कथा : इन्टरनेटकी सुन्दरी नविना

~सावित्रा सुवेदी~

हिजो सपनामा उनलाई देखेपछि त आज पनि म फेसबूकमा च्याट गर्न हतारिएँ । अहा १ कति सजिलो माध्यम छ है यो, न कसैले देख्ने डर, न कसैले कुरा काट्ने डरस पहिले–पहिले आजको जस्तो मोबाइल, फोन, इमेल, इन्टरनेटको जमाना भएको भए । बिचरा ती जमानाका केटाकेटीहरूले किन स्कूलका भित्ताभरि, बेन्चभरि प्रेमिप्रेमिकाको नाम लेख्थे होलान् ? तिनीहरूले कसैलाई म तिमीलाई माया गर्छु भनेको भरमा विद्यालयका शिक्षक र अभिभावकको हप्कीदप्की र कुटाइ त खानुपर्ने थिएन । तर म यी समस्याबाट मुक्त छु । लाखौं लाख धन्यवाद जसले कम्प्युटर र मोबाइलको अविष्कार गरिदियो । यसको कारण मेरो भनौं या लाखौं प्रेमी–प्रेमिकाको प्रेम सफल भएको छ । त्यसैले त म हरेक दिन नविनासँग फेसबूकमा व्यस्त हुन्थे । शुरु–शुरुमा उनी मप्रति सार्‍है क्रेजी भइन् तर आजकल भने म उनीसँग धेरै क्रेजी हुन थालें ।

बाबा, आमा, घरपरिवारबाट टाढा बसेको मलाई वीरगंज शुरु–शुरुमा नितान्त एक्लो महसुस भएको थियो । नविनासँगको मध्यरातको कुराकानीले मेरो त्यो एक्लोपन हराउँदै गएको थियो । हामीबीच कलेजको पढाई, खानपान, वीरगंजको लामखुट्टेबारे र जीवनका नितान्त निजी विषयवस्तुबारे कुरा हुन थाल्यो । अब हाम्रो सबै कुरा आदानप्रदान भएर प्रत्यक्ष भेटघाट गर्न मात्र बाँकी थियो । म उनलाई भेट्ने दिनको पर्खाइमा थिएँ । उनको र मेरो सम्बन्धबारे फेसबूकको पानाभरि प्रतिक्रिया भरिन थालेको थियो । मेरो कलेजमा पढ्ने सबै साथी भन्ने गर्थे– आजकल तेरो चालामाला ठीक छैन, कलेज पनि राम्रोसँग आउदैनस् भन्दै हप्काउँथे । नविना मेरो जीवनको प्रेरणाको स्रोत भएर अगाडि आइन् । म उनकै लागि जानी–नजानी कविता, गजल स्टाटस लेखेर फेसबूकका पानाहरू भर्न थालें । उनी मेरो साहित्यको पाठक बनिन् । हामीबीच सबैभन्दा रमाइलो त पुस्तकबारे कुराकानी हुन्थ्यो । मैले जुन किताब पढेर सिध्याएको कुरा गर्थे उनले पनि त्यही किताब पढ्न शुरु गर्थिन् । उनको यही पढ्ने बानीले नै मन परेको थियो मलाई । उनलाई फेसबूकमा जति हेर्‍यो त्यति नै मलाई सुन्दर लाग्न थाल्यो र माया पनि । वीरगंज नर्सिङ क्याम्पसका साथीहरूले मन पराएका ती केटीहरू, घडीअर्वामा साथीहरूले जिब्रो पड्काइ–पड्काई जिस्काइएका सेता वस्त्रधारी केटीहरूभन्दा त फेसबूकको नविनाको प्रोफाइल फोटो नै राम्रो लाग्न थाल्यो मलाई । अब नविनासँगको प्रत्यक्ष भेटघाटबिना दिनचर्या त मेरो दैनिक जीवनको लागि अपूरो र अधूरोजस्तै नै भइसकेको थियो । नविनासँगको मध्यरातको फेसबूकको कुराकानीले वीरगंजको गर्मी मौसम पनि शीतल लाग्न थालेको थियो । बाहिर पानी परोस् वा हुरीबतास चलोस्, हाम्रो मित्रताको वा फेसबूकको संसार भने सगरमाथाजस्तै अटल थियो ।

भ्यालेनटाइन डेको दिन मध्याह्न १ बजे घडीअर्वा पोखरीमा हाम्रो भेटघाट हुने पक्का भएपछि मेरो खुट्टा भुइँमा नै थिएन । म संसारमा सबैभन्दा धेरै खुशी थिएँ, यो संसारको सबैभन्दा भाग्यमानी सम्झन्थें आफूलाई । पिसिए नर्सिङ गरेकी नविनासँग मेरो विवाहको लागि गोत्र र थर पनि मिल्ने थियो भनेर म कल्पनाको संसारमा डुब्न थालें । उनका र मेरा सबै विचार, आनीबानी, बेहोरा पनि मिल्दाजुल्दा थिए । आज हाम्रो भेट हुने दिन भनेर हतार–हतार पार्कतिर गएँ । त्यो दिन विश्व प्रेमदिवसजस्तो पवित्र दिन परेकोले म धेरै खुशी थिएँ । उनलाई उपहार दिन मैले गुलाबको फूल पनि किनेको थिएँ । पार्कमा म धेरै बेरसम्म नविनालाई कुरिराखे तर उनी आइनन् । म अनेक शड्ढा–उपशड्ढा गर्न थालें । पर गोलघरमा भने केही जिन्स पाइन्छ र टिसर्टमा सजिएकी सेतै कपाल फुलेकी हजुरआमाजस्ती मानिस ल्यापटप चलाएर बसिराखेको देखे । उनी मैतिर फर्केर मुसुमुसु हाँसेजस्तो लाग्यो । उनले एक्कासि उमेश भाइ यता आऊ भनेर बोलाएपछि भने म छानाबाट खसेजस्तो भएँ । रातो–पीरो भएर म उनको छेउमा गएर उभिएँ । हजुर नविनाको को पर्नुहुन्छ ? भनेर डराउँदै सोधेपछि उनले बडो रमाइलो पाराले नविना त मैं हु भनेपछि मलाई विश्वासै लागेन । हजुरजस्तो बूढी र झन्डै ७० वर्षकी हजुरआमा कसरी नविना हुन्छ । मलाई जसरी भए पनि नविनासँग भेटाउनुहोस् भनेर जिद्दी गरेपछि उनले एउटा फोटो देखाएपछि भने म गर्‍हौं मुटु लिएर पचाउन बाध्य भए । फेसबूकको प्रोफाइल फोटामा उनै हजुरआमाको गाला चाउरिएको फोटोलाई डिजिटल प्रविधिबाट मिलाएर राखिएको रहेछ । मेरो नविनासँग भेट्ने सपनाहरू सबै हावाले उडायो । क्षणभरमैं पानीको फोकाजस्तै मनमा नै बिलायो । आँसु मात्र झार्न बाँकी राखेर मनमनै रुँदै–कराउँदै सोधें–‘किन यस्तो धोका ?’

छोराहरूसँग अस्ट्ेरलिया बसेर फर्केकी ती बूढी हजुरआमाले सार्‍है नरमाइलो मानेर भनिन्– के साथी बन्न पनि उमेरको सीमा हुन्छ ? यदि मैले मेरो साँचो उमेर र फोटो राखेको भए आज मलाई दिन बिताउन अनि बुढ्यौलीमा रात गुजार्न गार्‍हो हुन्थ्यो र हजारौं नेपाली युवाहरू मेरा साथी बन्ने पनि थिएनन् । उनले ल्यापटप देखाउँदै भनिन् । बारा निजगढ घर भएकी ती हजुरआमाले सम्झाएका उपदेश अर्तीहरू मनभित्र सँगाल्दै यो विचित्रको इन्टरनेटजस्तो आधुनिक प्रविधिलाई धिक्कार्दै म घडीअर्वा पार्कबाट सीधा कोठातिर फर्किएँ । त्यसपछि म अचेल इन्टरनेटकी नविना होइन, वास्तविक नविनाको खोजीमा भौतारिन थालेको छु ।

– सपही–९, बारा

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *