लघुकथा : दु:खद परिणाम

~समीर पाख्रिन~

वीरबहादुरको डेरा अगाडि मानिसहरूको घुइँचो लागेको थियो । मानिसहरू झ्यालबाट ठेलमठेल गर्दै कोठाभित्र चियाउने कोशिश गरिरहेका थिए । चियाउन जाने र चियाएर फर्कनेरू कसैले रूमालले त कसैले पछयौराले नाक–मुख ढाकेका थिए । मानौं कोठाभित्र कुनै वस्तु सडेर दुर्गन्ध फैलाइरहेछ । कोठाभित्रको दृश्य देख्नेहरू यतिन्जेल कोही केही बोल्न सकिरहेका थिएनन्, तर उनीहरूको अनुहारमा कुनै भयड्ढर दुर्घटनाको प्रतिविम्ब भने छर्ल· देखिन्थ्यो । भीडमा खासखुसबाहेक वास्तविकता कसैले व्यक्त गर्ने आँट गरिरहेको थिएन । यतिकैमा सेताम्मे कपाल फुलेका लगभग सत्तरी पचहत्तरी वर्षका एकजना वृद्धले भीड पन्छाउँदै झ्यालमा पुगेर कोठाभित्र चियाएर भीडतिर फर्केर भनेको थियो– “थुक्क १ वीरबहादुरले गर्नुगरेछ । कसरी यसको मति भ्रष्ट भएछ । हेर त भर्खरकी स्वास्नी, नाबालक छोराको हत्या गरेर आफैं पनि पासो लगाएर मरेछ । धिक्कार छ वीरबहादुर तँलाई । यस्ता अगतिको अनुहार हेर्नुभन्दा त बरु घरमा गएर हनुमान चालिसा पाठ गरेर बस्छु । तिमीहरू पनि आआफ्नो घर जाऊ । नत्र व्यर्थको कानुनी झमेलामा परौला ।” यति भन्दै वृद्ध त्यहाँबाट हिंडेपछि केही मानिस वृद्धका पछिपछि लागेका थिए ।

केही क्षणपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले ढोका भित्रबाट बन्द देखेपछि ढोका फोरेर कोठाभित्र प्रवेश गर्दा वीरबहादुर पासो लगाएर पंखामा झुन्डिएको र उसको स्वास्नी र नाबालक छोराको शरीर भुइँमा ढलेको पाइएको थियो ।

प्रहरीले प्रत्यक्षदर्शीहरूको रोहबरमा मुचुल्का तयार पारी तीनैवटा लाशलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको थियो । घटनाको छानबिन शुरु भइसकेको थियो र सत्यतथ्य प्रकाशमा ल्याउन खटिएका प्रहरी टोलीले केही दिनको छानबिन, खोजतलाश र तहकिकात पछि वीरबहादुर घलान विगत ६ वर्षदेखि धनगढी बजारमा डेरा गरी बस्दै आएको । ठेलामा सामान ओसार–पसार गर्ने काम गरेको । परिवारमा पतिपत्नी र नाबालक छोरा गरी तीनजना रहेको । विभिन्न माग राखी धनगढी बजार अनिश्चितकालका लागि बन्द भएपछि बिहानै ठेला लिएर बजार पुगेको वीरबहादुर दिउँसोतिर रित्तो हात नियास्रो अनुहार पारेर डेरामा फर्केको । खर्च गरेर बचेको थोरै रुपियाँ पनि स्वास्नीको औषधि उपचारमा खर्च भएको हुँदा वीरबहादुरसँग बन्दभरि आइपर्ने खर्चका लागि एक रुपियाँसमेत नभएको । पत्नीले वरपर छिमेकलाई गुहारेर भएपनि केही दिन सबैको हात मुख जोडेको तर आन्दोलन लम्बिंदै जाँदा वीरबहादुरको परिवारमा सड्ढटको पहाड खसेको । अन्नपात केही नभएको कारण भोकभोकै रात बिताउनु परेको । एकदिन नाबालक छोराले भोक खप्न नसकी छिमेकीको घरमा गएर खान मागेको र जुठो थालसमेत चाटेको थाहा पाएकी वीरबहादुरकी स्वास्नी स्वयंलाई धिक्कार्दै छाती पिटीपिटी रोएकी देख्दा वीरबहादुरको मुटु छियाछिया परेको वीरबहादुरले अनुभूति गरेको । यसैले मिहिनेत मजदुरी गरेर पनि परिवार पाल्न नपाएको झोकमा सोही रात स्वास्नी र नाबालक छोराको घाँटी थिचेर हत्या गरी वीरबहादुर आफूले पनि पासो लगाएर आत्महत्या गरेको हो । भन्ने प्रतिवेदन तयार गरी सम्बन्धित विभागमा पेश गरेको थियो ।

आन्दोलन दशौं दिन गणना हुन नपाउँदै सरकार र आन्दोलनकारीबीच पाँच बुँदे सम्झौता भएको र सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको समाचार सञ्चार माध्यमहरूले प्रसारण गरेका थिए । सर्वसाधरण, श्रमजीवी जनताले ठूलो राजनैतिक सड्ढट टरेकोमा खुशी व्यक्त गरिरहँदा उता वीरबहादुरको परिवारको अन्त्येष्टि सिध्याएर घर फर्केका आफन्तहरूले भने सरकार र बन्दकर्ताहरूलाई सत्तेश्राप गरिरहेका थिए ।

इति

–वीरगंज, पर्सा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *