अनूदित कविता : पीडाको वन्दना (दुई)

~नाजिक अल मलाइका~
अनुवाद : सुमन पोखरेल

किन आउँछ हामी भए ठाउँ यो पीडा?
कहाँबाट आइपुग्छ यो?
वर्षौँदेखि
लडिबुडि खेल्दै हाम्रा सपनाहरूमा
सिँगारिरहेछ यसले हाम्रा गीतहरूलाई।
तिर्खाएका मुख रहेछौँ हामी
र यिनै पीडालाई पिएर प्यास मेट्ने गर्दा रहेछौँ ।

कसै गरी तलाउसम्म पुर्‍यायौँ घिसारेर त्यसलाई हामीले
कुनै सुस्केरा नलिई, आँसुको एक थोपोसमेत नचुहाई
टुक्र्‍यायौँ त्यसलाई
र छरिदियौँ तरङ्गहरूमा,
मिसाउँदैन त्यसले अबदेखि हाम्रो खुसीमा दु:ख
बरू हाम्रा गीतका पछाडि लुकाइदिनेछ सुस्केराहरूलाई भन्ने ठानेर।

त्यसपछि आइपुग्यो
आफन्तहरूले क्षितिजपारबाट हाम्रा लागि भनेर पठाएका
सुन्दर सुगन्धित गुलाफको फूल।
त्यसबाट आशा थियो हामीलाई
खुसियाली र हर्षपूर्ण सन्तुष्टी देला भन्ने,
तर त्यसले त झनै विक्षिप्त गरायो
र आँसुसँगै बग्न थाल्यो पीडा
पीरहरूले कुँदिएका हाम्रा औँलाहरूमा।

– नाजिक अल मलाइका (२३ अगस्ट १९२३ – २० जुन २००७ / इराक)

Nazik Al-Malaika translated by Suman Pokhrel from Husain Haddawy’s English translation from original Arabic.

(स्रोत : Goodreads)

This entry was posted in अनूदित कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *