यान्सर होस् कि पिनास होस्, मैले त्यसलाई जितिहालेँ भनेर म फुरुंगै भएँ ।

पाठकलाई थाहा भइसकेको होला, बालकृष्ण थापा एक जना साहित्यिक सर्जक हुनुहुन्छ । उहाँले नै पहिलोपटक एमआरआई गर्ने सल्लाह दिनुभएको थियो । उहाँ न्युरो सर्जनका साथै साहित्यकार पनि हुनुहुन्छ ।

गलब्लाडरको ढुंगा फाल्ने काम शिक्षण अस्पतालका तत्कालीन निर्देशक महेश खकुरेलले गर्नुभएको थियो । बेहोस बनाउने औषधीको डोज अलिक बढी नै परेछ कि क्या हो, भोलिपल्ट अपराह्नसम्म एनेस्थेसियाको डोजले घरी आँखा खोल्ने घरी निदाउने गरेर भेट्न आउनेहरूसँग अर्थ न बर्थका कुरा बोलिरहेँ भन्थिन् श्रीमतीले ।

पोहोर प्रोस्टेटको अपरेसन गर्दा पहिलेभन्दा बढी गलेको महसुस गरेँ । स्पाइनल एनेस्थेसिया गरेको हुनाले २४ घन्टा टाउको उठाउन पाइएन । तर, घर फर्किएपछि सामान्य जीवनयापन गर्न गाह्रो परेको थिएन ।

अन्तिम अपरेसन भएको थियो हाइड्रोसिलको । त्यसले चाहिँ नमज्जाले गलाएछ । पछिल्ला दुवै अपरेसन डाक्टर प्रेम ज्ञवालीले गर्नुभएको थियो, मेडिकेयर अस्पतालमा । झन्डै दुई दशाब्द अस्पताल मेरो साथी रह्यो ।

यत्तिका कारण मात्रै मैले ६० वर्षे अवकाश प्रणालीलाई स्वीकार गरेको होइन । म आफ्नो विगततिर र्फकंदा पाउँछु, २५ देखि ३५ वर्षको उमेरमा म २० घन्टासम्म नथाकी काम गर्थें । मैले भोगेको त्यो जीवन अहिलेका मानिसका लागि त कथै हुन्छन् । खाने भनेको जे पायो त्यही हो । म लेकाली गाउँमा काम गर्थें । खाने भनेको इस्कुस, मकै र आलु हुन्थे । र पनि थकाइ मानिँदैनथ्यो । यात्रा प्रायः रातकै हुन्थ्यो । दिनभरि आश्रयदाताको घरभित्र बन्दी हुनुपथ्र्यो । एकदमै अप्राकृतिक थियो, हाम्रो जीवनशैली । तर पनि हामी सबै नेता युवा थियौँ र हामी भन्ने गथ्र्यौं, ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन ।’

तर, प्राकृतिक शरीर त थाक्दो रहेछ । अहिले म सात घन्टा पनि काम गर्न सक्दिनँ । मैले एक दर्जनभन्दा बढी त्यस्ता राजनीतिक मित्रहरू भेटेको छु, जसलाई खाना खाएपछि एकछिनका लागि भए पनि आँखाको बिट मार्नुपर्छ । लगातार बैठकमा बसिरहँदा खुट्टा झमझमाउँछन् । रुघाखोकी त तिनको पि्रय मित्र नै भइसकेको छ काठमाडौँमा । सबैका लागि ‘मर्निङ् वाक’ उपचारको विधि भएको छ ।

यसबाहेक राजनीतिक दलका नेता भनेका नेपालका सबैभन्दा ठूला मानिस मानिन्छन् । तिनले सञ्चालन गर्ने कर्मचारीचाहिँ ५८ या ६० वर्षमा अनिवार्य अवकाशमा जानुपर्ने । नेताले चाहिँ आर्यघाटको ब्रह्मनालमा सुत्ने बेलासम्म पदमै रहिरहने व्यवस्था कसरी न्यायसंगत हुन्छ ?

६० वर्ष कटेपछि गैरराजनीतिक जीवन बिताउनैपर्छ भन्ने केही छैन । आठ-दस वर्ष पार्टीको कुनै तहको सल्लाहकार हुन सकिन्छ, विषयविज्ञको रूपमा समय-समयमा आयोजना गरिने कार्यक्रमहरूमा अनुभव साटासाट गर्न सकिन्छ । त्यो पनि गर्न अल्छी लागे आत्मकथा लेख्न सकिन्छ । त्यो गर्न मन नलागे घरको छतमा तरकारी बारी लगाएर विषादीरहित सागसब्जी खाएर शरीरलाई स्वस्थ बनाउन सकिन्छ । मनलाई मुक्त पारेर केही गर्ने अठोट गरे जे पनि गर्न सकिन्छ ।

होइन, मरेकाटे पनि राजनीतिचाहिँ छाडिँदैन भन्ने हो भने नेपाल अहिले जुन विन्दुमा गएर उभिएको छ, कम्तीमा पनि दुई दशकसम्म त्यहाँबाट एक इन्च पनि माथि उठ्ने छैन ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ५६०)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *