लघुकथा : फट्याङ्ग्राको बुद्धि र बल

~कृष्ण वस्ती~Krishna Wasti_1

खरायो र सिंहको कथा पढेपछि जोसँग बुद्धि छ त्यसले जस्तोसुकै शरीरको बलियोलाई पनि ठीक लगाउँछ भन्ने ज्ञान पाएको फट्याङग्रोले आफूलाई नकै बुद्धिमान् र बलबान पनि ठान्न थाल्यो ।रूख, कदापि हिंड्न सक्दैन तर ऊ हिंड्छ।सिंहलाई मार्ने खरायो रूखमा चढ्न सक्दैन ऊ सक्छ।ऊमाथि ढुङ्गा चढ्ने हिम्मत गर्दैन तर ऊ ढुङ्गामाथि सजिलै चढ्छ आदिआदि।

ऊ एकदिन घुम्दैफिर्दै एउटा आहालको छेउको रूखमा बस्न पुग्यो।त्यहीबेला आहालमा भैंसी पसेको देख्यो उसले।अग्लो रूखमा बसेको फट्याङ्ग्रोले आफूलाई निकै अग्लो र भैसीलाई होचोपुट्को देख्यो। फट्याङ्ग्राले के ठान्यो भने आफू निकै बुद्धिमान्, बलियो र ठूलो हुनाले मानिसले चलाउने हिम्मत गर्दैन तर भैंसी(जातिवाचक नाम हुनाले राँगो भनिएन) सानो हुनाले काटेर खान्छ ।मान्छेले भैंसीलाई घुच्चुकमा हानेर मारेको मासु पकाएर,छोइला कचिला भुटन सेकुवा मोःमोः बनाएर खाएको देखेको थियो उसले। उसले मनमनै सोच्योः-

आखिर मान्छेजस्तो जमिनमा हिंड्ने सानो प्राणीले त मार्नसक्छ भने म त चाहे अनुसार जमिन र रूखमा बस्नसक्ने फट्याङ्ग्रो पो त।उसमाथि बुद्धिमान् पनि।तसर्थ भैसीलाई मारेर परिकार बनाएर खाने विचार गरेर सावधानीपूर्वक शिकारी शैलीमा भैसीको नजिकमा गयो।आफ्नो डरले तर्सिएर भैसी नभागोस् भनेर विस्तारै अघि बढेको फट्याङ्ग्रोले भएभरको शक्ति लगाएर भैसीको कन्चटमा लात बजार्यो ।

संयोगले त्यहीबेला घचक्कै आहाल बस्न पुगेको भैंसीलाई आफ्नो तागतको चोटले ढलेको ठान्यो र साथीहरुलाई बोलाउन गयो । आफूले लात हानेर भैंसीलाई पुर्लुक्कै ढालेको र त्यसलाई ल्याउन एकहूल साथी लिएर जाँदा आहालमा भैंसी थिएन।आफ्नो शिकार चोरिएकोमा पछुतो गर्दागर्दै चौरमा भैंसी चरेको देखे। भैंसी उही थियो तर तिनीहरुलाई के लाग्यो भने मरेको भैसी कसैले चोरेछ र यो अर्को भैसी हो ।

अघिको शिकारी फट्याङ्ग्रोले भने छ”साथी हो! शोकले भोक मेटिने होइन क्यारे ।एउटा शिकार चोरियो त मेरो लात चोरिएको छैन, म अर्को त्यो भैंसी ढाल्छु तिमीहरु शिकार बोक्न तयारी अवस्थामा बस।”

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *