पुस्तक अंश : ग्रेटफल्स

~कृष्ण धराबासी~

यसै बीचमा काठमाडौंबाट यादवले फोन गरेर भने – ‘ न्यूयोर्कभन्दा माथि एउटा बर्ड कलेज छ रे । त्यहाँ मेरी एक परिचित बहिनी छन् अनुस्का श्रेष्ठ । उनीहरु त्यो कलेजमा फिल्म हेर्न मन गरिरहेका छन् । आउने जाने खर्चको व्यवस्था कलेजले गर्छ रे । केही पैसा पनि दिन्छ होला । उनीहरुले सम्पर्क गरे भने दाइले पुगिदिनु पर्छ होला ।’एयरपोर्टमै साथीहरु लिन पुगेका थिए । त्यहाँबाट सिधै मलाई यामजीको कोठामा पुर्‍याइएको थियो । पूर्व सल्लाह अनुसार आर्लिङ्गटन लाइब्रेरीमा अमेरिकामै पहिलो प्रदर्शनीको उद्घाटनको तयारी भइसकेको थियो । आर्लिङ्गटन पछि फेयरफ्याक्समा अर्को प्रर्दशनीको तयारी हुँदैथियो, पर्शुराम भण्डारी, प्रदिप ढकाल र कृष्ण भण्डारीहरुकेा सक्रियतामा । मभने कहिले आर्लिङ्गटन, कहिले हरन्डनको पाहुना भइरहेको थिएँ ।

मेरो लागि अमेरिकाको प्रत्येक ठाउँ नयाँ थियो । पोहोर साल अमेरिका आउँदा सिधै अलाबामा गइयो । त्यही पाँच महिनाजति बसेर नेपालफर्केँ । त्यसपछि यो मेरो दोश्रो यात्रा थियो र यसपालि भर्जिनिया उत्रेको थिएँ । यहाँ त मलाई भाइहरुले सँगसँगै घुमाउदै थिए तर, त्यो नदेखेको ठाउँमा म एक्लै कसरी पुग्छु होला ? हुन पनि आजसम्म मैले लामो यात्रा एक्लै त्यति गरेकै छैन । कोही न कोही साथीको व्यवस्था गर्थेँ नै । सायद लामो एक्लो यात्रा यसैपालिको थियो नेपालबाट आउँदाको । तर अब अमेरिका आइसकेपछि यात्रा गर्न डराउनु वा यात्रामा साथी खोज्नु दुबै मूर्ख कुरा हुन् जस्तो लाग्यो । यहाँ कसैलाई पनि आफ्नो काम बाहेक अरुसँग डुल्ने फुर्सद हुन्न । त्यसरी सम्भव पनि छैन । समय र खर्च दुबै अत्यन्त महँगा छन् यहाँ । त्यसैले सोचेँ – ‘जे होला, बोलाए भने जानु पर्ला ।’ अनि यादवलाई भनेँ – ‘हुन्छ भाइ । सबै कुराको व्यवस्था गरे भने म पुग्ने कोशिश गरुँला ।’

सायद यादवले अनुस्कालाई मेरो कुरा भनेछन् होला । त्यसको दुई दिन पछि उनको फोन आयो । सानी बच्चीको जस्तो आवाज थियो । उनले यादवसँग भएको कुरा गर्दै फिल्मको लागि मलाई अनुरोध गरिन् । मैले भनेँ -‘सबैकुरा यादवसँग भएकै होला । सबै व्यवस्था मिलाउनु हुन्छ भने म आउँछु ।’

त्यसपछि निकैपल्ट फोन र इमेलमा कुराहरु भए । अनि म उनीहरुको समय अनुसार विहान ६ बजेको प्लेनमा डीसीबाट न्यूयोर्कतिर उडेँ । पौने दुइघण्टा जतिमा प्लेनन न्यूयोर्क उत्रियो । अरु एयसपोर्टमा त सुरुङ्ग जस्तोबाट प्लेनमा पस्ने र निस्किने व्यवस्था थियो । यहाँ त हाम्रै देशको जस्तो सिंढीबाट चढ्नु ओर्लिनु पर्ने रहेछ ।

जहाँजहाँ बोलाए पनि एयरपोर्टमा लिन आउँदा यात्रुलाई सजिलो हुने । मैले पनि एयरपोर्टमा लिन आउलान कि भनेर सोधेको थिएँ तर उताबाट अनुस्काले भनेकी थिइन्, – न्यूयोर्कसम्म प्लेनमा आउनु होला टिकट पठाइदिन्छौँ । त्यहाँबाट ट्याक्सीमा मेट्रो स्टेशनसम्म जानु होला । अनि मेट्रोबाट रिनेफिलसम्म ट्रेनमा आउनुहोला । त्यहाँसम्म आउन डेढ घण्टा लाग्छ । रेलबाट उत्रेपछि त्यहाँ ट्याक्सी पर्खिरहेको हुन्छ । त्यसले तपाइलाई कलेजसम्म ल्याइदिन्छ । उनको यो कुरा मलाई निकै झञ्झटिलो र अप्ठेरो लागेको थियो । एक मनले त आ …….. नजाँऊ जस्तो पनि भएको थियो तर पछि सोचेँ – ‘यात्रा नगरी त कहाँ हुन्छ र । पछिपछि पनि त कहाँकहाँ पुग्नु पर्ने हुन्छ । जानु पर्छ । अनुभव त हुन्छ ।’ र म हिंडेको थिएँ ।

दिइएको निर्देशन अनुसार नै बाहिर निस्केँ । ढोकामै ट्याक्सीहरु लस्करै थिए । पालोमा बसिरहेको सबैभन्दा अघिल्लो ट्याक्सीमा बसेँ । ट्याक्सी भन्नु मात्रै, त्यो त ठूलो जीप थियो । हुन पनि चारपाँच जना मानिस र सरसामान नै अट्ने त हुनै पर्ने हो । मेरो त एउटा सानो झोला र सानो शरीर थियो । त्यसै हराउने । एयरपोर्टबाट मेट्रो स्टेशनसम्म पुग्न झण्डै आधाघण्टा समय लाग्ने रहेछ । बाटोमा चालकसँग कुरा गर्दै गएँ । ऊ रमाइलो थियो । कुरा सुन्दा निकै ज्ञानी जस्तो पनि लाग्यो । ऊ नेपाल नगएको भए पनि नेपालको बारेमा अलिअलि सुनेको रहेछ । त्यसले सगरमाथाको बारेमा र लुम्विनीको बारेमा एकछिन् कुरा गर्‍यो । यसको कुराले मलाई पनि रमाइलो लाग्यो । यति टाढाको एउटा ट्याक्सी ड्राइभरले पनि हाम्रो देशको बारेमा केहि कुरा गरिरहेको थियो । पुग्ने बेलामा मैले उसलाई भने – ‘ म त एकदम नै नयाँ मान्छे हो । यहाँको सामान्य कुरा पनि थाहा छैन । रिनेफिल जानु छ । कसरी मेट्रो चढ्ने हो । तिमी मलाई भित्रसम्म पुर्‍याइदिन्छौ ?’ उसले भन्यो -‘म भित्रसम्म जान त सक्दिन तर तिमीलाई ठिक ठाउँमा पुग्ने बाटो देखाउन सक्छु ।

साठी रुपैँया तिरेर ट्याक्सीबाट उत्रेँ । उसले मलाई ट्याक्सीबाटै औँलाले देखाउँदै भन्यो-‘त्यहाँबाट तल जानु । एम ट्र्याकमा गएर टिकेट काट्नु । बाँकी त्यही थाहा हुन्छ । ‘ उसले भने झैँ बिजुलीको बगुवा सिंढीमा उभिँदै तल पुगेँ । तल त एउटा ठूलो सहर नै थियो । हजारौं मानिसहरु यता र उता कुदिरहेका थिए । मुसाको दुलो जस्तो चाल्ने ढोकाहरु जाताततै । कता छिर्ने कता । केही मानिसहरुलाई सोधिहेरेँ । कसैले पनि ठीक बताउन सकेनन् । झल्यास्स सम्झेँ यो त्यही स्टेशन हो जहाँ केही बर्ष अघि सन्जीब र अर्चना पनि हराएका थिए । यो सम्झे पछि त झन् एकपल्ट जीउ थरथराए जस्तो लाग्यो । पहिलो त मैले टिकट काट्ने ठाउँ नै पत्ता लगाउन सकिने । तीन चार फन्को घुमिसके पछि एउटी महिलाले मलाइ डोहोर्‍याउँदै एम ट्र्याकमा पुर्‍याइ दिइन् । तिनी मेरो धन्यवाद समेत राम्ररी नपर्खी हिंडिहालिन् । एकछिन लस्करमा उभिए पछि मेरो पालो आयो । म सरासर काउण्टरमा पुगेँ । भित्रको मान्छेले अनुहार बिगार्दै ‘किन छिटोछिटो आएको पछाडि सर्’ भन्यो । म एकछिन अलमल्ल भएँ । त्यसले फेरि अलिक ठूलो स्वरमा ‘गो ब्याकअप’ भन्यो । म पछि सरेर उभिएँ । एकछिन उभिए पछि फेरि बोलायो । मैले कुरो नबुझेर सोधेँ । उसले भन्यो -‘काउण्टरमा यसरी सरासर आउनु हुँदैन । अलिक पर एकछिन पर्खिएर सोधेर मात्र आउनु पर्छ ।’ मैले नजानेको कुरा थियो त्यो । पछि मैले बुझेँ – काउण्टरमा गोली हानेर लुट्ने चलन छ अमेरिकामा । त्यसैले त्यो मानिसलाई काउण्टरको मान्छेले राम्ररी देख्ने मौका पाउनु पर्ने रहेछ सम्भवत्ः ।

मैले आफ्नो परिचय पत्र दिएर रिनेफिलको टिकट मागे पछि त्यसले एकछिन कम्प्युटरमा हेरेर मलाई सोध्यो -”तिमीले टिकट रिजर्ब गरेको छ ?” मैले गरेकै थिएन । छैन भनेँ । अनि उसले बाउन्न डलर लिएर एउटा टिकट दियो र अलिक परको ट्याकबोर्डमा गएर आफ्नो रेलको समय र ट्रयाक खोजेर जानु भन्यो । उसले भनेको ट्रयाकबोर्डको छेउमा उभिएर ट्रयाक हेरेँ । म चढ्ने रेलको ट्रयाकमा फेल लेखेको थियो । छेउछाउकालाई सोधेको, उनीहरुले पनि थाहा छैन भने । विहानको १०:२० मा ट्रेन हिंडिसक्नु पर्नेछ । दश बजिसक्यो ट्रयाक फेल देखाउँछ । अलिक पर एउटा पुलिस बुथ देखेँ । २/३ जना पुलिस थिए । एउटाले एउटा ठूलो कुकुर पनि डोहोर्‍याइरहेको थियो । बिस्तारै तिनीहरुको छेउमा गएर आफ्नो टिकट देखाएर भनेँ- ‘मेरो ट्रेनको ट्रयाक फेल भन्छ । कता जाने हो, थाहा पाउन सकिएन । त्यो प्रहरीले पनि हामीलाई पनि थाहा हुँदैन, त्यहिँ गएर पर्खिनु’ भन्यो । कतैबाट सहि सूचना नपाएर म मनमनै अलिक आत्तिन पनि लागेको थिएँ । तैपनि त्यही ट्रयाकबोर्डको तल गएर उभिएँ । दश मिनेट जति त्यहाँ उभिएपछि परबाट त्यहि पुलिस मलाई खोज्दै आएछ । इसाराले बोलाएर लग्यो र मानिसहरुको लस्करमा उभ्याएर भन्यो -‘तिमी यहीँ बस । तिम्रो रेलतिर जाने बाटो यहि हो ।’ त्यसले फेरि एकपल्ट मेरो टिकट हेरेर विश्वास गराउँदै भन्यो ।

त्यस प्रहरी प्रति म आभारी भएँ । त्यत्रो भीडमा पनि त्यसले मेरो गन्तव्य बारे ठम्याइरहेको रहेछ । खोजेर ल्याएर पनि मलाई रेलमा चढायो । कति सहयोगी र असल यहाँका कर्मचारीहरु पनि । मैले आफ्नो देशलाई सम्झेँ । मेरो देशका प्रहरी पनि यस्तै सहयोगी हुन सके कति राम्रो हुन्थ्यो होला । उसले एकपल्ट मलाई थाहा हुन्न भनेकै थियो । पछि रेलको ट्रयाक फेल भएको जानकारी तिनीहरुलाई भएछ होला । सायद माइकमा पनि भनियो होला । मैले माइक सुनिन पनि कि । मलाई एकोहोरे ट्रयाकबोर्डमा हेरेको देखेर ऊ आएथ्यो होला । जे होस् उसले व्यक्ति मलाई भन्दा पनि आफ्नो जागीरको इज्जत गरेको थियो ।

लस्करको पछिपछि त्यहाँबाट पनि अझै एक तला मुनि गइयो । त्यहाँ रेल उभिएको थियो । पसेर एउटा सिटमा बसेँ । मानिस त्यति धेरै थिएनन् । मेरो छेउको सिट खाली थियो । कोहि आएर बसिदिए पनि त्योसंग कुरा गर्दै जानुहुन्थ्यो । म कहाँ उत्रने हो भन्ने पनि थाहा हुने थियो -सोच्दै थिएँ । नभन्दै एउटा मोटोमोटो र अग्लो मानिस छेऊमा आएर मेरो अनुमति लिएर बस्यो । सामान्य औपचारिकता पूरा भयो । ऊसंग मैले लामो कुरा के नै गर्नु थियो र । ‘तपाइँको पहाड कहाँ हो ? के थरी हो ? मावली के थरी ? ससुराली के थरी ? कति पढेको ? जागीर के मा ? केटाकेटी कति जना ?’ यी केही सोध्ने कुरा आएन । भनेँ – ‘मलाई रिनेफिल जानु छ । थाहा छैन कहाँ ओर्लिनु पर्छ ? तपाईँ मेरो मद्धत गर्न सक्नु हुन्छ ?’ उसले खुशी हुँदै भन्यो -‘ओ स्योर । म पनि त्यही उत्रिने हो । यहाँबाट अब डेढ घण्टासम्म आनन्दले बस । म संगै उत्रे हुन्छ ।’

उसले कति सरल र मिठो भाषामा भन्यो । खुशी लाग्यो । धन्यवाद भनेँ । ऊ आफ्नो ल्यापटप खोलेर काम गर्न थाल्यो । सायद ऊ त्यहीबाट अफिसको काम गरिरहेको थियो । रेल भित्र अधिकँाश मानिसहरु आ-आफ्ना ल्यापटपमा व्यस्त थिए । मसंग पनि ल्यापटप थियो । निकालेर काम गरेको भए त मैले पनि हुने तर किनकिन झ्यालबाट बाहिर हेर्नै आनन्द लागिरहेको थियो ।

बाहिर झ्यालतिर हेर्दाहेर्दै अघि कतिबेला निदाएछु । एकाएक त्यो भलो मान्छेले कोट्याएर उठायो । ‘अब उत्रने ठाउँ आयो’ भन्दा पो झस्किएर ब्यूझेँ । बिस्तारै रेल रोकियो एउटा गाउँ जस्तोमा । हड्सन नदीको किनारामा थियो यो ठाउँ । रेलबाट उत्रन तल जमीनमा प्लास्टिकका टुल राखिएको थियो, जसमा टेकेर बिस्तारै उत्रनु पथ्र्यो । रेलकै कर्मचारीले सहारा दिएर ओराल्दा रहेछन् ।

म बिस्तारै काठको अग्लो सिंढी चढ्दै माथि उक्लेँ । रेलबाट ओर्लिएपछि अब के होला । कोही आएका छन् छैनन्? केही गरि फोन लागेन भने के होला भन्ने सोच्दै माथि निस्केँ । गेटैमा एउटा अग्लो र मोटो मानिसले मलाई देख्दासाथ -‘ आर यु कृष्ण ?’ भनेर सोध्यो । मैले -‘यस्’ भने पछि स्वागत गर्दै लगेर ट्याक्सीमा राख्यो । मलाई अचच्म लागेको थियो -यसले मलाई कसरी चिन्यो होला ? पछि मैले उसलाई सोधेँ । भन्यो -‘मैले तिम्रो टोपी हेरेर बोलाएको । यस्तो यता कसैले पनि लगाउँदैनन् । एकदम नै नयाँ देखेर सोधेँ ।’

हुन पनि मैले शिरमा टोपी, गलामा मफ्लर, जीउमा बाक्लो ज्याकेट, एकपाखे नेपाली झोला जसमा बाहिरपटि्ट नेपाली झण्डाको बुट्टा थियो । म होचो मान्छे, झन् होचो देखिएको थिएँ होला । जसले देखे पनि त्यो भीडमा अलग्गै देखिन्थे कि । ट्याक्सीवाला संग कुरा गर्दै जाने मन त थियो तर उसको उच्चारण एकदम नै नबुझिने जस्तो । सायद त्यो पनि नअङ्ग्रेजी अरु नै भाषी थियो होला ।

साँझ पर्नु अघि नै कलेजमा पुगियो । विद्यार्थीहरु मलाई पर्खिएर बसिरहेका थिए । म पुगेपछि परिचय भयो । भोकै थिएँ, उनीहरुले भारतीय खानेकुरा मगाएका रहेछन् । खाने काम सकियो । नेपाली भन्दा विदेशी विद्यार्थिहरुकै संख्या थियो त्यहाँ । एउटा कक्षा कोठामा प्रोजेक्टरको माध्यमबाट फिल्म प्रदर्शन भयो । फिल्म सकिएपछि विद्यार्थीहरुसंग प्रश्नोत्तर कार्यक्रम भयो । दक्षिण एशियामा महिलाको स्थिति बारे परिचर्चाहरु भए । सतिप्रथाको बारेमा विद्यार्थीहरुमा बढी जिज्ञासा थियो । उनीहरु मध्ये केहीले यसै विषयमा लेख्ने विचार पनि सुनाए ।

कार्यक्रम सकिएपछि केहीबेर अनुस्का, इभा श्रेष्ठ, प्रनेश पाण्डे र सुधाकर बरालसंग कलेजको परिसरको भ्रमण गरियो । एकदम नै शान्त र एकान्त ठाउँमा थियो यो कलेज । सहरबाट निकै टाढा, जंगल र नदीको किनारामा थियो । पढ्नको लागि खुबै राम्रो वातावरण छ भन्थे उनीहरु । पुग्नु अघि कहाँ हो कहाँ जस्तो लागे पनि पुगिसके पछि भने मलाई रमाइलो भएको थियो । नेपाली विद्याथर्ीेहरु पनि कति मेहनती र भलाद्मी जस्तो लाग्यो । उहाँ देखि मलाई झिकाएर यिनीहरुले फिल्म हेरेका थिए र त्यसको सम्पूर्ण खर्च कलेजले व्यहोरेको थियो । यहाँका कलेजहरुले विभिन्न सँस्कृतिका विद्यार्थिहरुका साँस्कृतिक गतिविधिका लागि हरेक वर्षबजेट छुट्याएको हुँदोरहेछ । त्यही बजेट भित्रबाट यसपालि उनीहरुले यो ‘झोला’ फिल्म हेरेका रहेछन् ।

कलेजमा विद्यार्थी बाहेक अरुको लागि बस्ने व्यवस्था नभएकोले कलेजभन्दा निकै टाढा उनीहरुले मेरो लागि होटलको बन्दोबस्त गरेका रहेछन् । अघि लिएर आउने ट्याक्सीले नै आठ बजेतिर मलाई होटलमा पुर्‍यायो र फेरि भोलि बिहान सात पन्ध्र बजे आइपुग्ने गरि विदा भयो । विद्यार्थीहरुले उनीहरुको अवस्था अनुसार स्वागत तथा विदाइ गरेका थिए । म खुशी नै थिएँ । अब र्फकन त मलाई कुनै समस्या थिएन । तर हिजो मेरो अज्ञानताले गर्दा ५२ डलर घाटामा परेछु । त्यो काउण्टरवालाले कम्प्युटरमा हेरेर मलाई सोधेको त थियो -‘टिकट रिजर्व गरेको छ ?’ भनरे । मैले नै छैन भने ।

रेलमा टिकट काटेदेखि भरेसम्म अलमलिएको कुरा गर्दा अनुष्काले भनिन्-‘किन काटेको त ? तपाईको रेलको टिकट त हामीले इमेलमा पठाइदिएका थियौँ ।’ कुरा नबुझेर नोक्सानमा परेछु म । प्लेनको टिकटसंग रेलको टिकट पनि रहेछ तर हामीले प्लेनको टिकट मात्र पि्रन्ट गरेछौँ । फर्किने बेलामा इभाले रेलको टिकट पि्रन्ट गरेर दिइन् र अब जाँदा पैसा तिर्नु पर्दैन भनिन् ।

विहान साँच्चै ठ्याक्कै सात पन्ध्रमा ट्याक्सी आइपुग्यो । त्यसलाई देखेर म अचम्मित भएँ – कस्तो समयको मूल्य गर्न सकेको । तिनले मलाई पैंतालिस मिनट जति कुदाएर हिजो चढेकै ठाउँमा ल्याएर छोडी दिए । हात मिलाए र बिदा भए । तिनी विदा भएर हिँडेपछि म त्यहाँ एक्लै भएँ । रेल पनि थिएन र रेलमा चढ्ने मानिस पनि थिएनन् । टिकटमा लेखेको समय अनुसार रेल आउन अझै पैँतालिस मिनट जति बाँकी थियो । यो समय अब के गरि बिताउनु जस्तो लाग्दै हिजो चढेको काठको सिँढी ओर्लिएर तल पुगेँ ।

हड्सन नदीको किनारमा उभिएर पारी आँखाले भ्याएसम्म हेरेँ । नदीमा ठूलाठूला जहाजहरु तैरिरहेका थिए । निकै पर नदीपारी सामान बोक्ने लामो रेल कुदिरहेको थियो । चिसो हावाको झोक्काले उभिएकै ठाउँमा हल्लाउँथ्यो । पानीको छाल आएर किनारामा ठोक्किदैँ फर्किएर बीचतिरै जान्थ्यो । माल बोक्ने र यात्री बोक्ने बेग्लाबेग्लै जहाजहरु आफ्नै गतिमा दौडिरहेका थिए । मैले जीवनमा सबैभन्दा पहिले देखेको ठूलो नदी थियो कोशी, त्यसपछि आसामको ब्रम्हपुत्र अनि गंगा । कोशीमा त डुंङगा मात्रै चल्छन् । ब्रम्हपुत्रमा त जहाज नै चल्छन् ।मलाई लाग्यो यो नदी ब्रम्हपुत्र भन्दा पनि निकै नै ठूलो छ ।

उत्तरबाट दक्षिणतिर थाहा नपाउने गतिमा बगिरहेको यो नदी अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक राजधानी न्यूयोर्कलाई चुम्दै अघि बढिरहेको छ । संसारकै सबैभन्दा अग्ला जुम्ल्याहा भवनको निर्माण तथा तिनको अवसान दुबैलाई यस्तै शान्त गतिमा बग्दै यसले देखेको थियो । यत्रो ठूलो नदीको किनारामा नदी माथि नै खुट्टा डुवाएर कुनै युवतीले गीत गाइरहेको जस्तो शान्तसंग बसेको छ न्यूयोर्क सहर ।

तर म त अहिले न्यूयोर्क भन्दा डेढ घण्टा उत्तरपूर्वमा रहेको रिनेफिलमा उभिएर हड्सनसंग पहिलो परिचय गरिरहेको थिएँ । धेरै पहिला हाइस्कूल पढ्दा भूगोलमा नदीहरुबारे पढ्दा हड्सनको बारेमा पनि केही पढेजस्तो सम्झना आयो । हडसन तालबाट निस्केर दक्षिणतिर बग्दै गई प्रशान्त महासागरमा मिसिने यस नदीले अमेरिकाको सम्पन्नतामा ठूलै ढिकुटीको काम गरेको छ । अधिकांश मानवसभ्याता नदी किनाराबाट विकास भएका छन् । पछिल्लो कालमा त जहँा नदी छैन त्यहाँ मानिसले कृत्रिमनदी समेत बनाएका छन् । ५०७ कि.मी लामो यस नदीले सकेसम्म आफ्नो छाती फुकाएको छ । त्यसैले पनि यसको मनपरीलाई तट्बन्धन गरी संकुचित गरिएको मात्र छैन, यसको फैलावटलाई जिस्काउँदै त्यस माथिबाट लामोलामो पुल हाली गाडी कुदाइएको छ । भौतिकताको दवावमा परेर खुम्चिएको यस नदीलाई निहालीरहेको थिएँ म ।

यस नदीमा बगिरहेको पानी पनि त्यही पानी थियो जुन, हिमनदी पग्लिएर बगरिहेको कोशी, कर्णाली र गण्डकीहरुमा बग्छ । गंगा, बम्हपुत्र र यमूनामा बग्छ । धरतीको रस हो पानी, जीवनको प्रारम्भिक बिन्दु । पानी नहुँदो हो त कहाँ हुन्थ्यो यो सभ्यता, यो संसारको सुन्दरता । पानी नहुँदो हो त कहाँ हुन्थ्यो ईश्वर नामको कथा र इतिहास ।

म हड्सनको पानीमै किनारबाट मनोगत डुबुल्की लिइरहेको थिएँ । पौडिंदै पारी पुगेको आनन्द लिइरहेको थिएँ र थिएँ ती जहाजहरुको लामो यात्रामा निस्किएको मनको पथिक । जहाज नचढेको भए पनि जहाजको कथाहरुले मलाई सधैँ कल्पनाको दुनियामा सयर गराउँथे । जहिले पनि मन एकोहोरो हुन्छ कल्पनाको संसारमा । तर त्यस यात्रामा कोही त साथी होस् जस्तो लागिरहन्छ ।

नदी किनारमा उभिएर एकोहोरिरहेको बेला बिस्तारै मानिसहरु स्टेशनमा भेला हुन थाले । म पनि किनाराबाट प्लेटर्फमतिर आएँ । बुढाबुढी, भूराभूरी र महिलाहरुको संख्या बढी थियो । जाडोलाई माया गर्दै अधिकांश मानिसहरु घामको आनन्द लिइरहेका थिए र प्रायः सबै नै हातमा बोकेको मोवाइमा व्यस्त थिए । त्यति धेरै मानिसहरुको बीचमा आवाज नै थिएन भन्दा पनि हुन्थ्यो । बोल्नेहरु पनि सानो स्वरमा बात मारिरहेका थिए । म पनि एउटा बेञ्चको छेउमा बसेर मोबाइलमा व्यस्त हुन खोजेँ । तर मन त्यसमा अडिएको थिएन । हड्सनको पानीसंग गएर मिसिएको थियो त्यो । घरिघरि एउटै कुरा आइरहन्थ्यो दिमागमा -‘यो पानी बग्न थालेको कति भयो होला ? कहिलेसम्म बग्ला यो । प्रत्येक क्षण बगिरहेको पानी नयाँ हो । कति होला त्यो तालमा पानी ? कहिलेसम्म बगिरहला यो ? कहिले हिउँले ढाकिएर, कहिले बर्खाले पग्लिएर निरन्तर बगिरहने यो पानी के कुनै दिन सुक्ला ? यो पानी नभएकेा दिन पनि हुन सक्ला ?

पुराणमा लेखिएको छ -महाप्रलय हुँदा सात वटा सूर्य लाग्छन् । हात्तीको सुँढ जत्रो पानीको धारा बर्सिन्छ । संसार जलमय हुन्छ । सारा संसार डुब्छ ।’ त्यसो भए संसारमा नसकिने भनेको पानी नै रहेछ र जबसम्म पानी हुन्छ, तबसम्म जीवन हुन्छ र जीवन रहेसम्म सभ्यता रहने छ । मलाई पानी माथिको आस्था झन्झन् गहिरिँदै गइरहेको थियो ।

म बसेको बेञ्चको अर्को किनारमा एउटी महिला बसेकी थिइन् । तिनी बेलाबेला मलाई हेरेर मुस्कुराउथिन् । अमेरिकामा प्रत्येक मान्छेको जब आँखा जुध्छ, मुसुक्क मुस्कुराउने र बोल्ने सभ्यता छ । त्यो म पनि बिस्तारै सिक्दै थिएँ । तिनको मुस्कानको स्वागत गर्दै मैले पनि मुस्कान फालेँ । तिनी बेलाबेला मोवाइमा र बढी जस्तो मतिर केन्दि्रत थिइन् । यो परदेशमा एक प्रकारको अनकन्टारमा ती को महिला होलिन् जसले ममाथि विशेष रुचि राखिरहेकी छिन् ?

मनमा अनौठो जिज्ञासा र आकर्षण पनि उत्पन्न भइरहेको थियो । टिकटमा लेखिएकै समयमा रेल आएर रोकियो । मानिसहरु हतारहतार चढ्न थाले । आज पनि रेलमा चढ्नका लागि प्लाष्टिकका टुलहरुको व्यवस्था गरिएको थियो । त्यसै माथि टेक्दै मानिसहरु चढ्न लागे । दुइजना बुढाबुढीहरुको पछिपछि म पनि भित्र पसेँ । आज पनि भित्र थुप्रै सिटहरु खाली थिए । एउटा सिटको झ्याल पटि्ट गएर बसेँ र आफ्ना सामानहरु व्यवस्थित गरेँ । हेरेँ छेउपटि्टको सिट खाली थियो । मनमा लाग्यो हिजो जस्तै कोही आएर बसिदिए हुने ।

तिनै महिला मतिर हेरेर मुसुक्क हाँस्दै अघिल्लो सिटको झ्याल पटि्ट गएर बस्न लागिन् । बस्नुभन्दा अघि एकपल्ट मतिर फर्केर हेरिन् र मुसुक्क हाँसिन् । मैले पनि आफ्ना महंगा दाँत बिस्तारै देखाएँ -अमेरिकामा सबैभन्दा महंगो उपचार खर्च दाँतकै हुन्छ) । तिनले बिस्तारै सोधिन् ‘म त्यहाँ आउन सक्छु?’ मलाई झन के चाहिएको थियो त ? तुरुन्त खुशी हुँदै आउन अनुरोध गरेँ । तिनी फुर्ती साथ मेरो छेउमा आएर बसिन् । आफ्नो झोला गोडामुनी राखिन् । तनाकतुनुक गरेर जीउ मिलाइन र बसिन् । मलाई कताकता धेरै पहिले लेखेको ‘बसकी केटी’ शीर्षकको कथाको सम्झना आयो ।

सजिलो गरि बसिसके पछि मैले नै वाक्य फोरेँ । आफ्नो परिचय दिंदै उनको परिचय मागेँ ।मैले आफ्नो परिचयको सिलसिलामा आफ्नो र देशको नाम भनें । मेरो झोलामा नेपालको झण्डाको बुटा थियो । त्यो उनले अघिनै नियालेर हेर्दै गरेको मैले देखेको थिएँ । मैले आफ्नो परिचय भनिसके पछि मुस्कान ओठमा ल्याउँदै भनिन् -‘मैले अघिदेखि नै तिम्रो झोलामा त्यो झण्डा देखेकी थिएँ र तिमी प्रति विशेष रुचि बढिरहेको थियो । म स्टेशनमै तिमीसंग बोल्न चाहन्थें तर तिमीले मलाई उति वास्ता गरे जस्तो लागेन ‘

मैले सोधेँ – ‘ तिमीले कसरी चिन्यौ यो झण्डा?’

उसले भनी – ‘ मलाई थाहा छ । म दुई तीन पटक नेपाल गइसकेकी छु ।’

‘त्यसो भए तिमीलाई नेपाली बोल्न पनि आउँछ ?’

‘बोल्न आउँदैन तर अलिअलि बुझ्छु ।’ त्यो फेरि मसुक्क हाँसी ।

मैले भने – मलाई पनि तिमीहरुको अंग्रेजी राम्ररी बोल्न आउँदैन तर अलिअलि बुझ्छु’

त्यो फेरि अलिक खुलेर हाँस्दै बोली -‘तर तिमी त राम्ररी अंग्रेजी बोलिरहेछौँ । किनभने म तिमीले बोलेको बुझिरहेकी छु ।’
म दङ्ग पर्दै बोलें ‘के तिमी साँच्चै मैले बोलिरहेको अंग्रेजी बुझ्दैछौ त ?’

उसले भनी -‘अहिलेसम्म तिमीले भनेका कुराहरु बुझिरहेकी छु ।’

मैले भने -‘त्यसो भए हाम्रो यात्रा सुखद हुनसक्छ ।’

हाँस्दै बोली -‘इट्स स्योर’

उसको बारेमा त मैले के सोध्नु थियो र मैले आफ्नै बारेमा भनें -‘ म एउटा नेपाली लेखक हुँ । पहिलो पल्ट अमेरिका आएको हुँ । अमेरिकाबारे मलाई उति ज्ञान छैन । मैले लेखेको एउटा कथामा फिल्म बनेको छ । त्यहि फिल्म यहाँ रिनेफिलको बर्ड कलेजका विद्यार्थीहरुले हेर्न चाहेका थिए । तिनीहरुलाई फिल्म देखाएर फर्किंदै छु ।’

मेरो कुरा सुनेर निकै आकषिर्त भई । त्यसका आँखामा अलिक बेग्लै चमक देखियो । त्यसलाई मेरो लेखक हुनुले तानेको हो कि फिल्मले हो बुझ्न सकिहालेको थिइन । मेरो कुरा सकिए पछि अलिक ज्यादा जाँगरिलो भए झैँ गर्दै बोली – ‘वाह । तिमी लेखक हौ ? धेरै खुशी लाग्यो आज तिमीसंग भेटेर । मलाई लेखकहरु धेरै मन पर्छन् । म साहित्यिक कृतिहरु पढ्न खुब मन पराउँछु । यात्रामा म जहिले पनि किताब बढ्ने गर्छु । हेर्छौ ? यी अहिले पनि मेरो झोलामा यो किताब छ ।’ उसले एउटा निकै मोटो किताब निकालेर देखाई ।

मैले भनें ‘अब त तिमीसंग गफ गर्न झन् सजिलो हुने भयो ।’

उसले भनी-‘खै किन किन अघि देखि नै तिमीलाई देखेपछि म आकषिर्त भएकी थिएँ । त्यसै तिम्रो अनुहार कसोकसो परिचित जस्तो लागेको थियो । तिमी लेखक रहेछौ र पो त ।’

म उसको कुरा सुनेर रमाउँदै थिएँ । मुसुक्क हाँसे । ऊ पनि हाँसी । मैले भनें -‘मैले त तिमीलाई आफ्नो निकै लामो परिचय दिएँ । तिमीले त खै केही भनेकी छैनौ ।’

उसले भनी -‘ तिमीले मलाई आफ्नो कुरा भन्ने मौकै खै कहाँ दिएका छौ ? तिमी आफैँ एक्लै बोलिरहेका छौ ।’

मैले भनें -‘लौ , अब तिमी बोल न त ।’

उसले भनी -‘ मेरो नाम लाउरा हो । हालसम्म म यही रिनेफिलमा बस्छु तर अब छिट्टै नै म यहाँबाट धेरै टाढा हवाइमा जानेछु । न्यूयोर्कबाट एघार घण्टाको फ्लाइटमा छ त्यो । म सिनियर नर्सर् हुँ । त्यहाँको अस्पतालमा काम पाएकी छु ।’
‘त्यति टाढा किन जाने ? यतातिर काम पाइदैन र ?’

‘अमेरिकामा टाढा नजिकको केही अर्थ छैन । जहाँ पनि उस्तै सुविधा छ । फेरि एकै ठाउँमा बसिरहनु त्यति रमाइलो पनि हुन्न । घुमिरहनु पर्छ । ठूलो देश छ , नत्र कसरी घुम्न सकिन्छ ?’

उसले कति सामान्य पाराले त्यो कुरा भनेकी थिई । मलाई भने यो हवाइजहाजको लामोलामो यात्रा ज्यादै दिक्क लाग्दो हुन्छ । मैले सोधें -‘तिम्रा आफन्तहरु पनि छन् त्यहाँ ?’

‘किन चाहियो र आफन्त ? जहाँ पनि एक्लै बाच्नु परेपछि किन आफन्त ? फेरि हाम्रोमा तिमीहरुको जस्तो परिवारप्रति आश्रति कोही हुँदैन पनि ।’

उसले भनेका ती कुरा त मलाई थाहा भइसकेकै थियो ।

हामी आपसी सम्वादमा डुबिरहेकै बेला टी.टी. आयो । उसले टिकट देखाई । मैले पनि देखाएँ । उसले मेरो टिकटमा निकैपल्ट उसको हातको यन्त्र झिलिक झिलिक पार्‍यो तर त्यसले आवश्यक ‘आवाज’ निकालेन । अनि उसले हेरेर भन्यो -‘यो दुई तर्फी टिकट रहेछ तर हिजो ट्रयाक नगरेकोले आज यो टिकट चल्दैन । तिमीले नयाँ टिकट किन्नु पर्छ ।’

उसको कुरा सुनेर म अलमल्ल परें । हिजो पनि बाउन्न डलर त्यसै खेर गएछ । तिरिसकेको पैसा भुस हुने सुनेर छक्क परें । त्यो गयो । लाउराले टिकट राम्ररी हेरी ।मैले भनें-हिजो कुरा नबुझेर आफ्नै खर्च गरेर नयाँ टिकट काटेर आएछु । उहाँ पुगेपछि थाहा भयो मेरो रेलको पनि टिकटको व्यवस्था उनीहरुले गरेका रहेछन् । आउने बेलामा यो छापेर दिएका छन् । यसले त यो टिकट चल्दैन भन्यो । म यसलाई राम्ररी कुरा बुझाउन पनि जान्दिन । एकपल्ट तिमी फेरि सोध न ।’

त्यो टी.टी. फेरि फर्केर आयो । लाउराले भनी -‘यो मेरो नेपाली साथी हो ।’ अनि अघि मैले उसलाई भनेका सबै कुरा गर्दै भनी -‘उसले यो यात्राको लागि पुरै पैसा तिरिसकेको छ । हिजो उसले बढि पैसा तिरिसकेको छ । आज फेरि किन तिर्ने ? उसले नबुझ्दैमा बढी पैसा किन तिर्नु ?’

त्यसले ऊसंग छिटोछिटो के-के भन्यो, राम्ररी बुझिनँ । अनि उसले लाउरालाई एउटा फोन नं. दियो र त्यहाँ फोन गर्नु भन्यो । लाउराले त्यो नम्बरमा फोन गरेर निकै बेरसम्म कुरा गरि । त्यसपछि उताबाट एउटा नम्बर टिपायो । त्यो नम्बर टिकटको सिरानमा टिपी । फोन राखेपछि बोली -‘अब तिमी ढुक्क बस । तिमीले नयाँ टिकट काट्नु पर्दैन ।’

मैले भनेँ – ‘तर तिमी बाटैमा उत्रिन्छौ होला, फेरि त्यसले सोध्यो भने मैले के भन्ने ?

‘अब त्यो फर्केर आउँदैन । उसले पनि थाहा पाइसक्यो । फेरि म पनि तिमीसंगै न्यूयोर्कमै उत्रने त हो ।’

खुशी भयो मन । धन्य यो केटी छेऊमा बसिदिनाले आज म ५२ डलर खर्च हुनुबाट जोगिएँ । त्यसलाई धन्यवाद दिंदैै भनें – तिमीले मलाई ठूलो सहयोग गर्‍यौँ । तिमी मेरो साथी भयौ ।’

मुसुक्क हाँस्दै बोली -‘म पनि खुशी भएँ । तिमी जस्तो लेखकसंग साथी हुन पाउँदा । साँच्चै भन्ने हो भने आजसम्म मैले लेखकलाई यसरी नजिकबाट भेटेकै थिइनँ । यो त मेरो सौभाग्य हो ।’

‘धन्यवाद ।’ मैले भनेँ ।

उसले सोधी -‘तिमी कस्ता विषयमा लेख्छौ ? अहिलेसम्म कति वटा लेखेका छौँ ?

मैले भनेँ -‘म सामान्यतया महिला हिंसा विरुद्धमा लेख्छु । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, खोज अनुसन्धान आदि विधामा पच्चिसवटा जति पुस्तक प्रकाशित छन्।’

यो सुनेर त त्यो झन् चकित भई । त्यसले मेरो हात समाउँदै भनी -‘साँच्चै नै आज म धन्य भएँ । तिमी लेखक त्यसमा पनि महिलाको बारेमा लेख्ने । कति खुशीको कुरा । के तिम्रा कुनै किताब म पढ्न सक्छु ?’

मैले भनेँ -‘ यस कुरामा म दुःखी छु कि अहिलेसम्म मेरा कुनै किताब अंग्रेजीमा अनुवाद हुन सकेका छैनन् । तर चाँडै केही किताबहरु अनुवाद हुँदैछन् । तिमीले पढ्न हुने मसंग एउटा कथा मात्र छ । जुन कथा माथि फिल्म बनेको छ र त्यो कथा सयौँ वर्ष अघि नेपाल र भारतमा रहेको सती प्रथा माथि आधारित छ ।’

‘गुड । त्यो कथा तिमी मलाई इमेल गर है । लेऊ यो मेरो कार्ड । उसले आफ्नो भिजिटिङग कार्ड दिई । मैले पनि झोला फिल्मको लोगोमा छापेको आफ्नो कार्डमा अमेरिकाको फोन नं. ७०३-६७८-३३४१ लेखेर दिएँ ।

उसले भनी – मलाई तिम्रो कथाको विषयले छोयो । सतीको बारेमा म जान्दछु । म निकै पटक इण्डिया गएकी छु । त्यहाँ मैले संस्कृत भाषाको अध्ययन गरेकी छु र त्यहाँको पुरानो संस्कृतिको बारेमा पढेकी छु ।’

उसको पछिल्लो कुराबाट अब म पो ऊ प्रति झन् आकषिर्त भएँ । त्यसले भनी -‘म नेपालको काठमाडौ पनि गएकी छु र लुम्बिनी पनि । मलाई काठमाडौ धेरै भिडभाड लागे पनि लुम्बिनी शान्त र रमणीय लाग्यो । मलाई तिम्रो देश धेरै मन पर्छ ।’

मैले सोधें -‘तिमी किन गएकी थियौ इण्डिया ? घुम्न कि पढ्न ?’

उसले भनि -‘ हाम्रो कलेजमा एकजना प्रोफेसर आएका थिए इण्डियाबाट । तिनले हरेक कुरामा इण्डियाको प्रसंग जोड्थे । खासमा उनी हिन्दु संस्कृति र साहित्यको चर्चा गर्थे । त्यसले मलाई इण्डिया प्रति रुचि जाग्यो । जब मेरो स्नातकको पढाइ पूरा भयो, म मेरो केटो साथीसंग इण्डिया घुम्न गएँ । मेरो दिमागमा इण्डिया एउटा चमत्कारै चमत्कारको भूमि हो भन्ने परेको थियो । तर जब दिल्ली एयरपोर्टमा हामी उत्रियौँ, त्यो त अमेरिकाकै कुनै विमानस्थलमा अवतरण भएझैँ लाग्यो । पछि होटलमा पुगेर इण्डियाका महत्वपूर्ण धार्मिक स्थलहरुको विवरण र म्याप हेरेपछि मात्र मन ढुक्क भयो ।

तर मेरो केटो साथीलाई यस्ता कुराहरुमा त्यति चासो थिएन । ऊ चाँहि ज्यादा जसो प्राकृतिक भ्रमणमा रमाउँथ्यो । उसको खुशीको लागि शुरुमा मैले भारतका थुप्रै प्राकृतिक स्थलहरुको भ्रमणमा साथ दिएँ । जब फर्किने समय नजिक आउँदै थियो अनि मैले ऊसंग छुटि्टने निर्णय गर्दै भनेँ – तिमी अब र्फक । म केहि समय यहाँको धार्मिक तथा साँस्कृतिक कुराहरुको अध्ययन गरेर आउँछु । शुरुमा त ऊ मानेन तर पछि ऊ एक्लै फक्र्यो ।

ऊ फर्किएपछि मैले भारतका महत्वपूर्ण तीर्थस्थलहरु घुमे । काशीको गंगा नदीमा डुङ्गा सयर गर्दा भएको आनन्द मलाई अमेरिकाका ठूलाठूला नदी र महासागरहरुमा तैरिँदा पनि भएको छैन । पहिलो पल्ट म एक्लै तीन महिनासम्म घुमेर फर्किएकी थिएँ ।’ उसले रोचक पाराले आफ्नो भारत यात्राको वर्णन गरेकी थिई ।

उसले झोलाबाट एउटा खाता निकालेर देखाउदै भनी -‘यी हेर न । म अहिले पनि संस्कृत भाषा सिक्दै छु ।’ हो त रहेछ । खाताभरि संस्कृतिका श्लोकहरु देवानागरी लिपीमा लेखिएका थिए । सोधें -‘ किन सिकेकी तिमीले यो भाषा ?’

भनी -‘जति बेला म इण्डियामा थिएँ र त्यहाँका ठूलाठूला जोगीहरु संग भेट गरेँ उनीहरुले हरेक पल्ट श्रीमद्भागवत गीताको र बिभिन्न उपनिषद्हरुको चर्चा र व्याख्या गर्थे । त्यो सुन्दा मलाई भित्रैबाट अनौठो अनुभव हुन्थ्यो । अनि आफैंले त्यो भाषा जान्न पाए, संस्कृति मूलमै त्यसलाई पढ्न सकिन्छ भन्ने लागेर सिकेकी ।’

उसका कुराले मलाई आफै भित्र कस्तोकस्तो भयो । मैले आजसम्म त्यो भषा सिक्ने बारे सोचेको छैन । हिन्दीमा अनुदित ग्रन्थहरु पढेरै काम चलाइरहेको थिएँ । त्यसले मेरो संस्कृत भाषाको ज्ञानबारे सोध्ली कि भन्ने डर पलाएको थियो तर त्यस्तो प्रश्नै गरिन ।

-‘तिमीलाई हिन्दु संस्कृति र दर्शन बारे विशेष चासो छ ?’ सोधें ।

-‘हिन्दु मात्र होइन म सबै धर्म भित्रको दर्शनबाट आकषिर्त छु । तर किन किन गीताको दर्शनले बढी प्रभावित हुँदै गइरहेकी छु ।’

मैले भनें -‘संस्कृत साहित्यका पुराणका कथाहरुमा आधारित रहेर मैले एउटा उपन्यास लेखेको छु, त्यो धेरै प्रख्यात पनि छ नेपालीहरुबीच । के गर्नु त्यसलाई अनुवाद गर्न सकिएको छैन, नत्र तिमी खुव रमाउने थियौ होला त्यो पढेर ।’

मेरो कुराले छुकछुकाइ एकछिन ।अनि भनी- ‘तिमी त्यसलााई अनुवाद गराउ । बरु त्यसको लागि के मद्दत गर्नु पर्छ म तयार छु ।’

मैले भनें- ‘त्यो काम हुँदैछ । तिमीले चाँडै पढ्न पाउने छौ ।’

रेल विभिन्न स्टेशनहरुमा रोकिदै, गुड्दै गरिरहेको थियो । मैले त्यसलाई जिस्क्याउँदै भने- ‘हामीले धेरै कुरा गर्दागर्दै भुलेर उत्रिने ठाउँ नै छुट्यो भने के गर्ने !’

हाँस्दै भनी- ‘तिमी हराए पनि म हराउदिन नि ! तिमीलाई म पाहुना राख्छु हुन्न र !’ आकर्षक मुस्कुराई । आँखा झिलिक्क बाली । एकमन त लाग्यो – त्यसले भने जस्तै होस् । तर उता प्लेन पनि त छुट्थ्यो नि सँगसँगै । मनमनै आफैसँग हाँसे- ‘यो लोग्ने मान्छेको मन ? सिमलको भूवा जस्तो, जता हावाले उडायो त्यतै उड्ने ।’ फेरि सँगसँगै सोचें – ‘मन त आइमाई मान्छेको पनि त उस्तै हो नि जसले जसो भन्यो त्यतै मान्ने ।’ अनि सोचें – ‘मन सबैको उस्तै हो, स्वतन्त्र र फुक्का । परिबन्धले बाँधिएको हुन्छ व्यावहारमा ।’

एकछिनसम्म दुबै मौन भयौं तर आफूआफू भित्र सोच मग्न थियौं होला । म सोचिरहेको थिएँ- ‘अघि सम्म को हो को हो लाग्ने यो केटी एकैछिनमा कति घनिष्ठ र आफन्त जस्ती हुन पुगी । अब त ऊ जिस्किन पनि थालेकी थिई । पहिला देख्दा उसको अनुहार कस्तो कस्तो झुस्स परेको हिस्सी नपरेको जस्तो थियो तर अब बिस्तारै त्यो त राम्री-राम्री पनि देखिन थालेकी थिई । निकटताले हरेक कुरा प्रति आत्मिय बनाउँछ । त्यो आत्मिय हुँदै गइरहेकी थिई ।

मलाई उसको व्यक्तिगत जीवन बारे पनि केही जिज्ञासा उत्पन्न हुन लागेको थियो तर त्यसरी सोध्नु सिस्टता हुँदैनथ्यो । तैपनि मैले सोधें- ‘तिमी एक्लै बस्छौं ?’ उसले भनी- ‘हो अहिले म एक्लै छु । पहिले म मेरो केटो साथीसँग बस्थें । पछि ऊसँगबिहे पनि गरेकी थिएँ तर हाम्रो बिहे धेरै दिन चलेन । बिहे नगरुन्जेल ठिकै थियो, बिहे गरे पछि बिगि्रयो ।’

मैले अफसोच प्रकट गरें । तर उसले सहजै भनी- ‘तर त्यो त्यस्तो ठूलो कुरा होइन । अहिले पनि ऊ मेरो एउटा राम्रो साथी नै हो तर अब हामी लोग्नेस्वास्नी वा केटा केटी साथी होइन । हाम्रो कुरा मिलेन, छुट्टयिौं ।

कत्ति सजिलो थियो उसको कुरा । हाम्रा तिर न छुट्टनि सजिलो, न मिसिन सजिलो । एउटा जिन्दगी मन परे पनि नपरे पनि बिहे भए पछि जीवनभरीको बन्धी । रोएरै बिताउँछन् कति महिलापुरुषले सारा उमेर ।

फेरि भनी- ‘म त्यस्ती तरुनी पनि होइन । तिमीले भर्खरकी देखेका हौंला । म त छत्तिस वर्षकी भइसकें ।’

हाँस्दै भनें – ‘छत्तिस वर्षकी तिमी बुढी पनि त होइनौ नि । हाम्रो तिर त महिलाको वास्तविक जिन्दगी चालिस वर्ष पछि मात्र शुरु हुन्छ जब उनीहरुका बच्चा हुर्किन्छन् र नयाँ जन्माउनु पर्दैन ।’

– ‘हो म बुढी त होइन तर, त्यति धेरै तरुनी पनि कहाँ हुँ र !’

– ‘तिमीले फेरि बिहे गरे भइ त हाल्छ अझै ।’

– ‘त्यो त हो तर खै को सँग गर्नु?’ यता उता हेर्दै फेरि म तिर फर्केर हाँसी । उसको यो हाँसोसँग मीठो अर्थ थियो । उसले यसरी सोधेकी थिई मानौं मैले नै भनी दिऊँ- ‘मैसँग गर अब ।’

तर एकैछिन पछि उसको अनुहार मलिनो भएको थियो । भनी- मेरो केटो साथीसँग मैले पाँच वर्ष सँगै बिताएँ । तर बिहे गरेको एक वर्षमै हामी छुट्टयिौं । म उसलाई धेरै माया गर्थें । वास्तवमै म ऊसँग सारा जिन्दगी बिताउन चाहन्थें तर उसैले नै मलाई मन पाउन छोड्यो । उसले नयाँ केटी साथी पाए पछि मसँग राम्रो व्यवहार गर्न छोड्यो । आफूले मात्र माया गरेर पनि नहुने रहेछ ।

एकछिन पछि फेरि बोली- ‘त्यसो त बिहे गर्नै पर्छ भन्ने पनि के छ र ? मान्छेको जीवनमा बिहे त्यति अनिवार्य कुरा पनि त होइन ? बिहे नभएकै कारणले हाम्रो जीवनमा के कुरा नै बाधक बन्छ र ? जागीर खान, घर किन्न, संतान जन्माउन कुनै कुरा रोकिएको हुँदैन भने किन गर्नु बिहे ?’

मेरा लागि उसका कुरा अलिक अनौठै थिए तर यहाँ आए पछि बुझ्दै गएकै विषय थिए यी पनि ।

मैले भनें – ‘तर हाम्रोमा त डिभोर्स एकदम नै कम हुन्छ । बिहे नगरी त बच्चा जन्माउनै पाइदैन ।’

– ‘त्यो मलाई थाहा छ । कतिपय कुरा तिमीहरुका धेरै राम्रा छन् । परिवार मिलेर बस्ने । संतानले आमाबाबुको हेरचाह गर्ने । लोग्नेस्वास्नीका बीच सानातिना विवादलाई महत्व नदिने । तर अरु कतिपय कुरा खराव पनि छन् जस्तै स्वास्नीको मात्र यौन चरित्र खोजिने । स्वास्नी भनेकी लोग्नेको व्यक्तिगत गहना जस्तो ठानिने ।’

उसका कुरा एकदम नै ठीक थिए ।र् खसखसले छोडेन सोधिहालें । – ‘त्यति छोटो समयमा तिमीले कसरी बुझ्यौ यति धेरै कुरा ?’

उसले भनी- ‘म पटकपटक इण्डिया गएकी छु । पछिल्लो पल्ट त लामै समय नेपालमा बसें । मलाई नेपाली महिलाहरु धेरै सोझा र इमान्दार लाग्छन् । तिनीहरु निकै दुःखी पनि छन् । कुपोषणका सिकार छन् । पाठेघरका रोगी छन् ।’

उसका हरेक कुराले मलाई अचम्मित पार्थे ! उसले अलिक अनुहार बिगारेर भनी- ‘मैले मेरो लोग्नेलाई धेरै माया गरेकी थिएँ तर उसले नै मलाई माया गरेन । ऊसँग छुट्टएि पछि मलाई एकदम नै विरक्त लाग्यो । अनि मनको शान्ति खोज्दै म फेरि इण्डिया र नेपाल पुगेकी थिएँ ।’

कस्तो कस्तो अनुहार पारेर बोली- ‘माइन्ड नगर ! हुन त तिमी पनि लोग्ने मान्छे हौ । तिमी कस्तो छौ थाहा छैन । तर मलाई प्रायः लोग्ने मान्छेहरु आइमाई भन्दा धेरै नै स्वार्थी हुन्छन् जस्तो लाग्छ ।’

मैले भनें- ‘सबैमा यो कुरा लागु हुँदैन । स्त्रीपुरुष दुबैको मनोविज्ञान करिब करिब उस्तै हो । खालि आˆनो तर्फबाट सोच्दा त्यस्तो लाग्छ । किनकि तिमी उसकी श्रीमती हो भन्ने थाहा हुँदाहुँदै एउटी अर्की केटी तिम्रो लोग्नेकी गर्ल फ्रेण्ड हुन किन तयार भएकी होला त ? उसले अर्कै अविवाहित केटो पनि त पाउन सक्थी !’

एकछिन घोरिएर बोली – ‘त्यो त हो ।’

हामी धेरै नजिक पुगिसकेका थियौं । अब पन्ध्र मिनट जतिमा हामी ओर्लिने थियौं । मैले भने- ‘आज तिमीसँग यात्रा गर्न पाएर म धेरै खुशी भएँ । तिमीलाई धन्यवाद । अब हामी फेरि यसरी भेट्न पनि सक्दैनौ होला । यो छोटो यात्राको मीठो मित्रताको लागि आभारी छु ।’ उसले पनि वियोगको जस्तै अनुहार बनाएर भनी- ‘तिमीसँगको मीठो सम्झना मसँग संधै रहनेछ । फेरि यसै गरी भेट नभए पनि हाम्रो फोन, स्काइप, फेसबुक, इमेल, भाइभर जेबाट पनि निरन्तर सम्बाद भइरहन सक्छ । तिमीले चाहृयौ भने हामी लामै मित्र हुन सक्ने छौं ।’

अनि झट्टै सम्झे जस्तै सोधी – ‘अँ साँच्ची ! तिमी मलाई एउटा कुरा भन न । मलाई पनि खुब लेख्न मन लाग्छ तर लेख्नै जान्दिन । यो लेख्न जान्ने केही तरिका पनि छन् ?’

मैले भनें – ‘त्यस्तो खासै कुनै सूत्र त छैन तर मेरो अनुभवमा लेख्नु त्यति गाह्रो पनि छैन । सब भन्दा पहिला दिमागमा म केही लेख्दैछु भन्ने कुराको दवाव पर्न दिनु हुन्न । सहज र स्वभाविक रुपमा आफूले देखे भोगेका कुरा खररर खातामा लेख्दै जानु पर्छ । त्यो साहित्य भयो भएन, छापिन्छ छापिन्न जस्ता कुराको मतलव गर्नु हुन्न । शुरुमा आˆनो दैनिकीबाट लेख्न थाल्नु पर्छ । बिस्तारै बानी हुँदै गए पछि अरु विषयमा पनि कुरा आउन थाल्छन् । मलाई लाग्छ तिमी लेख्न सक्छौं किनभने तिमीमा साहित्यप्रति रुचि पनि छ, भावुकता पनि छ, अध्ययन र ज्ञान पनि छ । तिमी पक्कै पनि सक्छौं ।’

‘मेरो कुरा सुनेर त्यो सन्तुष्ट भए झैं देखिइ । भनी- ‘मैले कत्ति पल्ट लेख्दै च्यात्दै गरेकी छु ।’

– ‘त्यही तिम्रो गल्ती हो । लेखेको कुरा त त्यत्तिकै थन्क्याउनु पर्छ र निकै समय पछि झिकेर फेरि पढ्नु पर्छ अनि मात्र त्यो कस्तो भयो भन्ने थाहा हुन्छ । तिमी लेख तर च्यातेर नˆयाक । पछि आफैं बुझ्छयौं ।’

उसले भनी- ‘मैले कुनै ठूलो लेखकलाई भेटेको यो पहिलो पल्ट हो । तिमीले मलाई कत्ति सजिलो उपाय सिकायौ । सायद अब थालें भने म लेख्न सक्छु होला ।’

हामी न्यूयोर्कको स्टेशनमा आइपुगेका थियौं । रेलबाट बाहिर निस्कदै भनें- ‘लाउरा ! मलाई यहाँको खासै ज्ञान छैन । अस्ति पनि एयरपोर्टबाट आउँदा टयाक्सीले ६० डलर लियो । आज तिमी टयाक्सीसँग कुरा मिलाइदेऊ न है ।’

– ‘हुन त मलाई पनि त्यति ज्ञान छैन, तैपनि म तिमीलाई टयाक्सी चढाई दिन्छु । अँ साँची तिमी जाने चाहिँ कता नि ।’
– ‘म वास्तवमा अलावामामा बस्छु तर आज म डि.सी. जान्छु ।’

हामी रेल स्टेशनबाट बाहिर आइसकेका थियौं । बाहिर टयाक्सीहरु लाइनै थिए । लाउराले एउटा टयाक्सीसँग कुरा गरी । त्यसले मलाई ५५ डलरमा एयरपोर्ट पुर्‍याउने भयो ।

छुट्टनिे बेलामा त्यसले दह्रो गरी हात मिलाई र अङ्गालो हाली । एकछिनसम्म त्यत्तिकै छातीमा टाँसिएर छुट्टइिर् । अंगालोबाट छुट्टएि पछि गोजीबाट मैले प्रयोग गर्दै गरेको कलम झिकेर त्यसको हातमा राखिदिदै भनें – ‘तिमीलाई दिने मसँग अरु कुनै उपहार छैन । यो लेऊ मैले लेख्ने गरेको कलम । तिमी आजै देखि यही कलमबाट लेख्न थाल । मेरो शुभकामना छ ।’

त्यो एकाएक अत्यन्त भावुक भई । बिस्तारो काम्दै गरेका हातले कलम समात्दै भनी- ‘यो भन्दा ठूलो उपहार मेरो लागि के हुन्छ कृष्ण ! थ्याङ्क यू । अनि उसका आँखाबाट बररर आँसु झरे । ऊ त्यति छिट्टै भावुक भइ हाल्ली भन्ने सोचेको थिइनँ । मलाई पनि कस्तो कस्तो लाग्यो । अन्त्यमा भनें – ‘तिम्रो इमेलमा म मेरो कथा पठाउँछु, पढ्नु । हामी इमेलमा बात गरौंला । लौ विदा ।’

म टयाक्सी भित्र छिरें । झयालबाट हात हल्लाएँ । त्यसले हात हल्लाउँदै चार औंला ओठमा लगेर छोई र फेरि हात हल्लाइ रही । टयाक्सीले अर्को मोड लिइसकेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : पुस्तक अंश | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *