कविता : कमरेड तिम्रो भाउ, कति लगायो?

~नरबहादुर घिमिरे~

कमरेड,
तिम्रो भाउ कति लगायो उसले
र तिमीले तिम्रो चेतना
किलोको भाउमा सुम्पियौं?
भन कमरेड भन…
रक्त क्रान्तिका कुराहरु फुकेर
तिमी बुर्जुवाको भक्त बन्यौ?
भन कमरेड भन..
तिमीले हाम्रो गाउँको भाउ
कति सोचेका छौं ?
हाम्रो समाजको,
हाम्रो देशको भाउ
कति सोचेका छौं ?

सर्वहारालाई सुखदिने सपना सम्झाएर
सर्वभोगीलाई समात्यौ
भन कमरेड भन…
तिमीले तिम्रो साथीलाई कतिमा बेच्यौ?

कास्त्रोको सात घण्टे भाषण सुन्दा
हाई…सम्म नगरी
रातो बनेका तिम्रा गालाका छालाहरु
कसरी एका एक चिसिए?
कसरी मिसिए तिम्रा स्वच्छ सपनाहरु
अन्धविश्वासी छालाहरुसित?

कमरेड,
मेरो गाउँमा,
मेरो, समाजमा,
मेरा देशमा अझ पनि पसिनाको गन्ध पर्फ्युमले साट्ने कोसिस हुदैछ।
यहाँ हेपिएका, थिचिएका, लुछिएका सपनाहरु
मन्दिर, मस्जिद र गुम्बा अघि अझ लम्पसार छन् ..
र पण्डित भित्र बसेर
ओर्ग्यानिक फल खाईरहेका छन्।
यस्तो हुदाहुदै पनि तिमी
कसरी चुप बस्न सकिरहेका छौं?

लेनिनका कुरा सिकाउने तिमी,
अहिले कसरी लुटेरा बन्यौ?
मार्क्सका कुरा सिकाउने तिमी
रातारात कसरी मुर्ख बन्यौ?

कमरेड,
तिमी कसरी
येती कम रेटमा बिक्यौ?
तिम्रो रेट त आकाश भन्दा लामो र
ब्राह्मण्ड भन्दा ठूलो छ भन्थ्यौ।

मेरो देशमा अहिले मानिसभन्दा महत्त्वपूर्ण पशु भइसकेका छन् ।
मेरो देशको निधारमा अहिले
भक्तभोगिहरुको तीर चल्दैछ।
सर्वहारा रुदैछ
महगाईले आकाश छुदैछ
तरै पनि संसदघरमा मात्रै राजनीति हुदैछ।

सडकहरु बलात्कृत रगतहरु बगाउदैछन्
सिमानामा धर्मको नाममा हतियार तिखारिदैछ
सरकार भाषणदेखि भूमिसम्म पुग्न सकेको छैन।
बिद्यार्थीहरु सिलेबसले बाधिएका छन्
नेताहरु पैसाले।
तरै पनि तिमी चुप
किन कमरेड किन..

चेको रगत बोलोभियाको जंगलमा सुकेको छैन
भियतनामले अझ आफ्नो असली नाम बिर्सिएको छैन…
तर तिमी,
एउटा सडक हिड्न नसकी
थाकेर बिसायौ…।

हिजो अस्ति त हो
मेरा बाले मलाई
कमरेडहरुसित जोगिनु है भनेका..
कमरेड,
मेरा बाको दिमागमा कसले हस्तक्षेप गर्यो?
तिमी किन बोलेनौ…?

कमरेड,
अब तिमी फर्केर आयौं भने
तिमीलई, माफी हुने छैन..
किन कि तिमीलाई श्रमिकहरुका
रगतले बुनिएका रेड कार्पेटमा
आफ्नो कालो बुटले कुल्चने बानी लागिसकेको छ।

होसियार बस्नु कमरेड अब तिमी,
किन कि आजै मात्र
तिम्रो सिगाने छोराले
तिम्रो ” म कमरेड बन्नेछु” भन्ने पुस्तक
हातमा लिएको,
मैले देखेको छु।
अनि अब तिमीले तिम्रो कमरेडको जग्गामा
“चिप एन्ङ वोर्स्ट”को ट्याग लगाउनु
अनि निधारमा खरानी घसेर
बिश्वबजारमा रेट, रेटमा बिक्री हुनु…
तिम्रो छोराको हातमा त्यो
अन्तिम डोरी परिसेको छ,
जो तिमीले भर्खरै,
पश्चिमबाट पूर्वतिर पठाएका थियौं ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.