संस्मरण : एउटा यात्राको कथा

~जयराज भट्टराई~Jayraj Bhattarai

क्रियाशिल नाट्य समूह शिल्पीसँग हाम्रो नयाँ राजधानी काठमाडौँ देखि उनीहरुको पुरानो राजधानी कोलकाता हुँदै प्राचीन अशोकनगरी उडिसासम्म जाने दुर्लभ मौका मलाई जुरेको थिएछ।

त्यो यात्राले म कुवाको भ्यागुत्तोलाई आफूपर्तिरको पृथक दुनियाँ देखाइदियो। त्यो दुनियाँका मान्छे मजस्तो खाँदैनन्, मजस्तो बोल्दैनन्, मजस्तै भएर पनि मजस्ता छैनन् भन्ने पाठ पढायो।

विश्वव्यापीकरणले आधुनिक डिजिटल भाषामा ‘यो संसार एउटा सानो बजार’ भनेर हाँक दिइरहेछ। इन्टरनेटका पृष्ठ पल्टाएर एक बाट अर्को ठाउँमा मिलिक्कै जान सकिन्छ। तर होइन रहेछ, कल्पनाको डिजिटल दुनियाँबाट निस्केर गरिने यात्राअनुभव अन्त कतै नपाइने रहेछ१

साँच्चै१ काखको ल्यापटपमा गुगलअर्थ पल्टाउँदा सँसारका कुनाकाप्चा देखिने यो युगमा जोन उडले माइक्रोसफ्ट किन छोड्नु पर्थ्यो र१

हो१ भिन्न कुराहरु हेर्ने, चाख्ने, सुन्ने अवसर थियो त्यो यात्रा। शिल्पी कोलकातामा हुने भनिएको नाटक महोत्सवमा भाग लिन जाँदैथियो। र, म एक फिरन्ता विद्यार्थीको रुपमा टोलीमा थिएँ।

धेरै ठूला काम त म नाथेले के गर्थेँ र१ माटोको सानो बोहोतामा चिया खाएँ, ट्राम चढेँ , मेट्रो टे्रनमा बिजुली गतिमा हुँइकिएँ, समुद्रको पानीमा बिरेनुनको स्वाद भेट्टाएँ, अक्षयकुमारका एक्सन फिल्मले सिकाएको हिन्दी कट्याककुटुक बोलिटोपलेँ। यस्तै यस्तै काम गरेँ। तर, ति मेरा लागि नितान्त नौला थिए।

ठग हकर र लिम्बू झोँक

जयनगरबाट हामी कोलकाताका लागि रेल चढ्यौँ। रेलभित्र बसेको एकैछिनमा पत्रिकाको मुठो च्यापेर एउटा व्यापारी पस्यो ― एकैछिन पछाडि यो किच्चक ठग निस्कियो। कुरो के भयो भने, हिन्दी भाषा पढिहालौँ भनेर मैले त्योसँग चार रुपिया दामको एउटा अखबार किनेँ। वीस रुपियाँको भारु दिएँ, उसले फर्काएको फिर्ता रकम गन्न थाल्दा ऊ मेरो सामू थिएन, तर रेलको त्यही डब्बाभित्र थियो। साथीले फिर्ता दिएको पैसोको मुठोमा जम्मा छ रुपियाँमात्र पो छ१ हुनुपर्ने सोह्र हो। म फुत्त उफ्रेर गएँ र यस्तो यस्तो भएछ भाइसाप भनेर नम्र शैलीमा भनेँ। ऊ त झडङ्ग झन्कियो पो ― तुमने दशका नोट दियाथा। कैसा बात करता है। दश माइनस चार हिसाप करके देखो। तुम्हारा हिसापकिताप अच्छा नहीँ है क्या ?

मैले सानो स्वरले एकछिन त विवाद गरिहेरेँ, तर टेरपुच्छर नलाग्ने बरु उल्टै आफैँ झूठो ठहरिन सक्ने स्थिति देखेर दसोटा रुपियाँका लागि मरोस् बज्जे१ भनेर फर्किएँ।

मेरो टोलीसदस्य दमकका प्रकाश आङ्दम्बे यो सब सुनिरहेका रहेछन्।

धत्१ जानी जानी आफू मारमा पर्ने होरु’ मतिर फर्केर बोले अनि रेलबाट ओर्लनै लागेको त्यो व्यापारी तिर बुर्कुसी मारे। त्यसका कठालामा समाते। म त थरर कामेँ। अब बबाल हुने भो। यो बिरानो ठाउँमा गोदाइ खाइने भो। तर त्यसका कठालामा समातेर आङ्दम्बे दाइले लिम्बू झोँकमा के–के फलाके कुन्नी पैसो सरक्कै फिर्ता आयो१

थुइक्क म बाउन१ एक मनले बोल्यो। तर अर्को मनले भन्दैथियो― हे बाहुन१ यी आङ्दम्बे दाइ यो टोलीमा रहुन्जेल तँलाई कुनै जोखिम छैन। काम्न छोड्।

मोलालीको सडक दुर्घटना

जयपुरमा साँझ चढेको रेल रातभरि सलल बग्यो। र, भोलिपल्ट एकाबिहानै कोलकाताको सियालदहमा हामीलाई ओह्राल्यो। हामीलाई निम्तो पठाउने जनसँस्कृति थिएटरको पछि लागेर हामी सियालदहबाट नजिकै पर्ने मोलाली भन्ने ठाउँ पुग्यौँ। ‘युवा केन्द्र’ लेखिएको अग्लो भवनमा हाम्रो वसोवास–खानपिन मिलाइएको रहेछ। बाँकी दिन त्यसको छैठौँ तलामा हामी रह्यौँ।

एकदिन विहान म मेरो छैँठौ तलाको बार्दलीमा थिएँ। कोलकाताका पहेँला ट्याक्सी, दुईडब्बे ट्राम, नीला रङ्गका एकनासे बस हेरेर दङ्गदास परिरहेथेँ। अलिपर्तिर मान्छेहरु हाइहाइ र हुईहुई गर्नलागे। प्रहरीहरु जम्मा भए। सडकजाम भयो। के भएछ खुल्दुली लागेर म ओर्लिएँ। लिफ्ट चढेर मिलिक्कै छ तलामुन्तिर पुगिहालेँ।

नीलो रङ्गको पब्लिक बसले मान्छे किचेछ। दुर्घटना भएको दुईमिनेट भित्रमा त्यो लास उठाइसकेका थिए। म पुग्दा फिक्का खैरो रङ्गको पोशाक लगाएका केही प्रहरीहरु बाल्टीबाट पानी खन्याएर सडकमा पोतिएको रगत पखाल्दैथिए। दुर्घटना भएको लगभग पाँच मिनेटभित्र सबै साम्य भयो। मान्छेहरु आफ्ना काममा लागे। सडकजाम खुल्यो। सबै सुचारु भो।

के गर्नु१ हाम्रो देशमा एउटा कुखुरोको चल्लो किचिएर मर्‍यो भने अनिश्चित कालकालागि सडक ठप्प हुन्छ।

मोलाली चोक

भोलिपल्ट मैले मोलाली चोकमा उभिएको एउटा प्रहरीबाट थाहा पाएँ कि बाटो काट्नका लागि जेब्राक्रसको प्रयोग नगरेको कारण सो दुर्घटना भएको थियो। मृतक आफैँ दोषि ठहरिएकाले सो बसको चालकलाई रिहा गरेछन्।

उडिसाको रमझम र कछुवालाई सास्ती

उडिसा पुग्ने योजना अचानक बनेको थियो। उडिसानिवासी एक एक्टिभिस्टले उनको आफ्नो नगरी घुमाउन चाहे। हामीलाई त्यति भए पुगिहाल्यो। कोशीको पानी देख्दा जिब्रो टोक्ने भुपरिवेष्ठित देशवासी हामीलाई समुद्रको सम्झनाले पुलकित बनायो। भुवनेश्वर गयौँ। कोनार्कको शताब्दिऔँ अघिको सूर्यमन्दिर गयौँ, जगन्नाथ गयौँ। घुम्ने ठाउँ त उडिसा पो रहेछ। अशोक राजाले लाखौँको हत्या गरेको ठाउँ गयौँ। त्यहाँ दया नामको नदी रहेछ जहाँ उसबेला हत्या समयमा रगतको खोलो बगेथ्यो रे। त्यो सुनेर मन गाँठो पर्‍यो।

समुद्रकिनारका साँझ सम्झदा अहिले पनि पुगिहालौँ हुन्छ। समुद्री सिपीका मालाहरु, सङ्खहरु, समुद्री जिवका अन्य अवयव, हाडखोरले बनेका सुन्दर बनोटहरु लोभलाग्दा थिए। माझीहरु उनीहरुका डुङ्गामा डाक्दैथिए समुदको परपरसम्म सयर गराउनका लागि। आँखाले भ्याएसम्म पानीपानी मात्र देखिने त्यो विशालताभित्र जान हामी डरायौँ। ‘शरीरमा एक छिटो पर्न दिन्नौँ’ ― उनीहरुले भनेपनि आत्मबल बढेन। आङ्दम्बे दाइ भने निकै जोसिदैथिए। टोली नतातेपछि उनी पनि सेलाए।

समुद्र किनारमा अर्को टिठलाग्दो दृश्य देखियो। त्यो मृत कछुवाहरु। परपरसम्म जाने जहाजको खै कुन अङ्गमा ठोक्किएर समुद्रका कछुवाहरु अङगभङ्ग हुँदारहेछन्। हामीले धेरै परबाट छालमा हुत्तिदै आएको कछुवा देख्यौँ। त्यो छालसँगै नजिक नजिक आयो। किनारमा नआउन्जेल पर्खिरह्यौँ। जब किनारमा हुत्तियो, आन्द्राभुँडी छरिएको त्यसको हालत देख्दा मन कुटुक्क भयो। त्यस्ता अरु दुईतीन कछुवा पनि देख्यौँ समुद्री किनारको बालुवामा उत्तानो परेका। त्यसरी अगत्ती परेर मरेका कछुवामाथि कागका बथान ओइरिँदा रैछन् ठुँगीखानलाई।

एकदिनको उडिसाबसाइ पछि हामी फर्कियौँ। अनेक सम्झना मसँगै आए। फर्किआएको धेरैदिनसम्म पनि मन मोलाली बजार र उडिसाको समुद्रकिनारमै थियो। फेरि कहिले जुर्ला यस्तो१ पर्खिरहेछु।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *