कविता : कमरेडलाई प्रश्न

~किरण दहाल~

सपनामा आउँछन् माक्र्स
र, सुनाउँछन् मलाई
द्वन्द्ववादका सिद्धान्त
सुनाउँछन् स्वप्न कथा–
कसरी स्थापना हुन्छ सर्बहाराको अधिनायकत्व ?
के–के हुन्छ त्यहाँभित्र ?
जुन कथा तपाईले सुनाउनुहुन्थ्यो
पहिले–पहिले

कमरेड !
देख्न त तपाई पनि देख्नुहुँदो हो सपनामा
टेण्डर हाल्दै गरेका माक्र्स
कालो बजारी गर्दै गरेका लेनिन
पजेरो चड्दै गरेका माओ
मनोबिश्लेषकहरु भन्छन्–
सपना बिपनाको उपज हो

कमरेडले पनि सुन्नुभएकै होला
अर्थशास्त्रीय सिद्धान्त–
‘पहिलो गाँसभन्दा
पछिल्लो गाँसहरु कम स्वादिष्ट हुन्छन्’
तर, यो सत्ताको स्वाद
झन् पछि झन्
किन स्वादिष्ट हुदै गएको ?
धरातलहरु किन महलका लिफ्टजस्तै
छिटो–छिटो परिबर्तन भएका ?

तपाईलाई याद छ कि छैन
तपाईको हाँसो–खुशिको पछाडि
निमुखाको आँशु र आाशा छ

भनिदिनुस् न कमरेड !
कतिञ्जेल बोकेर हिड्ने हामीले मात्रै
छातीमा देशको नक्सा
पाखुरीमा क्रान्ति
दिमागभरी साम्यवादी सिद्धान्त
र, पैतालामुनि जिउँदो–जाग्दो जिन्दगी ?

कमरेड !
के–के हुन्छ माक्र्सको देशमा
त्यहाँ जाडो गएपछि फाल्नुपर्ने टोपीजस्तै
सत्तामा गएपछि फाल्नु पर्ने
सिद्धान्त हुन्छ कि हुदैन ?
पैसासँग सपना साटिन्छ कि साटिदैन ?
रगत बेचेर रक्सि खाईन्छ कि खाईदैन ?
सर्बहाराको मालिक करोडपति हुन्छ कि हुदैन ?

२०७०÷०९÷२० गते

(स्रोत : कान्तिपुर – कोसेली)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.