कविता : कति पटक १२ बज्यो होला जिन्दगीमा?

~कमल कुमार~kamal-kumar

१२ बजे गएको थियो भुइँचालो
च्यापेर लालाबाला
हुित्तँदै आँगनमा झरेकी उनी
रातभरि टोलाएकी थिइन्
तीन आँख्ले तारा हेर्दै
परदेशीको सम्झनामा

१२ बजेतिर
खोलामा भैंसी आहाल बस्थ्यो
र उनी डोकाभरि घाँस काटिरहन्थिन्
खोलाको डिलमा बसेर धोर्जे
सुसेली रहन्थ्यो
छिमेकको एउटा बुढो लाहुरे
बल्छी बोकेर आउँथ्यो खोलामा

१२ बजे कहिले घाम लाग्थ्यो
कहिले पानी पर्थ्यो
कहिले त बाढी नै आएको थियो
चट्याङ परेको थियो
हुरि चलेको थियो
धुलो उडेको थियो
रेडियोमा गित बजेको थियो
स्कुलबाट केटाकेटी छिटै घर फर्केका थिए
छिमेकीको घरमा सत्यनारायण पुजाको पर्साद खाने बेला भएको िथयो
पेट दुखेको थियो
जुलुस देखिएको थियो
रत्यौली नाचेका थिए गाउँभरिका आइमाइहरु

१२ त कति बज्यो कति जिन्दगीमा
कहिले दिउसोको १२ बज्यो
कहिले रातीको १२ बज्यो
कहिले ताराहरुले १२ बजाए
कहिले फ्याक्ट्रीको साइरनले १२ बजायो
कहिले घरमाथि पर आकाशमा उड्ने हवाइजहाजले १२ बजायो
कहिले भोका बाख्राले १२ बजाए

परदेशीले बर्सौंअघि ल्याइदिएको भित्ते घडीमा
ब्याट्री सक्किएको छ
र १२ नै बजेको छ

तर अफशोच
घडीको ब्याट्री बोकेर आउनेछैनन् अब परदेशी फर्केर
तैपनि उनको जिन्दगीमा
अझै थुप्रै पटक १२ बज्न बाँकि नै छ

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *