कविता : एक साँझ बसन्तपुरमा

~किरण दहाल~

अस्ताएको सूर्यसँगै
उदाउँदै छन्, नयाँ प्रेमिल जोडीहरु
मध्यस्तकर्ता बनेका छन्
–पानीपुरी
–चट्पटे
–आईसक्रिमहरु
अँध्यारोलाई पन्छाएर
बलिरहेछन् ल्याम्पपोष्टहरु
ठिङ्ग छन् मन्दिरहरु
हिमालका चचुराजस्तै

‘भोको बसेर धर्म हुन्न,
भारी बोकेर धनी भईन्न’
भन्दाभन्दै पनि
भारी बोकेरै पौने जिन्दगी काटेको
एक बृद्ध भरिया
फुस्फुसाउँछ सडक पेटीमा
सस्तोखाले बिंडीको धुवासँगै
मानौ, ऊ पढ्दैछ–
शहरका नामी बिश्लेषकको
बुझ्नैपर्ने, तर नबुझिने बिचार

एक युवती–
मोबाईलमा औँलाहरु दौडाउँछे
हिसाबकिताब गर्छे–लभ पर्सेन्टेज
एक युवक–
दन्त्य कथामा
अजिङ्गरले मान्छे तानेझैँ
तान्छ, चुरोटको लामो सर्को
बा’का अर्तीहरु बिर्सेर
एक हुल तालु खुइलेहरु–
चरित्र चित्रण गर्छन्
नयाँ प्रधानमन्त्रीको

हजारौँ पाईलाहरु
सरिरहेछन् निरन्तर
मानौ, कसैले खेलिरहेछ ‘पजल गेम’
छिटोछिटो

थरिथरिका आवाजहरु छन्
थरिथरिका अनुहारहरु छन्
न आवाज बुझिन्छ
न अनुहार चिनिन्छ
मानौ, राम्ररी च्यानल नटिपेको
कुनै एन्टिनावाला
‘ब्ल्याक एण्ड ह्वाईट’ टिभि हेरिरहेछु म
साँझपख बसन्तपुरमा

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.