पत्रकथा : पत्र: कमरेड दिब्यालाई

~मधु श्री~

कमरेड दिब्या
लाल सलाम !

धेरै दिन पछि तपाईँको खबर सुने । घर छोडेर हिड्नु भएको निकै भैसकेछ । हिजो मात्र शशी जी सँग भेट भएको थियो । उहाँ मार्फत नै थाहा पाएँ कि तपाई सकुसल हुनुहुन्छ । राम्रो गर्दै पनि हुनुहुन्छ । त्यसैले शशी जी कै हातमा यो पत्र पठाउँदैछु । आशा छ पत्र लेख्नु हुने छ । दिब्या जी ! अहिले तपाईले घर छोड्नु भएको खबरले बस्ती नै तताएको छ । धेरैले धेरै थरीका टिप्पणीहरु गरेका छन् । घटनाको बिष्लेषण गर्दा राम्रो र नराम्रो पक्ष उत्तिकै आउँनु स्वभाविक हो । फेरी पनि मैँले त एकोहोरो कुरा सुनिरहेको छु । तपाईँको कुरा सुन्न पाएको छैन । यथार्थता बुझ्न पाएको छैन । केही घटनाहरु बुझेको छु जस्ले तपाईँलाई घर छोड्न बाध्य बनायो । पक्कै पनि घर छोड्नु पछि केही लक्ष्य, केही उद्देश्य, केही योजना लुकेको हुन्छ । मैँले तपाईँलाई धेरै बुझिसकेको त छैन । फेरी पनि सामान्यतया क्रान्तिको पाटोमा हिडिरहेको योद्धाले बिना मतलब कुनै काम गर्दैनन् ।

हो हाम्रो लागि घर-परिवार भन्दा पनि प्यारो वर्ग संघर्ष छ । किनकि हाम्रो रगतको कण-कणमा पुरानो ब्यबस्था प्रतिको घृणा विषादी तत्व जस्तै फैलिएको छ । हामी एउटा स्वच्छ वाताबरण चाहन्छौँ बाँच्नको लागि । जुन विभिन्न अवसरबादी, नियान्त्रण वादी संस्कारले धमिल्याएको छ । हामी भौतिक कुरामा बिस्वास गर्छौ । सत्य वाटोमा हिड्न चाहन्छौँ । नाम मात्रको परिवर्तन जति भएपनि हामीले दासत्वको सिकार हुनु परेकै छ । सदियौँ देखिको यो प्रथा हामी महिलाहरुको लागि उस्तै छ । आफ्नो अस्तित्वलाई, न्याय पूर्ण बाँच्न पाउँने अधिकारलाई, अरुको हातमा सुम्पिएर एउटा खेलौँना जस्तै जीवन बाँच्नु पर्दा निस्चित पनि असैह्य हुन्छ । विभिन्न बनावटी संस्कारहरुले महिलाहरुलाई अन्धकारमा राखेको छ । त्यही अन्धकार हटाएर सत्यताको दियालो बाल्नु हाम्रो कर्तब्य हो । हाम्रो यात्राको सार्थकता पनि हो ।

हामीले घर भित्र दाउरा सल्काएर चुलोमा बाल्ने आगो प्रत्येक महिलाको हृदयमा बाल्नु जरुरी छ । यो काम निकै जटिल छ । किनकी बनावटी र अबसरबादी कु-संस्कारहरुले महिलाहरुमा यति गहिरो प्रभाव परेको छ कि बरु ज्यान दिन सक्छन् तर सत्य बुझ्न चाहँदैनन् । हामीलाई नै दुश्मन सम्झिनेछन् । हाम्रै पछि लाग्नेछन् हामीलाई हराउँन । एउटा पुतली जस्तै सजिसजाउँ हुनु, आफ्ना सम्पूर्ण रहर इच्छाहरुलाई मारेर अरुको खुशीको लागि सधैँ नाचिरहनु, यसैमा आफ्नो खुशी खोज्नु , न पाएर आत्महत्या गर्नु । यी दृश्यहरुले यसरी मन पोल्छ कि ! यस्तो लाग्छ मनभित्रको आगोले संसार जलाउँने छ । त्यसैको उपज हो तपाईँले घर छोड्नु पनि । तपाईँ भित्रको स्वभिमानले तपाईँलाई बन्दी बनाएर राख्न दिएन । तपाईँ बिष्फोटन हुनु भयो र घर छोड्नु भयो । यो राम्रो सुरुवात हो । नयाँ कुराको सुरुवात नमिठो जरुर लाग्छ । तर समाधानको लागि समस्या खडा हुनु पर्छ । तपाईँले घर छोडेर समस्या जन्माउँनु भएको छ । अब समाधानको लागि कसरत सबैले गर्नै पर्छ । सचेत सबै हुनै पर्छ । तत्कालिन अबस्थामा तपाईँलाई नराम्रो देखेपनि बिस्तारै बुझ्दै जानेछन् । तपाईँको पछि एउटा जनमत, सकारात्मक मानसिकता,परिवर्तन चाहने कित्ता बिस्तारै उभिने छ । किनकि मान्छेको मनले सधैँ परिवर्तन नै चाहेको हुन्छ बाध्यात्मक अबस्थामा संझौता गर्नु परेपनि । उसले बाहिर निस्कने सानो गोरेटो खोजिरहेको हुन्छ । जुन गोरेटो तपाईँले निर्मान गर्नु भएको छ । यो सुरुवातको लागि मेरो हृदय देखिनै सलाम ।

दिब्या जी तपाईँले आफ्नो दृष्टिको आफू भुमिगत हुनुको कारण समाजलाई दिनु पर्छ । यतिबेला प्रश्न उठेको छ परिवर्तन ल्याउँन घर छोड्नै पर्छ र ? एउटा घर भाँडिनु राम्रो हो र ? यो स्वभाविक प्रश्न हो । तपाईँले चित्त बुझ्दो जवाफ दिनै पर्छ । फेरी सबैको लागि चित्त बुझ्ने त हुँदैन । बिरोधि नै भएन भने परिवर्तन झन खतरामा पर्ने छ । द्वन्द हुनु पर्छ परिवर्तनको लागि । पक्ष-बिपक्ष हुनु पर्छ । तर संयम रहनु होला । हाम्रो सामाजिक क्रान्ति छिट्टै सफल हुने छैन । धेरै यात्रा गर्नु पर्छ । सानो-सानो समस्यासँग जुध्नु पर्छ । अनेकौँ अप्ठ्याराहरु पार गर्नु पर्छ । हो हाम्रो यो यात्रा फुटेको सिसामा खाली खुट्टा टेके जस्तै पिडादायी हुनेछ । तर निस्चित छ हामी लक्षमा पुग्ने छौँ । न्यायपूर्ण समाज निर्माण गर्नेछौँ । स्वाभिमान र समानरुपमा सामाजिक प्राणी भएर वाँच्ने वाताबरण बनाउँनेछौँ । हामी हाम्रो वाँच्ने अधिकार, वाँच्ने स्वच्छ वाताबरण आफैँ निर्माण गर्नेछौँ । यो हाम्रो प्रतिबद्धता हो । यसैको लागि हामी ज्यानको बाजी लगाएर अघि बढेका छौँ र बढिरहनेछौँ ।

सहयात्री
किरण
०३ भाद्र २०६७

(स्रोत : काव्यसुधा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *