बाल कथा : बोल्ने गुफा

~उमाशङ्कर द्विवेदी~

कुनै वनमा खरनखर नामक एउटा सिंह बस्दथ्यो । एकदिन भोकले आकुल–व्याकुल भएर शिकार गर्नको लागि जानवरहरूलाई खोज्न यताउति भौतारिंदा पनि साँझसम्म कुनै जानवर फेला पार्न सकेन । सूर्यास्त भइसकेपछि उसले कुनै जानवर बस्ने एउटा रित्तो गुफा देख्यो । यस गुफाभित्र लुकेर बस्दा यसमा बस्ने जानवर रात परेपछि वास बस्न निश्चय नै आउला र त्यो जानवर आएर गुफाभित्र छिरेपछि त्यसलाई मारेर खाई भोक मेट्नुपर्ला भन्ने दाउमा सिंह त्यस गुफाभित्र छिरी शिकार ढुकेर बस्यो ।

रात परेपछि त्यस गुफाभित्र बस्ने दधिपुच्छ नाम गरेको एउटा स्याल आयो । गुफाको ढोकामा गएर हेर्दा त्यहाँ सिंहको पदचिन्ह देखापर्‍यो । गएको पद्चिन्ह त देखिन्थ्यो तर फर्केको पद चिन्ह देखा परेन । यो देखेर सिंह भित्रै छ भन्ने कुराको लख काटी स्याल निकै आत्तियो । स्याल मनमनै सोच्न थाल्यो–“हरे ! आज त ठहरै पर्नेवाला थिएँ । सिंह भित्रै छ कि गइसक्यो केही ठेगान छैन । अब म के गरूँ ?” यति सोचेर ऊ गुफाको ढोकामा गई अचानक हे गुफा ! हे गुफा !! भनेर दुईचोटि कराएर चुप लाग्यो । भित्रबाट कुनै किसिमको प्रत्युत्तर नआएपछि फेरि कराएर गुफासित सोध्यो–“अरे गुफा ! हामीबीचमा भएको शर्त तिमीले बिस्र्यौ कि क्या हो ? शर्तबमोजिम म बाहिरबाट आएपछि तिमीलाई बोलाउने तथा प्रत्युत्तरमा तिमीले पनि मलाई बोलाउने भन्ने कुरा भएको थियो । शर्तबमोजिम मैले तिमीलाई बोलाएँ तर तिमीले मलाई बोलाएनौं । अत: म आज राति अन्य कुनै गुफामा गई वास बस्नेछु ।”

गुफाभित्र लुकेर बसिरहेको सिंहले स्यालको कुरा सुनेर मनमनै सोच्यो–ओहो ! यो गुफा स्याल आएर बोलाउँदा उसलाई पनि बोलाउने गर्दथ्यो तर आज म यहाँ बसिरहेको हुनाले मेरो डरले भयभीत भएर उसलाई बोलाइरहेको छैन । अत: यस्तो स्थितिमा यदि त्यस स्याललाई प्रत्युत्तर दिइएन भने ऊ साँच्चिकै अन्य गुफामा गई बस्नेछ र म भोकै बस्नुपर्नेछ । फेरि मैले आफ्नो स्वरमा कराएँ भने ऊ आवाज चिनेर भयभीत भई भाग्नेछ । त्यसैले मैले छद्म आवाजमा त्यस स्याललाई प्रत्युत्तर अवश्य नै दिनुपर्दछ ।” यति कुरा विचार गरेर सिंहले सकेसम्म आफ्नो स्वर बिगारी स्याललाई बोलाउन थाल्यो । सिंहले जस्तोसुकै स्वर बिगारेर कराउँदा पनि स्यालले सिंह भित्रै बसिरहेको कुरा थाहा पायो । सिंहको आवाज सुनेर वनका अन्य प्राणीहरू पनि भयले त्रसित भए तथा स्याल निम्नानुसारको श्लोक भन्दै त्यहाँबाट कुलेलम ठोक्यो– अनागतं य: कुरूते स शोभते, स शोच्यते यो न करोत्यनागतम् । वनेऽत्र संस्थस्य समागत जरा, बिलस्य वाणी न कदापि मे श्रुता ।। अर्थात् जुन मानिसले पहिलेदेखि नै विचार गरेर कामको आरम्भ गर्दछ, त्यो सकुशल रहन्छ तथा जसले विचार नगरेर कार्यारम्भ गर्दछ, पछि त्यसले पछुताउनुपर्दछ । यसै वनमा जन्मी, हुर्की म बूढो भइसकें तर आजसम्म कुनै गुफाले बोलेको मैले कहिले पनि सुनेको छैन । यस प्रकार बुद्धि चातुर्यले स्यालको ज्यान जोगियो ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *