लघुकथा : स्वाभिमान

~विश्वराज अधिकारी~

मैले उसलाई सोधें– बाबू तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइदिएका थिए, होइन?

उसले उत्तर दियो–एकदमै राम्रो व्यवस्था गरिदिनुभएको थियो । आफ्नै सन्तानजस्तो गरेर राख्नुभएको थियो, मलाई । आफ्ना सन्तानहरू र मबीच उहाँबाट कुनै किसिमको भेद भएको थिएन । म उहाँका सन्तानहरू सुत्ने कोठामा नै सुत्थें । एउटै भान्सामा खान्थें ।

मैले थप प्रश्न गरें– अनि पढ्ने पनि गरेका थियौ, बाबू ?

उसले भन्यो–त्यो शहरको एउटा अति नै राम्रो स्कूलमा दस कक्षामा भर्ना गरिदिनुभएको थियो । अनि अङ्ग्रेजी र हिसाबका लागि ट्युशन राख्ने कुरा पनि गर्नुभएको थियो, मेरो लागि ।

उसले थप्यो–मैले कुनै घरायसी काम पनि गर्नुपर्थेन, अरूहरूले आफ्नो घरमा राखेकाहरूलाई भाँडा माज्न, लुगा धुन लगाएझैं । म उहाँको छोरा झै थिएँ, त्यहाँ ।

मैले अर्को प्रश्न गरे– अनि बाबू, कहिलेकाहीं कुट्ने वा गाली गर्ने गर्थे कि तिमीलाई, शहर लाने ती अंकलले । अनि केही यता उति, यस्तो त्यस्तो ?

मेरो प्रश्न पूरा नहुँदै उसले भन्यो– वहाँ जस्तो भद्र मान्छेबाट त्यस्ता कार्यहरू हुने कल्पना पनि गर्न सकिंदैन । त्यस्तो सज्जन मान्छे यो संसारमा पाउन गार्‍हो छ । वहाँलाई भगवान् नै भन्न सकिन्छ ।

उसको यो कुराले मलाई अर्को प्रश्न गर्नबाट रोक्न सकेन । मैले अन्तिम प्रश्न सोधें– अनि बाबू, त्यति राम्रो घरबाट किन भागेर आयौ त ? किन गुमायौ त्यति राम्रो पढ्नेलेख्ने अनि राम्रो मान्छे बन्ने औसर ? किन आयौ फेरि यै गरिबीको दलदलमा भासिन ?

उसले जबाफ दियो–अरू सबै कुरा त ठीकै थियो । तर शहर लाने त्यो अंकलले जहिले पनि, जोसुकै उहाँको घरमा आउँदा, मेरो परिचय आउने मान्छेसँग गराउँदा, यसरी भन्नुहुन्थ्यो– यो केटा पढ्नमा अति नै राम्रो छ, अनि भलाद्मी पनि उत्तिकै । यसका बाबुआमा अति नै गरिब भएका र पढाउन नसकेकोले मैले यसलाई यहाँ पढाउन ल्याएको । उहाँ जहिले पनि त्यसरी भन्ने यी वाक्यहरू सुन्दासुन्दा मलाई दिक्क लाग्यो । त्यहाँ नबस्ने निधो गरें । अनि भागेर आएँ त्यो घरबाट, आफ्नै घरमा ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *