कथा : जीवन ब्रित्तमा घुम्दैछ

~रजित ओझा~Rajit Ojha

“मोटाईछौ ।” कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो असर छोडे किनकि केटिहरुलाई मोटाएको कुरा गरिदिनु राम्रो मानिन्न तर तिस बर्षको अन्तराल मा म अल्लारे ठीटोबाट लोग्नेमान्छे भएँ भने उ पनि त केटिबाट आइमाई भइ होलि नि ! जे होस् पाँच मिनटको सुनसान यात्रा,हामी दुवैको मौनता तोड्ने क्रमको औपचारिकता निभाएँ ।यो आश्चर्यजनक भेट पचाउन गारो भइसकेको थियो मलाई , तिस बर्ष निकै लामो समय हुन्छ । अब के नै बाँकि थियो र हामी बिच औपचारिकता बाहेक । चियाको प्रस्ताव मैले नै राखेको हुँ ,शायद म पुराना दिन पल्टाएर आँफै दर्शक भएर पर्दा नियाल्न चाहन्थेँ । कुनै बेला त्यो क्याफे र आइसक्रिम पार्लर भेट्ने बहाना हुन्थ्यो ,गोजि मा पैसा नै नभए पनि बुवासँग कहिले कलम किन्छु भनेर ,कहिले ल्याब सिट सिद्धियो भनेर जे होस बिभिन्न बहाना बनाएर ल्याएका पैसाले ! आज पैसा छ ,तर बहाना छैन अनि साथ नै भएर पनि उ छैन ।

“होला ,बुढि पनि त भएँ नि ,बुढेसकालमाँ त्यसै जिउ लाग्छ भन्छन् । “उसले समय माथि गुनासो पोखी अथवा अर्को शब्द मा भनौँ दोष थोपरी ।कपाल मा रातो मेहेन्दि लगाएर उ समय रोक्न खोजिरहेकि थीइ ,अरु बुढी आइमाईको तुलनामाँ उसको कपाल रेशमी नै लाग्थ्यो तर आँखा को चश्मा ,अनि थोरै नै भए पनि ति खुम्चिन शुरु गरेका ति सेता गालालाई कसरि सम्झाओस उ समय रोक्न चाहन्छे भनेर ।गालाको खाल्डो भने यथावत नै रहेछ ,कुनै कुनै कुरा को अगाडि समय पनि बिवश हुन्छ शायद ।

“बुढि नै त देखिएकि छैनौ । ” मैले गालाको खाल्डो नियाल्दै भनेँ । उसको मुस्कान थोरै अरु थपियो गालाको खाल्डो थोरै अरु गहिरो भयो । क्याफे मा कुनाको कुर्सि खालि रहेछ ।मलाई अझै याद छ यो कुर्सि हामी दुइको ठेक्का जस्तै नै थियो पुराना दिनहरुमाँ ।

“कहिले फर्केको क्यानडा बाट ?”

यो प्रश्न को उत्तर मलाई सुन्न मन थिएन तै पनि सोधेँ ।म उसलाई मात्र दोष दिन्न , सबै मान्छे आफ्नो नजरमा सहि हुन्छ।उसको महत्वाकांछ्या र मेरो आदर्श मिलेर हामीलाई टुक्र्याएर म र उ बनाएका थीए ।बिहे पछि उ क्यानडा गइ अनि म नेपाल मै जागिर खान थालेँ ।

“बानेश्वर मै छु चार बर्ष भयो ।”उसले सटिक जवाफ फर्काइ ,नेपाल फर्केको काठमाण्डौ आएको चार बर्ष पहिलो चोटि दोबाटामाँ ठोक्कियो । निकै लामो समय लिएछ भाग्यले यो साइत जुराउन , मनमनैँ सोचेँ ।

“किन नी ? क्यानडा को रहर पुगेको ?”

“वहाँ एक्स्पायर भएदेखी जिवन देखी नै रहर पुगेको छ ,जिवन जिउनु र बाँच्नु फरक कुरा रहेछ ।” उसले एक वाक्य मै आफुलाई पोखी ,अनि म छताछुल्ल भएकी उसलाई नियाँले । उसका आँखा चीयाको ग्लासमा अडियो ,भित्र को आँशुलाई बल प्रयोग गरेर रोक्न चाहन्थि शायद ।चश्मा भित्रका आँखाहरु अझै पनि ठूला ,गहिरानै थीए ।फरक केवल चश्माको पावर मा थियो ।

“माया गर्ने मान्छे टाढा गएपछि दुख त हुन्छ नै !”

मैले फेरि पनि औपचारिकता निभाएँ ।उसले पुलुक्क म तिर हेरी ,शायद उसलाई मैले आफ्नो बारेमा कुरा गरेको वा उसको उसलाई खुट्याउन गारो भयो ।

“तिम्रो पनि सुनाउ न ,कति म मात्रै बोलिरहुँ ।” उसले प्रसंग बदलि ।

“मेरो के सुन्छौ र ?”म थोरै हाँसे जस्तो गरेँ ।

“छोराछोरी कति छन् ?के के गर्दै छन्?”

“किन ?मेरो बिहे भयो भन्ने कहिले थाहा पायौ र?”

“गर्यौ होला नि ,मलाई नै सम्झेर ,देवदास भएर त पक्कै बसेनौ होला ।”उसले पहिलो चोटि ठट्टा गरी अनि खुलेर हाँसि ,मैले पनि उसलाई साथ दिएँ ।

“बिहे पछि मेरो खोजखबर त पक्कै पनि गरेनौ होला ,गेस नै त होला नि?”

“हो बाबा हो, तिम्रो एउटै कुरा पक्डिरहने बानि कहिल्यै नजाने भो । भन न त गर्यौ कि गरेनौ ?”

“गरेँ ,तर बिहे गरेको दुइ बर्ष मै छोडेर गइ टाढा धेरै टाढा तिम्रो लोग्ने सँगै ,तिम्रो र मेरो भाग्य उस्तै रहेछ ।”मैले उसको आँखा मा आँखा जुधाउँदै जवाफ फर्काएँ ।शायद थोरै आश्चर्य र थोरै सहानुभुति थियो ।

“सरि ,शायद नसोध्ने कुरा सोधेछु ।”

“ठिकै छ ,तिमीलाई हक पनि त छ नि !”मैले उसलाई हिनताबोध हुने मौका दिइन ।

“अझै पनि छ र ?”उ जिस्किई ,मुस्काउँदै ।

“सँधै हुनेछ , कुनै कुरा मा हिजो ,आज र भोलि लागु हुँदैन ! खाजा पनि खाने हो ?”मैले प्रसंग बदलेँ ।

“छाडदेउ ,बरु चिया नै थपुम् ।”उसले चिया प्रति नै आफ्नो लगाव देखाइ ।चियाकि शौकिन हो उ ,हामी कहिले काहिँ घण्टौँ चिया मात्र खाएर यहाँ बसिरहन्थ्यौँ । हुन त त्यति खेरका भेटमाँ समय कटाउन बहाना मात्र त चाहिन्थ्यो अनि उसले राम्रो बहाना पाएकी थिई चियाको रुपमाँ ।

बानेश्वर चिसो थियो बाहिर ,मैले बाहिर नियाँले ,गाडि हरु पातला थिए अनपेक्छित कुनै बन्द शुरु हुन आँटे जस्तो । सिमसिम पानि पर्न थालेको थियो ।मैले छेवैको उसको ब्याग नियाँले । पुराना दिन जस्तै उसको छातासंगको लगाव छुटेको रहेनछ ,छाताको डोरि ब्यागबाट चिहाइरहेको थियो बाहिर , मलाई भने शायद उसैको संगतले होला छाता बोक्ने रहर जागेन कहिल्यै , किनकि एउटा छाता मा दुइजना हिँड्नुको मजा मलाई थाहा छ अनि मेरो बिगतलाई थाहा छ ,उस्को आभाष दिने छोएर निस्कने बतासलाई थाहा छ अनि मेरो शरिर लाई थाहा छ । आधा भीजेको सम्म पछुतो हुन्न र शायद पछि त्यहि नै बानि बन्यो मेरो , उ छैन भन्ने थाहा हुँदा हुँदै पनि म छाता बोक्दिन ।चिया लिएर वेटर फेरि आइपुग्यो ।टेबलमाँ राखेर अरु नै काममा उ फेरि ब्यस्त भयो ।

“अनि तिमीले छोराछोरिको बारेमा केहि बताएनौ !कि छोराछोरि नै नभइ तिम्रि स्रिमति एक्स्पायर भएको ?” उसले फेरि कुराको शुरुवात गरी ।

“तिमी मेरो छोराछोरिको पछि कत्ति लागेको ?तिम्रा छोराछोरि बिहे गर्ने उमेरका भए कि क्या हो ?”म फेरि जिस्किएँ ।

“तिमी जस्तै भए त सोच्नै पर्छ ।”उसको अनुहारमा पनि थोरै मुस्कान आयो ।सारिको सप्को थोरै मिलाए झैँ गरि उसले ।

“छोरो छ ,२२ बर्षको भयो अहिले।”

“तिमी जस्तै छ ?”

“छैन ,प्र्याक्टिकल छ ।तिम्रो भाषामा भन्दा।सँधै बिदेश जाने सोचिरहन्छ। म नजा भन्छु मनाउनलाई गारो परिसक्यो । ” म चिया पिउन थालेँ ,उ चुप भइ ,शायद मैले अलि धेरै उत्तर दिएँ ।

“बाउ आमा छोराछोरी आफ्नो ऐना होस् भन्ने चाहन्छन् भने त्यो त गल्ति हो नि होइन र?त्यो त तिम्रो इच्छा उसमा कसरि लाद्न सक्छौ र ?तिमीले कहिल्यै अर्काको भावना बुझ्न जानेनौ ,न पहिले न अहिले !” मलाई चसक्क बिझ्यो ,शब्दहरु मानौँ घोचेर पार भए ।

“होला ,तिम्रो सोचमा तिम्रो भाषामा । सत्य त शाश्वत हुन्न नि ,तिमी जे कुरा गलत देख्छौ त्यो कुरा सबै को नजर मा गलत हुनु पर्छ भन्ने कुरा छ र!”

“छैन ,सबै जनालाई एउटै कुरा सत्य हुने भए त विवाद के का लागी ? त्यो त मलाई र तिमीलाई भन्दा कसलाई थाहा होला र ?” उ मुस्काइ ,उस्को इशारा मै तिर त थियो होला ,मेरो आँखामा आँखा जुधाउने प्रयास गर्दै थिइ । मैले हत्तपत्त आँखा हटाएँ ।

छेवैको भीत्तामा सामान्य भीत्ता हरु जस्तै मोनालिसा आफ्नो रहस्यमयी मुस्कान मुस्कुराईरहेकि थिइन ,त्यस देखी पर्तिर थीन्ले सन्तुष्ट भएर हाँसेको जस्तो लाग्थ्यो अर्को पेन्टिङ्गमा ,नयाँ रङ्ग पोतिनलाई पुरानो रङ्ग छायाँ मा पर्ने रिति नै हो ।थोरै भए पनि बदलिएको थियो यो ठाउँलाई ।

“अनि तिमीले आफ्नो बारेमा केहि भनेनौँ ,जागिर ?”

“जागिर छ सरकारि ,मन्त्रालयमा छु । अहिले त रिटायर पनि हुन लागियो ।करिब ५ बर्ष बाँकि होला ।”

“बुढो भएछौ ।”

“सँधै तिमीले देखे जस्तै त कहाँ हुन्थेँ र ?”

“पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ” उ हाँसिरहि ,म उसलाई नियाली रहेँ अनि शब्दहरु घुमिरहे ” पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ ।

” पहिला पनि बुढो नै देखीन्थ्यौ ,गम्भिर आदर्शका कुरा गर्ने ,थाहै छैन पहिलो भेटमाँ मैले तिमीलाई के देखेर मन पराएँ ।

सोच्न थालेँ के म पहिले देखी नै बुढो देखीन्थेँ त?तन मात्र हो बुढो हुने मन बुढो हुन्न भन्छन् ,अनि मान्छेको मनले नै मान्छे बुढो भएको नभएको निर्धारण गर्छ पनि भन्छन् के मेरो मन नै पहिले देखी नै पाको थियो त ?खोई थिएँ होला उसको नजरमाँ ,तर म सकेसम्म वफादार बन्ने प्रयत्न गर्थेँ ,यो कुरा मलाई थाहा छ अनि मेरो आत्मा लाई थाहा छ ,उसले नै हो मेरो आत्मा भीत्र को उज्यालो नदेखेको वा मैले देखाउन सकिन । म उसको नजर बदलिन पनि त सक्दिन । त्यति सामर्थ्य भए त उ मलाई छोडेर नै जान्न थी नि ।

हात गोजि भित्र हालेर चुरोट निकाल्दै थिएँ । बाहिर निकाल्ने बेलामा पो झसङ्ग सम्झीएँ ओहो उसले त मलाई चुरोट नखानु भनेर कसम पो दिएकी थिई त । म अझै सम्झीन्छु त्यो दिन क्याफेमा धेरै बेर भनाभन भो ,उ सँधै मलाई तँ केटाकेटि नै रहिरहने भईस् , क्याफेभन्दा बाहिर तेरो सन्सार नजाने भो , नौ दश हजार को जागिर खाएर सन्तुष्ट भएर साँघुरिएको आफ्नो दुनियामा देशभक्ति काखी च्यापेर निदाउँछस् भन्थी । उ बाहिर जाने कुरा आयो कि सानो तिनो झगडा शुरु भइ हाल्थ्यो ।त्यसपालि त एप्प्लाई गरेर लेटर आएपछि मात्र सुनाएकी थिई मलाई ! मैले पनि रिसमा धेरै कुरा भनेँ ।

उ सँग छुट्टिएर बाहिर निक्लने बित्तिकै मैले चुरोट किनेर सल्काएँ ,शायद त्यो मेरो अहम् थियो वा पिडा पोख्ने साधन ।छ बर्ष पछाडि हात लगाएको थिएँ उ सँग छुट्टिएको दिन चुरोट , उसले नखानु भनेर कसम दिएको चुरोट कसम को के अर्थ जब उ नै म सँग रहिन भन्ने भावना आएर फुके थेँ ,बाहिर धुवाँ उड्दै थियो त्यो दिन खोइ चुरोटको थियो वा मेरो मुटु जलेको ।

“कहाँ हरायौ ?”उसले मलाई प्रश्न गरी ।

आ घर गएर खाउँला ।गोजि भित्र समातेको चुरोटलाई गोजिमै छोडिदिएँ ।

“यो क्याफे भीत्र हराउन मिल्ने सम्झना धेरै छन् ,तिमीले बिर्स्यौ होला तर मैले त जतन गरेर राखेको छु ।”

“दिमागमा भए पो बिर्सन मिल्छ ,सम्झना त मुटुमा बस्दो रहेछ ।म सँग पनि छन दुइ चार ओटा त ! “

म तिर पुलुक्क नियाल्दै उ चूप लागि । घरि घरि मेरो आँखामा उ के हेर्न चाहन्थी मैले पत्ता लगाउन सकिन । दोस्रो कप मा चिनि हाल्न बिर्सेको रहेछु ,बल्ल खल्लो लाग्यो । सेलाएर तर बसेको चियालाई एक चम्ची चिनि हालेर घोलेँ ।

“तिम्रो चिया सेलाएर खाने बानी कहिल्यै नजाने भो ।”

“खोइ कहिल्यै बदलिन जानिएन ।न समय ले बदलियो न ।।।।।।।।।।” मैले आफ्ना शब्दहरु रोकेँ अनि मुस्काएँ ।

“के तेस्रो ट्रिप पनि जाने हो हाम्रो ?”

“हुन्छ ,खाने भए । भेट भएको खुशियालीमाँ ।”मलाई नाई किन पो भन्नु थियो र । उ सँगको भेटको लागि के के छोडिएन ती दिनमाँ आज त उ नै मलाई रोकिउँम भन्दै छे ।

“मालिक मख्ख हुने भो ,यो क्याफेको ।” उ मुस्काइ ।हुन त साडिको सप्को खसेको थिएन तर पनि मिलाए झैँ गरी मैले देख्दा देख्दै तेस्रो पटक थियो त्यो ।

पर्दा थोरै खुलेको थीयो । मैले झ्याल बाट बाहिर नियाँले । पानी रोकिएछ ।बादलहरु पनि फाटिसकेछन क्यार ।सडक मा पानीका थोपा हरु टल्किरहेका थिए पानी को प्रकाशमा । सडक मा थोपा थोपा पानी टल्किँदा सारै राम्रो देखीन्छ ।सबै रिस राग पखालेर मुटुमा फूल रोपे जस्तो । सात रंग पनि देखीएको हुन सक्छ आकाशमा । यस्तै बेला त हो नि आकाशमा इन्द्रेणी देखा पर्ने ।बेहुली भएको होला अहिले त आकाश ।

“आफ्नो बारेमा केहि भन्दिनौँ ?”मैले फेरि प्रश्न गरेँ ।

“के सुन्छौ ?”

“जे सुनाउ सुनिदिन्छु नि म त ।”

“क्यानडा मै फर्दर स्टडि गरेँ ,मैले मास्टर्स गरेको कलेजको रिसर्च युनिटमा वहाँ हुनुहुन्थ्यो त्यहिँ बिहे गरेँ ,त्यहिँ सेटल भएँ ।”

“आफ्ना छोराछोरीको बारेमा केहि भन्दिनौँ ?”

“हाम्रा छोराछोरी भएनन् ।के भएको हो बुझ्नलाई बिहे भएको तिन बर्ष पछि डक्टरको मा गएका थियौँ । डक्टरले मलाई अन्फर्टाईल छौ भन्यो । वहाँले टेष्टट्युब बेबि एडप्ट गर्न मान्नु भएन ।”

“भनेपछि तिमी अहिले एक्लै छौ ?”

यसपाली भने मैले आफ्नो आस्चर्य र असन्तुष्टि रोक्न सकिन । साँचै ठुलो दण्ड दिएछ उसलाई समयले ।तर उसको गल्ति नै के थियो र दण्ड दियो समयले ।त्यो पक्कै पनि निसाफ थिएन ।

“तिमी कुनसा दुक्लो छौ र ?छोरा सँग त तिम्रा कुरा हरु मेल खाँदैनन् ।हरेक मान्छेको जीवनमा कमजोरि हुन्छन् ! लिभ इट । अब जौँ , पैसा तिमी तिर्छौ कि म तिरौँ ?”उसले उठ्दै ठट्टा गरि । म भारिमन लिएर बिस्तारै उठेँ ।

“पैसा तिर्ने हक म बाट नखोस प्लिज ।” मैले यत्ति मात्र भन्न सकेँ ।

उसले पुलुक्क म तिर हेरी , म बाहिर निस्किउन्जेल पर्खी अनि बिदा भएर आफ्नो बाटो लागि । म धेरै बेर त्यहिँ अडिरहेँ । अनि हिँडेर टाढा पुगे पछि पनि फर्किएर उ च्यातिएको बाटो हेरेँ ।

06-02-08 4:30 AM

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *