कविता : शरन्निशा

~निर्मोही व्यास~Nirmohi Vyas


तिमी अपूर्व सुन्दरी, कलावती ‘शरन्निशा’****
त्यही कला पिएर जग्मगाउँछन् दसै दिशा
लजाउँदी छ चाँदनी स्वयं प्रिया ! तिमीसँग
सँगै तिमी भए पुग्यो, म बिर्सिदिन्छु यो जग


तिमी पवित्र जाह्नवी, प्रणम्य वेदकी ऋचा
तिमी कला र काव्यकी स्वयं समस्त चारुता
प्रगीत दिव्य हौ तिमी, तिमी सितार–झङ्कृति
प्रभात–स्वर्ण–रश्मि हौ, प्रदीप्त सान्ध्य आरती


तिमीविना कहाँ जगत् ? कहाँ छ सृष्टिको क्रम ?
जहाँ तिमी— त्यहीँ छ स्वर्ग, अन्त मान्नु हो भ्रम
अखण्ड पुण्य हौ तिमी, म पुण्यको उपासक
‘पुगूँ म पुण्य–धाममा’ यही छ एक लालस


नदेखिँदा ‘सुदर्शना’ बिहालमा छ व्यास यो
छ दूर सिन्धु, के गरी प्रचण्ड मेट्नु प्यास यो ?
झुलुक्क झुल्क मोहिनी ! प्रभा छरी कृपा गर
छ वर्तमान हातमा, भविष्यको त के भर ?


अनन्तता छ प्यारको जहाँ, त्यहाँ छ के कमी ?
हराभरा मनोहरा छ प्यारले त यो जिमी
जहाँ छ वास प्रीतिको, त्यहीं निवास तृप्तिको
अरू कुरा त खै कसो ! ‘पियार’ सार सृष्टिको

****(शरन्निशा—शरद् ऋतुको रात)

रचनाकाल र स्थान : २ भदौ २०७३, काठमाडौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *