कविता : सपना सिवाय

~अमर गिरी ~amar-giri

सायद
म मात्र एक विम्ब हुँ
जसलाई कविहरू प्रेमले उन्छन्
आफ्ना कविताका हरफहरूमा
कविता उड्दै–उड्दै आइपुग्छ मसम्म
कुनै दूर देशको पन्छीझैँ
म सुमसुम्याउँछु उसलाई
आत्मीय भावले
पढ्छु उसका आँखाहरू
छाम्छु धड्किरहेको ह्दय
र राखेर सुत्छु सिरानीमा ।

सायद
म मात्र एक आश्वासन हुँ
जसलाई बुन्छन् सत्ताका नियन्ताहरू
अनेकौँ घोडाहरूमा सवार भएर
दन्त्यकथाका राजकुमारझैँ
ती आइपुग्छन् मसम्म ।

अनेकन् आभूषणले सजिएका राजकुमारहरू
ओर्लेर
आफ्ना वायुपङ्खी घोडाहरूबाट
अँगालो मार्छन् मलाई
जादुगरी आलिङ्गनमा
काट्न कोसिस गर्छु म
दुःखले भरिएका दिन र रातहरू ।

यसै गरी बितेका छन्
कैयौँ युग मेरा
तैपनि
मैले सपना देख्न छाडेको छैन
हतभागी गाउँ हुँ म यस देशको
यति बेला मसँग
सपनासिबाय अरू केही छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *